Logo

मंगलवार, मंसिर ९ गते २०८३

अ

सिन्धुपाल्चोकको हिमाली पदयात्रा

सिन्धुपाल्चोकको हिमाली पदयात्रा

  • 2.0K
    SHARES

  • काठमाडौँको कोलाहलले जो कोहीलार्ई विरक्त, इरिटेट र हैरान बनाउँछ । सबैलाई लाग्छ यहाँको तनाब र प्रदूषणबाट कतै पर गएर स्वर्गानुभुत गरौँ, रमाऊँ, बिर्सौं यो भुस कुटेको ओखल जस्तो बनेको राजधानीलाई । सबैसँग मनमौजी हिँड्न साधन हुँदैन । सबैसँग पर्याप्त पैसा पनि हुँदैन । सबैलाई कहाँ जाने भन्ने निक्र्यौल गर्न पनि सहज हुँदैन । र सबै घुम्न जाने स्थानहरू सहज पनि हुँदैनन् । कतै स्थानीय तहका कुन नियम कतै कुन शर्त । विभिन्न कुराहरूले पदयात्रा सुखद नहुन सक्छ । काठमाडौँबाट रमाउन निस्कन धेरै घोषित अफिसियल डेस्टिनेनहरू छन् । जुन इन्टरनेटहरूतिर र पदयात्रा सम्बन्धी जानकारी विभिन्न पेजहरू र ट्राभल टुर्सहरूतिर उपलब्ध छन् । आज हामी कुरा गर्दैछौँ एउटा मार्क नभएको, नगरिएको र धेरैले सुन्दै नसुनेको गन्तव्य र पदमार्गको बारे । काठमाडौँबाट तातोपानी नाका र चाइना तिब्बतको खास्सा बजार जाने कुरा त सबैलाई थाहा छँदै नै छ । काठमाडौँबाट बाइकमा सहज तरिकाले पुग्न सकिन्छ । कारमा सहज र आरामदायी तरिकाले । लिपिङ बजारसम्मै पुगिन्छ । बसमा भने कोदारीसम्म बस त्यस पश्चात पदयात्रा सुरु हुन्छ । कोदारीबाट लिपिङ त्यति टाढा छैन । पैदल पन्ध्र बीस मिनेट मात्रै लाग्छ । तातोपानी लिपिङ बजार भनेको भोटेकोशीको वारी किनारमा अवस्थित नेपाली माटोको अन्तिम बजार हो । कोदारीमा अलि धेरै र लिपिङ बजार म अलि कम होटल तथा गेस्ट हाउसहरू तथा होमस्टेहरू पनि छन् । हामी चार जना भने साथीको निमन्त्रणामा काठमाडौँदेखि नै दुईवटा बाइकमा गएका हुनाले आरामसँग बाटोमा रोक्दै दृश्यावलोकन गर्दैगर्दै हिँडेको हुनाले साथीको व्यवस्थामै बास बस्यौँ । खानपान अत्यन्तै मीठो थियो । हुन त भोकको झोँकमा मीठो भएको हो कि ? यदि हो भने पनि केही चिन्ता छैन । जो कोही त्यहाँ पुग्दा भोककै झोँकमा पुग्ने हो । अवश्य पनि सबैलाई मीठो हुन्छ । लिपिङ बजारबाट सुरू हुन्छ नाक ठोक्किने उकालो । तर कतै कतै दायाँबायाँ सिँढी कतै बाटो हो । पहिचान मात्र हुने गरिरहेको बाटोले हिँड्ने पकड र बानी नभएकाहरूलाई गाह्रो हुन सक्छ । खासै अत्यधिक अप्ठ्यारो बाटो भने होइन । तर, काठमाडौँदेखि थकित भएर पुगेका खुट्टाहरूका लागि भने अलि गाह्रो हुन्छ । सके ट्रेकिङ सुज नसके ट्रेकिङ गर्न सहज ठिक्कको गोट्टीवाला जुत्ता । लौरो र पानी पर्दा ज्यान नभिजाउने किसिमको हलुका ज्याकेट लग्न बिर्सनु हुन्न । यति भएपछि अप्ठ्यारो गाह्रो हुने त त्यही गाह्रो नै त मजा हो । जुन पार गरेर काठमाडौँ फर्किसकेपछि सम्झिँदा आनन्द हुन्छ । हामीसँग अनुभवी ट्रेकिङ गाइड भएर धेरै पदयात्री र पर्वतारोहीहरूसँग काम गरिसकेका त्यहाँकै लोकल तीनजना दाइहरू साथ लागेर जानुभएको थियो । हामीले आठ जनाको टोलीलार्ई कमसेकम दुई दिन पुग्ने पर्याप्त चकलेट बिस्कुट चाउचाउ र अन्य खाजाजन्य खानेकुराहरू र पेय पदार्थहरू बोकेका थियौँ । पानी पनि बोकेका थियौँ तर हिमालको काखमा जरुवाहरू पाइरहन्छन् । बोकेको पानी भन्दा शतप्रतिशत वेस्वादको अलौकिक स्वादयुक्त प्राकृतिक पानी खानुको मजा लिन पाइरहन्छ । तर, उकालो हिँड्दा धेरै पानी खाँदा ज्यान भारी भइहाल्छ घाँटी भिजाउँदै हिँड्ने मात्र हो । बेलुकाको खाना चौरीगोठमा खाने हाम्रो योजना थियो । पाखामा रहेको खण्ड खण्ड लिपिङ गाउँबाट अलिअलि तेर्सोतेर्सो अलिकति उकालो अनि फेरि तेर्सो हुँदै डेढ घण्टा जति हिडेपछि सुरू हुन्छ । पूरै पहरो बाटोको उकालो । खुट्टा चिप्ल्याउन पाइँदैन । पाइन्थ्यो भने त भोटेकोशीको भोग भइन्थ्यो होला । धैर्यता, हिम्मत, पकड र प्यास सबै चाहिन्छ । त्यो पहरो हिँड्न डराएर हिँड्न सकिन्न । खुट्टा मुटु काम्न सक्छ । बाटोभरी विभिन्न फूल रूखहरू । पारिपट्टि चाइनाको जंगल । वारि हाम्रो जंगल । अलि माथि हेर्दा झुरुप्प परेको काँचो अंगुरजस्तो तातोपानी बजार । लिपिङ बजारबाट हेर्दा टाउको उठाएर माथि हेर्नुपर्ने खासा बजार बिस्तार नजिकनजिक देखिँदै जान्छ । उचाइ पार गर्दै जाँदा झ्याउ लागेका ढुंगाहरू टेक्दै झ्याउ लागेकै रूखहरू सानादेखि ठूलासम्म उत्तिकै देखिन्छन् । बोटमा झ्याउ लागेर पनि माथमा ढकमक्क फुलेका गुराँसले जिन्दगीमा बाँच्ने आइडिया दिन्छन् । ‘ज्यानमा झ्याउ लागे पनि मुहारमा फूल फुलाउन बिर्सनु हुन्न ।’ फोटो खिच्दै रमाउँदै ब्लुटुथ स्पिकरमा गीत बजाउँदै कहिले साथीहरूको हौसलामा आफैँ गाउँदै कहिले मस्तीले नाच्दै हिँडिरह्यौँ । कुनै बेला अत्यधिक थकानले बेकार हिँडेको जस्तो पनि हुन्थ्यो, कुनै बेला वाह क्या स्वर्गानुभूति भइरहेको छ । कहिले फर्किने पो हो कि जस्तो लाग्ने, कहिले हिँड्न मन लाग्ने तर सकूँला जस्तो नलाग्ने । हामी आनन्दले बिस्तार हिँडे पनि कहिलेको अगाडि कहिले को पछाडि परिरहेका थियौँ । डेड घण्टापछिको अर्को दुई घण्टामा हामी तातोपानी खासा बजारलाई पच्चीस वर्षे दाजुले पाँच वर्षे बालक भाइलाई हेर्नपर्दा झैँ निहुरिएर हेर्ने ठाउँमा पुग्यौँ । यात्रा कति बाँकी छ भनेर सँगै हिँडिरहनु भएका स्थानीय दाइहरूसँग सोध्दा अझै एक घण्टा लाग्छ भन्थे । हामी भने साँझको काखमा पुग्न पुग्न लागेका थियौँ । साँझको समयमा बँदेलको आउजाउ हुने एक दुई जना देख्दा बँदेलले मान्छेलाई आक्रमण गर्ने कुराले अगाडि हिँड्ने साथीहरूले पछाडि हिँड्नेलाई तर्साएर छिटो हिँड्न प्रेरित गर्ने छुच्चो खेल पनि खेलिरहेका थियौँ । यस्तै तरिकाको आधा घण्टा को यात्रा पश्चात सुरू भयो आजको यात्राको पहिलोपटकको हिउँको दर्शन । सबैजना रमायौँ, फोटो खिच्यौँ, हिउँ चलायौँ, निरन्तर हिँडिरह्यौँ । कतै बाटो देखिने, कतै नदेखिने, कतै हिलोमा, कतै पानीमा, कतै ढुंगामा खुट्टा पर्ने, कुनै बेला चिप्लेला जस्तो हुने मुटु नै झसंग महसुस भयो । गज्जबको टर्च पनि बोक्नुपर्ने रहेछ । यस्तै क्रमले हिँडेको पाँच घण्टामा पुग्यौँ चौँरीगोठ । अब हिँड्न पर्दैन भन्ने कुराले दिएको आनन्दसँगै त्यो ठाउँको रमणीय वातावरण हावा, अनुहारमा महसुस हुने रातको हिँउ, चिसोको स्पर्श शब्दमा बयान हुँदैन । एक छिन स्पिचलेस भएर कक्रिएर अँठ्याउँछ आफ्नो काखमा । पुग्ने बित्तिकै खाने बित्तिकै वाह महसुस हुने नुनचिया थपीथपी अनि दूध चिया खाँदै ज्यान हातगोडा सेकाइयो । गोठमा थप खाने कुराको छिनोफानो गरिन्छ । बोको र कुखुरामा कुखुरा सबैको बहुमत पर्छ । सुरूमा मेरो मन अलि कस्तो भइरहेको थियो । आनन्द लिन ज्यान मार्न नलागौँ होला हौँ भन्ने भाव मेरो मनमा उब्जिएको थियो । तर, आठ जना हामी र गोठका दाइ भाउजू र भतिज तीन गरी एघार जनाको ठाउँमा बेसी नसोच केटा भनेर आफ्नै मनले भन्यो । अनि चुप लागेँ । तर, कुखुरा काटेको नहेरी बसेँ, भुत्ल्याएको पनि नहेरी बसेँ । काटेर कराईमा ओइ¥याएदेखि नरमाइलो महसुस गायब हुन थाल्यो । तर पनि अझैसम्म खान्छु होला जस्तो लागेको थिएन । पाकिसकेपछि ल न त एक चाखम् भन्ने मनसायले एक टुक्रा टोकेपछि यस्तो मीठो त कहिल्यै केही खाएको थिएन जस्तो महसुस भयो । हिमाली कुखुराको स्वाद मेरो जिब्रो र मानसपटलमा अहिलेसम्मकै मीठो मासु बनेर बस्यो । हामी आउने जानकारीले दालभात पकाइसकेका दाइ भाउजूले हाम्रो अनुरोधलाई नकार्न नसकेर हरदिन अण्डा पार्ने कुखुरा काटेका थिए । व्यावसायिक रूपले लजिङ फुडिङ उपलब्ध ठाउँ होइन त्यो । बाहिर भाँडोमा पानी जमिरहेको छ । हिउँको स्याँठीले मगज समाउने चिसो छ । तर आगो बालेको गोठभित्र पुगिसक्दा आनन्दको तातो महसुस हुन्छ । खाएर, गाएर, बोलेर, रमाएर हामी लगभग एघार बजे सुत्यौँ । प्रकाश सर, सुकदेव सर, रेशम सर, मिलन सर र म हामी पाँच जना अगेना छेउ लहरै सुत्यौँ । चिर्पटको चाङ जसरी । दाइ, भाउजू, भतिज र अरू तीन जना कता सुत्नुभयो सम्म ख्याल गरिएन । थकान र मस्तीले त्यति मस्त मदहोस् भइसकेको रहेछु म । आरामदायी किङ साइज बेडमा एक्लै मस्तले सुत्दा पनि हत्तपत्त निन्द्रा नलाग्ने कतिपय हामीलाई त्यो दिन सायद आँखा चिम्लेको सात सेकेन्डमा सबै निदाइयो होला जस्तो लाग्छ । बेलुका जसरी सुत्यौँ त्यसैगरी बिहान हुने पोजमा थियो सुताइ । चल्ने चट्पटाउन नमिल्ने अवस्था थियो, त्यसैगरी बिहान भएछ । उठेर बाहिर जाँदा त हिजोको भन्दा हजारौँ गुणा बढी आनन्द आयो । पारी चाइनाको हिमाल तल हिउँ नभएको ठाउँमा सुरुङहरू चिल्ला सडक । हिमालमा समेत बाटो ‘पाइलिङ’ गरेर जंगल कटान समेत रोक्ने नीति देख्दा वाह क्या सरकार, क्या नीति भन्न मन लाग्यो । म अचानक हिँडेको मान्छे यहाँ आइएला भन्ने सोचसम्म थिएन सुरूमा त । परिवारबाट कोरोना महामारीको बेला चिसो लाग्ने मान्छे किन चाइना छेउ ? अझ हिमालमा घुम्न जानुपरेको हो ? भन्ने मनसायको कडा र प्यारो माया पाएर अलि आत्तिएको थिएँ । फोनको रेन्जबाट त हाम्रो टिम हिजैबाट नै छुट्टिसकेका थियो । तर वारिबाटै देखियो बाटो बजार सब सुनसान थियो । बुहानमा महामारी फैलिएकोले खासा बन्द छ, कति सतर्क छ राज्य भने झैँ लाग्यो । आफ्नो सरकार सम्झिएँ, आफूलाई सम्झिएँ र फर्किएँ आफ्नै मस्तीमा । फोटो खिच्ने, गाउने, नाच्ने केही पनि रोकिन सकेन हामीबाट । मजाले हराएर नाच्यौँ । चिया खाने कि दूध भनेर सोच्यौँ । चौरीको दूधले त छेरिन्छ होला जस्तो पनि डर लाग्यो । जिन्दगीमा फेरि कहिले चाखिएला र यस्तो ठाउँमा आएर भन्ने लाग्यो र हत्तपत्त चौरीको दूध खान हात लम्काएँ, अत्यन्तै मीठो लाग्यो । यति मीठो अहो । बचपनमा शुद्ध दूध खाएको स्वाद बिर्सिएछ क्यारे । जे पनि मीठो, जे पनि राम्रो महसुस भइरहेको छ भन्दा रेशम सरले हिजोको दिन सम्झाइदेको तरिका सुन्दर लाग्यो । शान्तिम् सरलाई त लास्टै मन परेछ जस्तो छ नि कुखुरो ‘आँखा झिमिक्क हुँदा तीन चौटा गायब पारिरहनुभाथ्यो ।’ रेशम सरको रमाइलो वाक्यले म आफैँ मस्तले हाँसेँ । सबै तोडले हाँस्यौँ । पक्कै हो, मैले त्यस्तो मीठो मासु जिन्दगीमा पहिलो पटक खाएको थिएँ । फोटो खिच्ने नाँच्ने गाउने क्रमबाट भंग भएर हामी हिँड्यौ उकालो । हामी लिपिङ फर्किन हिँडेका हौँ । तर, अर्को बाटो जाने सल्लाह अनुसार फर्केका थियौँ । लगभग एक घन्टाको उकालो कतै एक जुत्ता हिउँ । कतै एक घुँडा त कतै कम्मर कम्मर । डर सँगै फरक रमाइलो अनुभुतिसँग एक घण्टा नै हराइयो । डाँफेको उडान डाँफेका पाइलाहरू हिउँको मन्दिर जस्तो आकृति हिउँकै जे सोच्यो त्यही बन्ने आकृति कति रमाइलो कति । हिउँमा लडिबुडी पनि खेलियो । आधा जिउ भासिएर अड्कियो पनि । ओरालोबाट झण्डै चिप्लिएर लडियो पनि । एउटा भाँसिएको खुट्टा निकाल्दा अर्को झन भासिँदा मुटु घाँटीमा आउँथ्यो । र निस्किँदा वाह म सक्दो रहेछु, सगरमाथा नै चढ्न सकिन्छ कि क्या हो टाइप फिल हुन्थ्यो । हुन पनि हिजोको हिँडाइको रफ्तार देखेर एकजना लोकल दाइले ‘वँहा सारले त सगरमाथा चार्ने रैछा । मोलार्ई टाप्यो त । मो लेखेरै दिन्छा । चाढ्छ वहाँले ।’ मलाई यो वाक्य संसारको सबैभन्दा ठूलो अवार्ड पाएजस्तो लाग्यो । सबै साथीहरूले सुन्ने गरी भन्न नि लगाएँ । मान्छे आफ्नो बहादुरीको तारिफ सुन्न लालायित हुन्छ नै । त्यसमाथि आफूले नसोचेको प्रशंसा सुन्न पाउँदा म किन नहुनु ? यसले कसैको पेटमा लात मार्ने पक्कै हैन क्यारे । एक घण्टा हिँडाइ, एक घण्टा हिउँको मस्तीपछि लगभग हामीले हिउँ वाला उकालो जंगल छोड्यौँ र सुरु भयो ओरालो यात्रा । नाक ठोक्किने उकालो र तोरी गुड्किने ओरालो यात्राको एड्भेन्चर म शब्दमा बयान गर्न समर्थ छैन । दुखेको ज्यानका गलेका खुट्टा निउ र मृगको बड्कौँलाको लेपले जुत्ताको तलुवालाई भोगटेको थाप्लो जस्तो बनाएको थियो । लौरो बिना कल्पना हुँदैन । त्यसमाथि कस्तो ठाँउमा टेक्ने सोच विचार पुर्याएर नटेके तल त लगभग चार–पाँच किमी तल जस्तो देखिने कोदारी बजार सिधैँ । चार घण्टाको तनावपूर्ण ओरालो यात्रा पश्चात लिपिङ बजरमा आई खाना खाएर फर्किन्छौँ काठमाडौँ । पुनः जिन्दगीको यीे तीन दिन र यी तीन दिनका पाँच जना साथी र तीन जना ती दाइहरू एउटा मीठो यात्राको अविस्मरणीय सहयात्री बनेको महसुस भएको छ । मेरो अनुभूतिले तपाईंहरूलाई आफ्नो तरिकाले खानपान र अन्य व्यवस्था गरेर ट्रेक जान सहयोगी पनि हुन सक्ला । मैले महसुस गरेको कुरा भनेको महिनामा एकपटक यसरी फ्रेस हुनपर्ने रहेछ । जति ज्यान दुखे पनि जेजे काम बिते पनि । अनुमानित बजेट बसमा गएर लिपिङ कोदारीबाट बिहान हिँडेर बेलुका फर्किने हुँदा आफ्नो चाहना र जन अनुसारको खाना खाजा पानी किन्ने खर्च र लिपिङ अथवा कोदारी बस्दा लाग्ने खान र गेस्ट हाउसको रुम चार्ज मात्र खर्च मात्र भयो । बाइक या कार लिएर जाने र माथि हिमालमा बस्ने हो भने स्लिपिङ टेण्ट, खानपानहरू सबैको व्यवस्था गर्न पर्यो । लिपिङबाट सहयोगी लान पर्यो हो । यदि चौँरी गोठमा अन्य कोही पनी पाहुना नभएको भए आठ दस जनाको लागि खाने बस्ने व्यवस्था त्यहीँ मिल्न सक्छ । जसको खर्च प्रतिव्यक्ति दुई हजारसम्म पर्न सक्छ। चौँरीगोठ एउटा मात्र छ । यदि त्यहाँ बस्न नमिलेको खन्डमा आफ्नै टेन्ट मा बस्नुपर्छ, आफ्नै खानुपर्छ । त्यसको लागि आफैँ अनुमान लगाउनुस् टेन्ट स्लिपिङ ब्यागको मूल्य बाहेक जेजे खाने आफूले किनेर लगेको खाने हो । आफ्नै टेन्टमा सुत्ने हो ।

    • शनिवार, चैत्र १ २०७६०७:४१:५१
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ