प्रेम, जीवन, ऊर्जा र प्रेरणा


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

प्रणय दिवस जुन तरिकाले सुरुवात भएता पनि अहिले प्रेम दिवसको प्रतीकको रूपमा मनाउन थलिएको छ । पछिल्लो समयमा यसको प्रभाव नेपालमा पनि देख्न सकिन्छ । पवित्र प्रेम भौतिक रूपले अन्त्य भएको र यसको उत्सवको रूपमा हामी प्रणय दिवसको नाम दिएर मनाउन थालेका छौँ । यो मेरो बुझाइ हो । शुद्ध मनले भन्दा बजारले भ्यालेन्टाइन डेको महत्वलाई निर्धारण गरेको छ । गुलाफ, गिफ्ट डेटिङ बिनाको भ्यालेन्टाइन डे हुन्छ कि हुदैन ? यी सबै रूपको पक्ष हो तर सारमा यसको मर्म र महत्व ठूलो छ ।

प्रेम, सौन्दर्यलाई कुन रूपले हेरिन्छ; आ–आफ्नो बुझाइ र परिभाषा छन् । प्रणय दिवसलाई प्रतीक बनाएर बजारमा विभिन्न चर्चा परिचर्चा हुने गरेको छ र यसलाई हामीले निर्माण गर्न खोजेको संस्कृति र प्रेमलाई अगाडि लैजाने भन्दा पनि कसरी इन्टरनललाइज गराउन सकिन्छ भन्ने कुरा प्रमुख विषय हो । माक्र्सवादी सौन्दर्यशास्त्र नै प्रेम सौन्दर्यको व्याख्या गर्ने वस्तुनिष्ठ शास्त्र हो । माक्र्सवादी सौन्दर्यशास्त्रको प्रमुख आधार भनेको माक्र्सवाद हो । सौन्दर्य निरपक्ष हुँदैन, वर्गीय हुन्छ । जस्तै कुनै मजदुर गिटी कुटेर परिश्रम गरेको अरु कसैले देख्यो भने एक थरिको मान्छेले त्यसलाई परिश्रमलाई नै सौन्दर्यको रूपमा देख्छन् भने अर्का थरिले उक्त परिश्रमलाई घृणाको दृष्टिले हेर्ने चलन समेत छ । कसैले संसार निर्माण गर्ने कार्य हो भन्दै त्यही परिश्रमलाई प्रेम, माया गर्छ । सम्मान गर्छ ।

त्यसैले सौन्दर्यलाई राजनीति, दर्शन र दार्शनिक पक्षबाट अलग—अलग राखेर हेर्न सकिँदैन । वर्गीय समाज सौन्दर्यले पनि वर्गीय प्रेमलाई आत्मगत र दार्शनिक रूपमा हेर्ने गरेको छ । सौन्दर्य यो हुन सक्दैन । व्यक्तिमा हुने चेतनाले सौन्दर्यलाई निर्धारण गर्दछ । जीवनमा उपयोगी हुने चेतना नै सौन्दर्य हो । सुन्दरतालाई जीवनसँग जोडेर लैजानु पर्छ । त्यसकारण माक्र्सवादी सौन्दर्यशास्त्रको जीवनमा ठूलो महत्व छ । मेरो व्यक्तिगत जीवनको अनुभूतिमा पनि प्रेम एउटा ऊर्जा र प्रेरणा हो । तर आजको समाजले यसलाई उच्छृङ्खल उदासिनताको रूपमा व्याख्या गर्ने गर्छ । ट्र्याजेडी हुँदा उदासिन हुने र अनावश्यक उच्छृङ्खल हुने प्रवृति बढ्दै गएको छ ।

प्रेम र सौन्दर्यलाई हेर्न दृष्टिकोणको समस्याको कारणले कि त अनावश्यक आकर्षण कि त उदासिनताका रूपमा मान्छेले लिइरहेका छन् । प्रेम प्राप्ति हो भन्दा उदासिनता देखाउने र प्राप्ति होइन भन्दा अनावश्यक रूपमा लिनु नै अहिलेको समस्या हो । प्रेम जीवनको ऊर्जा तथा प्रेरणा हो । सौन्दर्यलाई हेर्न आँखाले प्रेमको परिभाषा गर्नु पर्दछ । युवा पुस्ताले प्रेमलाई ऊर्जा र प्रेरणाको रूपमा लिनुपर्दछ । सामान्य पुरुष र महिलाको प्रेमलाई व्याख्या गर्दा यौनिकतालाई केन्द्रमा राखेर यौनको चर्चा गर्दछौँ । महिला प्रेमको लागि कति योग्य छ भन्ने कुरा उसको यौनिकतासँग जोडेर व्याख्या गर्ने गलत संस्कार छ । पुरुषहरूले जतिपटक बिहे गर्दा पनि यौनको रूपमा उर्वर हुने र महिलालाई बहिष्कार गर्ने प्रवृति पनि सौन्दर्यलाई हेर्ने समाजको कुदृष्टि हो । कुनै वस्तुको पनि बाँध्न नसकिने उन्मुक्त चिज हो प्रेम । कुनै पनि वस्तुले प्रेमलाई खुम्चाउँन सक्दैन भन्ने बुझियो भने प्रेम प्राप्ति र उदासी हो भन्ने संकीर्ण सोचाइबाट माथि उठ्न सकिन्छ । जीवन जगत्लाई माया गर्नेहरूले प्रेमको अर्थ बुझ्दछन् । संसारलाई प्रेम गर्दा वास्तविक प्रेम के हो भन्ने बुझ्न सकिन्छ ।

प्रेम छ भने कुनै पनि पर्खालले छेक्न सक्दैन । धनी—गरीब, अग्लो–होचोे कुनै पनि वस्तुले प्रभाव पार्न सक्दैन । व्यक्तिमा भएको चेतनाअनुसार सुन्दरता अर्थिन्छ । हेर्ने दृष्टिकोणमा फरक पर्दछ । प्रेम पवित्र कुरो हो । यसलाई कुनै धर्म, थर, काम, बन्देज तथा संस्कृतिले छेक्दैन भने हामी भन्दछौ तर भ्यालेन्टाइन डेलाई भद्दा हुँदै गएको पनि देख्छु । यो बजारले पारेको प्रभाव हो । प्रेम सम्बन्धको बिचमा पनि बजार पस्यो । यस्तै बजारबाट प्रेम सम्बन्ध र यसको महत्व जोगाउनुपर्छ यो हाम्रो दायित्व हो । हामीले निर्माण गर्न खोजेको संस्कृति भद्दा र उच्छृङ्खल भ्यालेन्टाइन डे होइन । माक्र्सवादी सौन्दर्यशास्त्रलाई अध्ययन गर्दा गुलाफकै फूल चाहिन्छ भनेर खोज्दैन र डेटिङ जानुपर्छ भनेर पनि भन्दैन । यो र ऊ दिन भनेर गिफ्ट आदनप्रदान गर्न जरुरी पनि पर्दैन । प्रेम एक अमूर्त अनुभूति हो । बजारका निश्चित विषेशताहरू हुन्छन् । त्यसले आफ्नो विशेषतालाई समाजमा स्थापित गर्न खोज्छ । यसबाट युवा र समाज जोगिनु पर्छ । भ्यालेन्टाइन डेमा फूल दिनुपर्छ भन्ने मान्यता बजारले निम्ताएको कृत्रिमता हो । पहिले पनि हामी श्रावण महिनामा व्रत बस्ने गर्दथ्यो तर अहिले बजारले मेहन्दी, चुरा, सारी लगायतका वस्तुहरू नलगाए व्रत पूरा हुँदैन भन्ने मानसिकता स्थापित गरेको छ ।

मेहेन्दी र चुरालाई साउन महिनामा सिम्बोलाइज गरेर बजारको क्षेत्रफल ओगटेर ल्याएको विकृति हो । हरियो चुरा र मेहेन्दी नलगाइ पूजा गर्ने हाम्रा महिलाहरू धार्मिक थिएनन् त ? त्यसकारण यी सबै बजारमा विकृति हुन् ।
प्रेमको साइज व्यक्त गर्ने तरिका बजारले निर्धारण गर्ने भनेको पवित्र प्राकृतिक प्रेमप्रतिको प्रहार हो । यस्तो कुरामा युवा पुस्ता बहकिनु हुँदैन र भड्किनु हुँदैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology