पर्खाइ


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६

 

-गणेश पौडेल

करिब चार घन्टा पर्खनु पर्ने भयो ।

एउटा भव्य महलको भव्य पसलमा छु । भव्य यस मानेमा पसलको सजावट भव्य छ । पसलमा सुविधाहरू पूरापुर छन् । जस्तोकी कफी जतिपनि पिउन पाइन्छ । तातो–चिसो पानीको सुविधा भरपूर छ । वाइफाइ चलाएजति पाइन्छ । गर्मीमा एसी र जाडोमा हिटर आदि ।

पसलमा (पसले र म) हामी दुई छौँ । हामी दुवैको काम हो कुर्नु । पसले ग्राहक कुरिरहेछ; म सामान ।

संसारमा बोलीको उच्चतम प्रयोग नै व्यापारीले गर्छ । व्यापार आफैँमा एउटा कला पनि हो । मीठो–नरम बोली र आकर्षक अनुहारले व्यापारमा फरक पक्कै पार्छ । हर–कोहीका आँखाले सबैभन्दा पहिले राम्रो कुरा नै हेर्न खोज्छन् । राम्रो कुरा नै देख्न चहान्छन् । पसल आकर्षक हुनुमा सजावटको मुख्य भूमिका हुन्छ । एउटी सुन्दरीको देहमा पोतिएको शृङ्गार जस्तै हो सजावट ।

सुरूका केही मिनेट पसलको सजावट हेर्दै, पसलेको मीठो बोली सुनेर गुजारें । तर मैले त यहाँ घन्टौँ बिताउनु छ । जसरी एकै हास्यरसले बारम्बार हाँस्न सकिँदैन । उसरी नै घन्टौँ बिताउन सजावटका साधारण कुराहरू मात्र काफी भएनन् । मैले विकल्प खोज्नैप¥यो ।

दायाँ–बायाँका पसलहरू नियालें । फरक–फरक देशका प्राय एउटै (दलाली) स्वभाव भएका ग्राहकहरू नियालें । उसो त गफाडीको ‘ग’ नै हुँ म । मलाई मान्छेहरूसँग अन्तरक्रिया गर्न खुब आनन्द लाग्छ । ‘गफ पनि हुने समय पनि कट्ने, नयाँ नयाँ भाषाको मजा पनि लिइने’ सोचेर फरक फरक पसलमा सामानहरूको फरक–फरक तरिकाले मोलमोलाई गरें । ग्राहक कुरिरहेका पसलेहरूसँग जिस्किएँ । सामानहरूको अनावश्यक विशेषताहरू सोधें । डिस्काउन्ट बारबार गर्न लगाएँ । कतिलाई अर्को हप्ता आउने आश्वासन बाँडे । कतिलाई महँगो भयो भनें । कतिमा वारेन्टी, ग्यारेन्टी खोजें । यसो गर्दा कति व्यापारीहरू मसँग रिसाए । कति व्यापारीहरू झर्किए पनि । कतिले मलाई सामान बिकाउन आफ्नो कलाको उच्चतम् प्रयोग गरे । कतिले मेरो हाउभाउ र पहिरन हेरेर मेरा प्रश्नहरूको जवाफ नै फर्काएनन् । कति भने जिस्कने स्वभावका पनि भेटिए ।

स्मोकिङ जोनमा गएँ र एउटा चुरोट सल्काएँ । सकभर बिस्तारी चुरोट तान्न थालें । ताकि खेर जानुपर्ने मध्येको केही समय यसै खेर जाओस । स्मोकिङ जोन पनि भरिभराउ छ । समयमा चल्ने प्राय व्यस्त हुन्छन् यहाँका मान्छेहरू । काम गर्दा होस, खाँदा होस, हिँड्दा होस या त अरू जेसुकै गर्दापनि उनीहरूको थेगोजस्तै हुन्छ ‘छिटो छिटो ।’ त्यसो त प्रगति पनि उनीहरू छिटो छिटो नै गर्छन् ।

चुरोट तान्नेहरूको भीडमा पनि म मात्र भए । सुस्तरि चुरोट पिउने । मैले एउटा चुरोट पिइसक्दा मजस्तै अरूपनि चुरोट पिउने तर समय सुस्तरी नकटोस् भन्नेहरू फेरिए । कति फरक छ मान्छे–मान्छे बिचमा समयको रूप पनि । कसैलाई त्यही समय दोब्बर भइदिए हुने जस्तो, कसैलाई त्यही समय दोब्बर छिटो कटिदिए हुने जस्तो ।

चुरोट पिएपछि अब के गर्ने ? गन्तव्य नभएको यात्री जस्तो, लय भत्किएको जिन्दगी जस्तो, म रित्तो भएँ । मेरो मगजले समय कटाउने नयाँ आइडिया फुराएन । म बुझ्दैछु – बिना सोच, बिना गन्तव्य एक पाइला चाल्न पनि सकस पर्दो रहेछ ।

जिन्दगीमा धेरै कुराहरू भोगें । धेरै कुराहरू गरें । अझै कयौँ दुःख–सुखका जंघारहरू तर्न बाँकी नै छ । त्यही माथि सपना र कल्पना नाथे त कति हुन् कति छन् । तर पनि यतिबेला मेरो मगज पूराका पूरा शून्य भइराखेको छ । मगज रित्तिनु दुःखको बिम्ब रहेछ । हुन त समयकै एक किस्सा हुुँ म पनि । त्यहि किस्सा भरिको आयू बाँच्नेछु । त्यहि किस्साभरि जे–जे गर्नुछ गर्नेछु । आज भने त्यही मूल्यवान एक किस्सा समयको चार घन्टा बेअर्थमा खेर फाल्नु छ मलाई । बुझ्दैछु बेअर्थमा कुनै कुरा खेर फाल्नपनि कति सकस पर्दोरहेछ । कति गाह्रो हुँदोरहेछ ।

थाकेको मन लिएर शौचालयसम्म पुगें । कुनै धनाट्यको घरको बैठक कोठा जतिक्कै सजिसजाउयुक्त छ शौचालय । उत्ति नै सफा पनि । मैले आफू हुर्केको भूगोलको सार्वजनिक स्थलमा अवस्थित सार्वजनिक शौचालय सम्झिए । अनयासै मलाई हाँस्न मन लाग्यो । फिस्स मुस्कुराएँ ।
‘आफ्नो यथार्थ र धरातर सम्झिएर आफूले आफैंलाई कतिदिन मजाक उडाइराख्नु पर्ने होला ?’ एक मनले प्रश्न गर्यो । ‘उसो त मान्छेले मजाक पनि आफैंलाई नै बनाउने त हो । आफ्नै सवल र दुर्वलताहरूसँग रमाउने, पिरोलिने हो ।’ अर्को मनले सान्तवना दियो । क्षणभरमै म गम्भीर पनि भएँ ।

शौचालय संगीतमय छ । त्यही संगीत सुन्दै भरसक समय छिटो नकटोसको मनोभावमा निकैबेर अलमल गरिरहें । बिना जरुरी हातमुख धोएँ ।

‘अहो दाह्री काट्नै बिर्सिएछु ।’ दाह्री काट्न बिर्सिएको बल्ल पत्तो पाएँ । ‘टाउकोका एक–दुईवटा रौँ फुलेछन् । पहिलेभन्दा तालु पनि निकै खुइलिएछ । निधारमा बुढ्यौलीका धर्साहरू देखिन थालेछन् ।’ ऐनामा आफूलाई निकैबेर नियाँले । फुर्सदमै त हो मान्छेले आफूले गर्न बिर्सिएका कुराहरू सम्झने ।

यतिञ्जेल सम्ममा कयौँपटक घडी हेरिसकेको छु । फेरि पनि हेरें । मिनेट काँटा किन सेकेन्ड काँटाजस्तो दौडन सक्दैन ? घन्टा काँटा किन यति साह्रो थाकेको ? किन मान्छेमात्र सेकेन्ड काँटाजस्तो भइरहनु पर्ने ? कयाँै बेतुकका सवालहरूले मस्तिष्क बोझिलो बन्यो ।

सामान लिनुपर्ने पसलमा फर्किए र ग्राहककै लागी भनेर राखिएको कुर्सीमा बसें । पसले मलाई हेरेर थोरै मुस्कुरायो । पसलेको धर्म हो मुस्कुराउनु । मान्छे रिसाएको भन्दा खुसी भएको बेलामा आफ्ना कुराहरू राख्न सजिलो हुन्छ । मैले उसको मुस्कानको फाइदा उठाएर कमसल सामान मलाई भिडाएकोमा आक्रोस पोखें । उसले तत्कालै आफ्नो गल्तीको प्रायश्चित गर्यो । माग्नुपर्नेजति माफी माग्यो । मैले दुःख पाएकोमा क्षमायाचना गर्यो र अर्को ग्राहक कुर्न थाल्यो ।

कसरी काट्न सकौंला यी चार बर्षजस्ता चार घन्टाहरू ? अल्लारे मनले म सोच्न थाल्छुु । यतिबेला कुनै राम्री केटीले म्यासेन्जरमा टेक्स्ट गर्नु नि ! ता कि म उसँग च्याट गरेर समय कटाउन सकूँ । म सोच्छु; कसैले कुनै गेमको रिक्वेस्ट पठाउनु नि ! ता कि म गेम खेलेर समय कटाउन सकूँ । या त कुनै साथीले राम्रो मुभी सजेस्ट गर्नु नि…! तर कुनै विकल्पहरू खुल्ला भएनन् । कहाँ गए ती केटी साथीहरू जसले म व्यस्त भएको बेलामा समय दिन नसक्ने भनेर मसँग रिसाएका थिए । कहाँ गए ती साथीहरू जसले कुनै बेला फेसबुकमा गेमको रिक्वेष्ट पठाएर मेरो दिमाग खराब बनाएका थिए । कहाँ गए ती साथीहरू जो फिल्म भनेपछि खान पनि बिर्सिन्थे ? फेरि सोच्छु; मतलबी दुनियाँमा मेरो निजी स्वार्थसँग के मतलब दुनियाँलाई । मान्छेलाई आफ्नै स्वार्थको परिधिभन्दा बाहिर निस्किने फुर्सद नै कहाँ पो छ र ? म स्वयम् पनि कहिले पो आफ्नो स्वार्थ भन्दा बाहिर रहें र ? आज पनि त आफ्नै स्वार्थका लागी उनीहरूलाई सम्झिरहेको छु ।

निकैबेर झोक्राई बसें । यत्तिकैमा मेरा नजर सामुन्नेको पसलेमा पर्छन् । हुन त अघिदेखि उसलाई म बारम्बार आक्रोसका नजरहरूले हेरिराखेको छु । तर, यसपाली मेरा नजरहरूसँग मेरो मगज पनि उसमा पर्छ । कौतुहलपूर्ण नजरले म उसलाई हेर्न पुग्छु ।

ऊ पनि मैैैैले सामान कुरेजस्तै ग्राहक कुरिरहेछ । ऊ पनि त मजस्तै कुरुवा हो । म सोच्न थाल्छु; यतिबेला उसको मस्तिष्कमा के होला ? सोच्दासोच्दै अन्दाज लगाउन थाल्छु; ऊ सोच्दो हो कुनै एउटा धनाड्य ग्राहक आइदियोस् र उसको पसलमा भएको सबैभन्दा रोज्जा सामान किनिदेओस् । जसबाट ऊ धेरै नाफा कमाउन सकोस् । धेरै नाफा कमाए उसले सहजै पसलको रेन्ट तिर्न सक्छ । मासिक किस्ताहरू होलान्; तिर्न सक्छ । बिजुली, पानी, वाइफाई सबै सेवा सुविधाको बिल चुक्ता गर्न सक्छ । छोरा–छोरी भए राम्रा गुडिया किनिदिन सक्छ । श्रीमतीलाई कतै नयाँ ठाउँमा घुमाउन लान सक्छ । रहर लागेको खान सक्छ । रहर लागेको गर्न सक्छ । बुबा आमालाई कुनै राम्रो गिफ्ट किनिदिन सक्छ । कोही नभए महँगो रक्सी पिएर कुनै यौनकर्मी महिलासँग रात कटाउन सक्छ । आज नसकिएर उम्रिए भोलिको लागी केही बचत गर्न सक्छ ।

यत्तिकैमा म उसलाई बेप्रसंग सोधिदिन्छुु “साहुजी, यतिबेला तिम्रो मगजमा के कुरा खेल्दै छ?”

ऊ मतिर फर्किन्छ र फिस्स हाँसिदिन्छ । मानौँ उसको मगजमा केही पनि छैन । मानौँ उसको पनि मेरोजस्तै मगज शून्य छ ।

म उसको हाउभाउ पढ्न थाल्छु । यतिबेला म उसलाई नियाली रहेछु । उसका नजरहरू पसलमा कम सामुन्नेको लिफ्टमा ज्यादा परिरहेछन् । ऊ एकदम आशावादी नजरले सामुन्ने फाट्टफुट्ट ओहरदोहर गर्ने ग्राहकहरू हेर्छ । ऊ परैबाट कुनै ग्राहकले आफूतिर हेरे–नहेरको कन्फम नगरिकन उक्त ग्राहकलाई नमस्कार गर्छ । ग्राहकले कुनै प्रतिक्रिया नदिएपछि ऊ फेरि अर्को ग्राहकलाई नमस्ते गर्छ । यो क्रम चलिरहन्छ । उसको पसलमा कुनै ग्राहक आउँदैनन् । तर ऊ थाक्दैन । पर्खिरहन्छ । कुरिरहन्छ ।

पसलभित्र एउटा ठूलो टिभी पनि छ जहाँ पसल वरपर छरिएर रहेका सीसी क्यामेराहरूका फरक–फरक फुटेजहरू देखिइरहेछन् । पसले त्यही टिभीमा पुलुक्क हेर्छ । त्यहाँ त्यसले अरूभन्दा विशेष केही देख्छ । सायद ग्राउण्ड फ्लोवरको क्यामेरा हुनुपर्छ । त्यो क्यामेराको सामुन्ने निक्कै धनाढ्य जस्तो सुटेट, बुटेट, ड्रेसअप गरेको एउटा मान्छे लिफ्ट पर्खिएर बसिरहेछ ।

पसले अलि सतर्क हुन्छ । ऊ पसलमा चारैतिर नजर डुलाउँछ । सामानहरूको सजावट ठीक भए नभएको कन्फम गर्छ । हतारहतार टालोले अगाडिको सीसा पुच्छ । सोकेसमाथिको ऐनामा आफूलाई पनि नियाल्छ । आफ्नो टाइको नट राम्ररी मिले नमिलेको जाँच्छ । उसले लगाएको सर्ट कतै मुजा परेको दोब्रिए नदोब्रिएको कन्फम गर्छ । पसलकै एक कुनाबाट रूम स्प्रे निकाल्छ र पसलमा छर्कन्छ । त्यसपछि फेरि सीसीक्यामेराको फुटेज हेर्छ र लिफ्टतिर हेर्छ ।

पसलेको हाउभाउ हेर्दा लाग्छ उक्त मानिस उसकै पसलमा आउनेवाला छ र पसलकै रोज्जा सामान किनेर जाने छ ।

नभन्दै लिफ्टबाट उक्त मान्छे फुत्त बाहिर निस्कन्छ । पसले बडो इमान्दार भएर उसलाई नमस्कार गर्छ । आगन्तुकले पुलुक्क उसतिर एक नजर हेरिदिन्छ । पसले ठूलै युद्ध जितेको मनोभावमा गमक्क पर्छ । तर दुर्भाग्य उक्त ग्राहक उसको पसल छेवैमा आएर अर्को पसलतिर लागिदिन्छ ।

भर्खर सम्म पसलेको मुहारमा उदाएको चन्द्रमा एकाएक अस्ताउँछ । क्षणभरमै उसको अनुहार औँशीको रातमा परिणत हुन्छ । ‘सामानको सजावटमा पो कुनै कमी कमजोरी भयो कि’ भन्ने सोचेर ऊ पसलका सबै सामान र सजावटहरू हेर्छ र खिन्न मन लगाउँछ । सायद उसले सोचेको हुनुपर्छ भर्खरै सीसा पुछ्दा प्रयोग भएको क्लिनर खेर गयो । पसलमा छर्किएको महँगो रुम स्प्रे खेर गयो । सजावटका लागि टाँगिएका वरिवरिका बत्तीहरूले फोकटमा बिजुली खर्च गरे । यतिबेरको उसको समय पनि त खेर गयो । बे–अर्थमा कुनै कुरा किन पो गुमाउन चहान्छ र मान्छे ? ऊ कुनै ग्राहकको लागी आफूले गरेको लगानी र उसले कमाएको मुनाफाको मझधारमा बारबार आफूलाई नियाल्छ । अर्को पसलमा उक्त ग्राहकले किनेको सामान हेरेर घुटुक्क थुक निल्छ ।

“दुर्भाग्य, त्यो ग्राहक तिम्रो पसलमा किन छिरेन?” म फेरि फ्याट्ट सोधिदिन्छु ।

ऊ पुलुक्क मतिर हेर्छ र फेरि पनि फिस्स मुस्कुराउँछ । खासमा यतिबेला ऊ मुस्कुराउनु हुने थिएन । मैले गम्भीर प्रकृतिको प्रश्न गरेको थिएँ । लाग्छ उसले मुस्कुराउन सिवाय अरू जानेकै छैन ।

यत्तिकैमा उसको पसलमा पहिलो ग्राहक आइपुग्छ । ऊ आफूमा भएको, व्यापार गर्दा उसले आजसम्म सिकेको सबै कला प्रयोग गरेर उक्त ग्राहकले केही सोध्नुभन्दा अगाडि नै भनिदिन्छ “सबैभन्दा राम्रो र सस्तो सामान दिने पसल मेरै हो । मेरा धेरै ग्राहकहरू छन् । अरूभन्दा डिस्काउन्ट धेरै दिन्छु । सामानमा छ महिना पसलबाट ग्यारेन्टी बसिदिन्छु ।” ऊ बोल्दाबोल्दै ग्राहकको हातमा एककप कफी थमाउन भ्याउँछ । ग्राहक कफी समात्छ र ओठ लेपर्याउदै बाटो लाग्छ ।

पसले रूनमात्र सक्दैन । पुर्पुरोमा हात राखेर थचक्क भुइँमा बस्छ । केहीक्षणअघि कफी बनाउँदा उसले कफीको खोल डस्बिनमा मिल्काउन भ्याएकै हँुदैन । ऊ त्यही कफीको खोल एकदम टिठलाग्दो पाराले हेर्छ । एकदम मायालाग्दो पाराले डस्बिनमा फाल्छ ।

म दोस्रोपटक शौचालय जान्छु र फर्कन्छु । घडी हेर्छु, दुई घन्टा पनि बितेको हुँदैन । लामो श्वास तान्छु र पानी पिउन थाल्छु । पसले मैले पानी पिएको देखेर ‘नपिइदेन मेरो पानी सकिन्छ, अर्को पानी किन्न पैसा छैन । कुनै ग्राहक आएका छैनन्’ भन्ने भावले मलाई हेर्छ । र हेर्दाहेर्दै उसले उसको हेर्ने नजरको भाव परिवर्तन गरेर ऊ मलाई शंकाको नजरले हेर्न थाल्छ । सायद उसले सोचेको हुनुपर्छ ‘बिहान बिहानै बिग्रिएको सामान लिएर आइस् र मेरो व्यापार राम्रो भएन । तँ बसेकै कारण ग्राहकले मेरो अनुरोध पत्याएनन् । अलिच्छिना मान्छे होस तँ ।’ म उसको भाव बुझेजस्तो गर्छु । तर म के पो गर्न सक्थें र ? म पनि त विवश छु पर्खन । उसको हेराइलाई बेवास्ता गरिदिन्छु ।

फेरि पसलमा अर्को ग्राहक आइपुग्छ । हेर्दा सुटेड, बुटेड नै देखिन्छ ग्राहक । फेरि पसले आफ्नो सम्पूर्ण कला प्रयोग गर्छ । ग्राहक पनि पसलका महँगा महँगा सामानहरू हेर्न सोध्न थाल्छ । पसले सबै सामानको बढाइचढाइ व्याख्या गर्न थाल्छ मानौँ उसले सबै सामानको प्रयोग गरेको छ । सबै सामानको विशेषताहरूसँग परिचित छ । सबै सामानहरू ऊ स्वयमले बनाएको हो ।

“यसको कति? फाइदा के? डिस्काउन्ट कति ? वारेन्टी कहिलेसम्म ? म अरू पनि ग्राहक ल्याइदिन्छु मलाई के दिन्छस ? दस पिस लान्छु मलाई थप कति डिस्काउन्ट दिन्छस ?” ग्राहक चतुर निस्किदिन्छ ।

पसले बारबार क्याल्कुलेटरमा हिसाब गरिरहन्छ । प्रत्येक पटक अन्तिम मूल्य भनेर थोरै घटिरहन्छ । लामो समय मोलमोलाई चल्छ । अन्तिममा ग्राहक मन्द मुस्कुराएर भन्छ, “सबै थोक राम्रा रहेछन् । अरू पसलभन्दा तेरो पसल सस्तो रहेछ । डिस्काउन्ट राम्रो दिँदो रहेछस् । म अर्को हप्ता तेरै पसलमा आएर सामान किन्छु ।”

पसले खिन्न मन लगाउँदै आफ्नो भिजिटिङ कार्ड ग्राहकलाई दिन्छ । आफ्नो पसल नम्बर भन्छ । पसलसम्म आउने छोटो बाटो देखाउँछ ताकि कथमकदाचित् उक्त ग्राहक अर्को हप्ता आइहाले झुक्किएर अर्को पसलमा नपसिदेओस् ।

अब युद्धमा हारेको सिपाही र पसलेमा केही भिन्नता छैन । पसलेमा कुनै उर्जा छैन । उसको मस्तिष्कमा बेचैनी सुरू हुन्छ । उसले आजको दिनमा कमाउनुपर्ने नाफा कमाउन सकेको छैन । व्यापार घाटा छ । ऊ वरपर गर्छ । छटपटाउन थाल्छ । यतिबेला सम्ममा उसलाई पिसाब लाग्नुपर्ने हो, लागेको छैन । तिर्खा लाग्नुपर्ने हो, लागेको छैन । भोकाउनुपर्ने हो, भोकाएको छैन । हुन त बिना कमाइ, बिना स्रोत भोक प्यास नै कहाँ पो लाग्छ र ? लागे नै पनि तिनीहरूको के अर्थ ? बरू गरिबी र अभावले भोक होइन धैर्य र सहनसिल बनाउँछ मान्छेलाई । ऊ हिम्मत हार्दैन । बरू धैर्यले अर्को ग्राहक कुरिरहन्छ; पर्खिरहन्छ ।

“कस्तो मान्छे रहेछ ! त्यसो नगर्नुपर्ने । तिम्रो समय मात्र खेर फालिदियो” म अघि आफूले समय कटाउने बहानामा अरू पसलेलाई दिएको दुःख बिर्सिएर भनिदिन्छु ।

पसले यसपाला पनि मतिर हेर्छ र फिस्स मुस्कुराउँछ । तर यसपटक उसको मुस्कानमा उत्साह पटक्कै छैन । मुस्कान खुसीको बिम्ब हो तर पसलेको मुस्कानले दुःखको भाव बोलिरहेछ । कस्तो अचम्म, मुस्कानले पनि दुःख बोल्न सक्दो रहेछ । मुस्कानभित्र पनि पीडा हुँदो रहेछ । पीडामा पनि त मान्छे मुस्कुराउन सक्दो रहेछ । तर, मुस्कानमा पीडा कति पनि नसुहाउँदो रहेछ । मुस्कानमा खुसी नै मिसिनुपर्ने रहेछ । त्यसैले त देउराली पहाडको थाप्लोमै बनाइँदो रहेछ ता कि यात्रीले मीठो हावासँग जिन्दगीकै स्वर्णीम श्वास फेर्न सकोस् । त्यसैले त प्राय चौताराहरू भञ्ज्याङमै बनाइँदो रहेछ ता कि भरियाले भारी बिसाउँदा छेउछाउमा घुटुक्क गला भिजाउने जरूवा होइदियोस् ।

म पसलेलाई हेर्न छाडेर उसकै बारेमा कल्पन थाल्छु, ‘आजसम्म यसले कति ग्राहक पर्खियो होला ? अझै कति पर्खेला ? कहिलेसम्म पर्खेला ? पर्खाइको पीडामा कति छटपटाउला ? जवाफ मसँग छैन । सायद उसँगपनि छैन । कतिपय प्रश्नहरू प्रश्नमै सीमित हुन्छन् ।’

पर्खनु कति गाह्रो काम रहेछ, म पसलेलाई छाडेर सोच्न थाल्छु, जीवनको अन्तिम आयु बाँचिरहेका बृद्ध बृद्धाले कसरी कुर्दा हुन् आफ्नो मृत्यु ? कसरी कुर्दो हो मृत्युदण्ड सुनाइएको अपराधीले आफू सुली चढ्ने दिन ? रोगीहरूले कसरी कुर्दा हुन् रोगको निदान ? किसानले कसरी कुर्दो हो अनाज भित्र्याउने समय ? परिक्षार्थीले कसरी कुर्दो हो नतिजा ?श्रमिकले कसरी कुर्दो हो तनखा ? यात्रीले कसरी पच्छ्याउँदा हुन् गन्तव्य ? भोकोले कसरी पर्खदो हो भोजन ? प्रेमीले कसरी पर्खदा हुन् आफ्नो प्रेम ? बचेराहरूले कसरी कुर्दा हुन् आमा ?

सबै कुरा बिर्सिएर म आफैँले आफैँलाई नियाल्न थाल्छु । जिन्दगीमा आफूले पर्खिएका कुराहरू सम्झन थाल्छु । जस्तोकी केटाकेटीमा एउटा नयाँ लुगाको लागी दसैँ कुरिन्थ्यो । एक पुरिया बिस्कुटको लागी औँशी पूर्णीमा (हाटरबजारको दिन बजारबाट आउँदा बुबा ममिले बिस्कुट ल्याइदिनु हुन्थ्यो) कुरिन्थ्यो । मीठो मसिनो खान चाडवाड कुरिन्थ्यो ।

अलि ठूलो भएपछि परीक्षा, नतिजाहरू कुर्न थालियो । आज धन सम्पत्ति, खुसी, मोज–मस्ती कुर्दैछु । भोलि जिन्दगी अलि बुढिएपछि रोगव्याधीहरूसँग उपचार कुर्नुछ । कुर्दाकुर्दै एकदिन मृत्यु पनि त कुर्नु छ । कताकता मगजमा चेत पलाएजस्तो हुन्छ, आखिर जिन्दगी पनि एउटा पर्खाइ न रहेछ ।

जिन्दगीमा सबैभन्दा गाह्रो काम पो रहेछ कुर्नु । प्रत्येक सेकेन्ड घण्टा जस्तो लाग्दो रहेछ । प्रतिक्षार्थीहरूको समय उल्टो चल्दो रहेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology