अगरबत्ती, आगो र स्याउ


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, फाल्गुन ३, २०७६

मानौँ, एउटा पृथ्वी हो स्याउ
त्यही स्याउको दानामाथि
आगोका झिल्का बोकेर उभिरहेछन्
केही अगरबत्तीहरू
हामी त्यही अगरबत्ती हौँ ।

मन्दिरमा उभिएर चुपचाप अगरबत्तीले
देशको विकास र शान्तिका लागि
आराधना गरिरहेछ
त्यही अगरबत्तीमा
बिस्तारै सल्किरहेको आगो
जलेर फुत्रुक फुत्रुक खसिरहेको खरानी
जसलाई देखेर यस्तो लाग्छ–
आगो जो उसको आयु हो,
जो जल्न बाँकी रहुञ्जेल जल्छ र निभ्छ ।

खरानी जो उसको शरीर हो
जो स्याउको पृथ्वीमा खस्छ र स्याउमै विलिन हुन्छ
धुवाँ जो उसको चेतना हो, विचार हो
जसले वासना छर्दै माथि माथि जान्छ, फैलिन्छ ।
लाग्छ, कुनै अर्को ब्रम्हाण्डको खोजीमा जाँदै छ ऊ

अगरबत्तीको त्यो सानो झिल्कालाई
तपाईं दियो मान्नुस् या आगो सम्झनुस्
या कसैलाई मसाल बोकेर उभिएको ठान्नुस्
जलेर एकदिन सिद्धिन्छ अगरबत्ती
निभ्छ आयु र सकिन्छ आगो
काटिन्छ अन्त्यमा स्याउको पृथ्वी
र बाँडिन्छ प्रसाद ।

यो देश
त्यही एक टुक्रा प्रसाद हो
अब, मात्र बाँकी छ प्रसाद ग्रहण गर्न ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology