घटनाभन्दा माथि विचारको तहमा बहस गर्न सक्ने नेपाली कांग्रेसभित्रका उम्दा बौद्धिक चक्र बास्तोला

शंकर तिवारी

भनिन्छ, अग्लो वृक्ष ढलेपछि त्यसको उँचाइ मापन सहज हुन्छ । लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधनपश्चात् उनको उँचाइको चर्चा शुरू भएको छ ।

झापाको जमीनदार परिवारमा जन्मेका बास्तोलाले दार्जीलिङको कन्भेन्ट स्कूलबाट विद्यालय तहको अध्ययन सिध्याएर बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे । त्यसबेला भारतीय समाजवादीहरूको नाभीस्थल थियो, बनारस ।

समाजवादीहरूको सान्निध्यमा तीक्ष्ण बौद्धिक बास्तोलाको सामाजिक दायरा थप फराकिलो हुनपुग्यो । २०२० को दशकको अन्त्यतिर बनारस पुगेका नेपाली विद्यार्थीहरू बीपी कोइराला वा पुष्पलाल श्रेष्ठसँग ठोक्किन पुग्नु स्वाभाविक थियो । चक्र बास्तोला बीपीसँग नजिक मात्र भएनन्, कोइराला परिवारका भित्रिया समेत हुनपुगे ।

उनको लगनगाँठो कोइरालाहरूकी भान्जी मधु आचार्य (शैलजा आचार्यकी बहिनी) सँग गाँसियो । मधुको मृत्युपछि उनले दोस्रो विवाह गरे । जानकारहरूका अनुसार प्रवासमा निर्वासित जीवन विताइरहेका कोइरालाहरूलाई बास्तोलाले आर्थिक सहयोग समेत गर्थे । उनले केही समय तरुण पत्रिकाको सम्पादन÷प्रकाशन पनि गरे ।

कुनै बेला नेपाल एकीकरणको अभियानमा रहेका गोरखाका राजा पृथ्वीनारायण शाह हतियार खरीद गर्न बनारस पुगेका थए । कालान्तरमा उनै पृथ्वीनारायण शाहका उत्तराधिकारीसँग प्रजातन्त्र पुनस्र्थापनाको संघर्षका क्रममा बास्तोलाले बनारसमा हातहतियार जम्मा गर्न थाले । उता ओखलढुंगा विद्रोह असफल भएपछि कांग्रेसको अन्तिम सशस्त्र विद्रोह त्यही नै बन्न पुग्यो ।

त्यसबेला बनारसमा जम्मा भएका हतियार समाजवादी नेता जयप्रकाशनारायणको सल्लाहमा नेपाली कांग्रेसले बाङ्लादेशको मुक्ति सेनालाई दियो । ती हतियार सीमा क्षेत्रमा पुर्‍याउन सुशील कोइराला र चक्र बास्तोला खटिएका थिए । २०३० सालमा विमान अपहरणमा संलग्न भएबापत बास्तोलाले भारतीय जेलमा डेढ वर्ष बिताउनु पर्‍यो ।

२०४८ सालको आमनिर्वाचनमा पराजित भए पनि २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा विजयी बास्तोला पटक–पटक सत्तामा पुगे । २०६२/६३ सालपछिका दुबै संविधानसभा निर्वाचनमा उनलाई सफलता हात लागेन ।

बीपी कोइराला बाहेक अरूलाई आफ्नो नेता अस्वीकार गरेका बास्तोलाले गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् १२औं महाधिवेशनमा कोइराला परिवार इतरको गुट बनाए; भीमबहादुर तामाङ, नरहरि आचार्यसँग मिलेर । त्यसपछि उनी नेपाली कांग्रेस केन्द्रीय समिति बाहिर रहन पुगे ।

सांसद र पार्टीको केन्द्रीय सदस्य नरहेपछि बास्तोलाले आफ्नो क्रियाशीलता देखाउने ठाउँ नपाएको बताउँथे । पुस २०६९ मा मोरङमा एक कार्यक्रममा सहभागी भएका बेला मस्तिष्कघात भएपछि बास्तोला अचेत भए र कोमामा चार/पाँच वर्ष बिताउनु पर्‍यो । एउटा रोमान्टिक क्रान्तिकारीका जीवनका आखिरी वर्षहरू ऊर्जाशील रहेनन् ।

पार्टी संगठनमा आधारभूत तहको राजनीति नगरेका र विद्यार्थी राजनीतिमा समेत सहभागी नभएका बास्तोला मतदाता–कार्यकर्तामाझ भिज्न सकेनन् । त्यसको प्रभाव उनको चुनावी राजनीतिक करिअरमा पनि देखा पर्‍यो । २०४८ सालमा देशभर नेपाली कांग्रेसको लहर चलेका बेला पनि उनी पराजित हुनुको कारण त्यही थियो ।

वैश्विक राजनीतिक गतिविधि र विमर्शबारे ताजा जानकारी राख्ने उनको अध्ययनशील स्वभावले निर्णायक तहमा उनी प्रभावशाली रहिरहे तर, कार्यकर्ता र जनस्तरमा घुलमिल हुन खरो स्वभाव वाधक बन्न पुग्यो । बनारसको क्रान्ति गाथाले बास्तोलाको राजनीतिक उँचाइ बढाउन मद्दत त ग¥यो तर त्यो स्वदेशमा पार्टी कार्यकर्तामाझ झाङ्गिन भने पाएन ।

२०५६ सालको पोखरा महाधिवेशनमा बहालवाला मन्त्रीको हैसियतमा रहेर केन्द्रीय सदस्य उठ्दा समेत उनी पराजित भए । तर, पार्टीलाई वैचारिक पुट दिन र राष्ट्रिय संकट निवारणका खातिर उनी हरदम तत्पर र क्रियाशील रहन्थे ।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री निर्वाचित भएपछि भारतको राजनीतिक तहमा राम्रो सम्बन्ध भएका बास्तोला दिल्लीमा राजदूतका लागि कोइरालाको रोजाइमा परे । राजदूतमा सिफारिश भएपछि बास्तोलाको मुद्दा भारत सरकारले खारेज ग¥यो । यद्यपि २०५१ सालमा मध्यावधि निर्वाचन घोषणापश्चात् बास्तोला पदबाट राजीनामा गरी नेपाल फर्किए ।

भूराजनीतिको ज्ञान, तीक्ष्ण स्वभाव र स्पष्ट राजनीतिक सुझबुझ भएकाले उनमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा देखिनु स्वाभाविक जस्तो लाग्थ्यो । २०५८ सालमा होलेरी काण्डपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले राजीनामा गरेपश्चात् त्यो अवसर देखा परेको पनि थियो । तर, संसदीय दलको नेताको उम्मेदवारी उनले सुशील कोइरालाका लागि त्याग्नु पर्‍यो । बास्तोलालाई संसदीय निर्वाचनमा शेरबहादुर देउवालाई जित्न सक्ने आत्मविश्वास भए पनि त्यो परीक्षण हुनै पाएन । सुशील कोइराला पनि पराजित भए ।

त्यसो त २०५६ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्छ भनी गिरिजाप्रसादलाई सल्लाह दिने व्यक्तिमध्ये एक बास्तोला पनि थिए । गिरिजाप्रसादसँग सहजै फरक मत राख्न सक्ने निकै कम नेताहरूमध्ये थिए बास्तोला ।

चक्र बास्तोलाको बौद्धिक व्यक्तित्व र खरो स्वभाव गिरिजाप्रसादलाई कहिल्यै आफू अनुकूल लागेन । पार्टीका लागि ‘राइट म्यान’ बास्तोला नेतृत्वका लागि ‘यस म्यान’ हुन सकेनन् । उनी नेतृत्वमा पुग्न नसक्ने कारण यही नै रह्यो ।

माओवादी समस्या समाधानका लागि गिरिजाप्रसादले चालेका प्रारम्भिक कदममा बास्तोला खरो उत्रँदै थिए । तर बास्तोलाको राजनीतिक महत्वाकांक्षा आफ्ना लागि प्रतिकूल हुन्छ कि भन्ने आशंकामा गिरिजाप्रसादले झापाकै कृष्णप्रसाद सिटौलालाई अगाडि बढाए । सिटौलाको राजनीतिक व्यक्तित्व यही घटनाबाट उकासिएको हो ।

आफ्ना कुरा स्पष्ट राख्ने तर संवेदनशील नेता थिए बास्तोला । पुस २०५६ मा काठमाडौंबाट उडेको एअर इण्डियाको विमान तालिवान विद्रोहीले अपहरण गर्दा परराष्ट्र मन्त्री रहेका बास्तोलाले लिएको अडानबाट भारतको कर्मचारीतन्त्र खुशी थिएन ।

आज पनि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जहाज चढ्नु अगाडि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँच गर्छन् । देशभित्रकै विमानस्थलमा हाम्रो सार्वभौमसत्ता खुम्च्याउने उक्त कार्य बास्तोलालाई पटक्कै चित्त बुझेको थिएन । धेरैपछि आफ्ना समवर्ती भारतीय परराष्ट्रमन्त्री जसवन्त सिंहसँग भेट्दा समेत बास्तोलाले उक्त प्रसङ्ग उप्काएका थिए । जसवन्तको प्रतिउत्तर थियो– ‘चक्रजी अपहरणका कारण मैले पनि हात डढाउनु परेको छ ।’

माओवादीसँगको शान्ति प्रक्रियामा चक्र बास्तोला बहिष्करणमा पर्नुमा उनी राजावादी भएकाले पो हो कि भनी आकलन गर्नेको कमी छैन । त्यसो भन्नु वैचारिक हिसाबले समेत क्रान्तिकारी रुझानका बास्तोलाका लागि अन्याय हुन जान्छ ।

शान्ति प्रक्रियाको बचेखुचेको श्रेय कृष्णप्रसाद सिटौला पश्चात् कोइराला परिवारका शेखरले पाएबाट पनि स्पष्ट हुन्छ– गिरिजाप्रसाद त्यस प्रकरणबाट बास्तोलाको राजनीतिक महत्वाकांक्षामा ब्रेक लगाउन चाहन्थे । बास्तोलालाई शान्ति प्रक्रियामा आफू कहाँनेर छु भन्नेमा धेरै चिन्ता थिएन । उनले प्रष्ट भनेका थिए, ‘२०६२/६३ को जनआन्दोलन वाटरसेड माइलस्टोन हुन्छ ।’ नभन्दै त्यस्तो हुन पुग्यो ।

नेपाली राजनीतिको दुरवस्था देखेर उनी चिन्तित देखिन्थे । उनी भन्थे, “राजनीतिज्ञलाई राजनीतिका बारेमा फुर्सद छैन, तिनीहरू केमा व्यस्त छन्, उदेकलाग्दो अवस्था छ । राजनीति समाजसँग डिस्कनेक्ट भएको छ । नेपाली राजनीतिले डेलिभरी गर्न सकेको छैन ।”

कांग्रेसको राजनीतिमा जिल्लास्तरको राजनीति नगर्नेहरू भूगोलसँग जोडिन पुग्दैनन् । चक्र बास्तोलाका हकमा त्यही लागू हुन्छ । भूगोलसँग नजोडिएपछि नेतृत्वसँग विद्रोह गर्न सकिंदैन । एउटा बौद्धिक नेताले बोलेर मात्र होइन लेखेर पनि सशक्त वैचारिक हस्तक्षेप गर्नुपर्छ ।

प्रदीप गिरी, नरहरि आचार्य, मनमोहन भट्टराईले जस्तो बस्तोलाले कलम चलाएनन् । आशा गरौं, बास्तोलाले सुरक्षित संग्रह गरेका ऐतिहासिक सामग्रीहरू चाँडै प्रकाशित/प्रसारित हुनेछन् ।

नेपाली कांग्रेसमा अहिले २००७ साल अगाडि जन्मेको पुस्ता हावी छ । यही पुस्ताले पञ्चायतका कठोर दिनमा स्वदेश भित्र र प्रवासमा रहेर कांग्रेसलाई जोगाएर हुर्काएको पनि हो । चक्र बास्तोला त्यो युगका एक चम्किला नक्षत्र हुन् ।

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

महिलामाथि हुने हिंसाको प्रमुख कारण बारे मुख खोले डा. बाबुराम भट्टराईले

महिलालाई हेर्ने दृष्टिकोण र महिलाको सामाजिक भूमिकालाई ठीक ढंगले परिभाषित गर्ने पाटोमा रहेको त्रुटि नै मुख्य रूपमा महिलामाथि हुने हिंसाको प्रमुख कारण हो केही समययता नेपालमा महिला हिंसाका घटना बढिरहेका छन्, यो अत्यन्तै चिन्ताको विषय...

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !

विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष...

बोल्नै नपाइने भइसकेको हो र ?

 गोबिन्द अधिकारी ,१८ असार २०७५, संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिन रुचाउने भारत सन् २०१८ मा महिलाहरूका लागि दुनियाँमै ‘सबैभन्दा खतरनाक‘ स्थान भएको छ । समाचार संस्था रोयटर्सको थम्पसन रोयटर्स फाउन्डेसनले गराएको अध्ययनले भारतको छवि...

फेसबुक च्याट’ ले फेला पार्‍यो म्यानपावरका दलाल !

दर्जी परिवारले १० वर्षपछि न्याय पायो १० असार, काठमाडौं । भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । यस्तै भएको छ नवलपरासी गैंडाकोटको एक दलित परिवारलाई, जसको घरबास नै, विदेश पठाइदिने एक दलालले हात पारेर सम्पर्कविहीन...

रबि लामिछानेलाई अमेरिकाबाट प्रेम बानियाँको यस्तो सन्देश, धुर्मुस-सुन्तली देखि दिपकराज गिरी सम्म कसले के भने ? – पढ्नुहोस्

काठमाडौँ। जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् । न्युज ट्वान्टीफोर टेलिभिजनमा...

विहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन...