दृष्टिविहीनका ज्योती ‘आँखा बा’

१९ मंसिर, काठमाडौं । आँखाको उपचारमा नेपाल दक्षिण एशियामै अग्रणी मानिन्छ । अरु रोग लाग्दा उपचारका लागि विदेश जान चाहनेहरु पनि आँखाको समस्यामा भने स्वदेशकै डाक्टर र अस्पतालमा पुग्छन् र ढुक्कसँग उपचार गराउँछन् । विदेशबाट आँखाको उपचारका लागि नेपाल आउनेहरु बढेका छन् ।

यो स्तरोन्नतीमा धनकुटाका डाक्टर रामप्रसाद पोखरेलको धेरै दुःख मिसिएको छ । त्यसैले त उनलाई धेरैले ‘आँखा बा’ भनेर सम्मान गर्छन् । सन् १९७१ मा बेलायतमा पढेर फर्केपछि देशकै जेठो अस्पताल वीरबाट सेवा प्रारम्भ गरेका उनी अहिले ७८ वर्षको उमेरमा पनि विरामीको सेवामा अहोरात्र खटिरहेका छन् ।

विरामीको उपचारमा मात्रै होइन, अस्पताल स्थापनामा पनि उनको योगदान अविस्मरणीय छ ।

धनुकटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयबाट एसएलसी गरेका पोखरेलले इलाहावादको के.पी. कलेजबाट आईएस्सी गरेका हुन् । लखनउको किंग जर्ज मेडिकल कलेजबाट एमबीबीएस र बेलायतको रोयल कलेज अफ सर्जन इडेनवर्गबाट फआरसिएससम्म अध्ययन पूरा गरेका उनी आँखा उपचारका ‘पायनियर’ हुन् ।

सन् १९७१ मा बेलायतबाट नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट काम शुरु गरे । त्यसबेला नेपालमा आँखा रोगीहरुको अवस्था दयनीय थियो । वीर अस्पतालमा जम्मा १६ वटा बेड थिए । उनी भन्छन्, ‘दुवै आँखा नदेखेर बोकेर ल्याएका विरामीले समेत उपचार गर्न एक वर्ष कुर्नु पर्थ्यो ।’

ज्योतीको कुरा गर्दा जेलको चेतावनी

वीर अस्पतालले विभिन्न जिल्लामा आँखा शिविर सञ्चालन गर्थ्यो । त्यही क्रममा उनले देशको आर्थिक स्थिति, भौगोलिक अवस्था, त्यहाँको वातावरण बुझ्ने राम्रो अवसर पनि पाए ।

विशेषगरी, एउटै शिविरमा तीन-चार सयसम्म शल्यक्रिया गर्नुपर्ने अवस्था देखेपछि उनलाई लाग्थ्यो, सरकारको मुख ताकेर मात्र हुँदैन । अब हामीले नै केही गर्नुपर्छ ।

नेपालका समस्याबारे लेख लेख्न थाले । सहयोगी संस्थाहरु खोजे । लायन्स क्लब, रोटरी क्लबले आयोजना गर्ने प्रत्येक कार्यक्रममा यस्ता समस्याबारे बोले । त्यही क्रममा उनले काठमाडौं महानगरपालिकामा एउटा बैठक बोलाए, जहाँ प्रतिष्ठित व्यक्तिहरुका साथै स्वास्थ्य सेवा विभागका अधिकारी पनि निम्तालु थिए ।

स्वास्थ्य सेवा विभागलाई बोलाउँदा त्यहाँका निर्देशकले एउटा चिठ्ठी लेखेर कसको स्वीकृतिले बोलाएको भन्ने प्रश्नसहित थुनामा राखेर कारवाही गर्ने चेतावनी दिएको उनी सम्झिन्छन् । ‘त्यो पत्र देखाउँदा त्यहाँ उपस्थित अरुको मनोबल गिर्न सक्छ भन्ने लाग्यो । त्यसैले त्यो पत्र कसैलाई नदेखाई बैठक बसालेँ,’ उनले भने ।

कमलमणि दीक्षित, बद्रीविक्रम थापालगायत ३६ जना सहभागी बैठकमा उनले नेपालमा आँखा अस्पताल स्थापनाको प्रस्ताव राखे । त्यसको लागि उनले पहिले नै विधानसमेत बनाइसकेका थिए । त्यही विधान मिटिङ्गबाट पारित गराए । तर, अस्पताल खोल्न न त पैसा थियो, न जग्गा ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षसँगको भेट उनका लागि ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । वडाध्यक्षबाटै उनले त्रिपुरेश्वरमा गुठीको जग्गा वेवारिसे अवस्थामा छ भन्ने थाहा पाए । त्यसपछि गुठीका अध्यक्षलाई भेट्न गए । ‘मैले भनेर मात्रै गुठीको जग्गा भोगचलन गर्न मिल्दैन, सरकारलाई नै जानकारी दिनुपर्छ,’ गुठीका अध्यक्षले उनलाई जवाफ दिए ।

जाहेरीमा सरकारले ‘तिमी (गुठीका अध्यक्ष) र प्रधानमन्त्रीले जे निर्णय गर्छौ, त्यो स्वीकार छ’ भनेपछि एउटा निर्णय भयो । जसमा लेखिएको थियो, ‘गुठीले चाहिने बेला भोगचलन गर्ने गरी गुठीको आधा जग्गा अस्पताललाई उपलब्ध गराउनू ।’

यही निर्णयका आधारमा अस्पताललाई गुठीको पश्चिमतर्फको आधा जग्गा उपलब्ध गराइयो । सुरुमा तीनकोठे भवन बनाइयो । पोखरेलले बेलायतबाट आठ हजार पाउण्ड खर्चेर ल्याएका उपकरण अस्पताललाई दान पनि गरे ।

विहान वीर अस्पतालमा काम गर्ने उनी दिउँसो दुई बजेपछि आँखा अस्पतालमा स्वयमसेवा गर्न तयार भए । यसमा सबैले उनलाई राम्रै साथ दिए । त्यसपछि अस्पताल उदघाटनको तयारी भयो । तर, पर्याप्त जग्गा भएन । अस्पतालले पाएको जग्गामा एउटा टहरो पनि थियो, जुन एकजना मारवाडीले भोगचलन गरिरहेका थिए ।

‘जहाँ इच्छा त्यहाँ उपाय’ भने जस्तै बुझ्दै जाँदा जग्गा त मारवाडीले पनि निश्चित रकम तिरेर भोगचलन गरेको थाहा भयो । कानून व्यवसायी कृष्णप्रसाद घिमिरेले अस्पताल र टहराबीचकोे पर्खाल हटाउन सके जग्गा आफ्नो बनाउन सकिने सल्लाह दिए ।

वीर अस्पतालमै कार्यरत कम्पाउण्डर हरिप्रसाद सुवेदीको सहयोगमा पर्खाल भत्काएर जग्गा भोगचलनको दाबी पेश गरियो । यो विषय सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्चमा करिब पाँच वर्ष मुद्दा चल्यो । मुद्दा चल्दासम्म पनि उनी अस्पतालमा स्वयमसेवीकै रुपमा कार्यरत दिए । मुद्दाको फैसला पोखरेलकै पक्षमा आयो । त्यतिबेला सर्वोच्चका प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय थिए ।

त्यतिबेला जग्गाको मूल्य रोपनीको २२ हजार थियो । त्यसैको आधारमा गुठी संस्थानलाई एकमुष्ट रकम उपलब्ध गराएर उनले गुठीको जग्गा अस्पतालको नाममा नामसारी गरे । अब अस्पताल भवन कसरी बनाउने भन्ने चिन्ता थपियो ।

बिर्सनै नसक्ने विरामी

फेरि पनि ‘जहाँ इच्छा त्यहाँ उपाय’ को सिद्दान्त सावित भयो । एक दिन एक क्यानेडियन नागरिक आँखा जचाउन उनीकहाँ आए । उनी महाराजगञ्ज क्याम्पसमा सल्लाहकारको रुपमा कार्यरत रहेछन् । आँखामा दाग भएकाले उनी ‘सेकेण्ड ओपिनियन’ -दोस्रो डाक्टरको परामर्श) लिन चाहन्थे ।

डा. पोखरेलले उनलाई सेकेण्ड ओपिनियनका लागि लण्डन रिफर गरे । लण्डनका डाक्टरले ‘जहाँ जचाइरहेका छौ, योभन्दा राम्रो जाँच अरु हुन सक्दैन,’ भनेर पठाइदिएछन् । क्यानेडियन विरामी फेरि डा. पोखरेल कहाँ पुगे । डा. पोखरेलको क्षमता बुझेपछि उनले सहयोगको तत्परता देखाए । जवाफमा पोखरेलले भने, ‘अस्पतालको भवन बनाउन तिम्रो सरकारसँग अनुरोध गरिदेऊ न त ।’

त्यतिबेला नेपालमा क्यानडेयिन दूतावास थिएन । नेपाल पनि भारतस्थित दूतावासले नै हेर्थ्यो । उनले भारतस्थित क्यानेडियन दूतावासमा चिठ्ठी लेखिदिएछन् ।

‘भारतका लागि क्यानेडियन राजदूत उनका भिनाजु रहेछन्,’ आँखा बा भन्छन्, ‘राजदूतले थप बुझ्न दूतावासका प्रथम सेक्रेटरी डेभिड व्हिचलाई नेपाल पठाए ।’

पोखरेलले डेभिडलाई आफ्नै घरमा राखे । उनको विश्वास जिते । जब डेभिड विश्वस्त भए, उनले क्यानडामा पत्र पठाए । क्यानडाबाट पनि मान्छे आए । तिनलाई पनि पोखेरलले नेपालको अवस्था र आँखा अस्पतालको आवश्यकताबारे बुझाए र क्यानडा सरकारले नेपालमा आँखा अस्पताल निर्माणका लागि ४८ लाख रुपैयाँ बराबरको रकम उपलब्ध गरायो । त्यही रकमबाट भवन निर्माण सुरु भयो । जग्गाको मुद्दा जितिसकेको भएर त्यहाँ भवन बनाउन खासै समस्या थिएन । निर्माणलगत्तै भवन उदघाटन पनि भयो ।

त्यसबेला समाज कल्याण परिषद भर्खरै गठन भएको थियो । परिषदका विभिन्न शाखामध्ये एक स्वास्थ्य थियो र, स्वास्थ्य शाखाअन्तर्गत नेपाल नेत्र ज्योती संघ थियो ।

परिषदको बैठकमा तत्कालीन अध्यक्ष रानी ऐश्वर्याले यस्ता अस्पताल काठमाडौं उपत्यकाबाहिर लैजानुपर्ने प्रस्ताव राखेपछि उनले काठमाडौंको हकमा आँखा अस्पताल र बाहिरको हकमा ‘नेत्र ज्योती संघ’को स्थापना गरे । ‘यस अघिसम्म नेपाल आँखा अस्पताल र नेपाल नेत्र ज्योती संघ एउटै थियो । पछि यसको काम कारवाही पनि भिन्नाभिन्नै समयमा हुनथाल्यो,’ उनी भन्छन् ।

त्यही बेला भारतमा ‘पि्रभेन्सन अफ क्युरेबल व्लाइण्डनेस’ सम्बन्धी विश्व स्वास्थ्य संगठनको आयोजनामा वृहत सम्मेलन भयो । सम्मेलनमा विश्वका विभिन्न देशबाट मानिसहरुले सहभागिता जनाएका थिए । त्यसमध्ये एक पोखरेल पनि थिए ।

उनी स्वास्थ्य मन्त्रालयबाट छनोटमा परेका थिए । उनले नेपालको समस्या सबैसामू राखे । ‘मेरो कुरा सुनेर त्यहाँ उपस्थित धेरै मानिसले चासो देखाए, सहयोगका लागि तयार पनि भए । तर पैसाको समस्या भने यथावत रह्यो,’ उनले भने ।

त्यहीँ उपस्थित निकोलस ग्लासेले नाम गरेकी एकजना महिलाले नेपाललाई आर्थिक सहयोग जुटाउन युरोप जाने बताइन् । पोखरेलसितकै सल्लाहमा उनी युरोप गएर नेपालको सहयोगार्थ रकम संकलन गर्न थालिन् । तर त्यो पैसा व्यक्तिलाई नभई विश्व स्वास्थ्य संगठनमार्फत लिनुपर्ने भयो । यसको लागि पोखरेलकै पहलमा विश्व स्वास्थ्य संगठनले ‘पि्रभेन्सन एण्ड कन्ट्रोल अफ व्लाइण्डनेस’ नामक कायक्रम सुरु गर्‍यो ।

त्यसबेला आँखा अस्पतालका प्रमुख पोखरेल नै थिए । नेत्र ज्योती संघका प्रमुख पनि उनै । तर, उनलाई नेपालमा आँखा रोगीहरुको अवस्थाबारे राम्रो जानकारी थिएन । त्यसैले उनकै पहलमा ६ महिना लगाएर सन् १९८१ मा नेपालमै पहिलोपटक अन्धोपनको सर्वेक्षण गरियो । सर्वेक्षणले अन्धोपनाको प्रमुख कारणमध्ये पहिलोमा मोतिविन्दु र दोश्रोमा खस्रे रोग रहेको निश्कर्ष निकाल्यो । दृष्टिविहीन बिरामी जात र भौगोलिक अवस्थाअनुसार फरक रहेको पाइयो ।

‘यसलाई कसरी रोकथाम गर्ने भन्ने बुद्धि त थियो तर पैसा थिएन । पैसा नहुँदा काम अगाडि बढाउन सक्ने कुरा भएन । पछि विश्व स्वास्थ्य संगठनमार्फत पैसा आएपछि आफ्नो योजनालाई सफल बनाउन निकै सहयोग पनि भयो,’ उनले सम्झिए ।

उनले सबैभन्दा पहिले मोतीविन्दु घटाउन जोड दिए । त्यसबेला सरकारले वर्षमा ४/५ वटा आँखा शिविर गर्थ्यो, जसमा पाँच सयको हाराहारीमा मोतिविन्दुको शल्यक्रिया हुन्थ्यो । विश्व स्वास्थ्य संगठनमार्फत पैसा आएपछि गाडी तथा आवश्यक उपकरण खरीद गरेर वर्षमा ५० वटासम्म आँखा शिविर गर्न थाले । उनले त्यही पैसाबाट कयौंलाई आँखासम्बन्धी विशेषज्ञ तहको अध्ययन गर्नका लागि भारत, बेलायत लगायतका विभिन्न देश पठाए ।

‘त्यस बेलासम्म नेपालमा आँखा विभागसमेत थिएन । आँखासम्बन्धी पढाई हुने कुरा पनि भएन । त्यसैले विदेश पठाएर भएपनि दक्ष जनशक्ति उत्पादन गर्नतिर लागेँ,’ डा. पोखरेल भन्छन् ।

आँखा शिविर सञ्चालन गर्न सजिलो होस् भनेर दुई वर्ष तालिम दिएर नेत्र सहायक बनाए । अहिले नेत्र सहायककै कारण आँखा विशेषज्ञहरुलाई शिविर गर्न सजिलो भएको छ ।

उनकै पहलमा १४ वटै अञ्चलमा आँखासम्बन्धी अस्पताल सञ्चालन गर्न विभिन्न देशहरुलाई पत्राचार गरियो । प्रत्येक देशले एउटा-एउटा अस्पतालको जिम्मेवारी लिए । उनीहरुले दक्ष जनशक्ति उत्पादन गर्ने, भवन बनाउने काम गरे ।

जब अस्पताल सक्षम हुन्छ र दक्ष जनशक्ति उत्पादन हुन्छ, तब उनीहरुले ‘टेकओभर’ गर्ने भनेर सहमति थियो । त्यही योजनाअनुसार नेत्र ज्योती संघमार्फत अस्पताल ‘टेकओभर’ पनि भयो । यसरी उनलाई राज्यका साथै स्थानीय तथा विदेशीले समेत उल्लेख्य सहयोग गरे । त्यसैले आफू सफल भएको उनको कथन छ ।

उनी भन्छन्, ‘सबैको सहयोगले गर्दा नै आज आँखा स्वास्थ्य यहाँसम्म पुग्न सफल भएको हो, म त निमित्त मात्र हुँ । त्यसबेला यदि मलाई राज्यले, यहाँका जनताले तथा विदेशीले सहयोग नगरेको भए सायद यहाँसम्म पुग्न सम्भव थिएन ।’

लेन्स उत्पादनको कथा

अहिले ‘आँखा बा’ नेपालमा मात्र नभएर देश बाहिर पनि चर्चित छन् । आँखा उपचार र अध्यापनमा संलग्न उनी नेपाल अहिले आँखाको उपचारमा आत्मनिर्भर रहेको बताउँछन् । नेपालमा हाल वर्षेनी छ लाख मानिसको मोतिविन्दुको शल्यक्रिया हुन्छ, त्यसमध्ये दुई लाख नेपाली हुन्छन् भने बाँकी विदेशी ।

गुणस्तरीय सेवा र सस्तोमा शल्यक्रिया हुने भएकाले पनि नेपालले आँखाको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको छ । यद्यपि उनी आँखा स्वास्थ्यमा अहिले पनि चुनौती देखिन्छन् । उनी भन्छन्, ‘यस क्षेत्रमा चुनौती, त्यो बेला पनि थियो, अहिले पनि छ । फरक यति हो, त्यसबेला मोतिविन्दु, ट्रकोमा चुनौती थियो । अहिले मधुमेहका कारण हुने डायविटिकरेटिनोप्याथी चुनौती बनेको छ ।’

यसका लागि देशका मुख्य-मुख्य ठाउँमा राम्रा सेन्टर खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

जतिबेला पोखरेलको पहलमा अन्धोपनाको सर्वेक्षण भइरहेको थियो, त्यो टोलीमा श्रीलंकन नागरिक पनि थिए । उनले अष्ट्रेलियामा फ्रेड हलोज नाम गरेका एक डाक्टरको नाम लिएपछि पोखरेलले उनलाई तुरुन्तै नेपाल बोलाए । ट्रकोमाबारे विस्तृत अध्ययन गर्न उनलाई धनगढी, नेपालगञ्ज लगायतमा क्षेत्रमा पठाइयो । साथमा आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत पनि थिए ।

डा. फ्रेड ग्लोबल एडभाइजर भएर जेनेभा गए । त्यसको केही समयपछि पोखरेल पनि ग्लोबल एडभाइजर भएर गए । त्यहाँ उनीहरुले केही वर्ष साथमा काम पनि गरे । एक दिन प्रा. डा. फ्रेड हलोज र पोखरेल इजिप्टको मिटिङ्ग सकेर फर्कने क्रममा सँगै कायरो गए । कायरो जाने क्रममा डा. फ्रेडले पोखरेलसमक्ष एउटा प्रस्ताव राखे । फ्रेडलाई उद्धृत गर्दै उनी भन्छन्, ‘यदि अष्ट्रेलियाले नेपाललाई केही दिन चाहन्छ भने तिमी के चाहन्छौ ? एउटा कुरा मात्र भन ।’

जवाफमा पोखरेलले भने, ‘म नेपालमा आफूले शुरू गरेको आँखा सेवा दिगो भएको हेर्न चाहन्छु ।’

जवाफबाट फ्रेड निकै खुशी भए र भने, ‘त्यसो भए म तिमीहरुलाई लेन्स उत्पादनको तालिम दिन्छु । त्यहीँबाट लेन्स उत्पादन गरेर बेच र आएको रकम देशका लागि उपयोग गर ।’

पोखरेलले डा. रुइतलाई तालिमको लागि अष्ट्रेलिया पठाए । तालिम पश्चात डा. रुइत नेपाल नेत्रज्योती संघबाट अलग भए र तिलगंगा अस्पतालमा आवद्ध भएर लेन्स उत्पादनको काम अगाडि बढाए ।

विगतको तुलनामा नेपालले आँखा स्वास्थ्यमा उल्लेख उपलब्धी हासिल गरेको छ । यद्यपि यस क्षेत्रमा अझै पनि पर्याप्त अध्ययन-अनुसन्धान हुन सकेको छैन । आँखा बा अर्थात् डा. रामप्रसाद पोखरेल भन्छन्, ‘मेरो अबको सपना छ, नेपालमा आँखाको क्षेत्रमा थप अनुसन्धानका लागि जनशक्ति तयार गर्ने र देशका विभिन्न ठाउँहरुमा रिसर्च सेन्टरहरु खोल्ने । जसले गर्दा आँखाको उपचारमा नेपालीमा मात्र नभएर विदेशीलाई पनि गुणस्तरीय सेवा दिन सकियोस् ।’ onlinekhabar.com

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

बलात्कार गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर: रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी...

कुटपिटबाट एक व्यक्तिको हत्या,

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान...

टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी...

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

भाग्दै गर्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ,

२ पुस, काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको...

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

ज्ञानेन्द्रको स्वागतमा पोखरा विमानस्थलमा नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा...

चिठी लेखेर श्रीमती गायब…….

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र...

सचेत बन्नुहोस नक्‍कली नोटको फन्दामा पर्नुहोला

काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो। बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने...

गौरीकला बलात्कार-हत्यामा प्रहरीसहित तीन जनालाई जन्मकैद

 सुर्खेतको पञ्चपुरी नगरपालिका–३ की गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । दैलेख घर भाई तत्कालिन समयमा ईलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत हरिप्रसाद कोईराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद...