के ऊ राजदूत भएर नेपाल आउली ?


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६


-अशोक सिलवाल

‘हिजो मैले कत्ति बोलाएँ । तपाईंले सुन्नै भएन’, गाइडचोकमा साँझ भेटिएको दीपेशले भन्यो, ‘तपाईं एकजना केटासँग स्वयम्भूको पश्चिम पोखरी छेऊ गफिदै हुनुहुन्थ्यो ।’

‘हिजो त म केटीसँग थिएँ’, मैले भनें ।

‘होइन । तपाईं केटासँगै हुनुहुन्थ्यो’, उसले जिद्धी गर्यो ।

तर, म केटीसँगै थिएँ । त्यसैले त्यही दोहोराएँ । त्यसपछि ऊ म केटीसँगै थिएँ भनेर मान्न बाध्य भयो ।

‘केटा’ वा ‘केटी’को यो प्रसंग खासमा अघिल्लो दिन बिहानैबाट सुरु भइसकेको थियो ।

सुरु कसरी भएको थियो त ? भेट्नुअघि मलाई होटलको नाम, कोठा नम्बर र गेस्टको नेसनालिटी मोबाइलमा मेसेज गरिएको थियो । तर, त्यहाँ उसको नामअगाडि मिस्टर, मिस वा मिसेस लेखिएको थिएन । मैले पनि रिप्लाई गरेर गेस्टको लिंगबारे सोधिनँ । त्यो आवश्यक पनि त थिएन ।

होटल पुग्दा ९ बजेर १ मिनेट गएको थियो । म दिइएको समयभन्दा १ मिनेट ढिला पुगेको थिएँ । स्कुटर पार्क गरेर होटलको लवी जाँदै गर्दा एउटी केटी देखें । नीलो जिन्समा उसका तिघ्राहरु कसिला दखिन्थे । नीलै ज्याकेटमा शरीर पनि त्यस्तै पर्फेक्ट । खैरो कपाल कम्मरसम्म खोलाजस्तै बगेको थियो । तर, त्यति बेलासम्म मैले उसलाई पछाडिबाट मात्र देखेको थिएँ ।

‘यही त होइन मेरो गेस्ट !’ भन्ने सोच्दै लवीमा हान्निदै गरेको म टक्क अडिएँ । र, भनें, ‘एक्सक्युज मी !’

पछाडिबाट ‘माधुरी दीक्षित’ देखिएकी ऊ मतिर फर्किएपछि केटा हो कि केटी भनेर कन्फ्युज्ड भएँ । अनुहारबाट ओर्लेर आँखा उसको छातीमा पुग्यो । त्यसपछि ऊ केटी नै हो भन्नेमा म नचाहेर पनि ढुक्क भएँ ।

उसको अनुहारको बनोटमात्र होइन, ओठमाथिका एकाध ठुटे जुँगांले पनि ऊ केटाजस्तै देखिएकी थिई । तर, स्वर, कपाल र छातीले ऊ केटी नै थिई ।

एक मनले सोचें, ‘यो पक्कै थर्ड सेक्स हो ।’ तर, ऊ मेल, फिमेल वा थर्ड सेक्स जे भए पनि गेस्ट थिई । प्रार्थनीय थिई । अतिथी देवो भवः !

महाराजगञ्जस्थित होटल साम्बालाबाट हामी स्वयम्भु हुँइकियौं ।

नेदरल्यान्डबाट आएकी ऊ हाललाई ‘होमलेस’ रहिछ । ‘त्यसैले म नेपालमा छु’, उसले भनी, ‘हामीले हाम्रो घर बेच्यौं । र, नयाँ घर किनेका छौं । तर, नयाँ घर सर्न हामीले अझै केही महिना कुर्नुपर्नेछ । हाम्रा सबै घरायसी सामान अस्थायी स्टोरमा छन् ।’
‘आमस्टर्ड्म अति नै टुरिस्टक भयो । स्थानीयभन्दा पर्यटकको घुईंचो बढी । त्यसमाथि शहरको मध्यकेन्द्रमा डेढ सय बर्ष पुरानो हाम्रो घर थियो, जसलाई सरकारले सम्पदा मान्दछ । त्यो घर हामीले राम्रो मुल्यमा भर्खरै बेच्यौं’, ऊ भन्दै थिई, ‘बेच्नुको कारण के थियो भने, हाम्रो घर साँघुरो थियो । र, हामी खुला ठाउँमा सर्न चाहन्थ्यौं । त्यति मात्र होइन, मेरो श्रीमानसँग ५ हजारभन्दा बढी किताब छन् । ती किताबले यथोस्थान नपाउनु पनि हामीले नयाँ घर खोज्नुको कारण थियो ।’

उसले मोबाइलमा कैद उसको घरको तस्बिरहरू देखाई । हाम्रा पुराना दरबार, घर वा मन्दिरको जस्तै उसको घरको मूल ढोका कलात्मक र साँघुरो रहेछ । रेफ्रिजेरेटर र अरु आधुनिक मेसिनहरु घरभित्र लैजान सडकबाट माथिल्लो तलाका झ्यालहरुसम्म ठड्याइएको तस्विरहरु पनि उसले देखाई ।

‘सम्पदा घर बेच्दा हामीले राम्रो मुल्य पायौं । अहिले नयाँ घर किनिसक्दा पनि हामीसँग प्रशस्त पैसा बाँकी छ । र, त्यही पैसाका सदुपयोग गर्दै हामी ८० दिनको यो यात्रामा निस्केका हौं’, उसले भनी ।
उसले हामी भन्ने शब्द पटक–पटक प्रयोग गरेपछि मैले सोधें, ‘खोई त श्रीमान ?’

‘म ५५ बर्षकी भएँ । मेरो श्रीमान मभन्दा ३० बर्ष जेठो छ । उसलाई सञ्चो छैन । हिजो दिनभर हामी होटलमै आराम गरेर बस्यौं । तैपनि उसलाई सञ्चो भइसकेको छैन । भोलि रातीसम्म मात्र हामी नेपालमा हुन्छौं । त्यसैले बिहानमात्र मैले डिसिजन गरें, म काठमान्डु घुम्छु र श्रीमान आज पनि दिनभर होटलमै आराम गर्छ’, त्यति भनेर उसले श्रीमानको तस्विर देखाई । तस्विरमा उसको श्रीमान दुईटा सिरानी भएको आरामदायी ओछ्यानमा आराम गरिरहेको दाह्रीवाल बुढो देखियो ।
‘तर, ऊ निकै बलियो छ’ उसले भनी । र, अर्को तस्विर देखाई, जहाँ ऊ आमस्टर्डम्को सम्पदा घरको लाइब्रेरीमा किताबहरुबीच देखिन्थ्यो ।

प्रत्येक सम्पदा स्पटपिच्छे ऊ सिगरेट सल्काउँथी र बिँडैसम्म सकाउँथी ।

एकाध पटक यस्तो भयो, जब सम्पदाबारे बताइरहेको हुन्थें, ऊ निकै भोकसहितको आँखाले एक टकले हेर्थी । म आकाश वा भुईतिर फर्केर बोल्न थाल्थें । सुरुको ‘पछाडिवाला’ इम्प्रेसन निकै सम्मोहक थियो । तर, अगाडिबाट जो इम्प्रेसन परेको थियो, त्यसले मलाई उसका ती एक टक आँखाप्रति कुनै सम्मोहन थिएन । तर, उसको आँखामा बौद्धिकता, समझदारी, ज्ञान, अनुभव र आत्मविश्वासको मिश्रण पनि थियो । त्यसप्रति मेरो आदर थियो ।
शनिबारको दिन थियो । त्यसैले तुलनात्मक रुपमा काठमान्डुको धुलो र ट्राफिक साताको अन्य दिनभन्दा कम थियो । तैपनि सोधें, ‘तिमीलाई अनौठो लाग्दै होला । होइन ?’
‘भारतको दिल्ली र बंगलादेशको ढाकामा केही दिन बिताएर आएकोले मलाई काठमान्डु त निकै हल्का र कम प्रदुषित लाग्यो’, उसले भनी, ‘यहाँबाट हामी थाइल्यान्ड जान्छौं । केही दिनपछि मलेसिया । र, त्यसपछि स्पेन । अनि अरु केही देश हुँदै नेदरल्यान्ड फर्केर पहिलो रात नै नयाँ घरमा बिताउँछौं ।’

‘८० दिनको यो यात्राले तिमीहरुको मनमा विश्व नै एउटा घर हो भन्ने मनोविज्ञान जन्मने छ । त्यसैले नेदरल्यान्डको नयाँ घर जाँदा तिमीहरुसँग दुईटा घर हुनेछ’, मैले भनें ।
‘ओहो ! तिमीले साँच्चै सुन्दर कुरा गर्यौ’, उसले भनी, ‘हो, अनेक संस्कृति, भुगोल र त्योसँगको हिमचिमले ‘विश्व एक परिवार’को अवधारणा बलियो गरी मनमा स्थापित हुनेछ । त्यसैले त घर बेचेर आएको पैसा खर्च गर्दै हामी यो यात्रा गर्दैछौं । र, यात्रा आफैमा एउटा घर हो भन्ने तिम्रो दर्शनले मलाई असाध्यै छोयो ।’

लगत्तै उसले मुस्कानले भरिएकी एउटी सुन्दरीको तस्विर मोबाइलमा देखाउँदै भनी, ‘ऊ चाहिँ मेरी छोरी ।’
मैले उसको मोबाइल हातमा लिएँ र निकै मजा मानेर हेरें । पछाडिबाट सुरुमा आमा जति राम्री देखिएकी थिई, छोरी अगाडिबाट उस्तै राम्री देखिई । तर, मलाई केही छिनको कुराकानीपछि आमा पनि छोरीजस्तै सुन्दर लाग्न थालिसकेको थियो ।
सौन्दर्य रूप मात्र होइन, खासमा त अनुभूति पो रहेछ ।

‘छोरी पनि नयाँ घरमा बस्ने छे । उसको र हाम्रो साझा ढोका पनि हुनेछ । ताकि कहिलेकाहीँ सजिलै भेट्न सकौं । सँगै खाना खान सकौं’, उसले घरमात्र होइन, परिवार, परिवारका सीमा र स्वतन्त्रताबारे भनी, ‘छोरीको आफ्नै प्राइभेट किचेन र रेस्टरुम हुनेछ । उसको लागि हामीले उसको प्राइभेट ढोका पनि बनाउन लगाइसकेका छौं । ताकि हामीलाई जानकारी नदिई ऊ ब्वाइफ्रेन्ड र अरु साथीहरूलाई आफ्नो कोठामा ल्याउन सकोस् । तर, अहिलेसम्म उसको ब्वाइफ्रेन्ड छैन । हाम्रो एउटै सन्तान ऊ पढ्नमै दत्तचित्त छे ।’

‘छोरी कति बर्षकी भई ?’। मैले सोधें ।
‘२२ ।’
‘कुन विषय पढ्छे ?’
‘इन्टरनेशनल रिलेसन । उसलाई डिप्लोमेसीमा रुचि छ । र, एक दिन डिप्लोम्यट भएरै छाड्छु भनेकी छ ।’
‘त्यसो भए, म चाहन्छु तिम्री छोरी एक दिन एम्बेस्डर भएर नेपाल आउने छे’, मैले अपेक्षामा शुभेच्छा मिसाएँ ।
‘सायद ! सम्भवत ! र, मलाई विश्वास छ, ऊ आउने छे’, छोरीप्रति उसले विश्वास पोखी ।
लगत्तै मैले उसको ८५ बर्षिय दाह्रीवाल श्रीमानसँगको दाम्पत्यबारे सोधें ।
‘बिहे गरेको ११ बर्ष भयो’, उसले भनी ।

तर, उसकी छोरी २२ बर्षकी भइसकेकी छ । त्यसबारे मैले थप केही सोधिनँ ।
विषयान्तर भएर मैले अर्को प्रश्न गरें, ‘जसरी अहिले तिम्रो २२ बर्षे छोरीको सपना डिप्लोम्याट बन्ने छ, तिमी छोरी–उमेरकी हुँदा के थियो तिम्रो सपना ?’

‘मेरो केही सपना थिएन । अलमलमै मैले ‘ल’ पढें । लयर भएँ । वकालत गरें । तर, एक दिन मलाई एउटा ‘ल’ म्यागेजिनबाट इडिटर इन चीफको अफर आयो । मैले अदालती वकालत छाडिदिएँ । म्यागेजिन ज्वाइन गरें । बर्षको ४४ अंक निस्किन्छ । अहिलेसम्म मेरो नेतृत्वमा ५ सय अंक प्रकाशित भयो’, सपनाबिनैको जिन्दगीबारे ऊ भन्दै थिई, ‘अब अर्को ५ सय अंकको सम्पादन गर्छु । त्यसपछि रिटायर्ड लाइफ सुरु गर्छु ।’

‘म जे गर्दैछु, यो निकै संवेदनशील छ । हाम्रो म्यागेजिन पसलमा पाइँदैन । यो नेदरल्यान्डमात्र होइन, युरोपभरि पुग्छ । तर, नियमित ग्राहककहाँ मात्र । यसमा तीन खण्ड हुन्छ’, भन्दै थिई, ‘दोस्रो खण्डमा नेदरल्यान्ड र युरोपका अन्य देशहरुमा पछिल्लो पटक भएका विशेष अदालती निणर्य र नजीरहरु समावेश गर्छौं । तेस्रो खण्डमा ‘ल’सम्बन्धी टिप्स र केही फ्रि राइटिङ । पहिलो खण्डमा चाहिँ निकै गहकिलो र अनुसन्धानमुलक ‘ल’ लेखहरु हुन्छन् । हामी सीधै ती लेखहरु छाप्दैनौं । ती लेखहरुमाथि पटकपटक छलफल हुन्छ । रिराइटिङ हुन्छ । त्यसका लागि एउटा उच्च–स्तरीय बोर्ड छ । त्यहाँ पूर्व वरिष्ठ न्यायधीश, प्राध्यापक र भाषा विज्ञहरू हुन्छन् ।’

‘हो, मेरो श्रीमान त्यही बोर्डमा थियो, हाँस्दै थपी, ’तर, ऊ त्यति बेला मेरो श्रीमान थिएन । त्यसरी हाम्रो भेट भएको हो ।‘

हामी जहाँ जहाँ गयौं, ऊ ती ठाउँहरूको तस्वीर खिच्थी । ती सबै तस्वीर उसले होटलको ओछ्यानमा आराम गरिरहेको श्रीमानलाई देखाउन खिचेको उसले बताई । ‘तर, केही विशेष तस्वीरचाहिँ होटल फर्केपछि भाइबरबाट छोरीलाई पठाउँछु’, उसले भनी ।
के साँच्चै उसकी छोरी राजदूत भएर नेपाल आउली ?

(लेखक लाङटाङ सद्भावना दूत हुन् ।)


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology