रातदिन दाम्लोमा बाँधिएर एकै थलोलाई आफ्नो पूरा संसार सम्झेर बाँचिरहेका ति पशुहरू तबसम्म दाम्लो चुडाएर बाहिर जाने आँट गर्दैनन् जबसम्म आफ्नो स्वार्थ पूरा गर्न मालिकले दानापानी दिइरहेका हुन्छन् ।
जुन दिन खान पाउँदैनन् त्यो दिन डोरी र किलोको भरमा अडिएका ति अबोध पशुहरू नियम तोडेर दाम्लो बाहिर आउनेछन् । त्यो दिन तिमीले आफ्नो पुस्ताका लागि जोगाएर राखेका र सम्हालेका सबै धन सम्पति र तिम्रो मालिकपन पनि जमिनमै पसारिनेछन् ।
ए मालिकहरू ! सुन्दै छौ, तिमीहरूलाई लाग्छ होला मैले पालेको छु र खान पाएका छन् । अलिक परसम्म आँखा डुलाउ त मालिक, जंगलमा भएका पशुपक्षीलाई पनि तिमीले नै अन्नपानी भर्छौं ? तैपनि तिनीहरू हामी भन्दा सुखी छन्, के कहिल्यै यो सत्यबोध गरेका छौ ?
हो हामी गरीब छौँ, निमुखा छौँ । आज हामी मालिकका लागि पशु समान भएका छौँ । टाँगा घोडा गाडी तान्दा तान्दा पूरै जिन्दगी पार गरेर बुढो भएका गाडा तान्दातान्दै खुट्टा भाँच्चिएर मालिकलाई फाइदा नहुने अवस्थामा पुगेपछि घरबाट निकालिएका घोडा गधाले खानेकुरा खान नपाएर अन्तिममा माटो खादा खाँदै त्यही माटो निल्ने पानी पनि नपाई केही समयमा यो पापी दुनियाँबाट पार हुन्छ ? ए मालिक, हामी पनि माटो खाउँ त अब ? अब हामी काम नलाग्ने भएका नै हौ त ? तागत सकिएका र खुट्टा भाँचिएका घोडा, गधा जस्तै ?
जुन बेला सरकार फेर्नु पर्यो त्यो बेला सडकमा उत्रेर छातीमा गोली थाप्ने हामी हौँ । तिम्रा पार्टीको शक्ति प्रदर्शन गर्ने बेलामा तालुको पसिना तालुमै सुकाउँदै घाममा पानी नखाई उभिने र तिम्रै इसाराको घोडा गाडी तान्ने हामी नै हो । आज तिमीहरू जुन ठाउँमा छौ त्यो ठाउँमा पुर्याउनलाइ घरपरिवारको वास्तै नगरी खट्ने हामी हो ।
मालिकहरूको सम्झना शक्ति एउटा चुनावबाट अर्को चुनाव नआउन्जेलसम्मका लागि कमजोर हुन्छ । तर, हामी सम्झिरहन्छौँ मालिक । धोका हो मालिक, धोका कसरी बिर्सिइन्छ ? हामी त अझै पनि तिम्रा कुरा मानिरहेछौं र सहिरहेछौँ । हाम्रो प्राण भन्दा तिम्रो नियम ठूलो लाग्दैन अब हामीलाई ।
बालबच्चाको पेटमा पटुका कसेर धेरै दिन अडिन सक्दैनौँ हामी । जुन दिन सकसको सीमा नाघ्छ, हो त्यो दिनबाट मालिकहरूका कुनै नियम कानुनले छेक्न सक्दैन हाम्रो बाटोलाई । ढुक्क हुनू ! मालिकहरूलाई मालिकहरूकै पहरेदारहरूले बचाउन सक्दैनन् । याद राखिबक्सेला मालिक !
सडकमा हिँड्दाहिँड्दै खुट्टा बांगिएर, पानी प्यासले खान नपाएर सडकमै ढलेका छौँ हामीहरू । के यो खबर मालिकहरूको कानसम्म कसैले पुर्याएन ? हामी यति लामो बाटो जीवन मरणको संघारबाट अघि बढिरहेछौँ । के सहरमा खानेकुराको व्यवस्था मालिकहरूबाट भएको भए यस्तो गर्न हामीलाई रहर थियो ?
तिम्रा हातले खै क–कस्लाई के गर्यो ? तिमीहरूलाई नै थाहा होला हामीलाई कसैले केही खुवाएका छन् भने ति विवेकी नेपाली जनताले हो । जनतालाई आफैँ राहत दिन देऊ । बरु हामीकहाँ तुरुन्त आइपुग्छ । कोरोना लागेर मरिन्छ कि भन्ने डर उनीहरुलाई हो, जसलाई खान लाउन बस्नको कुनै पिर छैन । तर, हामीलाई कोरानाभन्दा बढी डर भोकको छ । हामी भोकभोकै कोठामा थुनियर, कोठामै मरेर यहाँहरूलाई कोरोनाबाट बचाइ दिनु पर्ने हो ?
भोकले आन्द्रा बटारिएको बेलामा साथीले एक फुको चाउचाउ कताबाट पाएर दिन्छ त्यो खानु अघि म हात धुनु कि स्यानिटाइजर खोज्न जाउँ मालिक मेरो भोक र प्यासको बेगलाई महसुस गर्नसक्छौँ ? गाँउगाँउ, सहर सहर सरकारका साना देखि ठूला मालिकहरू छन् जो आँखा भएर पनि देख्दैनन् । कान भएर पनि सुन्दैनन् । मन भएर पनि विवेकी बन्दैनन् ।
के मालिकहरू जिउँदै छन् ? मरेका भएनि मालिकहरूको लास बोकेर दुखी हुँदै आँशु बगाउँदै घाट पुर्याउने हामीले नै हो । तिम्रा अरू मालिक त तिम्रो मृत्युमा आफ्नो भविष्य देख्छन् तर हामी तिम्रो मृत्युमा अभिभावक गुमाउँछौँ ।
मालिक हामी निमुखा सानो मुख बोली ठूलो गर्यौं कि ? मालिकहरूलाई ननिको लागे माफ गरिदिनुहोला । तर, हामीलाई चै साह्रै ननिको लागेको छ । जुन दिन जिउँदै घर पुग्छौँ । त्यो दिन झ्याल ढोका बन्द गरेर धित मारेर डाँको छोडेर रुन मन छ । ती साना साना बालबच्चाको भविष्य हेर्दै र आफ्नो रित्तो जिन्दगी नियाल्दै साँच्चै कराउन मन छ । मलाई यो बन्धनको दाम्लो चुँडाउन मन छ । मेरो परिश्रमी हातलाई बजार्न मन छ, आखिर तैँले कस्ता मालिकहरू चुनिस् ?
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ