प्रसाद चलचित्र एक सुपाच्य, हेर्ने पर्ने यस्तो छ कथा ।

बजारमा मुडेको आलु बिक्छ कि, भकुण्डेबेंसीको मकै भनेर सोही बमोजिम दोकान थाप्ने रक्षात्मक मानसिकताले होइन, नयाँ खुराक पेश गर्नुपर्छ भन्ने चुनौती उठाएको चलचित्र हो, प्रसाद ।

यो चलचित्र हेरेर पेट मिचीमिची हाँस्नु हुनेछैन, धुरुधुरु रुनुहुने पनि छैन । कथा सरल छ, प्रस्तुती सरस छ । सामान्य पात्र छन्, स्वभाविक घटनाक्रम छन् । तर, प्रसाद हेरिरहँदा ‘फोकट’ वा ‘जोतको’ लाग्नेछैन । घत लाग्नेछ ।

घत यसकारण लाग्नेछ कि, सिनेमाभित्र पोखिने मानविय संवेग, करुणा, अत्यास, भय, आक्रोशले मनलाई स्थिर रहन दिनेछैन । त्यही अस्थिरताले दर्शकको आँखा दुईघण्टा १५ मिनेट अविचलित पर्दामा अडिनेछ ।

कस्तो छ कथा ?

चलचित्रको कथा नयाँ, नौलो, आश्चर्यलाग्दो, उदेगलाग्दो छैन । हाम्रो समाजसँग दिनहुँ ठोक्किने विषयमाथि कथा बुनिएको छ । कथा, निसन्तान दम्पतीको हो ।

तर, चलचित्र निसन्तान हुनुको पीडा–व्यथामाथि बिलौना गर्दैन । समाजसँग गुनासो पनि गर्दैन । जैविक त्रुटीले उत्पन्न गराउने भावनात्मक द्वन्द्वमा कथानक मोडहरु आउँछन् । त्यही मोडहरुमा ठोक्किदै यसका तीन केन्द्रीय पात्र नारायणी कार्की (नम्रता श्रेष्ठ), बाबुराम परियार (विपीन कार्की) र रमेश (निश्चल बस्नेत)को जीवन–चक्र घुमिरहन्छ ।

अन्र्तजातिय विवाहपछि ग्रामीण समाजबाट लखेटिएका नारायणी कार्की र बाबुराम परियार काठमाडौंको कुनै अनाम गल्लीमा कोचिएका छन् । एउटै कोठामा भान्सा, एउटै कोठामा ओछ्यान ।

बाबुराम आफ्नो पेशागत सीप अर्थात कपडा सिलाउने काम गरेर शहरमा दुई ज्यान पाल्ने यत्नमा छन् । नारायणी एक निजी विद्यालयमा सहयोगीको काम गर्छिन् ।

नारायणी सुन्दर छिन्, सुशील छिन्, पतिभक्त छिन् ।

औसत रुपरंगका श्रीमानसँग उनको कुनै अपेक्षा छैन । अभाव जरुर छ । तर, त्यसप्रति पनि उनमा पीडावोध छैन । बरु भौतिक दुःख–अभावलाई छिचोल्ने चोट उनीभित्र छ । उनको हृदयभित्र छ । त्यही आलो चोटले नारायणीको रंगीन जीवन क्रमस फिका र उजाड बनाउँदै लान्छ ।

त्यो अदृश्य चोटले कसरी एउटा प्रेमिल दम्पतीको जीवनमा आँधीबेहेरी ल्याउँछ ? यस्तै उत्सुकता मेट्दै २ घण्टा लामो चलचित्रले विट मार्छ ।

किन हेर्ने ?

यस चलचित्रले नविन, अग्र्यानिक, मौलिक कथा पस्किएको छ भनेर भनिरहनु भन्दा पनि बिना तडकभडक दर्शकको मनोवेगसँग कसरी अन्र्तक्रिया गर्छ भन्ने कुरा हो ।

धेरै पात्र छैनन्, धमकेदार संवाद छैन, न कामुक नृत्य छ, न धुमधडक फाइट । भव्य सेट, लोभलाग्दो लोकेसन, चकित तुल्याउने तामझाम केही छैन । यति हुँदाहुँदै पनि ‘प्रसाद’ एकोहोरो एवं पट्यारलाग्दो छैन । बरु स–सना तत्वले यसलाई सुरुचिपूर्ण बनाएको छ ।

६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्रसँग अझैपनि एउटा प्रश्न ज्यूँको त्यूँ छ । कति चलचित्र प्रयोग गरिरहेको, कति चलचित्र अन्तर्राष्ट्रियकरण भइरहेको, कति चलचित्रले व्यवसायिक उत्कर्ष हासिल गरिरहेको वर्तमान सन्दर्भमा त्यो प्रश्न थप पेचिलो बनेको छ । प्रश्न हो, सिनेमा कस्तो हुनुपर्छ ?

प्रश्नको जवाफ प्रसादमा खोज्न सकिन्छ, आशिंक भएपनि । चलचित्र चलाउनका खातिर कुनै कलाकारको स्टारडमलाई दाउमा राख्नुपर्दैन, अनगिन्ती कलाकारको टेको लगाइरहनुपर्दैन, आइटम गीत राख्नुपर्दैन, ड्रोन उडाएर आश्चर्यलाग्दो दृश्यांकन गरिरहनुपर्दैन । सामान्य कथामा, सरल ढंगले पनि रहरलाग्दो दृश्यभाषा निर्माण गर्न सकिन्छ । प्रसादले यसै भन्छ ।

यसमा निर्देशकको उपस्थिति एवं नियन्त्रण पनि अनुभव गर्न सकिन्छ । उनले सबै पात्र र दृश्यमाथि लगाम खिचेका छन् । कतिपय दृश्य प्रतिकात्मक छन् । जस्तो कि, नारायणीमाथि बलात्कार भइरहँदा पानी दर्केको, बाबुरामको उल्टो जुत्ता आदि ।

चलचित्रमा विपीन कार्की, नम्रता श्रेष्ठले नारायणी र बाबुरामको आवरणमा आफुलाई जसरी रुपान्तरण गरेका छन्, त्यो शक्तिशाली पक्ष हो । त्यही शक्तिले बाग्लुङ क्षेत्रका एक निरिह दम्पतीसँग दर्शकले सोझो मनोवाद गर्न सक्छन् । उनीहरुको कथा–व्यथामा एकाकार हुन सक्छन् ।

हेपिएका, पेलिएका, खेदिएका र आफैभित्रको अन्र्तद्वन्द्वले थलिदै गएको विवाहित पुरुषको रुपमा विपिनको चरित्र निर्माण गरिएको छ । उनको हाउभाउ, बोलीचाली, मनोविज्ञान कति पनि विचलित छैन । यो पात्र कम्ता घतलाग्दो छैन । बाबुरामको निरिह, विवश र अवोधपनले दर्शकलाई कहिले हसाउँछ, कहिले भावुक बनाउँछ ।

नम्रताले पनि आफ्नो चरित्रलाई प्राण दिएकी छिन् । निश्चलको अभिनय औसत छ । बरु मासु पसले एवं बाबुरामकै सहयोगीको रुपमा प्रकाश गन्धर्वले सम्झन लायक अभिनय गरेका छन् । सामान्य भूमिका सही, जब–जब उनको आगमन हुन्छ दर्शकले बेग्लै रोमाञ्चकता अनुभूत गर्छन् ।

फिल्मको पाश्र्व संगीत जोडदार छ । यसले कथालाई थप बेगवान बनाएको छ । कथाको मर्म अनुसार दुईवटा गीतलाई स्थान दिइएको छ ।

के छ कमजोर पक्ष

चलचित्र जति छरितो हुनुपथ्र्यो, त्यो छैन । निश्चल बस्नेतलाई ‘स्पेश’ दिनकै लागि कतिपय दृश्य तन्काइएको जस्तो भान हुन्छ, जो छाँट्न सकिन्थ्यो । निश्चल र उनकी श्रीमतीसँगका दृश्य, संवाद झर्को लाग्न सक्छ ।

निश्चल अर्थात रमेशको द्वैध चरित्र सुरुदेखि नै छर्लङ छ, जसलाई रहस्यमा राख्न सकेको भए दर्शकको मन बढी उथलपुथल हुने थियो ।

केन्द्रिय पात्र बाबुराम र नारायणीलाई बढी केन्द्रित गरिरहँदा फ्रेममा समेटिने साहयक पात्रको हाउभाउ, बोलीचालीमा ध्यान दिइएको छैन । जस्तो, नारायणीले काम गर्ने विद्यालयमा एक पुरुष अभिभावकले बोल्ने संवाद, आफ्नो बच्चालाई चोट लागेको आवेगमा महिला अभिभावकले पोखेको धाराप्रवाह गाली सुहाउँदिलो छैन ।

कथालाई जुन ढंगबाट बिट मारिएको छ, त्यो पुरातन शैली हो । यसमा केही नयाँपन दिने जोखिम उठाइएको छैन ।

यद्यपि समग्रमा प्रसाद हेर्नलायक, मनन गर्नलायक चलचित्र हो । विपीन कार्की, नम्रता श्रेष्ठका प्रशंसकका लागि त यो सुपाच्य र स्वादिलो खुराक नै हो ।स्रोत :www.onlinekhabar.com

 

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...