बलात्कारी भाइसँग भाग्दै एक दिदी,एउटा अनौठो कथा ….

  खै कसरी घरमा आउँ, आउने जहाज जल्यो आमा
हेर्दा हेर्दै त्यो चित्कारसँगै, सबै दनदन बल्यो आमा

यो यस्ती दिदीले कोरेको गजल हो, जो भाइबाट भयभित भएर रातारात घर छाड्न विवश भइन् । जीवनभरका लागि डरलाग्दो स्वरुप बन्यो भाइ । भाइले दिदी भनेन, सम्बन्धका मर्यादाहरु तोडेर पशु बन्यो । कल्पना गर्नै नसकिने पाशविक चरित्रले आक्रान्त बनिन् दिदी । भाइबाट बलात्कृत भइन् ।

डरविहीन सपनासहित बाँचिरहेको जीवनमा यस्तो पनि होला भन्ने कुनै उपन्यासकारको कल्पनामा पनि नहोला ।

उनले त कसरी पो सोचेकी थिइन् र !

सोचेकै भए त भाग्न सक्थिन् कि, जोगिन सक्थिन् कि । हुन त पराइसँग भए पो जोगिने, तर्किने कल्पना गर्नु । भाइसँग एउटी दिदी किन पो डराउनु ! तर, नसोचेको, नकल्पेको भयो । भाइ बलात्कारी बन्यो ।

आठ महिना भयो डरको ठूलो भारी दिदीमाथि बज्रिएको । काकाको छोरा, जो उनीभन्दा दुई वर्ष कान्छा थिए । भाइले कामवासनाको घिनलाग्दो स्वरुप देखायो, २२ वर्षकी उनी १९ वर्षका भाइबाट बलात्कृत भइन् ।

प्रहरीले लिएन रिपोर्ट

दैलेखमा ल्याब असिस्टेन्ट पढिरहेकी सुशीला (नाम परिवर्तन) का दिनहरु मेहनतले रंगिरहेका थिए ।

बिहानबिहान मजदुरी गरेर भए पनि पढिरहेकी उनी पढाइमा राम्रो थिइन् । आठ कक्षा पढ्दादेखि नै घरबाट बिहान ४ बजे निस्किएर दुई घण्टा हिँडेर सदरमुकाम जान्थिन् । सदरमुकाममा बिहानभरी बालुवा चाल्ने, ईंटा बोक्ने काम गर्थिन् । दिउँसो विद्यालय जान्थिन् । त्यसपछि बेलुकी फेरि दुई घण्टा हिँडेर घर ।

कडा मेहनतमा उनले सुन्दर भविश्यको सपना बुनिरहेकी थिइन् । उनको एउटै उद्देश्य थियो, ल्याब असिस्टेन्ट भएर गाउँमा स्वास्थ्य सेवा गर्ने । गाउँलेहरुलाई आफूले जानेका कुराले सहयोग गर्ने ।

तर, भाइबाटै बलात्कृत भएपछि सपना टाढिएको छ । अहिले न्यायका लागि लडिरहेकी छिन् । उनी अँध्यारा दिनहरुमा गुज्रिरहँदा पश्चातापको एक सिन्की दुःख पनि नमानी बलात्कारी भने खुलेआम घुमिरहेको छ ।

बलात्कार भएको कति दिनसम्म त बोल्न सकेकी पनि थिइनन् । पीडाको आक्रान्त स्वरुप आफैंभित्र दबाएर आँसु पिइरहेकी थिइन् । स्थानीय रेडियोमा ‘भन्छिन् आमा’ कार्यक्रम सुनिरहँदा उनमा हिम्मत आयो । आफूमाथिको पीडा आफैसँग राखेर भित्रभित्रै तड्पिन भन्दा न्यायका लागि बोल्नुपर्छ भन्ने लाग्यो । त्यसैले महिला हेल्पलाइनमा फोन गरेर कुरा गरिन् । हिम्मत बढ्यो ।

बलात्कारीविरुद्ध उजुरी गर्न प्रहरी चौकीमा गइन् । मीठो बोलीमा प्रहरीको जवाफ थियो, ‘घरको कुरा रहेछ हजुर । घरमै मिलाउनुस्, यहाँ किन आउनुहुन्छ ? घरपरिवार बिगारेर तपाइँले के पाउनुहुन्छ ?’

न्याय पाइएला भन्ने आश बोकेर प्रहरी कहाँ पुगेकी उनी निराश बनिन् । प्रहरीले उजुरी लिन नपाएको गुनासो गर्दा महिला हेल्पलाइनमार्फत राष्ट्रिय महिला आयोग जाने सुझाव पाइन् ।

दाइले झुक्काएर घर पठाए

घरबाट एक्लै हिँडेकी उनी काठमाडौंमा ठूलोबुबाको छोरा कहाँ पुगिन् । पढेका मान्छे कुरा बुझ्नुहोला भन्ने ठूलो आश उनलाई थियो ।

सबै कुरा दाइलाई सुनाइन् । आफूलाई कसैले साथ नदिएकाले प्रहरी चौकी लगिदिन बारम्बार आग्रह गरिन् । ‘दाइले काठमाडौंमा मलाई केही सहयोग गर्देलान्, चौकी लग्देलान् भन्ने थियो तर, उनले उल्टै मेरो मोबाइल बिगार्ने, सिम कार्ड लक गर्ने गरिदिएछन्’ उनी भन्छिन् ।

‘आज लगिदिउँला, भोलि लगिदिउँला भन्दै टार्दै गए । मेरो केही काम छैन र तलाइँ चौकी लिएर हिँड्नु भने ।’

एक दिन चौकी जाम भनेर कलंकी लिएर गएछन्, त्यहाँबाट उनलाई थाहा नदिइ दैलेख जाने गाडी चढाइदिए ।

नागढुंगा पुगेपछि बल्ल उनलाई थाहा भयो दाइले चौकी जान होइन, झुक्काएर दैलेख जाने गाडीमा चढाइदिएछन् । बसको स्टाफलाई दैलेख लगेर झारिदिनु भनेका रहेछन् । ठीकै छ भनेर उनी घर गइन् ।

‘यहाँ हुँदा सबैको फोन आउँछ, मेरो मोबाइलमा किन फोन आएन भनेर बुझ्दा त ब्लक गरेको रहेछ । गुँरासे पुगेर खाना खान बस रोकेको बेला एक जनालाई मोबाइलमा फोन गर्न लगाएँ । उनैले तपाइँको सिम त ब्लक छ भनेपछि बल्ल बुझेँ’ उनले आँखाभरी आँसु पारेर दाइले झुक्काएको दिन सम्झिइन् ।

भाइलाई केही भन्ला, मेरो लागि केही गरिदेला भनेर आश गरेको दाइले नै झुक्याएपछि अब कसैको आश भएन ।

सुनको सिक्री र पैसाको लोभ

बलात्कारको पीडा आफ्नै ठाउँमा थियो । त्योभन्दा ठूलो पीडा सबै गाउँले मिलेर उनको भावनाको बलात्कार गरे ।

वडा अध्यक्ष उनकै दाइ पर्छन्, वडा सचिव आफ्नै ठूलाबुबा । सबै आफ्नै भएर पनि कसैले सहयोग गर्न मानेनन् ।

वडा अध्यक्षले त कतिसम्म भने ‘तलाईँ एक तोला सुन दिन्छु चुप लाग’सम्म भन्न भ्याए । लोभ लालच र धम्की त्योबाहेक अरु भाषा बोलेनन् । पीडा सुनिदिन चाहेनन्, न्यायका लागि बोलिदिन चाहेनन् ।

‘मलाई पैसा पनि चाहिँदैन, सुन पनि चाहिँदैन । मैले अहिलेसम्म आफैं दुःख गरेर पढेको छु, अगाडि पनि आफ्नै मेहनतले गर्न सक्छु । मलाई कसैको केही चाहिँदैन’ उनले दृढ भएर भनिदिइन् ।

वडा अध्यक्ष, वडा सचिव उनको घरमा दिउँसो कहिल्यै आउँदैन थिए । राति भएपछि १९/२० जना मान्छे लिएर घरमा आउँथे । फकाउन खोज्थे, पढाइदिने लोभ देखाउँथे, पैसा दिन्छौं भन्थे ।

सकेसम्म फकाउने, नसकेपछि लोभ ।

लोभले पनि पगाल्न नसके आउने धम्कीले डर भइरहन्थ्यो । मारी नै पो दिन्छन् कि भनेर हरेक सेकेण्ड उनलाई जीवनको आश लाग्यो । बाँच्ने चाहना पलायो । उनलाई अहिल्यै मर्न मन थिएन ।

उनले सबैलाई भनेकी पनि थिइन्, ‘मलाई धेरै लोभ देखाउन नखोज्नुस् । मलाई केही चाहिँदैन । दिन सक्नुहुन्छ भने न्याय दिनुस् । मलाई जे भए पनि मपछिको बहिनीहरुले यस्तो भोग्न नपरोस् ।’

रातारात घर छाडेर भागिन्

वडाअध्यक्षदेखि गाउँका सबै उनको आवाज दबाउन लागेका थिए । चुप लाग्न दबाव दिइरहेका थिए, धम्क्याइरहेका थिए ।

‘पीडामा परेकी छोरीलाई यतिसम्म अमानवीय व्यवहार कसरी गर्न सकेका होलान्’ उनी एक्लै कल्पिएर बाटो खोजिरहिन्थन् । यही अवस्थामा कसरी पढ्ने, कसरी काम गर्ने भन्ने चिन्ता त छँदैथियो । सबैले नै धम्की दिन लागे । तैँले भनिस भने मार्दिन्छम भन्थे । ठूला बुबा, दाइहरुले नै त्यस्तो भनेपछि गाउँमा बस्न सक्ने अवस्था भएन । घर छाडेर भाग्नुको विकल्प थिएन ।

‘घरमा बुबा हुनुहुन्नथ्यो । कामका लागि साउदी अरब जानुभएको थियो । गाउँमा कुरा भएपछि न्यायका लागि बोल्नान् भन्दा त उल्टै मेरैविरुद्ध लागे । धम्की दिए । यसैले रातारात गाउँ छाड्नुको विकल्प भएन’ काठमाडौंमा साथी संस्थाको महिला आवास केन्द्रमा आश्रय लिइरहेकी उनले भनिन् ।

भाउजुले ‘नानी म सहयोग गर्छु तिमीसँग पैसा छैन भने म दिन्छु । तिमी भागेर भए पनि काठमाडौं जाउ’ भनेपछि रातारात उनी घरबाट भागेकी थिइन् । आमालाई पनि थाहा दिइनन् ।

‘समाजको डरले आमा पनि समाजकै बोली बोलिरहनु भएको थियो । समाजले हामीलाई अलग्याइदियो भने कहाँ गएर बाँच्ने भन्नुहुन्थ्यो । उहाँलाई अहिलेसम्म पनि समाजकै डर छ’ उनले भनिन् ।

उनी केही पनि नलिई काठमाडौं आइन् । आफूले कविता, गजल लेखेको डायरी देखाउँदै उनी भन्छिन्, ‘यो पनि मैले यहीँ आएर किनेको हो । गाउँमा हुँदा लेखेका कविता, गजलहरु त कता पो पुगे ।’

मान्छे देख्दा डर लाग्छ

उनी काठमाडौं आएपछि पनि धम्की दिन छाडेका छैनन् । घरमा आमालाई धम्की दिन्छन्, आमा रातिमा डराई डराई फोन गरेर छोरीको हालचाल सोध्छिन् र बाँच्नै मुस्किल भएको सुनाउँछिन् ।

‘म यहाँ आएपछि पनि घरतिर धम्की दिने भइरहेको छ । आमाले तँ पो त्यहाँ भागेर बाँचिस् यहाँ हामी कसरी ज्यान जोगाउँ भन्नुहुन्छ’ उनले सुनाइन्, ‘समाजले एक्लो गराइदिन्छ, हाडकट्टा गराइदिन्छ भन्ने डर अामालाई अहिलेसम्म पनि छ । एक्लो भएर कसरी बाँच्ने भन्नुहुन्छ ।’

बुबा विदेशबाट फर्किसके । तर, उनले पनि पहुँच भएका गाउँलेका अगाडि केही गर्न सकेका छैनन् । निराश भएर छोरीलाई भन्छन्, ‘जति सक्छौँ तिमी लड छोरी । मैले पनि केही गर्न सकिनँ ।’

सानैदेखि घरबाट टाढाको विद्यालय आउने जाने गर्दा पनि उनलाई केही डर थिएन । मेहनतले दिनहरु रमाइला बनिरहेका थिए । अहिले भने उनलाई डर लाग्छ, सबैभन्दा धेरै मान्छेदेखि नै ।

‘अहिले त एक ठाउँबाट अर्को ठाउँमा जाँदा कहिले पुग्छु होला भन्ने डर भइरहन्छ । मान्छेहरु देख्दा पनि डर लाग्छ । जो मान्छे भेटिए पनि त्यसकै मान्छे हो कि, मलाई केही गर्दिन्छ कि जस्तो डर लाग्छ ।’

‘जीवनको २२ वर्ष नडराइ हिँडेकी म अहिले डराइ डराइ बाँच्नु परेको छ । यस्तो डर अरुलाई नहोस् भनेर नै न्याय मागिरहेकी छु’ उनले भनिन् ।

न्यायको आश

विश्वव्यापी रुपमा हरेक तीन महिला वा किशोरी तथा बालिका मध्ये एकले जीवनकालमा शारीरिक वा यौनजन्य हिंसा भोग्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक नै छ । उनलाई लाग्छ त्यतिमा कतिले बोल्न सकेका होलान् ?

साथी महिला आवास केन्द्रकी कार्यक्रम संयोजक सपना श्रेष्ठ पीडामा परेकाले आवाज उठाउन सक्ने वातावरण पहिले भन्दा राम्रो भएको अनुभव गर्छिन् । तर पनि पारीवारिक घटनामा त्यो अत्यन्तै कठीन हुने अझै पनि उनलाई लाग्छ । ‘बलात्कारका घटनामा १० वर्ष पहिले जस्तो अवस्था थियो अहिले पनि उस्तै छ । फरक के भने त्यो बेला धेरैजसो घरमा नै घटना मिलाएर राख्न खोज्नुहुन्थ्यो भने अहिले प्रहरीमा रिपोर्ट गर्ने र आवाज उठाउने हुन थालेको छ’ श्रेष्ठ भन्छिन् ।

‘केही नबोली घरमा बसिरहेको भए मेरो ज्यान बच्दैन थियो होला । पक्कै यो संसारमा हुँदैन थिएँ । अब म हार खाँदिन’ सुशीलाले भनिन्, ‘अहिले मेरो पहिलो सोच न्याय नै हो । कानुनले मलाई न्याय दिएपछि केही काम गर्नुपर्छ भनेर जागिर खोजिरहेकी छु । मैले आफ्नै लागि केही गर्नुपर्छ ।’

न्याय पाएँ भने पीडाबाट बाहिर निस्कन सक्छु भन्ने एकीनमा छिन् उनी । यसैले त काम लाग्छ भनेरै कम्प्यूटर तालिम पनि लिइरहेकी छिन् । मनमा केही लाग्दा साथी महिला आवास केन्द्रमै मिसहरुसँग सेयर गर्छिन् । त्यहाँ हुने काउन्सिलिङले पनि उनलाई धेरै सहयोग पुगिरहेको छ ।

‘गाउँमा मलाई भन्दा अगाडि पनि धेरै घटना भएका हुन्थे । त्यही पनि मानिसहरु चुप बस्थे । गोप्य राख्थे । उनीहरुले त्यतिबेला बोलिदिएको भए अहिले मलाई यो अवस्था आउने थिएन जस्तो लाग्छ’ उनी भन्छिन् ।

‘पहिले नै त्यस्तो गर्नेलाई चौकीमा लगेर थुनिदिन सकेको भए, उनीहरुले केही सजाय पाएको भए म अन्यायमा पर्ने थिइनँ ।’

उनी दैलेखको स्थानीय एफएममा कार्यकममा बोल्थिन् । गाउँमा उमेर नपुगी हुने बिहे रोक्न आवाज उठाउँथिन् । त्यसले नै उनले बोल्न सकिन । ‘बोल्न नसकेर न्यायबाट टाढा रहेका गाउँमा कति होलान्’ निराश भएर उनले भनिन् ।

कहिलेसम्म डराइरहने ?

पीडामा परेपछि न्याय परपर भइरहे पनि ज्यानकै डर हुँदा भने थप पीडा हुने गरेको छ । बलात्कारपछि पनि न्यायको आश त छँदै छ, बाँच्ने आश बचाइराख्न पनि मुस्किल भइरहेको छ ।

त्यस्तै छ सुशीलालाई पनि । कुन बेला बलात्कारीका मान्छेले भेटलान् र मारी पो देलान् कि भन्ने डर छ । उनीहरुबाट जोगिन सके न्याय पाउँछु कि भन्ने लागेको छ । शिक्षाले भूमिका खेल्छ त्यो एक हिसाबले सही पनि होला ।

तर, शिक्षित भनिने समाजकै शिक्षित अगुवाले उनलाई, उनकी आमालाई हरेक दिन मारिदिने धम्की दिइरहेका छन् ।

यहाँ न हजुरआमा भनेर छाडिएको छ, न बालिका भनेर छाडिएको छ, न दिदी बहिनी भनेर छाडिएको छ । न छोरी भनिएको छ । बलात्कारपछिका हत्या जस्ता घटनाले पीडा भोगेर पनि चुप लाग्न विवश हुनुपरेको छ । सुशीलालाई आफूले न्याय नपाए गाउँमा बलात्कारीहरुलाई झनै प्रश्रय मिल्ला कि भन्ने डर छ ।

राजनीतिक, सामाजिक रुपमा हामी परिस्कृत समाजको खोजिमा लागिरहँदा एउटा छोरी छोरी भएकै कारणले पीडा पाएपछि बाँच्छु भन्दा पनि नपाउने ? पीडितलाई न्याय दिलाउनका लागि भन्दा पीडकलाई ढाकछोप गर्न नै सबै लागिपर्ने ? गर्भमा छोरी हुँदा आमाहरु अझै कहिलेसम्म डराइरहने ?

यसमा तपाइको मत

समाचार बाट अन्य

बलात्कार गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर: रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी...

कुटपिटबाट एक व्यक्तिको हत्या,

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान...

टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी...

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

भाग्दै गर्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ,

२ पुस, काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको...

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

ज्ञानेन्द्रको स्वागतमा पोखरा विमानस्थलमा नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा...

चिठी लेखेर श्रीमती गायब…….

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र...

सचेत बन्नुहोस नक्‍कली नोटको फन्दामा पर्नुहोला

काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो। बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने...

सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ रिलिज भिडियो:

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका  हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर...