शिवरात्रि पर्व हरेक वर्ष फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइन्छ । मानिन्छ, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान् शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् ।
यसै कारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धागिंनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन् । उनको रूप बडो विचित्रको छ । शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्– तारिणी पावन गंगा तथा मस्तकमा प्रलयंकर ज्वाला छ । साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमंगल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन् र श्रीसम्पत्तिका दाता मानिन्छन् ।
शिवभक्तहरू शिव मन्दिरमा गएर शिवलिंगमा बेलपत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राति जाग्रम बस्ने गर्दछन् । शिवलिंगमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ । यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ ।
महाशिवरात्रिका दिन निम्न विधिमा पूजा गर्ने गरिन्छ :
माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र आँक, धतुरोको फूल, चामल आदि हालेर ‘शिवलिंग’मा अर्पण गरिन्छ । यदि नजिकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ ।
राति जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ । व्रतको भोलिपल्ट बिहान सबेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ ।
शिकारीको कथाः
एउटा गाउँमा एक शिकारी बस्थ्यो । पशुहरूको हत्या गरेर ऊ आफ्ना कुटुम्बको पालनपोषण गथ्र्यो । ऊ एउटा साहुको ऋणी थियो । ऋण चुक्ता गर्ने प्रयास गर्दा पनि उसले त्यो ऋण चुकाउन सकेको थिएन । भाका नाघेपछि एक दिन क्रोधित साहुले शिकारीलाई शिवमठमा बन्दी बनायो । संयोगले त्यो दिन शिवरात्रि थियो ।
शिकारीले ध्यानमग्न भएर शिवसम्बन्धी धार्मिक कुरा सुनिरह्यो । चतुर्दशीमा उसले शिवरात्रि व्रतको कथा पनि सुन्यो । कथा श्रवणको प्रभावले साँझपख साहुमा दयाभाव उत्पन्न भयो र उसले शिकारीलाई आफू नजिकै बोलाएर ऋण चुकाउने विषयमा कुरा गर्यो । शिकारीले भोलिपल्ट सारा ऋण चुक्ता गर्ने वचन दिएर बन्धनबाट छुट्यो । आफ्नो सधैँको दिनचर्या सरह ऊ शिकारका लागि जंगलतर्फ गयो । त्यस दिनभर बन्दी गृहमा रहेका कारण भोक प्यासबाट व्याकुल थियो । एउटा तलाउको किनारमा बेलको रूख थियो, शिकारी शिकार गर्ने सिलसिलामा त्यसै रूखमाथि चढ्यो । बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, विल्वपत्रहरूबाट ढाकिएको हुनाले शिकारीले त्यस कुराको पत्तो पाएन ।
रूखमा चढ्ने क्रममा उसका खुट्टाले जुनजुन हाँगामा टेकियो, ती हाँगा भाँचिदै गए । संयोगले ती हाँगा रुखमुनि स्थापित शिवलिंगमा झरे । यसरी दिनभरि भोकै–प्यासै बस्नाले शिकारीको व्रत पनि पूर्ण भयो । एक पहर रात बितेपछि एउटी गर्भिणी मृग पोखरीमा पानी खान आइपुगी । शिकारीले धनुषमा बाण चढाएर प्रत्यञ्चा तान्नासाथ मृगीणीले भनी, ‘म गर्भिणी छु । छिट्टै नै सुत्केरी हुनेछु । यतिबेला मेरो बध गर्दा तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन । म बच्चा जन्मिउञ्जेल जीवनदानको याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमी समक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो बध गर्नु ।’ शिकारीले प्रत्यञ्चा खुकुलो बनायो र त्यस मृगिणीलाई मुक्त बनायो ।
केही बेरपछि एउटा अर्को पोथी मृग पुनः तालाउमा देखा पर्यो । शिकारीको प्रसन्नताको ठेगान भएन । नजिकै आएपछि उसले धनुषमा बाण चढायो । तब उसलाई बाण हान्न ठिक्क परेको देखेर मृगिणीले विनम्रतापूर्वक निवेदन गरी, ‘हे शिकारी ! म केही समय पहिले ऋतुबाट निवृत्त भएकी छु । यत्तिबेला कामातुर र विरहिणी हुँदै आफ्नो प्रियको खोजीमा भौँतारिँदै छु । म आफ्नो पतिसँग भेट गरी समागम गरी कामनिवृत्त भएर चाँडै तिम्रा नजिक आउने छु ।’ शिकारीले उसलाई पनि छाड्यो ।
शिकारको अभावमा बेल वृक्षमा बसेको शिकारी दिक्क मान्दै बेलपत्र चुँड्दै फ्याल्दै गर्न थाल्यो । अब उज्यालोका किरण पूर्वीय क्षितिजमा देखिन थाले । त्यति बेला एउटा हृष्टपुष्ट मृग त्यसै पोखरीको किनारमा आइपुग्यो । शिकारीले यसको शिकार चाहिँ अवश्य गर्नुपर्ने विचार गर्यो ।
शिकारीले हान्न ठिक बनाएको प्रत्यञ्चा देखेर मृगले विनीत स्वरमा अनुरोध गर्यो, ‘हे शिकारी भाइ ! यदि तिमीले मभन्दा पूर्व आएका दुईवटा पोथीमृग र ससाना बच्चालाई मारेका छौ भने मलाई पनि मार, यस पुनित कार्यमा विलम्ब नगर, किनकि मलाई तिनीहरूको वियोगमा एक क्षण पनि बाँच्न रहर छैन । म ती मृगिणीहरूको पति हुँ । यदि तिमीले तिनलाई जीवनदान दिएका छौ भने मलाई पनि केही क्षणका निमित्त जीवन दिने कृपा गर । म तिनीहरूसँग भेट गरी तिम्रा सामु उपस्थित हुनेछु ।’
मृगका कुरा सुनेपछि शिकारी सम्मुख पूरा रातको घटनाचक्र घुम्यो । उसले सारा कथा मृगलाई सुनायो । तब मृगले भन्यो, ‘मेरी तीनवटै पत्नी जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युले तिनीहरूले आफ्नो वचनको पालना गर्न पाउने छैनन्, किनकि मेरो अनुपस्थितिमा तिनीहरूको कार्य सम्पन्न हुनेछैन । अतः जसरी तिमीले उनलाई विश्वास पात्र मानेर छाडेका छौ, त्यसैगरी मलाई पनि जान देऊ । म उनीहरू सबैलाई साथमा लिएर तिम्रा अगाडि शीघ्र नै उपस्थित हुन्छु ।’
जानीनजानी उपवास, रात्रि–जागरण तथा शिवलिंगमा बेलपत्र चढाएका कारण शिकारीको हिंसक हृदय निर्मल भएको थियो । उसमा भगवद्शक्तिले निवास गरेको थियो । धनुष तथा बाण उसको हातबाट सहजै छुट्न पुग्यो । भगवान् शिवको अनुकम्पाले उसको हिंस्रक हृदय कारुणिक र भावविभोर भयो । त्यसले आफ्ना अतीतका कर्मलाई सम्झना गरी आफू पश्चातापको ज्वालामा बल्न लाग्यो । केही बेरपछि त्यो मृग सपरिवार शिकारी समक्ष उपस्थित भयो ।
जंगली पशुहरूको यस्तो सत्यता, सात्विकता एवं सामूहिक प्रेमभावना देखेर शिकारीलाई ठूलो ग्लानी भयो । उसका आँखाबाट आँसुको वर्षा हुन थाल्यो । उसले मृग परिवारलाई नमारेर आफ्नो कठोर हृदयलाई जीव हिंसाबाट हटाई सदाका लागि कोमल एवं दयालु बन्यो । देवलोकबाट समस्त देव समाज पनि यस घटनालाई नियाल्दै थिए । घटना परिणतिमा पुग्नासाथ देवीदेवताले पुष्पवर्षा गरे । शिकारी तथा मृगपरिवारलाई मोक्ष प्राप्ति भयो ।
रुद्राक्ष
रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुवैलाई नेपाली, संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । संस्कृतको रुद्र र अक्षबाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान् शिवको अश्रु जलविन्दु मानिन्छ ।
रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दाना फल्छन् । यसको दानामा भर्टिकल रेखा हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । रुद्राक्ष एक मुखेदेखि २७ मुखेसम्म हुने विस्वास गरिए पनि समान्यतः १ देखि १४ मुखेसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखे र नौ मुखेदेखि १४ मुखेसम्मको रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।
रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथाअनुसार भगवान् शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्ष भनेर नामाकरण गरियो ।
धार्मिक विश्वास अनुसार एकमुखी रुद्राक्ष भगवान् शिव, द्विमुखी श्री गौरी शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पञ्चदेव, षष्ठमुखी भगवान् कार्तिकेय, सप्तमुखी प्रभु अनन्त, अष्टमुखी भगवान् श्री गणेश नवममुखी भगवती देवी दुर्गा दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इन्द्र तथा चौदहमुखी स्वयं हनुमानको रूप मानिन्छ ।
रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ, त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।
बेलपत्र
धार्मिक विश्वासअनुसार यो महादेवको प्रिय वनस्पति हो । शिवको पूजा गर्दा बेलपत्र अनिवार्य चाहिने गर्छ । बेललाई संस्कृतमा श्री फल भनिन्छ । यो ६-१० मिटरसम्म अग्लो हुने अर्ध– पतझर रूख हो । यसका पातमा एउटै पत्र डाँठमा तीनवटा पात छुट्टिएका हुन्छन् र यसलाई बेलपत्र भनिन्छ ।
तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ । पात अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ । यसका आँख्ला नजिकै सोझा काँडा हुन्छन् । फूलहरू हरिया–सेता रंगका र बास्नादार हुन्छन् । यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन् । यो विरुवा भारतको मौलिक बिरुवा मानिन्छ । ता पनि नेपाल, म्यानमार, इन्डोचीन, मलेसियामा पाइन्छ । नेपालमा यो पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइ भएका ठाउँहरूमा पाइन्छ ।
हाल यसको उन्नत जातको बिरुवाहरूको खेती गर्ने प्रचलन पनि छ । यसको फलको माग प्रशस्त भएको कारणले हाल यसको खेतीप्रति रुचि बढेको छ । यसको जरा आयुर्वेदिक औषधीय पद्धतिमा तयार गरिने ‘दशमूल’मा प्रयोग गरिन्छ । नपाकेको फल झाडा पखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ । यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन् । यसको पाकेका फलको गुदीबाट सर्बत बनाउने पनि गरिन्छ ।
बेलको महत्व हिन्दू धर्म अन्तर्गत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको छ । शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ । शिवरात्रिको अवसरमा प्रत्यक शिवालयमा प्रसस्त बेलपत्र चढाइन्छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ