शिवरात्रिमा राम्रो कमाइ भए नयाँ लुगा किनिदिन्छु भनेकी छिन् आमाले

शिवरात्रिमा राम्रो कमाइ भए नयाँ लुगा किनिदिन्छु भनेकी छिन् आमाले

  • 2.5K
    SHARES

  • ‘दाइ ५ रुपैयाँ दिनोस् न...।’ बसबाट ओर्लिने बित्तिकै ६ वर्ष जतिको एउटा सानो केटा पाइन्ट समाउन आइपुग्यो । ‘पैसा त छैन बाबु, क्यामेरा छ, एउटा फोटो खिच्दिन्छु है... हुन्छ ?’ ऊ बीच सडकमा उभिएर फोटोका लागि मुस्कुरायो । लगत्तै फोटो नहेरिकनै अर्को व्यक्तिको खुट्टा समाउन पुग्यो । गौशाला और्लने बित्तिकै यसरी भिख माग्ने कैयौँ बालबालिका तथा बेसहाराहरू कसै न कसैको खुट्टा समाएको देखिनु नौलो होइन । वि.सं. २०७४ चैत २० गते पशुपति क्षेत्रलाई मानव सेवा आश्रमको पहलमा मगन्तेरहित क्षेत्र घोषणा गरिएको कुरा एकादेशको कथा जस्तै भइसकेको थियो । शिवरात्रिको उत्साहजनक माहोल छ, पशुपतिनाथको आसपासमा । मुख्य बाटोबाट अगाडि बढ्ने क्रममा बाटोभरि बोरामा आफ्नो कमजोरी ओछ्याएर भिख मागिरहेका माग्नेहरू छन् । उनीहरूको बीचबीचमा बस्न आइपुगेका लामो दाह्री र गेरु वस्त्रधारी जोगीहरूको संख्या रफ्तारमा बढिरहेको छ । भस्मेश्वर घाटको पारिपट्टि चन्द्रशिवालय क्षेत्रमा काठमाडौँ बाहिरबाट आएका झण्डै ३ दर्जनजति साधुहरू सुतिरहेका छन् । टाढाबाट हेर्दा उक्त क्षेत्र गेरुवा रङ रंगिएको अमूर्त चित्र जस्तो देखिन्छ । चारैतिर रमितेहरूको भीड छ । केही साधुहरू आफ्नोअगाडि भिक्षा दानी राखेर मस्त निदाएका छन् । केही साधु पलेँटी कसेर शिव नाम उच्चारण गरिरहेका छन् । केही आउने जानेहरू चामल र पैसा भिक्षादान गरिरहेका छन् । त्यही भिडको बीचमा छिन् ७-८ वर्षकी एउटी सानी नानी । कल्साउँदो छ उनको रङ । कपाल धेरै दिनदेखि नकोरेकाले होला लगभग साधुहरूको जस्तै भइसकेको छ । मौसम उति सारो उज्यालो छैन । हावाको झोँक्का चिसोपन बोकेर वाग्मती किनारै किनार बहिरहेको छ । केटीको शरीरमा पातलो बैजनी कुर्ता मात्र छ । माथि आकाशमा बादलहरू घामको वरिपरि फन्को लाइरहेका छन् । सीता (नाम परिवर्तन) को घर बिहारको औरंगाबाद जिल्ला शिवगंजमा हो । त्यहाँ उनको एक तले घर छ । उनी हालै मात्र आफ्नो परिवारसँगै काठमाडौँ आइपुगेकी हुन् । उनको परिवारमा उनीलगायत उनका आमा बुवा र दुई जना भाइ छन् । बुवा बिहारमै सामान्य मजदुरी गर्छन् । परिवारका बाँकी सदस्य दिनभर माग्ने काम गर्छन् । उनीहरू यस भन्दाअघि यति टाढा आएका थिएनन् । औरंगाबाद आसपासका बस स्ट्याण्ड, अस्पताल, बाटो र बजारतिर माग्ने गर्दथे । शिवरात्रिको बेला राम्रो कमाइ हुने भनेर केही चिनजानका माग्नेहरूले बताएपछि उनीहरू काठमाडौँ आइपुगेका हुन् । शिवरात्रिपूर्व काठमाडौँ आइपुगेका उनीहरू अहिले पशुपति आसपास नै बसिरहेका छन् । अहिले पनि उनकी आमा पशुपतिको गेट आसपास आफ्ना भाइहरूसँग मागिरहेकी छिन् । साँझ उनीहरू सल्लाह अनुरूप तोकिएको ठाउँमा भेट्छन् र खाना बनाएर खान्छन् । सीतालाई पढ्ने रहर छैन । बरु उनलाई नाच्न मनपर्छ । कहिलेकाहीँ बजारका पसलहरूमा उनले रंगीचंगी कपडा लगाउने हिरोइनका नाच पनि हेरेकी छिन् । उनलाई उसैगरी सुन्दर कपडा लगाउन मन छ । ‘यो शिवरात्रिमा कमाइ राम्रो भयो भने एक जोर नयाँ लुगा किनिदिन्छु भनेकी छिन् आमाले,’ सिताले भिक्षामा पाएको चामल बुकाउँदै भनिन् । राजधानी काठमाडौँलगायत देशका मुख्य शहरमा माग्न बस्नेहरूको लर्को लाग्ने गरेको छ । मुख्यतयाः राजधानीका प्रसिद्ध धार्मिकस्थल, रत्नपार्क, ठमेल, नयाँ बसपार्क, लगायतका क्षेत्रमा माग्न बस्ने धेरै छन् । अझ शिवरात्रिको बेला त झन मन्दिर आसपास माग्न आउनेहरूको लाइन नै लाग्ने गरेको छ । सरकारले केही समयअघि प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिर आसपासमा भिख माग्न नपाइने नियम लागू गरेको भए तापनि शिवरात्रिलाई मेसो पारेर सयौँ मगन्ते पशुपतिनाथ क्षेत्र परिसरमा भेटिन थालेका छन् । अरु बेला वनस्थली आसपास माग्ने गर्दथे । एक जना मगन्ते महिला हातमा १ वर्ष जतिको बच्चा बोकेर मागिरहेकी छन् । ‘शिवरात्रिको बेला पशुपतिमा राम्रो कमाइ हुने भएकाले यता आएका हौँ । अनि यता साँझको आरती हेर्न आउनेहरूले पनि दोचार रुपैयाँ दिएर जान्छन्,’ आफ्नो काँखमा भएको सानो बच्चालाई भुइँमा सुताएर उनले भनिन्, ‘यसअघि एक महिना जति सालिनदीमा पनि माग्न बसेका थियौँ । तर, अचेल काठमाडौँमा माग्न सजिलो छैन पहिला जस्तो । बारबार समाउँछ,’ उनले मुख बिगारिन् । पछिल्लो समय बालबालिका लिएर माग्न बस्यो भने बालबालिका खोज तलास तथा समन्वय केन्द्रले पनि समाउँछ । १०४ डाइल गरेर जो कोहीले यस्ता मगन्तेको खबर दिन सकिन्छ । विसं. २०७५ भदौ १ गतेदेखि सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाउने नियम बनाइएको थियो । मुलुकी अपराध संहितामा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ । ऐनको दफा १२६ मा भनिएको छ, ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन गर्नुहुँदैन ।’ सार्वजनिक स्थल भनेर सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन किटान गरिएको छ । यी स्थानहरूमा भिक्षा मागेमा पटकपिच्छे थप सजाय र मागेको रकम पनि जफत गर्ने कानुनी व्यवस्था छ । पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ । भिक्षा माग्नेलाई भन्दा माग्न लगाउनेलाई बढी सजायको व्यवस्था छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ । तर, साधु सन्तलाई भने भिक्षा माग्न छुट दिइएको छ । ऐनको दफा १२६ को स्पष्टीकरणमा लेखिएको छ, ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यस दफा अन्तर्गतको कसुर मानिने छैन । यही छुटलाई अवसर मानेर शिवरात्रिको अवसरमा धेरै माग्नेहरू पहेँलो वस्त्र लाएर पशुपति आसपास मागिरहेका छन् । ‘हम (साधु)से ज्यादा तो भिखारी लोग हे पशुपति में,’ एक साधुले मागिरहेका केटाकेटीतिर औँला सोझ्याउँदै भने । धर्म जुनसुकै होस्, सबैमा दानलाई सबैभन्दा ठूलो पुण्य मानिन्छ । दीनहीन र अशक्तहरूलाई मद्दत र सहयोग गर्न लगभग सबै तयार हुन्छन् । तर, अफसोस ! माग्नेहरूमा गरीब र दीनदुखी कम पेशागत मगन्ते धेरै हुन थालेका छन् । उनीहरू आफ्नो कथित कमजोरी र समस्याको नाममा मान्छेको भावनामाथि खेल्छन् । यसरी माग्ने पेशा गर्नेहरूलाई ‘शिवरात्रि पशुपतिको जात्रा सिद्राको व्यापार भएको छ’ ।

    • बिहिवार, फाल्गुन ८ २०७६११:२६:४९
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ