एकले अर्कालाई बुझ्नु नै सबैभन्दा सुन्दर उपहार हो


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, फाल्गुन ३, २०७६

 

  • रसिक राज

प्रेमको बारेमा कुरा गर्दा कहिलेकाहीँ एउटा प्रश्न उठ्छ, आखिर हामीले अहिलेसम्म पढेका र हामीलाई सुनाइएका प्रेम कथाले नै गर्छन् त सबै प्रेमको प्रतिनिधित्व ? प्रेमको मूलभूत उद्देश्य केही हुन्छ ? यदि केही हुन्छ भने त्यो के हो ? के उदाहरण बनेका सबै प्रेमका कथाहरु जस्तै प्रेमकथा बनाउन चाहन्छ त एउटा मान्छे ?

यस्ता प्रश्नहरुको जवाफ व्यक्तिपिच्छे फरक आउलान् तर एउटा कुराचाहिँ तय छ हामी सबैलाई प्रेम चाहिन्छ, हुन्छ ।

कुरा मिलेपछि प्रेम हुने हो । एट्याच्मेन्ट नभई प्रेम प्रेम हुँदैन । पृथ्वी श्रेष्ठ आफ्नी जीवन संगिनी सौरगंगा दर्शनधारीलाई हेर्दै भन्छन्, ‘हाम्रो लागि काम नै प्रेम हो । सुरुवाती ताका भेट्दा पनि हामी आफ्नो आफ्नो तरिकाले काम नै गरिरहेका हुन्थ्यौँ । पेन्टिङले गराएको प्रेम अहिलेसम्म पेन्टिङमै निरन्तर छ ।’

‘प्रेम खोजेर नहुने रहेछ, स्वभाविक प्रक्रिया रहेछ । मनले नै चुन्दो रहेछ । पहिले नै हिसाब गरेर यसको बानी यो रहेछ, यसबाट मलाई यो किसिमको फाइदा हुँदैछ भनेर रोज्ने भन्ने हुँदैन । जब संगत हुँदै गयो अनि थाह हुँदै गयो– मलाई लागेको कुरा उसलाई पनि लागिरहेको छ । उसले सोचे जसरी म पनि सोचिरहेछु । अनि एउटा अन्डरस्टान्डिङ क्रिएट हुँदो रहेछ । अनि प्रेम झांगिदै गयो,’ पृथ्वीले सौरतिर हेरेर भनिरहँदा सौर छोरालाई काँखमा राखेर गीत सुनाउँदै छिन् ।

सौर थप्छिन्, ‘म सँग नभएको कुरामा उहाँले थपिदिँदा, वा उहाँको आवश्यकता मैले ऐड्रेस गरिदिँदा अझ सुन्दरता थप्न सकिँदो रहेछ सम्बन्धमा । तर, यो जानीजानी वा गर्छु भनेर भन्दा पनि आफूभित्र स्वभाव बनेको हुनुपर्दो रहेछ ।

मात्र एकमा पनि हामी केही हुन्छौँ । एक एक मिले हामी अर्को केही पनि बन्छौँ । केही नयाँ । प्रेमको सुन्दरता नै यही नवीनता हो । हामी दुई हुन कतै न कतै तय थियो । मबाट हामी हुन । जस्तो कि सौर फाइन आर्ट चाहिँ म पढ्छु नै भनेर लागेकी थिइनन्, उनको ‘हवि’ मात्र थियो ।

‘कमर्स पढेको मान्छे कता–कताबाट यता आएँ,’ सौरले बीचमै मुस्कुराउँदै भनिन्, ‘हामीलाई एक ठाँउमा जोड्ने काम फाइन आर्टले गर्यो । अनि वातावरण अनुकुल हुँदै गयो । हाम्रो प्रेम हुनु हामी एक हुनुमा कुनै न कुनै किसिमको इनर्जीले भुमिका खेलेको पक्कै छ । यस अर्थमा प्रेम हाम्रो निजी चाहना मात्र त होइन रहेछ ।’

‘उसले मेरो सहजता सोच्नु मैले उसलाई कसरी कम्फोटेबल सोच्नुले हामीलाई प्रेमको व्यवहारिक पक्षसँग सहजरुपले जोडिन मद्दत गरिरहँदो रहेछ,’ पृथ्वी भन्छन्, ‘सम्बन्धमा सहजता नभए सम्बन्ध बोझिलो हुन्छ । र ‘एक्स्ट्रा’ भारी बोकेर जिन्दगीको उकालो चढ्न अवस्य प्रेमलाई पनि कठिन नै हुन्छ ।

उनिहरुको बुझाइमा एउटै फिल्डमा हनुको फाइदा पनि रहेछ । उस्तै किसिमको भोगाइ संघर्ष देखिँदो रहेछ । र एक अर्कोलाई के अफ्टेरो पर्यो, के आवश्यकता पर्यो भन्नै नपर्नेरहेछ । आफूलाई बुझे मात्र पनि आफ्नो साथीलाई बुझ्न सकिने रहेछ ।

‘मलाई अफ्ठ्यारो पर्दा उसले र मैले उसलाई बुझिरहेका छौँ । सम्बन्धमा हामीले आफ्ना रहर मात्र ठूलो भनेको भए मैले ‘फ्रिली’ आर्ट गर्न सक्ने थिइनँ, न उनले,’ पृथ्वीले थपे, ‘र सायद हामी १० टु ५ जबमा लेखेटिनु पथ्र्यो होला ।’

एउटै लयमा खोला बग्दैन । वर्षा हुँदैन । हाँस्न सकिँदैन । सम्बन्ध पनि त्यस्तै हो । सम्बन्धमा सहजतासँग समस्या पनि हुन्छन् । आर्ट भन्दै गर्दा कैयौँपटक रित्तो खल्तीमा हिँड्नु परेको छ । दुवै जनासँग पैसा नहुँदा पनि आर्टको कार्यक्रम आयोजना गर्न चाहिँ कहिले पछाडि हटेका छैनन् उनीहरू ।

सौरले विगत सम्झिँदै भनिन्, ‘कर्ममा निरन्तरता चाहिन्छ । हामी दुवैको एउटै सोच छ । हामी सदा सानै भए पनि नेपाली कलाको विकास र परिवर्तनका निम्ति योगदान दिन पर्छ । नत्र त यो हामी लागेको बाटो जाने बाटो मात्र हो । खल्तीमा ५/१० मात्र रुपैयाँ हुँदा पनि आर्ट फिल्ड नै छाडौँ भन्ने सोच चाहिँ कहिल्यै आएन । भनौँ आउन दिएनौँ । हामी दुबै जना एक अर्कोको हिम्मत हौँ । सायद एक जना मात्र कलाकार भएको भए अवस्था फरक हुन सक्थ्यो । हामीले पछिल्लोपटक आयोजना गरेको काठमाडौँ अन्तर्राष्ट्रिय पर्फमेन्स फेस्टिबल पनि निकै चुनौतीका बाबजुद गरेका थियौँ ।’

जोडीको भ्यालु

अहिले चाहिँ एउटा महत्वपूर्ण भुमिका छ उनीहरूको । दुई जनालाई हटाएर सोच्ने हो भने धेरै युवा कलाकारहरुले मौका गुमाउँछन् । उनीहरूले अहिले प्रतिभा र आयोजकलाई जोड्ने पुलको काम गर्ने ग्ेकाखछन् । धेरै युवा कलाकारहरुमा काम गरेका छन् । अर्थात् उनीहरूले थकान महसुस गर्दा धेरै नवकलाकारको प्रतिभाको मुहान बन्द हुन्छ ।

‘हुन त अरु पनि छन्, हामीलाई हटाए एउटा खालीपन चाहिँ क्रेट हुन्छ झैँ लाग्छ । र अवसर कुरिरहेको कलाकारको लाइन भाँचिन्छ । यही सोचेर हामी वर्षौदेखि निरन्तर खटिरहेका छौँ,’ पृथ्वी गम्भीर मुद्रामा देखिए ।

‘हाम्रो घरको ढोका हरेक कलाकारको लागि खुल्ला रहन्छ । सधैँ रहने छ,’ सौरले थपिन्, ‘हाम्रो दैनिक जीवन नै हुँदैन । कतिले सोध्छन् तिमीहरुको पर्सनल लाइफ खै त ? हाम्रो पर्सनल लाइफ नै यही हो, हरेक कलाकार हाम्रो परिवारका सदस्य हुन् ।’

मेमोरेबल गिफ्ट

‘मैले चाहिँ दिएको छु, उहाँ चाहिँ खासै थाहा पाउनु हुन्न । म आफ्नो आर्ट पिस कहिलेकाहीँ तपाईंलाई भनेर दिने गर्छु । उहाँको नाममा बनाउँछु । हाम्रो काम नै आर्ट र आर्ट नै प्रेम,’ पृथ्वी छेउमा बसेर हाँसिरहे ।

‘हामीमा अरुको जस्तो घुम्न जाने, सिनेमा जाने, एक अर्कोलाई इम्फ्रेस पार्ने त्यस्तो केही भएन । काम काममै भेट भयो । अनि कामबाटै एक अर्कोलाई चिन्न सिक्यौँ,’ पृथ्वीले थपे ।

आर्टकै कारण जापान बंगलादेश र भारत लगायत धेरै ठाँउमा सँगै गएका छन् । आर्टले उनीहरूलाई साथी हुँदै जीवनसाथी बनायो । आर्टले नैसँगसँग हरेक ठाँउमा पुर्याइरहेको । ‘आर्ट नभएको भए हामी कहिल्यै त्यहाँ पुग्दैनथ्यौँ,’ सौरले पृथ्वीलाई नियाल्दै भनिन् ।

‘सौर बंगलादेश हुँदा उनको अनुपस्थितिलाई डायरीभरि स्केचको माध्यमबाट कोरेको थिएँ । र त्यही नै उपहार दिएको थिएँ,’ पृथ्वीले सौरतिर हेरेर भने ।

प्रेममा अरूले प्रेम पत्र दिन्छन्, उनीहरूको चाहिँ स्केच हुन्छ ।

‘उनलाई सुन, गरगहना लाउन मन पर्दैन, स्टोनका लकेट लगाउँछिन् । अनि उनको मम्मी कहिलेकाहीँ भन्नुहुन्छ– मेरो छोरीलाई त केही चाहिँदैन ढुंगामै खुसी हुन्छ ।’

उनीहरूको बुझाइमा जब दुई जना आफूसँग जे छ त्यसमा खुसी हुँदैनन् त्यहीँनेर सम्बन्धमा समस्या देखिन थाल्छ ।

सौर आफ्नो सात महिने सानो छोरोलाई अंगालोमा बेर्दै कुरोको बिट मार्छिन, ‘उसो हामी दुवैलाई गिफ्ट दिनुपर्छ जस्तो लाग्दैन । वास्तवमा एकले अर्कालाई बुझ्नु नै प्रेमको सबैभन्दा सुन्दर गिफ्ट हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology