पहाडको कथा


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, फाल्गुन ३, २०७६

आवारा बतासलाई प्रेम गर्नु
बतासले नै चुट्दाचुट्दै
ढुंगा बनाइदिनु हृदय,

आफ्नो मुस्कान सुम्पिदिनु फूललाई,
चरालाई दिइदिनु, आफ्नै छातीको गुँड
र पनि
ऋतु बदलिएसँगै बदलिदिनु फूलको रङ,
ऋतु बदलिएसँगै छाडी उड्नु चराले गुँड
र हृदय फेरि बनिदिनु ढुंगा ।

आदतवश
पुनः उमार्नु
वर्षौ वर्ष लगाएर विश्वास,
विश्वासकै छहारीमा पल्टिनु र निदाउनु एक पल
निदाउँदा निदाउँदै उक्लिसक्नु विश्वासको रूख
र खाल्टो पर्नु हृदयमा
हृदयको त्यो खाल्टोमा
फेरि उम्रिदिनु ढुंगा ।
यसरी नचाहेरै
ढुंगैढुंगा थुप्रियो हृदयमा
र ऊ पहाड बन्यो ।

उसले झेल्नु झेल्यो
बतासको निष्ठुरीपन
उडिजाने चराको मन
बदलिइजाने फूलको रङ
र पनि मुस्कुराएरै उभिइदियो
एक जन्मभरि…

मुस्कुराएरै
सम्हालेर राख्न चाह्यो
शुभकामना दिदै हिड्ने बाटो ।

सम्हालेरै राख्न चाह्यो
छातीको कापबाट चुहिने
प्रेमको मुहान ।

तब सम्म सम्हालिरह्यो
जबसम्म
प्रेमको गीत गाउँदै
बग्दै थियो नदी
नदी
नुहाउँदै थियो
पश्चिम क्षितिजको सूर्यभित्र !


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology