यौन सम्पर्क विवाहपछिका लागि जोगाएर राख्न ब्राजिल सरकारको आग्रह


  • कामना न्यूज
  • प्रकाशित मिति : बुध, माघ २९, २०७६

काठमाडौँ – ब्राजिल सरकारले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ । किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो ।

महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको व्यावसायिक स्वास्थ्य संघठनहरूले भने आलोचना गरेका छन् । मन्त्री एल्भिस राष्ट्रपति जाइर बोल्सोनारोले समर्थन गर्ने इशाई नेता हुन् । उनीमाथि नागरिकमा धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ ।

गतवर्ष उनले बिबिसी ब्राजिललाई भनेकी थिइन्स् ‘आनन्दका लागि मात्र यौन खोज्नेहरूको कडा अभियान हामीले देखिरहेका छौँ ।’ उनले किशोरावस्थामा हुने गर्भधारण नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी भनेको ‘कन्डम, उपकरण र गर्भनिरोधक चक्की’ नभई यौनबाट अलग रहनु नै भएकाे बताएकी थिइन् ।

ब्राजिलको सरकारी तथ्याङ्कअनुसार किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० बाट सन् २०१७ मा आउँदा ३६ प्रतिशतले घटेको थियो । तर त्यो अझै पनि अन्य ल्याटिन अमेरिकी देशमा जस्तै उच्च मानिन्छ ।

पन्ध्रदेखि १९ वर्षमा हुने गर्भधारण दर प्रति एकलाखमा ६२ छ । जसको विश्वव्यापी औसत ४४ रहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले देखाउँछ । त्यस समूहको सबैभन्दा उच्च गर्भधारण दर भने पश्चिम र मध्य अफ्रिकामा छ ।

ब्राजिलको सरकारी नाराले नै ‘सबथोक सही समयमा’ भन्छ र त्यसलाई स्थानीय भाषामा ह्यासट्यागसाथ सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री एल्भिसले किशोरावस्थाको गर्भधारण र यौनरोगविरुद्ध काम गर्नका लागि उक्त अभियानलाई नयाँ प्रयास बताएकी छन् ।

यसले किशोरकिशोरीहरूलाई यौन सम्पर्क राख्नु अगाडि सोच्न बाध्य पार्ने उनको भनाइ छ । सरकारले यसलाई बाध्यकारी वा नैतिक बहसको विषय भने नबनाउने जनाएको छ ।

राष्ट्रपति बोल्सोनारोले यसअघि स्वास्थ्य मन्त्रालयले अभिभावकहरूका लागि बनाएको एउटा पुस्तिकाबाट महिलाको प्रजनन प्रणालीको रेखाचित्र र कन्डमको प्रयोग गर्न सिकाउने पाना च्यात्न लगाएका थिए । बिबिसीबाट


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology