भ्यालेन्टाइन डे को अवसरमा मेरो उहाँलाई प्रेमपत्र


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

पुजा पराजुली वाग्ले  ।

प्रेमको अस्तित्व र भावना मैले त्यो दिन त्यस क्षणदेखि बोध गर्न थाले, जब मैले हजुरलाई भेटें । अनि हजुर  मेरो जिन्दगीमा आउनु भयो । त्यसैले त थाहा पाए प्रेम नाम होइन बोध वा अनुभूति हो रहेछ । त्यसैले हजुरलाई सम्झन मेरो दिलको ढोकामा कुनै विशेष दिन र अवसर आइराख्नु पर्दैन । हजुर त सास बनेर म मा भरिनु भएको छ ।

खै ! थाहा छैन कहाँबाट सुरु गरूँ । जिन्दगीको कति लामो समय बितिसकेछ प्रिय हजुरसँग साथ छुटेको । सोच्छु, थाहा छैन यो सात वर्ष कसरी बित्यो उही घर, उही कोठा, उही बिस्तारा, सबै खालीखाली लाग्छन् हजुरबिना ।

कल्पना गर्छु, कस्तो हुन्थ्यो होला अहिले हजुर साथमा भइदिएको भए ! अरुको जस्तै मेरो संसार पनि हराभरा हुन्थ्यो होला । मेरो पनि हातमा हात राखेर कदममा कदम मिलाउने, मेरो खुसीमा हाँसीदिने, मेरो दुःखमा रोइदिने, कोही मेरो आफ्नो, मेरो मात्र हुन्थ्यो होला । हिजो जस्तै लाग्छ प्रिय ! जुन बेला हाम्रो भर्खर भर्खर बिहे भएको थियो । ती दिनहरू धेरै सम्झन्छु म ।

हजुरलाई पनि त याद आउँदो हो, बिहेपछि पोखरा, मनकामना घुमेर फर्किदा मैले बाटोमा चटपटे किनेर खाँदै थिएँ । मलाई देखेर हजुर छक्कै पर्नु भएको थियो । बाटोमा खुला ठाउँमा बेच्न राखेको खानु हुँदैन । फोहर हुन्छ, बिरामी भइन्छ । अबदेखि यसरी कहिल्यै नखानु ल भनेर सम्झाएको आजसम्म पनि बिर्सिएको छैन मैले ।

प्रेम कति अद्भूत र अतुलनीय चिज हुँदो रहेछ; भर्खरै थाहा पाउँदै थिए । छोराछोरी जन्मिए । बिस्तारै माया बाँडियो । बाँडिएर जाँदा पनि प्रेमको कमी कहिल्यै महसुस भएन । पर्याप्त थियो हजुरको माया मलाई । संसार हजुरभित्र अडेको थियो मेरो ।

तर नियति कति छिटै निष्ठूर भइदियो । त्यो ठूलो बज्रपात हाम्रो जीवनमा आयो अनि मेरो सबै लिएर गयो । तर अन्तिम अवस्थामा राजीव गान्धी क्यान्सर अस्पतालमा हजुरलाई रुममा रेष्ट गर्न छाेडेर म अस्पतालमा गई बेड बुक गरी किमाेथेरापीकाे सबै औषधी ल्याएर हजुरलाई फोन गरेर बाेलाएकाे एक घण्टा बितिसक्दा पनि हजुर आउनु भएन । डाक्टरले हजुरलाई ‘जल्दी बुलाओ’ भनेर भनिरहेका थिए । मैले तपाईंलाई कति फोन गरें तर उठाउनु भएन । थाहा छ, हजुरलाई म कति आत्तिएकी थिए त्यो बेला । पछि लगभग डेढ घण्टापछि हजुर बल्ल आइपुग्नु भयो । पुरै पसिनाले निथ्रुक्क भिजेर, थकित हुँदै ! हातमा रहेको प्लास्टिकको झोलाभित्र केही थियो । तपाईं बिस्तारै मेरो सामु आउनु भयो । हातमा भएको झोला मेरो हातमा राखिदिँदै मायालु स्वरले भन्दै हुनुहुन्थ्यो– ‘तिमीलाई चट्पटे मनपर्छ नि ! आउँदा हाट बजारमा चट्पटे राखेको देखे तिमीलाई ल्याउन खोज्दा ढिला भयो । ’म हेरिरहे हजुरको मुहार । सम्झे उतिबेला बाटोमा खुल्ला राखेको खानु हुँदैन भनेर मलाई सम्झाएको ।

एक पललाई त यस्तो लाग्यो नियतिलाई नै बदली दिउँ । कति छटपटी भयो कता जाउँ, के गरौँ । हजुरका प्राणको भिख माग्न कता, कोसँग झोली फौलाउँ । कति निरिह थिए म । हजुरको माया पोखिदैँ थियो ।
सोमबारको त्यो दिन अझै याद छ मलाई जुन दिन हजुरकै आयु भगवानसँग माग्न म व्रत बसेकी थिए ।  त्यो बेलामा हजुरले मेरो साथ छोडेर सदा सदाको लागि टाढा जाँदै हुनुहुन्छ भन्ने कुरा लगभग तय नै थियो । तर, यो मन मान्न तयार थिएन । किमोले काम गरिरहेको थिएन । रिपोर्टहरू दिन प्रतिदिन खस्किँदै थियो । म बुझ्छु हजुरले थोरै समयमा मलाई धेरै खुसीहरू दिन चाहनुहुन्थ्यो । हजुरको म प्रतिको माया प्रेम देखेर मलाई धेरै गाह्रो हुन थालेको थियो । वासरुम छिरे, निकै बेर रोए । रोइरहे ।
उफ् ! छोडौँ भो ती दुखद क्षणको सम्झना । सम्झदा पनि गाह्रो हुन्छ मलाई ।

सुन्नुस् न– हजुरलाई थाहा छैन होला, अचेल त भ्यालेन्टाइन हप्ताभरि खुलेरै माया साटासाट गर्ने चलन व्यापक भएको छ नि । पहिला जस्तो कहाँ हो र ! अहिले जताततै भ्यालेन्टाइन डे को मात्र चर्चा चलिरहेको छ । प्रेमिल जोडीहरू खुलेरै आफ्नो मायाप्रेम साटासाट गरिरहेको देख्छु ।

म पनि हजुरको माया, त्याग र समर्पणको सम्झनामा हराइरहेकी छु । कल्पिन्छु, कस्तो रमाइलो हुन्थ्यो होला हजुर सँगै भइदिएको भए । संसार नै रंगीन हुन्थ्यो होला हगि !
तर अहिले त मेरो संसार नै शून्य लाग्छ हजुर बिना । म के गरूँ प्रिय ! कसरी आफ्नो मन बुझाउ ?

सोच्छु अहिलेको यो भ्यालेन्टाइन डे मा हजुर साथमै हुनभएको भए……..।
हजुरको लागि भनेर म सारी लगाएर चिटिक्क परेर बस्थे । कुनै विशेष गिफ्ट किन्थे, सुटुक्क हामी कतै बाहिर जान्थ्यौँ बच्चाहरू लिएर । हजुरको हातमा रातो गुलाफको फूल हुन्थ्यो । जुन मलाई दिँदै फेरि अर्को सरप्राइज गिफ्ट निकाल्दै मेरो अगाडि बढाएर भन्नु हुन्थ्यो होला ‘ह्याप्पी भ्यालेन्टाईन डे !’ म पनि आफूले किनेको सरप्राइज गिफ्ट दिँदै सानो स्वरमा भन्थे ‘आई लव यु’

नानीहरू पनि ताली बजाउँदै खुसी हुन्थे होलान् । ‘ह्याप्पी भ्यालेन्टाईन डे’ भन्दै । आहा ! कस्तो रमाइलो ।

सपनामै सही !
प्लिज आइदिनुस् न प्रिय फेरि मेरो यो जीवनमा,
अरुको जस्तै बनाउन हाम्रो पनि भ्यालेन्टाइन डे ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology