सुरक्षाको माग गर्दै पानीजहाज सेवा बन्द


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

काठमाडौँ – असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतरामा सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिक रुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो ।

सञ्चालकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङलगायतक माग राखेर जहाज सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नु परेको जनाएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नगरिएसम्म सेवा बन्द गर्ने उनीहरुले जानकारी दिएका छन् ।

जेटबोट (पानीजहाज)मा करोडौँको लगानी रहेको, यसले मुलुकको पर्यटन प्रवर्द्धनमा सेवा दिएको र स्थानीयलाई आवागमनमा सहज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सञ्चालक राजेन्द्र कार्कीले सप्तकोशी नदीमा तीन सिटका तीन, आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज सञ्चालन भएको जानकारी दिए । पानीजहाजमा एक यात्रु बराबर पाँच लाख रुपैयाँको दुर्घटना बिमा रहेको छ ।

बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालि गरी सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । जहाजबाट सुनसरीको चतराबाट भोजपुरको सीमाना सिम्मेसम्म सञ्चालन हुँदै आएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology