बजेट कार्यान्वयनमा अपेक्षित सुधार आएनः अर्थमन्त्री खतिवडा


  • कामना न्यूज
  • प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६

भीमा पन्थी

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले अघिल्लो वर्षको तुलनामा समग्र बजेट कार्यान्वयनको गतिमा उल्लेखनीय सुधार हुन नसकेको बताएका छन् ।

नयाँ कानुन र विधि निमार्णपछि सरकारी वित्तीय व्यवस्थामा सुधार हुँदै गएको भएपनि आयतमा आएको ह्रास र नयाँ राजस्व प्रणाली प्रति व्यावसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्त हुने राजस्व अपेक्षाकृत संकलन हुन नसकेको र फलस्वरूप बजेट कार्यान्वयनमा सुधार आउन नसकेको खतिवडाले बताएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा कुल विनियोजनबाट जम्मा २७.६ प्रतिशत खर्च भएको छ । कुल विनियोजित रकम १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख थियो । पहिलो ६ महिनामा रु. ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख मात्र खर्च भएको उनको भनाइ छ । माघ २८ गतेसम्म भने विनियोजित रकमको ३१.५ प्रतिशत खर्च भएको छ । जसअन्तर्गत विनियोजनबाट चालु, पूँजी र वित्तीयतर्फ क्रमशः ३२.४ प्रतिशत, १५.४ प्रतिशत र २९.९ प्रतिशत प्रतिशत रकम खर्च भएको छ ।
आर्थिक वर्षको अन्त्यसम्म कुल विनियोजित बजेटको ९०.४ प्रतिशत, पूँजीगतर्फ विनियोजित बजेटको ८०.१ प्रतिशत, चालुतर्फ विनियोजित बजेटको ९४.५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ विनियोजित बजेटको ९२.२ प्रतिशत खर्च हुने अनुमान रहेको मन्त्री खतिवडाले बताएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को मध्यावधिसम्म गत वर्षको तुलनामा राजस्व संकलनमा १३.४ प्रतिशतले वृद्धि भई रु. ४ खर्ब ५६ अर्ब १८ करोड भएको छ । जसमध्ये कर राजस्व वृद्धि ९.० प्रतिशत र गैर–कर राजस्व ५० प्रतिशतले वृद्धि भएको मन्त्रीले बताएका हुन् । आन्तरिक राजस्व परिचालन भने २६ प्रतिशतले वृद्धि भएको छ ।

राजस्व संकलनको संशोधित अनुमान सुरु अनुमानको ९५.६ प्रतिशत रहेको र चालु वर्षको अन्त्यसम्म नेपाल सरकरको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट रु. ११ खर्ब ३२ अर्ब ५० करोड, वैदेशिक अनुदान तर्फ रु. ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋणतर्फ रु. २ खर्ब ९ अर्ब ९० करोड ९० लाख परिचालन हुने संशोधित अनुमान रहेको मन्त्री खतिवडाले बताएका छन् ।

यो अवधिमा राष्ट्रिय गौरवका आयोजनामा पनि विनियोजित बजेटको १९ प्रतिशत खर्च भएको छ । जुन रु. १ खर्ब २ अर्ब ८ करोड विनियोजमा २० अर्ब ४१ करोड हो । वैदेशिक सहायतातर्फको शोधभर्ना वाफत ६४ अर्ब ४८ करोड प्राप्त हुनुपर्नेमा रु. ३४ अर्ब २२ करोड मात्र प्राप्त भएको छ । त्यसैगरि विकास आयोजना कार्यान्वयनका लागि रु. ७२ अर्ब ९८ करोड २३ लाख बराबरको वैदेशिक सहायताको प्रतिवद्धता आएको समेत मन्त्री खतिवडाले जनाए ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology