पहिलोचोटि !


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, फाल्गुन ३, २०७६

चौध वर्षको उमेरमा
मैले पहिलोचोटि थाहा पाएँ
बन्दुकको सौन्दर्य !
र गाउँको गरिब स्कुलबाट
पहिलोचोटि
सपना खोज्दै भागेँ म
एउटा उन्मुक्त जंगलतिर !

बोक्सीकाँडाको कुरूप झाङभित्र
पहिलोचोटि
फ्याँकिदिएँ किताबको झोला !
र हातको निरीह कलम भाँचेर
पहिलोचोटि
समातेँ बन्दुक !

पहिलोचोटि
मेरै उमेरकी युवती कमरेडको
हातमा हात ठोकिँदा
महसुस गरेँ–
करेन्टको तीव्र झट्का !
र पहिलोचोटि
मैले देखेँ–
उसको छातीमा चलमलाइरहेको
सेतो सर्प !

पहिलोचोटि
मेरो हातमा मुस्कुरायो बन्दुक
र दबाएँ जीवनको ट्रिगर !
पहिलोचोटि
मेरो हातबाट छुट्यो गोली
र सुनेँ एउटा सुमधुर संगीत !

पहिलोचोटि
शिरमा गोली लाग्दा
घाँसको भारी बोकेर
उकालो चढिरहेको
मेरै उमेरको दुश्मन
एउटा निरीह चरोजस्तै
गीत गाउँँदै जमिनमा ढल्यो !
र पहिलोचोटि भिजेँ म
रगतको संगीतमा !

पहिलोचोटि
जंगली फूलहरूमा
चम्किरहेको देखेँ–
मान्छेको रगत !
र मैले पहिलोचोटि
त्यही रगतले पखालेँ
हातका औँलामा लागेका
मसीका नीला दागहरू !

मेरा पुराना दुश्मनहरू
पहिलोचोटि डराए मसँग !
मलाई बारम्बार प्रश्न सोधेर
सताइरहने
स्कुलका मास्टरहरू पनि
पहिलोचोटि
हात जोडेर रोए मसँग !

पहिलोचोटि
दुश्मनको गोली लागेर
आफ्नै अगाडि ढले
असंख्य सहयोद्धा कमरेडहरू !
पहिलोचोटि
दुश्मनको घेरामा परेर
छटपटाइरहेका
घाइते छापामार साथीहरूलाई
डोकामा बोकेर भगाउन नसक्दा
उनीहरूको शिर काटेर
रुँदै भागेँ म !

बाह्र वर्षसम्म
रगतको नदीमा
निरन्तर बगिरह्यो समय !
बाह्र वर्षसम्म
लासको टाकुरामा
निरन्तर अस्ताइरह्यो सूर्य !
र पहिलोचोटि समाप्त भयो
एउटा कुरूप
र निरंकुश अन्धकार !

बाह्र वर्षपछि
आज म
छब्बीस वर्षको भएको छु !

यतिखेर सम्झिरहेको छु–
रुखको उदास छहारीमुनि
बन्दुकको सिरानी हालेर सुतेका
जीवनका अँध्यारा रातहरू !

म सम्झिरहेको छु–
निस्पट्ट अँध्यारो रातमा जन्मिएका
असंख्य रक्तिम सपनाहरू !

र मलाई आज
पहिलोचोटि
डर लागिरहेको छ–
मेरो जीवनका बाँकी वर्षहरूमा
अब के के हुने हो
पहिलोचोटि ?


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology