‘सिक्का र नोट’


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६

 

-रोशन परियार

(असमानता र विभेदका विरुद्धमा)

 

सिक्काहरूको एउटा मिठो सपना हुन्छ, नोट बन्ने

यसकारण पनि नोटहरूले नोट भई दिइरहनुपर्छ

ता कि सिक्काहरूले नोट बन्ने

अधुरो सपना देख्न पाइरहून्

ता कि सिक्काहरूले आफैँ बेचिने

धमिलो सपना देख्न पाइरहून्

 

प्राय सिक्काहरूको सपना साझा हुन्छ, उस्तै हुन्छ

सपना र विपना प्राय आधा हुन्छ तर दुरुस्तै हुन्छ

 

सिक्काहरू हरेक दिन सपना देख्छन्

जस्तो कि

एक दिन उडिरहेको रंगीन नोटले

बसिरहेको साधा सिक्कालाई भन्यो

मेरो दाँजोमा के औकात छ तेरो ??

मेरो अगाडि के हैसियत छ तेरो ??

बडो हार्दिकताका साथ सिक्काले जवाफ दियो

आदरणीय नोटज्यू

छिल्लिदै हिँड्नु र छपक्क बस्नुमा

केही त पक्का भिन्नता हुन्छ

कच्याककुचुक्क बनेर कुच्चिनु र सग्लो बनेर टल्किनुमा

केही त पक्का भिन्नता हुन्छ

हलुंगो बनेर हावा सँगै उड्नु र गरुंगो बनेर गोजीभित्र बस्नुमा

केही त पक्का भिन्नता हुन्छ

ज्युँदैमा मुर्दाजस्तो पानीमाथि तैरिनु

र तैरिँदा तड्पिएको तमासा हेर्न पानीमुनि

गहिरिनुमा

केही त पक्का भिन्नता हुन्छ

भिन्नता यस्तो हुन्छ कि

हजुर कुनै पनि बेला च्यातिन सक्नुहुन्छ,

ढडेर खरानी बन्न सक्नुहुन्छ,

उडेर आकाशमा बिलाउन सक्नुहुन्छ,

म त मर्दा पनि शिरमा बस्छु, शरीरमा बस्छु, निधारमा टाँसिन्छु, बाटो देखाउँछु

 

हजुर जस–जसको हातमा पुग्नु हुन्छ

सबैभन्दा पहिले दोब्रिनुहुन्छ,

भाँचिनुहुन्छ, खुम्चिनुहुन्छ, मैलिनुहुन्छ,

र फेरि अर्काकै हातमा पुग्दा पनि ऋण बनेर पुग्नुहुन्छ

त्यसैले हजुर बैशाखी टेक्ने तानाशाहजस्तो देखिनुहुन्छ

त्यसैले हजुर निर्धो निरंकुशजस्तो देखिनुहुन्छ

म जस–जसको हातमा पुग्ने छु

टुट्ने छैन, फुट्ने छैन, मैलिने छैन

बरु निर्णय गर्न गाह्रो भएको बेला माथि उफ्रने छु

र तल झर्दा निर्णायक भइसक्ने छु

र फेरि अर्काकै हातमा पुग्दा पनि

भेटी बनेर पुग्ने छु

एक सिक्काको दुई पाटो भन्ने उखान बनेर पुग्नेछु

त्यसैले म आदिम कालदेखिको संस्कारजस्तो देखिने छु

त्यसैले म फैसलाको विश्वासिलो आधारजस्तो देखिने छु

 

म प्राय मन्दिरमा बस्छु

मेरा आफन्त नै भगवान् हुन्छन्

हजुर घर घरमा बस्नु हुन्छ

हजुरका आफन्त नै प्राय दुश्मन हुन्छन्

 

नभुल्नुहोला

हजुर मभन्दा हजार गुणा ठूलो हुनुहुन्छ

तै पनि एकैपटकमा च्यातिनुहुन्छ

म हजुरभन्दा हजार गुणा सानो छु

तर हजारपटकमा पनि च्यात्न सक्दैनन् मलाई

 

म माटाको खुत्रुकेमा पनि सुरक्षित हुन्छु

हजुर बैंकको बाकसमा पनि असुरक्षित हुनुहुन्छ

 

मेरो औकात नभए कै कारण हजुरको रवाफ बढेको हो

मेरो हैसियत नभए कै कारण हजुरको दबाब बढेको हो

 

माफ गर्नुस्

गाढालाई ‘गाढा’ भन्न पनि फिक्का चाहिन्छ

नोटलाई ‘नोट’ भन्न पनि सिक्का चाहिन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology