‘ठमेल बजारका लास्ट बेन्चर जिल्ला टपर’

‘ठमेल बजारका लास्ट बेन्चर जिल्ला टपर’

  • 3.5K
    SHARES

  • बचपन कि यादेँ जन्मः प्रसुती गृह, कोठा नम्बर ११० । बचपन काठमाडौँमै बित्यो । अलिकति स्कुले शिक्षा अमर आदर्श मावि पुरानो वानेश्वर मार्फत । र १०/११ वर्षको उमेरपछि कपिलवस्तु । बाँकी स्कुले शिक्षा उतैबाट । सविनसिंह चौधरी उर्फ ‘एकतारे’ । अर्थात्, उनी हुन् ‘दैव हे’ र ‘ठमेलबजार’का गीतकार । बाल्य कालबाटै देखेभेटेका कुनै पनि अक्षर पढ्न नछोड्ने । किताब त किताब भइहाले । बाटामा छरपस्ट च्यातिएका किताब, पत्रिकाका पाना र साइनबोर्ड । जहाँ जहाँ अक्षर छन्– त्यहाँ त्यहाँ नजर । कुनै केही बाँकी नछाड्ने । रोडसाइड पढन्ते– सर्वाक्षरहारी । माथि हेरेर पढ्दै हिँड्दा धेरैपटक लड्थे । चिउँडो बजारिन्थ्यो । घाउ हुन्थ्यो । बाटो नहेरी हिँडेको कसुरमा थप सजाय हुन्थ्यो– आमाको गाली । तर, उनलाई आमाको गाली र ठोक्किने चिउँडोसँग कुनै दिलचस्पी रहेन । आफ्ना थाप्लामा भित्ता ठोक्कियोस् कि पोल ठोक्कियोस् । उनको पढ्ने प्यास घटेन, न त मन नै डरायो । बरु विजय विकास, मेजर बलवन्त, वेदप्रकाश शर्माका उपन्यास र जासुसी कथामा मस्तीले डुबुल्की मार्न थाले । कमिक्सहरू पनि खोजी खोजी पिउन थाले । पढ्न मात्र भनेर समय हुँदै हुँदैनथ्यो स्कुले केटोसँग । त्यसमाथि समय भए पनि सधैँ फेल हुने केटो जो पर्यो । कोर्सका किताब पढ्ने प्रेसर हुन्थ्यो । बाहिरका किताब निस्फिक्री पढ्न डराउन परिहाल्यो । उपन्यास पढेको घरमा थाहा भए कन्सिरीका रौँ उखेलिन्थे । त्यसैले घरपरिवारका आँखा छल्न स्कुल जाँदा र आउँदाको समय र बाटो उनको पढन्ते मनको चिलाइ मार्ने कन्याइ बन्यो । उपन्यास र कमिक्स त्यही स्कुल आउँदा जाँदाको बाटोभरी पढिभ्याउँथे । कक्षा ९ सम्म सधैँ २/३ ओटा विषयमा फेल हुने उनी कक्षा १० मा गएर सुध्रिए । अचम्म मात्र हैन महाअचम्म भयो– पास भए । पास मात्र भएनन् जिल्ला फस्ट नै भए । देख्नेले त उनलाई सधैँ पढ्ने बच्चो नै देख्थे । तर, उनी भन्छन्, ‘म के पढ्थेँ भन्ने मलाई मात्र थाहा थियो । त्यसैले प्रथम श्रेणीमा जिल्ला फस्ट भएर एसएलसी पास हुँदा म आफैँलाई एकदमै अचम्म लाग्यो । मेरो इमेज यस्तो बनेको थियो कि– अझै पनि गाउँमा बाटोमै पढ्ने म जस्तो पढन्ते कोही छैन । मलाई नामले बिर्सनेले पनि ‘त्यो पढन्ते क्या’ भन्दा अहिलेसम्म सम्झन्छन् । अहिले सम्झिँदा जिल्ला फस्ट भएको मान्छेले त्यसबेलाको चल्तीको अभिनन्दन पनि महसुस गर्न पाएनछन् । त्यस बेला उनलाई मतलब पनि थिएन । अहिले सोच्दा चाहिँ ‘अबिर/जात्रा, फूल/माला’सँग सबैको आफू ‘हाइ हाइ’ हुँदा पक्कै फरक अनुभूति हुन्थ्यो होला भन्ने लाग्छ रे उनलाई । ‘यस्तो हुन्छ भन्ने थाहा पाएको भए झनै मज्जा हुन्थ्यो होला । तर, म काठमाडौँ आइसकेको थिएँ, रिजल्ट यतैबाट सुनेँ,’ उनलाई अभिनन्दनको मोह जिवितै रहेछ । क्याम्पस जीवनदेखि सरकारी जागिरसम्म कुनै उद्देश्य र लक्ष्य थिएन । साइन्स के हो पनि थाहा थिएन । मात्र ‘साइन्स’ भन्ने शब्दले उनलाई तानेको थियो । उनी त्यही पढ्न चाहन्थे । ‘अस्कल’ सुनेको थिएँ, अनि ‘अमृत साइन्स क्याम्पस’ सुनेको थिएँ । नाममै साइन्स नभएकोले अस्कल नजाने निधो गरेँ । अमृत साइन्स क्याम्पस गएँ । पछि थाहा पाएँ अस्कल र अमृत साइन्स क्याम्पस त यौटै पो रहेछ,’ उनी हाँस्दै भन्छन् । नाम मात्र कहाँ हो र ? उनलाई न कुनै ‘फ्याकल्टी’ थाह थियो, न कुनै विषयको अर्थ र महत्व । यही अन्यौल चिर्दै आइएस्सी सक्कियो उनको । क्रिकेटको लति भए सबै साथी । धाएर कहिले कता कहिले कता । काठमाडौँमा क्रिकेट नखेलेको कुनै स्कुल, कलेज र मैदान बाँकी रहेन । ल्याबमा केमिकलसँग खेल्दा पनि कानमा अल इण्डिया रेडियोको लाइभ कमेन्ट्री सुन्नै पर्थ्याे । नत्र मन हराएको मनुवा हुन्थे उनी । आइएस्सीमा उनी पास मात्र भए । उनको जीवनमा क्रिकेट भने फस्ट भयो । बाले डाक्टरी पढ् भन्दा पनि टेरपुच्छर लाएनन् । बिएस्सी ज्वाइन गरे । बिएस्सी सक्दासम्म पनि जिन्दगी ‘गुच्चै’ जस्तो थियो उनका लागि । कहिले यताबाट हान्ने कहिले उता पुगेर हान्ने । छिनभरमै फेरि हराउने । न केही पिर न कुनै सुर्ता । बिएस्सी पनि हराएको ’गुच्चा’ जस्तै भैदियो । तर, पास भने भए । उस्तै यात्रा उस्तै मान्छे । एमएस्सी पढ्ने इन्ट्रान्स दिन लाग्दा बुवाको देहान्त भयो । दिमाग शून्य भयो । जिन्दगीमा गर्ने भनेको पढाउने नै होला, खाली बस्नुभन्दा बिएड गर्छु भनेर उनी लागे त्यता। तर, पढ्दा पढ्दै ३०/४० जनाको अगाडि बसेर ज्ञान दिने उत्प्रेरित गर्ने नियन्त्रण गर्ने काम आफूबाट नहुने रहेछ भन्ने बोध भयो । उनी अर्को बाटो सोच्न थाले । साथी रमेश पान्डेसँग यसो लु न त लोक सेवा ट्राइ मारम् भनेर कम्प्युटर अपरेटरमा परीक्षा दिए । सोधेको ५० वटा प्रश्नमा ३५ ओटा मिलाए । बाँकी प्रश्न जवाफ नआए पनि छोड्यो भने फेल भइन्छ । बरु अनुमान गर्दै मनलागी भए पनि ‘टिक’ लगाए केही होला कि भन्ने सोचेर टिक लगाए । कम्प्युटर अपरेटरमा अप्लाई गरेको मान्छेलाई टाइपिङ नै नआउने । साथीको कम्प्युटरमा प्राक्टिस गर्न भनेर जाने । उनी यस्तो बिन्दास कि, गेम खेलेर दिन बिताइदिने गर्न थाले । लिखितमा नाम निस्कियो तर प्राक्टिकलमा फेल भए । फेरि एमएस्सीको तयारी गर्नतिर लागे । तर गाउँमा सरकारी जागिरे भएको पत्र पुगेको खबरले महाअचम्मित भए । पछि उनलाई थाहा भयो अस्थायी सुचिबाट ६ महिनाको लागि नियुक्त गरिएको रहेछ । पहिलोपटक महिला विकास विभागमा काम सुरु भयो । र अस्थायी जागिर गर्दागर्दै पुनः लोकसेवामा कम्प्युटर अपरेटरमा नाम निकाले । आफूले रोज्न नपाएर सबैले छोडेको ठाउँ ‘नसिब’ भयो र पुगे धादिङ । सफल हुनु भनेको यही हो ? यति हो आफ्नो काम ? यही हो त आफ्नो जीवनको उद्देश्य ? भन्ने प्रश्नले उनलाई चैनमा रहन दिइरहेको थिएन । कसैले भनेको सुने, ‘अधिकृत लड्ने नि ?’ उनी विश्वस्त भए र सरुवा गराए । धादिङबाट रास्ट्रपति भवन । कडा अनुशासनमा बसेर काम गर्नुपर्ने रहेछ रास्ट्रपति भवनमा । उनलाई त्यहाँको सबैभन्दा मनपर्ने कुरा भनेको राष्ट्रपतिको भाषण टाइप गर्ने काम लाग्थ्यो । गजलको भूत र एकतारे नाम यसरी जन्मियो सन २००९ मा रास्ट्रपति भवनमा कम्प्युटर अपरेटरको कर्मचारी भएर काम गर्न थाले । त्यहाँ पाएको इन्टरनेटको पहुँचले उनलाई नयाँ र खोजेको दुनिया दिएजस्तो महसुस गराइदियो । याहु, हाइफाइभ, फेसबुक । अब यहाँ गजलको सर्कल जोडियो । उनको स्वभाव नै बिन्दास, तर अरूसँग कहिल्यै खुल्न नसक्ने मान्छे । फेस गर्नै डर लाग्ने । तर शब्दका गुच्छालाई आवश्यकता अनुसार ढुंगा र फूल बनाई हान्न कसैको अगाडि नपरी पनि मिल्ने रहेछ । यस कारण आफूमा लेख्ने कारणको ‘जगेडा’ गरेर फेसबुकमा लेख्न सुरु गरिसकेका थिए । साथीसँग हिन्दीमा एसएमएस सायरी दोहोरी चल्ने गर्थ्याे । त्यसमा आफूलाई औधी मजा लागेको चाल पाए उनले । र पहिलोपटक सायरी गजल आफ्नै लागि हो झैँ लाग्यो उनलाई । गजलकारहरूसँगको संगत र गजल पढाइ बुँद राना, करुण थापा, ज्ञानुवाकर पौडेल लगायत श्रष्टाका गजल पढेर आनन्द झनै गहिरिन थाल्यो । त्यसको सिको गर्दै लेख्न थाले दुई लाइनका पंक्ति । र, सुनाउन थाले आफ्नै नजिकका साथीहरूलाई । अर्का सर्जक दिपक कथितले भने, ‘तपाईंको लाइन मिलाउनुस् गजल हुन्छ ।’ दीपक कथितले त्यति भनेपछि भनेपछि उनलाई झनै चाख बढ्यो । सोधीखोजी गरेर आधारभूत नियम उनै दिपक कथितबाट सिके । मनमा लागेका बेला हरफहरू ओकल्ने  क्रम चलिरहेकै थियो । एक दिन लेखेको हरफ आफैँलाई गजल जस्तो लाग्यो उनलाई । हौसिएर पठाइहाले बुलबुलमा । पठाएको अर्को हप्ता गजल आफ्ना नाममा प्रशारण भयो । गजल थियो, माना पाथी भरी हेरेँ किलो धार्नी जोखी हेरेँ । सुखभन्दा दुखै बढी आँखाबाट पोखी हेरेँ । अब हौसला र फुर्तीको सीमा रहेन । त्यसपछि दिनको एउटा लेख्न थाले । अब म पनि केही गर्छु जस्तो लाग्न थाल्यो । धाराबाट पानी तुर्केझैँ कति तुर्क्याकाे भन्दै अर्का श्रष्टा तुफान शान्तले नामै राखिदिए ‘तुर्रे कवि’ । उनी पनि तुर्रे कवि भएरै हिँड्न थाले । फेसबुकमा नामै राखे तुर्रे कवि । न्युरोड घुम्दै गर्दा एल्बम किने ‘द भोइस’ र ‘रेज’ । सनुप पौडेल गायक थिए, कालीप्रसाद बाँस्कोटा संगीतकार । रेजमा लेखिएको त्यही संगीतकार कालीप्रसाद बाँस्कोटा नामले उनलाई तान्यो । फेसबुकमा खोजेर ‘एड’ गरे । बोलाउने कारण र हिम्मत दुवै थिएन । चुपचाप समय बितिरह्यो । एक दिन अचम्म भयो; कालीप्रसाद बाँस्कोटा आफैँले भने, ‘सविन भेटौँ ।’ उही पुरानो बानी । लाज लाग्यो उनलाई । ३ पटक बोलाउँदासम्म पनि गएनन् भेट्न । तर चौथो पटकसम्म पनि नजाँदा शरम लाग्ने भयो । अब लाजलाई जित्नैपर्ने बाध्यता थियो । त्यसैले उनी भेट्न गए । बागबजार गएर कुरे । कालीप्रसाद बाँस्कोटा नाम जस्तै भव्य कोही सुटेडबुटेड अजंगको अनुहार भएको सिरियस टाइपको मान्छे आउला भन्ने सोचेका थिए । तर, साधारण सानो हँसिलो मान्छे आएर ‘तिमी हैन सविन ? ल हिँड’ भनेर अफिस लिएर गए । अफिस पुग्दा आफूले एल्बम किनेको गायक सनुप पौडेललाई देखेर फेरि छक्क परे उनी । संगीतले मन तानेको, गजलले पाइला मागेको तर लहडले सरकारी कर्मचारी बनायाे– जीवनपथमा हिँड्दाहिँड्दै । त्यस बखत ‘वेक अप सिड’ भन्ने हिन्दी सिनेमा आयो । उक्त सिनेमाको ‘गुँजा सा है कोइ एकतारा’ भन्ने गीतले ‘एकतारा’ शब्दप्रति सम्माेहित बनायो । एउटा तार हुने, एउटा सुर दिने बाजा उनलाई आफूजस्तै लाग्यो । त्यसैले आफ्नो नाम नै सविन सिंहबाट ‘एकतारा’ राख्ने निधो गरे । फेरि तुर्रे नाम राख्दिने पण्डितले ‘एकतारे’ हो नेपालीमा भनिदिए । र अब उनको नाम भयो– एकतारे । कालीप्रसादसँगको सहकार्य गीत बनाउने क्रममा कालीप्रसाद बाँस्कोटासँग सर–सल्लाह र भेटघाट हुन थाल्यो । पहिलो पटक ‘हाम्रो टिम’ का लागि गीत लेखे । त्यसपछि ‘भिसा गर्ल’ र ‘मन्जरी’सम्म सहकार्य भयो । मन्जरीको ‘दैव हे’ भन्ने गीतले सबैतिर वाहवाही पायो । साहित्य रस र शब्द प्रेमले ‘फेसबुक साहित्य संजाल‘ ग्रुप खोलेर झन् अग्रसर र सक्रिय हुन थाले । विभिन्न ठाउँहरू घुमेर रचना सुन्ने सेयर गर्ने क्रम बाक्लियो । यसै क्रममा ‘इबुक‘को कन्सेप्टले ‘पान्डुलिपि डट कम’ सुरु गरे । तर, सविन यसलगत्तै अध्ययनको क्रममा कोरिया गए । लेखनबारे उनलाई लाग्ने कुरा लेखकले सुख, खुसी सुनाउँदा त ठिकै छ । तर, भोगेर होस् या देखेर । आँसु, पीडा, दर्द पोख्दा पनि सुन्नेले वाह ! वाह ! गरिदिन्छन्, ताली बजाउँछन् । त्यस कारण उनलाई लेखक भनेको भावनाको व्यापारी हो भन्ने लाग्छ । कालीप्रसाद बाँस्कोटादेखि राजेन्द्र सुवेदी र शान्तिम् कोइरालासँगको ‘तिमीलाई सम्झि’सम्म आइपुग्दा सधैँ दुःख र आँसुको कथा सुनाइयो । खुसी र रमाइलोका पंक्ति पनि यात्रामा थपिँदै जान थाले । यस क्रममा ‘ठमेलबजार’ सर्वाधिक चर्चित भइदियो । ‘मैले धेरै आफ्नो भोगाइ लेख्छु र थोरै कल्पना । आफूलाई विशेष दैव हे, तिमीलाई सम्झी, बालुवा जस्ता गीतहरू मन पर्छन् भने घरमा रमाउने भाञ्जाभाञ्जीले सुन्ने, साथीभाइसँग परिचय हुँदा चिनाउने मेरो भएको गीत चाहिँ ठमेल बजार,’ एकतारेले आफ्नो मनको तारबाट कुराको सुर मिलाए । सिनेमालाई सिर्जना सिनेमामा सिचुएसनमा बग्नुपर्ने हुन्छ । आफूलाई त्यो क्यारेक्टरमा ढालेर सोच्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा रचना क्रममा दुःख बढी दिइन्छ, जो कोहीलाई पनि । काम लगाइन्छ, काम चित्त बुझेन भने अर्को खोज्ने गरिन्छ । काममा अरूतर्फ ‘पोइल जाने’ साँघुरो मनस्थिति हाबी छ हाम्रो देशमा । त्यही मानिसबाट अर्काे चरणमा काम गर्न लगाउनेबारे साेच्ने चलन छैन । ‘कसैको कामको लागि मिहेनत गराएपछि उसको मिहेनतको कदर हुनुपर्छ भन्ने मान्यता राख्छु म । यदि सिनेमामा राम्रो गीत चाहने हो भने सिचुएसन मात्र होइन स्क्रिप्ट नै सुन्न दिइनुपर्छ भन्ने मलाई लाग्छ । अनि मात्र हामीले राम्रो गरी सिचुएसन बुझ्न सक्छौँ र राम्रो लेख्न सक्छौँं । र, इन्डिपेन्डेन्ट गीत बनाउँदा चाहिँ लेखक र संगीतकारले एउटै मनस्थितिमा बसेर सिर्जित सिर्जना उत्कृष्ट हुन्छ भन्ने लाग्छ । यदि कुनै राम्रो लाग्दैन भने त्यो पक्कै सिर्जनाको मनस्थिति नमिलेको हो भन्ने लाग्छ,’ काममा ढोयो लगाउनुपर्ने विचारको पोयो फुकाए । कतिपय लेखक र गजलकारले भन्ने गरेको ‘नेपाली शब्दभण्डार अपुग, असहज र तुलनात्मक रूपमा कमजोर छन्’ भन्ने कुरामा उनी सहमत छैनन् । लेखकले प्रयोग गर्ने कडा र गहन शब्दले संगीत र गायनमा सहजता नहुने अवस्था छ भन्ने गायक/संगीतकारकाे कुरामा आरोप प्रत्यारोप सम्बन्धी जिज्ञासामा उनी भन्छन्, ‘शब्द आफैँमा सहज र असहज हुँदैन । कताकता हामीले हाम्रो भाषालाई कम आँकिरहेका छौँ । केही कमजोर होला तर हामीले हेपे जति कमजोर छैन हाम्रो भाषा । हामीलाई नै थाहा छैन सबै शब्दहरू । मलाई लाग्छ, शतप्रतिशत जान्ने कोही पनि हुँदैन । र, संगीतकार गायकले असहज शब्द भनेर पन्छिने हैन कि शब्दलाई धुनले सहज बनाउन सक्नुपर्छ । अथवा, त्यो माहोल स्पष्ट गरेर लेखकसँग विकल्पबारे विश्वस्त बनाउन सक्नुपर्छ ।‘ आर्थिक पाटो सिर्जनालाई मूल्य दिँदा सम्मान हुन्छ । तर, सिर्जनालाई पैसाले मात्र सम्मानित बनाउन सक्दैन । एकतारे भन्छन्, ‘आत्मिक स्थान र सम्मान, सिर्जनात्मक स्वतन्त्रता जस्ता धेरै पक्ष हुने गर्छन् । मेरो लागि अर्थ भन्दा सिर्जना प्रायोरिटी हो ।’ ‘अर्थ प्रायोरिटी छैन’ भन्दा बजार बिगार्ने आरोप आउला भन्ने बारे पनि उनी बिन्दास् छन् । भन्छन्, ‘बजार कहाँ छ र बिगार्न ? हामीले केही काम गर्छौँ, सिर्जनाको केही दाम पाउछौँ । बजार यत्रो हुन्छ र ? यो त लेनदेन र सरसापटीमा चलिरहेको हो । एकले अर्कालाई पालेको अवस्था छ । कुनै गीतका प्रस्तोताले प्रस्तुत गरेको भाग सर्जकलाई दिनुपर्छ भन्ने मेरो मान्यता हो । यदि नदिने हो भने त शब्द नगाउनु पर्यो । लाला, लुलु, हह, हाहा गर्नुपर्यो । शब्द गाउने भए शब्द लेख्नेलाई फाइदा बाँड्नुपर्यो नि ।’ गीत संगीतको गुणस्तर जो गीत संगीत उत्पादन, लगानी गर्न उत्साहित हुन्छ, उसले आफूले के खोजेको भन्ने स्पष्ट देखिँदैन । के सुहाउँछ भन्ने ज्ञान नभएरै ‘चुजी’ भइदिन्छ । त्यही बानीले ज्ञान भएको सर्जकले असहज महसुस गर्छ । आर्थिक आशा छ भने ज्ञानी सर्जकले आफूलाई ‘कम्प्रोमाइज’ गरेर काम गरिदिन्छ अन्यथा कामै गर्दैन । पैसा छ भनेर खोकेका शब्दहरूलाई गीत भनेर एल्बम निकालेको दृष्टान्त पनि हामीकहाँ छ । पैसा छ भन्दैमा राम्रा शब्द संगीतलाई खोकेर गाएको भनेको दृष्टान्त पनि छ । हामीले आफूले आफूलाई धेरै चरणमा जाँच्न जरुरी छ । अर्को भनेको नयाँपनप्रति सहज पनि हुनुपर्छ । संयोजकलाई भिजन दिने वा स्वतन्त्रता दिने निक्र्याेल गर्नुपर्छ । अनि मुद्रण र प्राविधिक पक्षबारे सचेत हुनुपर्छ । गीतले मन पक्कै छुन्छ । ‘मुख्य कुरा भन्छु, अहिलेसम्म नेपालीले आफ्नो नेपाली ‘अरेन्ज’ नै गरेको छैन । सबै प्रभावित हो जस्तो सुन्यौँ, त्यस्तै गर्यौं । अलिअलि मादल, सारंगी राखेर मात्र कहाँ नेपाली हुन्छ ?’ उनी भन्छन्, ‘समग्र प्रस्तुतिमा नेपालीपन हुनुपर्यो नि । नेपाली अरेन्जरलाई स्वतन्त्रता दिएको नै मैले देखेको छैन अहिलेसम्म ।’ जिन्दगी, प्रेम र एकतारेको सुरका कुरा ‘म के गर्न जन्मेको रहेँछु मैले थाहा पाएको छुइनँ । तर, मलाई आनन्द आउने मेरो आत्माको आवाज थाहा पाएँ । ती हुन् आफ्नो सिर्जनाले संगीत र गायन पाएपछिको प्रस्तुति श्रवण र फोटोग्राफी (क्यान्डिड पोट्रेट) यिनमा मलाई हराउँदा म न सविन रहन्छु, न एकतारे बन्छु । म बस् ! आनन्दित हुन्छु । जिन्दगीमा ‘जर्नी’ र ‘प्यासन’लाई केहीले रोकेको महसुस गरिनँ । सक्सेस त आफूले महसुस गर्ने र अरूले देख्ने फरक हुन्छ,’ उनी भन्छन् । जात र अन्तरजातीय भन्ने सोच र प्रेमप्रति आम धारणाले उनलाई अचम्मित बनाएको छ । मान्छे सही आम्दानी, सही विचार, सही रूपमा पनि खोट नहुने तर जातमा खोट देखिदिने मान्छेदेखि उनी दुखी छन् । उनलाई कसैसँग गुनासो छैन । तर वैयक्तिक असहजता र सहजता जता नि हुन सक्ने कुरा हो । त्योसँग समस्या मान्न हुन्न । उनी भन्छन्, ‘वर्गीय जातीय हिसाबले आफूलाई असहजता औल्याउँदा माया गर्ने मनमा दुख्दो रहेछ, पोल्दो रहेछ । म यो सोच संसारमै नरहेको कल्पना गर्छु ।’

    • बिहिवार, फाल्गुन २२ २०७६०६:३५:५३
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ