यसरी नै बढ्नेछ मेरो ढुकढुकी– जुन दिन रोकिने छ दिदीको !

यसरी नै बढ्नेछ मेरो ढुकढुकी– जुन दिन रोकिने छ दिदीको !

  • 4.0K
    SHARES

    • सीमा त्रिताल ।
    ‘किन बढ्दैछ ढुकढुकी मुटुको...... किन झझल्को झलझली आँखामा.. कोही आउँछ आज मेरो माया लिएर.....’ पृष्ठभूमिमा यो गीत बजिरहेको छ । यतिखेर म २० वर्षको यौवनाको ढुकढुकीको अग्रस्थानमा पक्कै कुनै अघोषित ‘भ्यालेन्टाइन’ वा ‘कमरेड’को रंगीन फोटो हुनुपर्ने हो । सायद यो उमेरमा रगत पम्पिङ गर्दैन– माया पम्पिङ गर्छ मुटुले । जोकोहीले पनि अनुमान गर्न सक्छ । यो गीत बजिरहँदा एउटा २० वर्षको यौवनाको मनमा कस्ता तरंगहरू उठ्छन् भनेर । तर अहिले म मेरो उमेर र रहरलाई बिर्सेर केही दूर विगतलाई सम्झिँदै छु । अर्थात् अहिले बजिरहेको यो गीत सुनेको त्यो पहिलो दिन । अनि त्यही बीस वर्षको यौवनालाई जो यही गीत गुनगुनाएर आफ्नो वैँशालुु रहर पोख्दै रहिछन् त्यतिखेर । म बालक बबुरोलाई के थाहा बैँशको रहर ।

    ०००

    कहिलेकाहीँ घडीबाट उछिट्टिएर भाग्दोरहेछ समय पनि । कति छिटो बित्दो रहेछ दिन । यो अवधिमा म धेरै तितामिठा घटनाहरूको साक्षी बनेँ । एउटा निष्ठुर समयको साक्षी बनेँ । जसले गोमा दिदीको सपना पूरा गरिदिने बाचा गरेर उनको रहरलाग्दो वैँश निल्यो । वर्तमानलाई कतै अनन्त अन्धकारमा धकेलिदियो, बेसहारा बनाएर । समय अहिले फिर्ता आएको छ– जोरपाटी मेडिकल कलेजको एउटा शै्यामा । आराम गरेर बसेकोे छ । अगाडिका बाटा बन्दजस्तै भएका छन् । गोमा दिदीको नासो फिर्ता दिन नसकेको समय पनि उनलाई जीवनमा अल्झाइरहनु या मृत्युको मुखमा धकेलिदिऊँ भनेर असमञ्जस्यतामा परेको भान हुन्छ । जीवनको १२ वर्ष समयको गर्भमा यसरी बिलायो कि– न परिणाममुखी रह्यो न ब्याज नै आयो ।

    ०००

    एउटी औसत र बेसहारा नारी हुन् उनी । जसरी दैनिक सडक नाप्दै गर्दा हाम्रा अघिल्तिर त्यस्ता कति मानिसहरू असरल्ल पसारिन आउँछन् । गोमा दिदी तिनै प्रतिनिधि पात्रमध्ये एक हुन् । जसको नियति म बुझ्न सक्दिनँ । तर, उनको जिन्दगीको ताप, रहर र बाध्यता बुझ्न सक्छु । एउटा कलको भरमा उध्रेका कपडाहरूको धार सिलाउँदै गुजारा चलेको थियो ‘कुण्डले बडा’को । श्रीमती, दुई छोरा र पाँच बहिनी छोरीको पनि गुजाराको अन्य विकल्प थिएन । कहिले खोलामा दुवाली थापेर, कहिले कुलोमा पानी थुनेर माछा मार्दै भान्सा चलेको थियो । कहिले कसको जग्गा, कहिले कसको जग्गाको आडमा अस्थायी टहरा बनाएर गुजरा चलाइरहेका थिए बडाले । घुमन्ते जीवनभन्दा फरक नपर्ला । तीनै कुण्डले बडाकी काइली छोरी हुन् गोमा दिदी । तीन छोरीले घरजम थालिसकेका थिए । जेठाबाठो भनेकै गोमा दिदी थिइन् । दर्जी परिवारकी त्यो काइली छोरीको वैँश आएर होला मैले सानैदेखि उनको बारेमा सुन्ने कुरा नै एउटै थियो । ‘गोमे कति राम्री’ । उनको सौन्दर्यता कुनै मन्त्रभन्दा कम थिएन, सबै यही जप्ने गर्दथे । २००४ तिर कुवेतको खुब लहर चलेको थियो गाउँघरमा । धेरै आमा दिदीहरू पैसा कमाउन कुवेत जाँदै थिए । २० वर्षकी गोमा दिदी त्यही समय कुवेत पसेकी थिइन् । तीन वर्षपछि थोरै जुगाड गरी नेपाल फर्किइन् । आठ महिना बसेर केही नलागेपछि पुनः २००८ मा साउदीतिर लागिन् । समय जसरी सजिलै औँलामा गनिँदै थिए, भोग्न धेरै कठिन थियो । त्यसबीचमा उनले भूमिहीन परिवारलाई पाँच कट्ठा जग्गा किनेर बस्ने आधार दिइन् । तर बुबाआमाको साथ दैवले छुटायोे । उमेरले पनि साथ छोड्दै जाँदै थियो । परिवारका लागि गर्दागर्दै आफ्ना लागि केही बाँकी रहेन । २०१२ मा पुनः नेपाल आइन् उनी । एउटा आम नारीको रहर थियो जुन अधुरै थियो । विवाह भएको थिएन दिदीको तर रहर गडेको थियो । जातपात, विदेसिएका नारीप्रतिको सामाजिक दृष्टिकोण, आर्थिक पृष्ठभूमि आदि सबै कुरालाई उनले भाग्य सम्झेर आफूसँग लिएर अघि बढ्दै गइन् । मनभित्र गडेको इच्छा सधँै कहाँ लुप्त भएर बस्न सक्थ्यो र ! दिदी सिन्दुर पोते, साडी लगाएर कोठामा सजिएर बसेको आज पनि याद छ मलाई । उनले २०१३ मा गाउँकै एकजना युवकसँग विवाह गरिन् । राई थरको केटासँग विवाह गरेपछि गाउँमा बस्ने वातावरण भएन । जोडी काठमाडौँको जोरपाटीको अत्तरखेलमा आएर बस्न थाले । अब आफ्नो लागि कमाउनु थियो । रहर अपुरै थियो । अपुरो रहरलाई अभावमा कटाउनु थिएन । त्यही वर्ष उनी दुबई गइन् । दुबईमा रहदाँ हल्का पेट दुख्ने र प्रेसर बढ्ने भइरहन्थ्यो । २०१५ मा उनी नेपाल फर्किइन् । नेपाल फर्केर आफूले सोचेरोजे जस्तो जीवन सुरु गर्ने उनको सपना थियो । केही समयपछि पेटमा बच्चा बस्यो । बच्चा बसेपछि खुसी फुलेको थियो । खुसी धेरै दिन बाँच्न सकेन । सामान्य बिमारीले सताइरहेपछि किड्नीमा समस्या रहेको भन्दै चिकित्सकले क्युरेट गर्न सुझाव दिए । त्यो बेला उनको खुसी यसरी विथोलियो दुर्भाग्य ! त्यसपछि जुरेन । अघिल्लो वर्षको तिहारमा माइती झापामा तिहार मनाउन गएको समयमा विराटनगर नोबल अस्पतालमा दुवै किड्नी फेल भएको डाक्टर रिपोर्ट आयो । मिस्त्री काम गरिरहेको श्रीमान् अहिले दैनिक उनकै स्यहारमा व्यस्त छन् । शरीरको पीडा र अभावले अहिले एकैपटक गाँजेको छ । श्रीमान् मृगौला दिन चाहन्छन् । तर मृगौला ‘ट्रान्सप्लान्ट’ गर्ने पैसाको अभाव छ । ‘कान्छी बहिनी विदेशमा काम गर्छे । उसैले घरीघरी खर्च पठाउँछे । कान्छा भाइको श्रीमती पनि विदेशमा छिन् । उसले पनि घरीघरी पैसा पठाउँछे । त्यसले कोठा भाडा लगायत जोहो गर्दैछौँ,’ गोमा दिदी सुनाउँछिन् । स्वास्थ्य अवस्था दिनदिनै नाजुक बन्दै जाँदैछ उनको । मृगौला प्रत्यारोपणका लागि श्रीमान् तयार भएपनि पैसाको व्यवस्था हुन सकेको छैन । माइतीलाई आधार दिन लगानी गरेको पसिनाको लालपूर्जा आफैसँग छैन अहिले । ‘म मेरो दिन गनेर बसिरहेको छु । सहयोग पाए बाँच्ने थिएँ होला,’ गोमा दिदी भन्छिन् ।

    ०००

    वैँश बिलायो । गोमा दिदीको शुभदिन आएन । अब अस्पतालका शैय्या उनको मृत्युका साक्षी भएर बस्नेछन् । हो ! अनि फेरि एक दिन यसरी नै मेरो ढुकढुकी बढ्नेछ– जुन दिन रोकिने छ गोमा दिदीको ढुकढुकी ।

    • सोमवार, माघ २७ २०७६०७:४५:५९
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ