भ्यालेन्टाइन डे : ७ प्रेम कहानी


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

 

फेब्रुअरी महिनालाई प्रेम गर्नेहरूको महिना भनिन्छ । माया गर्ने जोडीको प्रिय महिना ‘फेब्रुअरी’ अन्तर्गत नै भ्यालेन्टाइन डे पर्छ । प्रणय दिवसको रूपमा मनाइने यो महिना प्रेम गर्नेहरुको ‘कुम्भ महिना’ हो । आफूले मन पराएको वा चाहेको मानिसलाई आफ्नो मनका भावना अभिव्यक्त गर्ने दिन हो भ्यालेन्टाइन डे ।

व्यक्ति अभिव्यक्त हुने माध्यममध्येकै एक हो- सिनेमा । सिने जगतले प्रेम अभिव्यक्त गर्न प्रेमिल जोडीलाई साथ् दिएको छ भन्नु कुनै अत्युक्ति हुँदैन । फेरि अर्कोतर्फ निर्देशक/निर्माताहरू पनि आफ्नो प्रेम कथा देखाउन भ्यालेन्टाइन नै कुरेर बस्ने गरेको देखिन्छ । थोरै इलिट/इडियटबीचको प्रेमिल पर्व गुपचुप रूपमै चले पनि घुमघाम र सिनेमा हेर्न/हेराउन जाने प्रेमिल जोडीहरू यस दिन निकै देखिन्छन् ।

सिने जगतमा यस्तो धेरै पटक देखिएको/देखाइएको- प्रेमबिना कथाहरू अधुरो हुने गर्छन् । प्रेमविहीन कथा सिने क्षेत्रमा मात्र होइन साहित्य, संगीत, चित्र र आम भलाकुसारीमा समेत आधा-अधुरो-अपुरो हुने गर्दछ ।

सफल असफल दुवै खाले प्रेमकथाहरू समाजमा भेटिन्छन् । तर पछिल्लो समाजको चित्रण मान्नुपर्छ- सिने जगतमा असफल प्रेम कथाहरू ब्लगबस्टर छन्, सफल कथाहरूको खासै चर्चा सुनिँदैन । तात्पर्य, असफल प्रेम कथा नै  बढी सफल छन् । सोही कुराको चरितार्थ- भ्यालेन्टाइन, रोमियो, मजनु र मदनहरू जताततै भेटिन्छन् ।

यहाँ तिनै भ्यालेन्टाइन, रोमियो, मजनु र मदन लगायतका प्रेमकथाहरू देखाइएको सात फिल्महरूको चर्चा गरिएको छ:-

फिल्म मुगल-ए-आजम

फिल्मले एक राजाको छोरा सलीमको प्रेम कहानीलाई बताउँछ, जो एक नाच्ने केटी(नर्तकी मधुबाला)को प्रेममा पर्न पुग्छ । सलीम आफ्नो प्रेम हासिल गर्नको लागि आफ्नो पितासँग युद्ध समेत लड्छ ।

सन् १९६० मा निर्मित यस फिल्ममा  पृथ्वीराज कपूर, दिलिप कुमार, मधुबाला, दुर्गा खोटे तथा नौसाद लगायत कलाकार मुख्य भूमिकामा छन् । फिल्मको गीत तथा संवाद हिन्दी सिनेमाको इतिहासमा दर्ज छ ।

फिल्म- माह-ए-मीर

फिल्म प्रख्यात कवि मीर तकी मीरको जीवनमा आधारित छ ।

फिल्मको कहानी जमाल (फहद मुस्तफा) नाम गरेको आधुनिक समयका कविको जीवनमा केन्द्रित छ । फिल्मले जमाल र मीर तकी मीरको जीवनबीच समानता देखाउन खोजेको छ । पुराना कविको अस्तित्वलाई वर्तमानमा स्वीकार्न इन्कार गरिरेहको जमाल कसरी आफूलाई मीर सम्झिन पुग्छ-फिल्म यसै प्रस प्रसंगसँगै अघि बढ्दै जाँदा निकै सुन्दर प्रेमकथाले चिमोटी प्लस गुदगुदी लगाइरहेको हुन्छ ।

अन्जुम शाहजादद्वारा निर्देशित यो फिल्म सन् २०१६ मा निर्माण गरिएको हो ।

फिल्म- बर्फी

रणवीर कपुर, इलियाना डीक्रूज र प्रियंका चोपडा अभिनित यस फिल्मको प्रेम कथाले सबैको हृदयलाई छुन्छ ।  फिल्म बर्फीमा पर्फेक्ट लभको खोजीलाई निकै सुन्दरसँग देखाइएको छ । फिल्ममा एक युवती(इलियाना) यस्तो युवक(रणवीर)सँग प्रेम गर्न पुग्छे, जो बोल्न तथा  सुन्न सक्दैन । त्यहीँ अर्कोतर्फ रणवीरको आफैं जस्तो अर्की युवती(प्रियंका)सँग भेट  हुन पुग्छ ।
सन् २०१२ मा निर्मित यस फिल्मको निर्देशन अनुराग बसुले गरेका हुन् ।

फिल्म- तेरे नाम

बलिवुडको दबंग खान अर्थात् सलमान खानले निकै कम फिल्ममा मात्रै आफ्नो रोमान्टिक अन्दाज स्क्रीरिनिङ गरेका छन् । तर ‘तेरे नाम’  फिल्ममा उनले देखाएको रोमान्टिक अन्दाजले निकै प्रेमिकाहरूको प्रस्ताव उनीसमक्ष आएको उनी आफैंले स्वीकारेका छन् ।

सलमान खान र  भूमिका चावला अभिनित यस फिल्म सन् २००३ मा आएको थियो । अधुरो प्रेम कहानी रुचाउनेहरूको लागि शानदार फिल्म हो- ‘तेरे नाम ।’

फिल्म- जब तक है जान

रोमान्टिक अन्दाजका बादशाह मानिने शाहरुख खान, कटरीना कैफ र अनुष्का शर्मा अभिनित यस फिल्मको चर्चा बारबार होइरहने गर्दछ । सन् २०१२ मा निर्मित यस फिल्मको निर्देशन यस चोपडाले गरेका हुन् ।

फिल्म ‘जब तक है जान’ मा दुई जना प्रेम गर्नेहरूको प्रेम यात्रा देखाइएको छ, जहाँ एक-अर्कोको  खुसीको लागि टाढिएका प्रेमिल जोडीहरूलाई समयले फेरि भेटाउछ । फिल्ममा शाहरुख खान र कटरीनाको बीच काफी शानदार लव केमिस्ट्री देखाइएको छ ।

फिल्म- द लंच बक्स

फिल्म ‘द लंच-बॉक्स’ले वयस्क हुनहुन लाग्दा या वैवाहिक जीवनको उत्तरार्धतिर पति/पत्नी बीच हुने प्रेमकथालाई देखाउँछ । सन् २०१३ मा आएको यस फिल्मको कहानी ‘लन्च बक्स’द्वारा शुरु हुन्छ ।  र, फिल्म ‘लन्च बक्स’ वरिपरी रहिरहँदा पनि जिन्दगीका निकै स-साना कुराहरूलाई देखाउँदै सकिन्छ ।

फिल्ममा निम्रत कौर आफ्नो पतिको लागि ‘लन्च’ पठाउँछे, त्यो लन्च भूलवश इरफान खानको टेबुलमा पुग्छ  ।  यहीँबाट उनीहरू बीचको प्रेम कथा सुरु हुन्छ ।

फिल्म- वीर-जारा

प्रेम र युद्धमा कुनै पनि व्यक्ति हद पार गर्न सक्छ भन्ने उक्तिलाई यस फिल्मले सिद्ध गरिदिएको छ ।  यस उक्तिलाई शाहरुख खानले फिल्म वीर-जारा मार्फत कप्तान वीर प्रताप सिंह  बनेर  देखाएका छन् । प्रेम आशक्ति होइन भक्ति हो भन्ने उक्तिलाई प्रिती जिन्टाले आफ्नो अभिनय कुशलताद्वारा प्रमाणित गरिदिएकी  छिन् ।

फिल्मा हिन्दुस्तानको वीर(शाहरुख खान)को पाकिस्तानको (जारा हयात खान)सँग प्रेम हुन् पुग्छ । एक-दोस्रोको पाउनको लागि दुवै प्रेम जोडी आफ्नो जीवनभर संघर्ष गर्छन् । वीरले पाकिस्तानको जेलमा आफ्नो प्रेमकै खातिर २२ वर्ष बिताईदिन्छ ।

सन् २००४ मा निर्मित यस फिल्मलाइ यस चोपडाले निर्देशन गरेका हुन् ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology