ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !

विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष गल्ली । ज्योतिष गल्लीमा करिब ५० भन्दा बढी ज्योतिषी भाग्यको परीक्षा केन्द्र खोलेर बसेका छन् । जहाँ भाग्य जाँच्न आउनेहरू प्रशस्त भेटिन्छन् । फेल भने कोही हुँदैनन् ! त्यसको एउटै कारण छ, ती परीक्षार्थीलाई पास गराएपछि मात्र त्यहाँका ज्योतिषीको घरमा चुलो बल्छ ।

                                                                                                              युवा ज्योतिषी भानु अर्याल

ठूला–ठूला साइन बोर्डमा लेखिएको हुन्छ, ‘यहाँ कम्प्युटरबाट हात हेरिन्छ’, ‘तन्त्रमन्त्रद्वारा झारफुक गरिन्छ’ । साइनबोर्डहरू दिनभरि ग्राहक कुरेर बस्छन् । ती साइनबोर्ड हेरेर भित्र पसेका मानिस भाग्यको परीक्षामा विशिष्ट श्रेणी हात पारेपछि मख्ख पर्दै बाहिर निस्किन्छन् । तर, भोलिपल्टबाट उनीहरूको थाप्लोमा नियतिको उही नाम्लो अडिन्छ ।

यहीँ भेटिए, रामेछापमा अर्जुन खत्री । उनी ज्योतिषीका कुराले मख्ख थिए । उनलाई भनिँदै थियो, ‘तपाईंलाई शनि ग्रहले दुःख दिइरहेको छ, शनिबार–शनिबार माहांकाल जानुस्’ ‘कालो कपडाको टुक्रा भए पनि लगाइराख्नुस्’, ‘अबको पाँच वर्षभित्र तपाईंले ठूलो सफलता प्राप्त गर्नुहुनेछ’ आदि–इत्यादि ।

ज्योतिषीले भाग्य हेरिसकेपछि उनी बाहिर निस्के । निकै खुसी देखिन्थे । ज्योतिषीकहाँ भाग्य हेराउन आउनुको कारण सोध्दा थाहा भयो, उनी मलेसिया र कतार गरी दुईपटक विदेश गइसकेका रहेछन् । तर, दुवै ठाउँमा कम्पनी नराम्रो परेका कारण समयभन्दा अघि नै फर्किएछन् । अहिले फेरि कुवेत जान खोजिरहेका उनले भने, ‘धेरै दुःख पाएँ । जति मिहिनेत गरे पनि केही फल हात लागेन, अनि यता आएको ।’

चार सय ५० रुपैयाँ तिरेपछि अर्जुनको भाग्य खुल्यो । ज्योतिषीको ‘तीन महिनाभित्र वैदेशिक यात्राको योग छ’ भन्ने वाक्य उनका लागि लड्डु बनिदिएको थियो । उक्त लड्डु चपाउँदै उनी खुसी भएर काँडाघारीको आफ्नो कोठातिर लागे ।
०००
पशुपति मात्र होइन, रत्नपार्कको फुटपाथमा पनि प्रशस्तै भेटिन्छन्, भाग्य हेर्ने पसलेहरू । शून्य लगानीमा अधिकतम नाफा कमाउन खोलिएका ती पसलको व्यापार पनि उस्तै छ, नाफामै चलेका छन् । उनीहरू अरूको भाग्य त हेर्छन्, तर आफ्नै भाग्य हेर्न भने सकेका छैनन् । त्यसैले त चन्दन–टीका लगाएर हस्तविज्ञानको किताब अगाडि राखेर ग्राहकको मुख ताक्दै सोझा ग्राहकमा आफ्नो भाग्य खोजिरहेका छन् ।

ग्राहकको पनि घुइँचो हुन्छ । ५० रुपैयाँदेखि एक हजारसम्ममा शुभ साइत, जागिरको समयको ज्ञान किन्छन्, ग्रहदशा हटाउँछन् । यसरी भाग्यको भव्य व्यापार चलिरहन्छ । ज्योतिषीहरू मानिसको भावनालाई मैदान बनाएर भाग्य नामको ‘फुटबल’ खेलिरहन्छन् । मानिसहरू पनि स्वेच्छाले खेल्न दिइरहन्छन् ।

पशुपतिमा पसल थापेर बसेका एक ज्योतिषीले भने, ‘अनुसन्धानमूलक काम गर्नेलाई राज्यले अवहेलना गर्छ । हामीले बिहान–बेलुका खानका लागि सोच्नुपर्छ ।’ त्यो बाध्यता एउटा पाटो होला, तर त्यसै भनेर मानिसको अनुभूतिमाथि खेल्नु ठूलो जोखिम भएको युवा ज्योतिषी भानु अर्याल बताउँछन् ।

कतिपय अवस्थामा त ज्योतिषीले हात हेराउने निहुँमा यौनहिंसा गरेका खबर पनि बाहिर आउने गरेका छन् । अनुभूतिसँग मात्रै नभएर त्यसरी अन्य हर्कत गर्नेहरूका कारण ज्योतिष विज्ञानलाई हेर्ने मानिसहरूको दृष्टिकोण पनि गलत भएको पाइन्छ । पशुपतिको ज्योतिष गल्लीमै पशुपति मन्दिरतिर हिँडेका केही युवायुवतीको समूहमा कसैले बोलेको सुनियो, ‘अरूको भाग्य हेर्नेले आफ्नो भाग्यचाहिँ हेर्न सक्दैन’ अनि सबैजना गलल हाँस्दै अगाडि बढे । फेरि कसैले थपेको सुनियो, ‘भाग्य त हात नहुनेको पनि हुन्छ ।’

हरेक कुरा सिस्टममा चल्छ । यो प्रकृतिको नियम हो । पृथ्वी र ग्रहहरू जसरी चल्छन्, दिनचर्या पनि त्यसरी नै चल्नुपर्छ । तर, प्रकृतिभन्दा अघि जान खोजेकै कारण ज्योतिष विज्ञान हात हेर्नमा मात्र सीमित भएको हो । ज्योतिष विज्ञानले हामीलाई छाता ओढाइदिन सक्छ, तर पानी रोकिदिन सक्दैन ।

०००
पशुपतिको ज्योतिष गल्लीका पसलमा शिवजीको फोटो प्रायः सबैले राखेका छन् । उनीहरू ज्योतिषशास्त्रलाई धर्मसँग जोडिदिन्छन् । यो उपायले विशेष गरी धार्मिक महिलालाई राम्रोसँग आकर्षित गरिरहेको छ । उनीहरू सन्तान किन भएन या भयो भने कहिले हुन्छ, श्रीमान्को परस्त्रीसँग सम्बन्ध छ कि छैन भनेर ज्योतिषीसम्म पुग्छन् । त्यही मौकामा ज्योतिषीको हातमा भाग्य फुल्छ ।

धर्मसँग ज्योतिष विज्ञानको कुनै सम्बन्ध नभएको तर्क गर्छन्, युवा ज्योतिषी भानु अर्याल । भन्छन्, ‘यो संसारमा ‘सुप्रिम इनर्जी’ छ । त्यो इनर्जीले ब्रह्माण्डमा कसरी काम गर्छ भन्ने कुराको खोज ज्योतिष विज्ञानले गर्छ । यसको धर्मसँग कुनै सम्बन्ध छैन ।’ धर्म भनेको वैज्ञानिक प्रमाणलाई धारण गरेर आफूलाई सहज बनाउने माध्यम मात्र हो भन्ने उनको मान्यता छ ।

मानिसहरू सुखका वेला ज्योतिषीलाई बिर्सिन्छन् । जब दुःख पर्छ, अनि चिना बोकेर ज्योतिषीकहाँ पुग्छन् । यस्तैमा एक जना ३५/४० वर्षकी महिला भेटिइन्, ज्योतिष गल्लीमा । श्रीमान्को र आफ्नो चिना बोकेर आएकी उनी जान्न चाहन्थिन् कि श्रीमान्ले अचेल उनलाई किन माया गर्दैनन् ? उनको सबै समस्या थाहा पाएपछि र सात सय रुपैयाँ ‘भेटी’ राखेपछि ती ज्योतिषीले सोमबार महादेवको व्रत बस्न सुझाए । आफूसँग एउटा बुटी भएको र त्यसले श्रीमान्लाई परस्त्रीसँग विकर्षण गराउने, तर त्यसको लागि छुट्टै रुपैयाँ तिर्नुपर्ने बताए । ती महिला उनको कुरामा राजी भइन् ।

जब मानिसलाई दुःख, समस्या, बाधा–अड्चन आइलाग्छ, तब त्यस्ता ज्योतिषीको भाग्य उघ्रिन्छ । उनीहरूका लागि मान्छेका यस्ता समस्या सबैभन्दा उर्वर भूमि बन्छन् । तर, ज्योतिष विज्ञान हो भन्ने कुरा पशुपतिको ज्योतिष गल्लीमा मानिसको भावनालाई बन्दी बनाउन सिपालु ज्योतिषीलाई थाहा नभएको तर्क गर्छन्, युवा ज्योतिषी भानु अर्याल । ‘चराचर जगत्मा भएका ग्रहहरू, हामी जन्मिदाको वेलाको प्रभाव र अवचेतन मस्तिष्कको शक्तिको खोजी नै ज्योतिष विज्ञान हो’ भन्ने उनको तर्क छ ।
०००
पशिुपतिको ज्योतिष गल्लीमा एउटा भाग्य, ग्रहदशा, चिना हेराउने ठाउँ छ । शिवजी, बुद्ध तथा विभिन्न देवताका तस्बिरहरू छन् । त्यहाँ नामको पछाडि श्रीः महाराज राखेका ज्योतिषी बस्छन् । उनका लागि जमिनको सतहभन्दा करिब साढे दुई फिट उचाइमा आसन बनाइएको छ ।

उनले ध्यान गरिरहेका केही तस्बिर भित्तामा झुन्डिएका छन् । भिजिटिङ कार्ड बनाएका छन् । जहाँ लेखिएको छ, ‘जन्मकुण्डली, हस्तरेखा, अंक विज्ञान र तन्त्रको माध्यमबाट फलादेश गरिन्छ ।’ उनका अनुसार आममानिसदेखि ठूला–ठूला नेता पनि चुनावताका ‘चुनाव जित्छु कि जित्दिनँ’ भनेर उनकोमा पुगेका छन् । अघिल्लो वर्ष एकजना नेता पार्टीको चुनावमा ‘केन्द्रीय सदस्य जित्ने योग छ कि छैन’ भनेर आएको उनी सम्झिन्छन् ।

पूर्वप्रधानमन्त्री माधव नेपालसम्मको ग्रह दशा हेरेकोे दाबी छ, उनको । आफूले बिसौँ वर्षदेखि ज्योतिष विज्ञानको अध्ययन गरिरहेको बताउँदै उनले भने, ‘हाम्रोमा ग्राहक नै त्यस्तै आउँछन् । रिसर्च गर्ने समय पनि हुन्न । तर, समय मिलेसम्म गरिरहेको छु ।’

पातालभन्दा माथिका सम्पूर्ण कुरा ज्योतिष विज्ञानको अध्ययन क्षेत्र रहेको, तर ज्योतिषीहरू हात हेर्नमा मात्र सीमित हुनु दुःखलाग्दो कुरा भएको ज्योतिषी अर्याल बताउँछन् । ज्योतिष विज्ञानमा २७ वटा नक्षत्र हुने र ती नक्षत्रले पृथ्वीलाई सन्तुलनमा राख्ने हुनाले ज्योतिष विज्ञानको पहिले सर्त भनेको नक्षत्र अध्ययन गर्नु भएको तर्क भानुको छ । उनले भने, ‘आद्र्रा नक्षत्रमा सूर्यले स्पर्श गर्छ र असार महिनामा पानी पर्छ । तर, पुस, माघमा भने आद्र्रा नक्षत्र टाढा हुन्छ ।

अहिले अस्ट्रेलियामा जाडो छ । बिहानको २/३ बजे यता जति चिसो महसुस हुन्छ, त्यहाँको औसत तापक्रम त्यही हो ।’ ज्योतिष विज्ञानले ब्रह्माण्डको रहस्य, जन्मको प्रभाव र सर्वोच्च शक्तिको अध्ययन गर्ने भएकोले कर्मकाण्ड होइन, त्यता लाग्नुपर्छ भन्छन्, उनी । उनले भने, ‘ज्योतिषीको काम कर्मकाण्ड होइन, त्यो काम त पुरेतको हो ।’

०००
कुरै गर्ने हो भने पत्रिकाका अधिकांश पाठकले राशिफल हेरेरै दिनको सुरुवात गर्छन् । तर, ज्योतिष विज्ञानबारे भारतीय खगोलशास्त्री रविन चौधरीको भनाइ फरक छ । भन्छन्, ‘ज्योतिष विज्ञान केही होइन, हाम्रो कमजोरीको नक्सा हो ।’ यसको प्रमुख दोष नै ती ज्योतिषीलाई दिन्छन्, भानु अर्याल ।

जसले कमाउ धन्दाबाहेक अरू केही बनाएनन्, ज्योतिष विज्ञानलाई । भानुका अनुसार अँध्यारो शक्ति हो, तर पुरेतहरूले त्यसलाई देवी कालीसँग जोडिदिए र पूजा गर्न थालियो, खोज गरिएन । यसरी ज्योतिष विज्ञानसँग धर्म मिसिन आइदिनु हामी पछाडि पर्नुको कारण भएको उनको भनाइ छ । आविष्कार भन्ने कुरा भएन । सभ्यता अगाडि बढेन, बरु खुम्चिँदै गयो ।

इस्वी संवत् छैटौँ शताब्दीका एक ज्योतिषशास्त्री बराह मिहिरले भनेका छन्, ‘मान्छेले दुःखबाट पार पाउने ज्योतिषशास्त्र जस्तो अर्को डुंगा छैन ।’ ज्योतिष विज्ञान अध्यात्मसँग पनि जोडिएको विज्ञान हो । तर, ‘इनर ट्राभल’ (भित्री यात्रा)का सवालमा टिबेटियन अगाडि रहेको तर्क गर्छन्, भानु ।

हरेक कुरा सिस्टममा चल्छ । यो प्रकृतिको नियम हो । पृथ्वी र ग्रहहरू जसरी चल्छन्, दिनचर्या पनि त्यसरी नै चल्नुपर्छ । तर, प्रकृतिभन्दा अगाडि जान खोजेकै कारण ज्योतिष विज्ञान हात हेर्नमा मात्र सीमित भएको उनी बताउँछन् । भन्छन्, ‘ज्योतिष विज्ञानले हामीलाई छाता ओढाइदिन सक्छ, तर पानी रोकिदिन सक्दैन ।’

#ज्योतिष गल्ली

source – naya patrika

 

यसमा तपाइको मत

विज्ञान/प्रविधि बाट अन्य

अँगालो हालेर सुताउने अनौठो जागिर ! घण्टाको ८ हजार:

 कसैले अंकमाल गरेर पनि पैसा कमाउँदो रहेछ । एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् । पछिल्लो समय एकजना महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा...

साथीसँग सेक्स कि, सेक्सका लागि साथी ?

जब-जब मित्रताको कुरा आउँछ, हामी सुदामा र कृष्णजीको स्मरण गर्छौं । पौराणिक कथा अनुसार सुदामा अति गरिब पात्र । जबकी कृष्णजी सर्वशक्तिमान् । दुबैबीचको आत्मियतामा न सम्पति पर्खाल बन्यो, न शक्ति । किनभने उनीहरुको...

मोवाइलको लक बिर्सेर तनावमा हुनुहुन्छ ?यसरी खोल्न सकिन्छ !

समयनुसार विकास र प्रबिधिको पनि विकास हुदै छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड...

१० नारी, जसले घर-परिवारमा सुख भित्र्याउँछन्

नारी, अर्थात घरको शोभा । नारीले नै हो, घर-परिवारलाई सन्तुलित राख्ने । खुसी दिने । स्वस्थ्य बनाउने । सुख ल्याउने । हामीले नारीलाई दुर्गा अर्थात शक्ति, सरस्वती अर्थात कला, लक्ष्मी अर्थात समृद्धिको रुपमा पूज्छौं ।...

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन । सानो कुरामा र्झकन्छन् । सानै कुरामा फुरुंग हुन्छन् । हुन त बच्चाको...

समलैगिंक हुनु कुनै अपराध होइनः श्रीधर रंगायन

समलिंगी हुनु अपराध हो ? यस सम्बन्धमा वहस निरर्थक छ । समलिंगीलाई अहिले पनि हाम्रो समाजले खुला मनले स्विकार्न सकिरहेको अवस्था छैन । जबकी समलिंगी हुनु एक प्राकृतिक प्रक्रिया नै हो । र, हरेक...

कपाल किन र्झछ ? यी हुन् ९ कारण

कपाल झरेर हैरान भइयो के गर्ने ? अहिले यस्तो गुनासो बाक्लिदै गएको छ । कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम...

फ्रेन्ड्स विथ बेनिफिट्सः साथीसँग सेक्स कि, सेक्सका लागि साथी ?

जब-जब मित्रताको कुरा आउँछ, हामी सुदामा र कृष्णजीको स्मरण गर्छौं । पौराणिक कथा अनुसार सुदामा अति गरिब पात्र । जबकी कृष्णजी सर्वशक्तिमान् । दुबैबीचको आत्मियतामा न सम्पति पर्खाल बन्यो, न शक्ति । किनभने उनीहरुको...

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे संक्रान्तिको के सम्बन्ध छ ? किन तिलको लड्डु खाइन्छ ? किन खिचडी...

जाडोमा पनि झाडापखाला ? यसकारण खतरनाक !

झाडापखला भन्नसाथ बर्षायाम सम्झन्छौं । बर्षायाममा संक्रमित रोगको भय हुन्छ । खानेकुरा, पिउने पानीमा संक्रमण फैलन्छ । त्यही कारण झाडापखला लाग्छ । अहिले जाडो सिजन छ । जाडो सिजनमा पनि झाडापखाल हुनसक्छ । जाडोको महिनामा...