‘भाइ ! छुच्चो हुनु, लुच्चो नहुनु’


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६

 

-जिके पोख्रेल

तीन वर्षअघि खगेन्द्र संग्रौलालाई काम विशेषले भेटेको थिएँ । त्यतिखेर म फेसबुकको लति थिएँ । जोसँग भेटे पनि फोटो खिचेर फेसबुकमा पोस्ट्याइहाल्नु पथ्र्यो । त्यसो नगरे सोसाइटीले बहिस्कार गर्ला भन्ने महात्रास थियो ।
फोटो खिच्नेबित्तिकै क्याप्सन सोचिसकेको हुन्थेँ । त्यस दिन पनि सोचिसकेको थिएँ । खगेन्द्र दाइलाई भनी पनि हालेँ, ‘दाइ यो फोटोको क्याप्सन– दुई पान्थरे छुच्चा ।’
खगेन्द्र दाइ केही बोल्नुभएन ।

एकछिनपछि आफ्नो बचावट गर्दै भन्नुभयो, ‘भाइ, छुच्चो हुनु, लुच्चो नहुनु ।’

आधा घण्टाजतिको गफमा प्रमुख विषय ‘लेखक’ र ‘लेखन’ रहे । प्रसंगवश खगेन्द्र दाइले भन्नुभयो, ‘आजकल लेखकको ‘कद’भन्दा पाठकको ‘काया’ अग्लिएको छ ।’ त्यस दिन यो कुरा सामान्य नै लाग्यो । काया र कदबीचको शब्दार्थले हल्काफुल्का मात्रै दिमाग चाट्यो । लेखकको कदभन्दा पाठकको काया अग्लो हुनुका कारण खोज्न थालेपछि आफू ‘कोलम्बस’ भएको महसुस हुन थाल्यो । अनि मनले आफैँलाई प्रश्नको कठघरामा उभ्यायो । लेखकले कस्तो भए पाठकको कायाभन्दा अग्लो कद कायम राख्न सक्ला भन्ने कुरा खोज्न थालेँ ।

यस तीन वर्षको लेखकहरूको सरसंगतले लेखकको कदकाँटीको खाका कोर्नसम्म सक्ने भएँ भन्ने लाग्यो । खै के बुझेँ थाहा छैन । तर, लेखकको अनुहार यसरी बनाउन थालेँ ।

०००

लेखक सन्देशवाहक हो । जुनसुकै विधाको र जुनसुकै आयामको लेखनको केन्द्रमा सन्देश लुकेको हुनुपर्छ । अन्यथा त्यस लेखनले अहिलेको व्यस्त समयमा मेसिनको पूँजीवादी जीवन बाँचेका मानिसको समयको सत्यानास गरिदिन पनि सक्छ । यस्तो अवस्थामा लेखकको गौरव र गुरुता नै संकटमा पर्छ । पाठक र ग्रहणकर्तालाई केही प्राप्त गरेको महसुस हुन सकेन भने त्यस्तो लेखनले किताब र अखबारको पाता भर्नुबाहेक कुनै उपलब्धि हासिल गर्न सक्दैन । तर, सन्देश दिने भनेर तारान्तार भाषणका कर्कश थर्थराहटद्वारा पाठकको कानलाई सास्ती दिनु पनि हुँदैन । साहित्यको सन्देश त ओखरको गुदीजस्तै हुनुपर्छ । निकैबेर फुटाएपछि आओस्, थोरै आओस्– स्वादिष्ट र पोषिलो ।

लेखक चेतनाको स्रोत हो । लेखकले देशविदेशमा भए गरेका नयाँ नयाँ घटनाहरूमाथि चिन्तन गर्न सक्नुपर्छ । अनि पाठकलाई आफूले बुझेका कुरा सही ढंगले पस्किनुपर्छ । यति मात्रले लेखकको जिम्मेवारी पूरा हुँदैन । लेखकले पाठकको चेतनाको तह पनि जानकारी राख्नुपर्छ । चिन्तन गर्नु भनेको वनबास जानु होइन, रूखको फेदमा बसेर तपस्या गर्नु मात्रै पनि होइन । जीवन र जगत्का सानाभन्दा साना आवश्यकता र सम्भावनाको मनन गर्नु पनि चिन्तन गर्नु हो । तपोज्ञानबाट सिद्धार्थ गौतम ‘बुद्ध’ भए भनेर सबै रूखको फेदमा बसेर हुँदैन । त्यसरी सधैँ एकान्त र गुफा रोज्ने व्यक्तिले ‘कथ्न’सम्म सक्लान् तर ‘लेख्न’ सक्दैनन् । अहिलेको अवस्थामा लेखकभन्दा पाठक चलाख र विद्वान् भइसकेका छन् । यसरी ज्ञानको फराकिलो मैदानमा चरिसकेर उग्राइरहेका पाठकलाई जथाभावी कथेका कुराको बोझ थोपरेर मात्रै हुँदैन । उनीहरूलाई थप ‘खुराक’ पनि दिन सक्नुपर्छ । तेस्रो विश्वको (विकासको अनुहार त के छाया पनि नदेखेको समाज) अहिलेको लेखनको खाँचो टर्ने गरी लेख्नुपर्छ । यसका लागि दैनन्दिन जीवनका गल्छेँडा/कन्दराबाटै विषय खोज्नुपर्छ । र चेतनाको नयाँ क्षितिज खोजी गर्नुपर्छ । अनि मात्र लेखक हुनुको गर्वरक्षा हुन सक्छ ।

लेखक समाजको अगुवा हो । मानिसले समुदायमा विश्वास गर्न थालेपछि नै कोही न कोही ‘अगुवा’ हुन्थ्यो । मुखिया, राजा, मन्त्री राजनीतिक अगुवा भएजस्तै लेखक, दार्शनिक, शिक्षक÷प्राध्यापक सामाजिक अगुवा हुन् । अगुवा हुनु भनेको अघिअघि हिँड्ने धैर्य र साहस गर्नु हो । समाजको गति र संघर्षको प्रक्रियामा सामेल नै नभएको अवस्थामा लेखकले अगुवा हुने हैसियत गुमाउँछ । सर्वसाधारणसँग साथसाथै नहिँडेर गुफामा सिर्जना कोरल्न बसेको लेखकले ‘ब्रोइलर’ कुखुराले जस्तै ‘बतासे’ अण्डासम्म त कोरल्न सक्ला तर त्यसबाट कुनै ‘प्राण’को आशा गर्न सकिन्न । मान्छेका चाहना र आवश्यकता बुझ्नका लागि उनीहरूसँग साक्षात्कार हुनैपर्छ । त्यसका लागि लेखक मान्छेका सुखदुःखको भागिदार हुनुपर्छ ।

लेखक सचेतक हो । उसलाई अचेत समाजलाई सचेत बनाउनुपर्छ भन्ने जिम्मेवारीबोध हुनुपर्छ । समाजमा थरिथरिका मान्छे हुने भएकाले लेखकको चेत धैर्यमुखी हुनुपर्छ । स–साना कुरा अल्झिन थाल्यो भने लेखकको चेतना भुत्ते हुन थाल्छ । लेखकको सोच्ने मन र तरिका धारिलो हुनुपर्छ । आजभन्दा असी वर्षअघिको समय चित्रण गर्न लेखेको ‘मुनामदन’ले आजको नेपाली समाजको विकराल रूप चित्रण गर्न सक्नु देवकोटाको सचेतनाको प्रतिफल हो । आज पनि ‘मदन’हरू दैनिकजसो रातो बाकसमा मृत सपनाको कात्रो ओढेर आइरहेका छन् । आज पनि ‘जयमाया’हरू संसारभरि छरिएर रहेका छन् । हरेक साल मेक्सिकोको बाटो भएर जयमायाहरू सपनाको आसाम भन्दै अमेरिकाको दलदलमा भासिन्छन् । गाजापट्टीबाट लाखौँ जयमायाहरू बाहिरिन्छन् । समयसमयमा यस्ता लेखकहरू जन्मिन्छन् र समाजलाई चेतना प्रदान गर्ने गर्छन् ।

लेखक विचारक हो । आदिकालदेखि नै लेखकले आफ्नो लेखनका माध्यमबाट आफ्ना विचारहरूको सम्प्रेषण गर्दै आएको हो । यस सिलसिलामा आएका विचारहरू जुनसुकै माध्यमबाट पस्किए पनि पाठकको मनसँग समाहित हुने खालको हुनुपर्छ । कर्कश विचार र नाराबाजीको आयु छोटो हुन्छ । सानो परिवर्तनले पनि त्यो वैचारिकता प्रभावहीन हुनसक्छ । यसर्थ लेखकले विचारको संश्लेषणपछि आएको ‘गाँठी’ कुरा मात्र प्रकाशन र प्रसारण गर्नुपर्छ । लेखकले सधैँ समाजको अग्रगमनका लागि कसरत गर्नुपर्छ । अर्थात्, लेखकको वैचारिकता अग्रगामी हुनुपर्छ । महान् विचारक सुकरातले ‘हेमलक’ पिउनु परेको थियो । किनभने तत्कालीन शासकमा उनको अग्रगामी विचार पचाउन सक्ने पाचन शक्ति थिएन । आजसम्मको सभ्यताले पनि उनकै पदचाप पछ्याइरहेछ । भानुभक्त आचार्यले ‘बधुशिक्षा’ र ‘प्रश्नोत्तर’ कवितामा व्यक्त गरेका विचारहरूको लामो समयसम्म पक्षपोषण गरियो । आजसम्म पनि उनका विचारको खण्डन या मण्डन हुन्छ । विचारको गहनताले लेखनको तरंग निर्धारण गर्छ ।

लेखक सिर्जनकर्ता हो । उसले आफैँले देखेभोगेका कुरालाई कच्चापदार्थ बनाएर सिर्जन कर्मलाई निरन्तरता दिनुपर्छ । घटनालाई जस्ताको तस्तै थुपारेर लेखक हुन सकिँदैन । सिर्जनशील लेखनले दीर्घकालीन प्रभाव छोड्न सक्छ । यसो भनेर दिनरात घोत्लिएर नयाँ सिर्जना गर्न खोजेर हुँदैन । त्यसले समाज र पाठकसँग सिधा संवाद गर्न सक्दैन । ईन्द्रबहादुर राईको ‘आज रमिता छ’मा एमके नामको एउटा पात्र छ । त्यो पात्र सिर्जना गर्ने क्रममा राईले दार्जिलिङदेखि दमकसम्मका अनेक मानिसका चारित्रिक विशेषता गाँसेको कुरा स्वीकार गरेका छन् । त्यसै गरी ध्रुवचन्द्र गौतमले ‘उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यासमा आएका ‘लक्ष्मी’ र ‘रवी’ दुवै पात्रका विशेषता आफूसँग रहेको स्वीकार गरेका छन् । यहाँ भन्न खोजेको कुरा– लेखकले आफू र आफ्नाहरूबाटै पात्र वा चरित्रको सिर्जना गर्नुपर्छ । समाज र मान्छेको आकार पनि पानीको जस्तै हुन्छ । जस्तो भाँडोमा राख्यो त्यस्तै हुनु पानीको चरित्र भएजस्तै जस्तो ‘लेखन’को रूपमा व्यक्त ग¥यो उस्तै पात्रको निर्माण हुन्छ । यसर्थ लेखकले आफ्नो ‘भाँडा’को सही आकार पहिल्यै तय गरेको हुनुपर्छ ।

लेखक समाजको साथी हो । उसले समाजका हरेक अंगसँग मित्रवत् व्यवहार देखाउन सक्नुपर्छ । आफूसँग मन नमिल्ने पक्षलाई शत्रुको रूपमा हेर्ने लेखकले समाजका अन्य मानिसको मन परिवर्तन गर्न सक्ने साहित्य सिर्जना गर्न सक्दैन । किनभने लेखकले आफैँ अक्षर र साहित्यको राजनीति गर्न थाल्यो भने समाजमा उसले चेतना प्रवाह गर्न सक्दैन । यस कारण पनि लेखक सामाजिक नेतृत्वकर्ता हुन् । त्यति मात्र होइन, लेखक आफैँ त्यसै समाजको महत्वपूर्ण अंग हो । किताबमा, अखवारमा के आउँछ भनेर पढ्न पर्खेर बसेका पाठकहरूमाथि अपच हुने गरी अनर्गल प्रचार सामग्री, भद्दा गालीगलौज र उडन्ते स्वैरकाल्पनिकता थोपर्नु लेखकीय धर्म होइन । यस्तो लेखनले समाजको हित गर्दैन । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, उपन्यासकार नयनराज पाण्डेको ‘उलार’, नारायण ढकालको ‘प्रेतकल्प’, बालकृष्ण समको ‘प्रेमपिण्ड’ गोपालप्रसाद रिमालको ‘मसान’ले आफ्नै समाज र आँखावरपरका कुरा उठाएकै कारण जिवन्त बन्न सकेका हुन् ।

लेखक सम्प्रेषणको आधार हो । सबै मानिसमा लेखक हुन चाहिने पहुँच, धैय र समय हुँदैन । थोरै लेखकले धेरै मानिसका धारणामा समभाव राख्नुपर्छ र तिनैको सम्प्रेषण गरेर पाठकहरूसँग संवाद गर्नुपर्छ । तर, लेख्ने बेलामा लेखक, पाठक र पात्र एकै हुन् भन्ने कुरा बिर्सिनु हुँदैन । पाठकभित्रै पात्र र पात्रभित्रै लेखक घोलिएर आउनुपर्छ । यसो हुन सकेमात्र लेखकले आफूले भन्न खोजेको कुरा सही ढङ्गले सम्प्रेषण हुन्छ । युवा लेखक बुद्धिसागरको उपन्यास ‘कर्नाली ब्लुज’मा लेखक आफू पनि पात्र भएर आएको अनुभव गर्न सकिन्छ । त्यसै गरि ‘अलिखित’का गौतम ध्रुवचन्द्र नै हुन् भन्ने लाग्छ । यसरी लेखकले आफूलाई पात्र वा समाख्यानमा देखेको खण्डमा कृतिले विश्वसनीयता पाउँछ । नेपालका चर्चित कवि मोहन कोइरालाको लेखन नबुझिएको आरोप लाग्ने गरेको छ । कवितै नबुझिने होइनन् । तर, उनले सम्प्रेषण गर्न खोजेको सन्देश पाठकले ग्रहण गर्न कठिनाइ उत्पन्न भएको मात्र हो । त्यसकारण लेखकले सही कुरा सही तरिकाले सम्प्रेषण गर्ने प्रयास गर्नुपर्छ ।

लेखक अन्वेषक हो । वैज्ञानिक, डाक्टर, दार्शनिकले जस्तै लेखकले पनि अन्वेषण गर्नुपर्छ । अन्य सामाजिक अगुवाको भन्दा लेखकको अन्वेषण फरक हुन्छ । अरूको ‘तथ्य’प्रधान हुन्छ । लेखकको ‘सत्य’प्रधान हुन्छ । लेखकको अन्वेषण पुतलीको जीवनचक्रजस्तै हुन्छ । लेखकको काल्पनिक अन्वेषणमा बन्ने कल्पनाको संसारमा ‘नेपथ्य सत्य’को आभाष हुन सक्नुपर्छ । अर्थात्, लेखकको अन्वेषणले नेपथ्य सत्यको ढोकासमेत खुल्ला राखेको हुन्छ । त्यो वैकल्पिक सत्यको आधारमा भावी पुस्ताले प्राचीन कालका अभिलेखमाथि पुनर्मूल्यांकन गर्न पाऊन् । डायमण्ड शमशेर राणाका उपन्यास, तेस्रो आयामको सैद्धान्तिक धारणा त्यही नेपथ्य सत्यको खोजी हुन् ।

लेखक पथनिर्माता हो । संसारका ठूला ठूला परिवर्तनमा लेखकको मार्गदर्शनले काम गर्छ । त्यो अलग्गै कुरा भयो । राजनीतिक परिवर्तनमात्र सर्वकालीन् समाधान होइन र निकास पनि । परिवर्तनको असर जनस्तरबाटै देखिनुपर्छ । लेखकले सानासाना समस्यामा अल्झिएको समाजलाई मार्गदर्शन गर्नुपर्छ । लेखकको बाटो सर्वप्रिय र जनमुखी हुने खालको भए ‘पावेल’ खोज्न रसिया नै पुग्नुपर्दैन । नेपालकै कुनाकन्दरामा परिवर्तनका सूत्राधार भेटिन्छन् । तर, लेखकले आफू पथनिर्माता हुँ भन्ने ठानेर पाठ घोकाउन थाल्यो भने अर्काे ‘बाइबल’ वा ‘हनुमान चालिसा’ मात्रै लेखिन सक्छ । धर्म र राजनीतिको भन्दा साहित्यको बाटो उदार हुन्छ र यात्रा पनि सजिलो हुन्छ भन्ने कुरामा लेखक दृढ रहनुपर्छ ।

लेखक प्रतिपक्ष हो । लेखक सत्ता र शासनको चरित्रसँग भलिभाँती परिचित हुनुपर्छ । तेस्रो विश्वका लेखक त झन् सत्ताको सदावहार प्रतिपक्षी हुनुपर्छ । मानव सभ्यताको विकास भएदेखि नै शासितभन्दा शासक कठोर रहिआएको छ । यस्तो बेलामा आम मानिसले शासनको रङ ठम्याउन सक्दैनन् । सत्ताको बोली सधैँ मीठो र व्यवहार तितो हुने गर्छ । यस्तो नेपथ्य सत्य सर्वसाधारणले खुट्याउनै नसक्ने खालको हुन्छ । पानीमा दूध मिसाएजस्तो सत्ताको द्वैध चरित्रबाट ‘रजहाँस’ले झैँ दूध र पानी छुट्याइदिनु पनि लेखकको जिम्मेवारी हो । यसका लागि लेखकमा अध्ययनशीलता, तर्कशीलता, विश्वसनीयताको खाँचो पर्छ । किनभने सरोकारवाला (नागरिक÷पाठक)ले भरोसा गर्नलायक विचारसहित आउनुपर्छ ।

लेखक परिकल्पनाकार हो । समाजका घटनालाई हुबहु नक्कल नगरी उसले छुट्टै संसारको परिकल्पना गरेको हुनुपर्छ । र त्यो जीवनभन्दा विशाल र जीवनभन्दा स्वादिलो हुनुपर्छ । अन्यथा ‘मन्त्री आएका छन् भनेर गएको हाम्रै गाउँको रामे पो आएको रहेछ’ भनेजस्तै हुन सक्छ । जीवनभन्दा विशाल (लार्जर देन लाइफ) र जीवनभन्दा अनौठो (स्ट्रेन्जर देन लाइफ) भएन भने ‘रामे र मन्त्री’को किस्साजस्तै मात्रै किस्सामा सीमित रहने र आम जनमानसको साहित्य नहुने खतरा पैदा हुन सक्छ । यसर्थ ईन्द्रबहादुर राईले भनेजस्तै जीवनभन्दा अझ तन्दुरुस्त साहित्य (टेक्स्ट)को परिकल्पना गर्ने कुरामा लेखकले कन्जुस्याइँ गर्नु हुँदैन । तर, यस सवालमा लेखकले समाज टेक्न छोड्नु भने हुँदैन ।

०००

तीन वर्षपछि….
खगेन दाइसँग फेरि यस कुरामा किचकिच गर्न मन छ । पाठक हर्लिक्स खाएको बच्चाझैँ हर्लक्क बढेको देखिरहेछु । लेखक भने झन् झन् खिइँदै गइरहेको । अनि ‘लिलिपुट’ लेखनलाई अजंगको पहाड बोकाएर अक्षरको म्याराथुन दौडाउन पठाएको देख्छु । ‘ओखर’जस्तो हुनुपर्ने साहित्य ‘बेल’जस्तो भएको देख्छु ।

एउटा नितान्त व्यक्तिगत गनगन गर्न मन लागेको छ– खगेन दाइ । किन यो जिके पनि ‘म’जस्तै ‘छुद्र’ भयो भन्ने लाग्ला । ‘हामी यस्तै त हो नि ब्रो, सधैँ यस्तै त हो नि ब्रो….!’

अब सुरु हुन्छ मेरो माघ महात्म्ये छुद्र पुराणे….
शालीन तर ‘छुद्र’ समालोचक ईश्वर बरालले धच गोतामेको ‘यहाँदेखि त्यहाँसम्म’ किताबको भूमिकामा ‘घामका पाइला’को तुलनामा ‘पाता भरुवा’ किताब मात्रै हो भनेका छन् । अहिले हामी पनि पाता भरुवा किताब लेखेर आफ्ना ‘छुद्र मण्डली’को ‘ग्याङबन्दी’ गरेर ‘असामाजिक जन्जाल’मा हल्लाखोरे प्रचार मात्रै गर्छौं । न पाठकले केही ‘गुदी भेट्छ– न समाजले कुनै चेतनाको रश्मि ! विमल निभा र किशोर नेपालले पाताभरुवा ‘कन्टेम्पोररी इश्यू बेस्ड भाइरल कन्टेन्ट’मा टेन्डर पारेको कुरा उहाँहरूका पछिल्ला टुप्पो मठारिएका र चेतना भुत्ते भएका तथाकथित ‘सिउँडी’हरूमा नै हेर्नुस् न !

अचेल लेख्नु भनेको के हो भन्ने बुझेका दिनदेखि मैले पनि लेख्न छाडेको हुँ– सिक्न थालेको हुँ । (मसँग मद्वारा निर्धारण गरिएका माथिका कुनै कुरा भेटिनँ र लेख्न छोडेको हुँ ।)

तपाईं म नजन्मी लेखक भइसक्नुभएको थियो । अझै लेखक नै हुनुहुन्छ । कति ‘आस्था (राउत)’ हुनुहुन्छ ? त्यो फेसबुक र ट्विटरको ‘छुद्र ग्याङबन्दी’ भन्दा बाहिर आएर ‘हाम्रा’ पनि लेखक बन्नुहोस् ।

कृपया खगेन दाइ– हाम्रो खगेन दाइ, राम्रो खगेन दाइ हुनुहोस् । तपाईंका ‘शेख’पछि हाम्रो लेखक हुनुहोस् । हाम्रो ‘शेख’पछि पनि लेखक नै रहनुहोस् । अरू हामी ‘सोकल्ड’ लेखक त भदौरे घमण्ड लिएर बाँचेका पाताभरुवा न हौँ ।

अरू ‘म’ र हजारौँ ‘महरू’ बरा ! आफैँ अधमरो बौद्धिकताले थिचेर खजुरोझैँ चेप्टिएको हामी÷लेखकको घाइते लेखनसँग कति आशा गरौँ । साँच्चै पाठकको ‘काया’भन्दा लेखकको ‘कद’ होचिएकै हो– खगेन दाइ !

‘तपाईंको यो ‘प्युसो’ भाइ, छुच्चो छ, लुच्चो छैन ।’

इतिश्री………‘छुद्र’ पुराणे….!


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology