‘पसिनाको कमाइ जति स्वादिलो अरू केही नहुने रहेछ’ – लक्ष्मीप्रसाद कडरिया

‘पसिनाको कमाइ जति स्वादिलो अरू केही नहुने रहेछ’ – लक्ष्मीप्रसाद कडरिया


‘पसिनाको कमाइ जति स्वादिलो अरू केही नहुने रहेछ’ – लक्ष्मीप्रसाद कडरिया

उज्ज्वल कडरिया । पढ्नु भनेको कि उपरखुट्टी लगाएर जागिर खानु हो– कि अमेरिका अस्ट्रेलिया जानु हो । पछिल्लो दशक युवा पुस्ताको मुख्य लक्ष्य नै यही हो । तर, सबैको सोचाइ एकै हुँदैन । कोही कोही अपवाद पनि हुन्छन् । अपवाद अर्थात्– समाजको यही सोचाइका परिवर्तनकामी । तिनैमध्ये एक हुन्– लक्ष्मीप्रसाद कडरिया ।

एक्कासी गोबर र मुत्रसँग खेल्ने कुरा ठट्टाको विषय हैन । घिनलाग्दो हुन सक्छ, पेसा ठूलो र सानो हुन सक्छ तर यो सधै पवित्र हुन्छ । गाईमा ३३ कोटि देवताको बास हुन्छ भनेर हिन्दु शास्त्रमा समेत उल्लेख छ । पशुपालन व्यवसाय गर्ने भएपछि भकारोमा खेल्न सक्नुपर्छ । यसलाई नै आफ्नो नित्यकर्म बनाउनुपर्छ ।

‘बेरोजगार युवाहरूलाई आफ्नै देशमा रोजगारीको वातावरण तयार पार्ने र वैदेशिक रोजगारमा जानबाट रोक्ने हेतुले २०७२ सालमा नर्मदेश्वर एग्रिकल्चर प्रालि दर्ता गरेर वैज्ञानिक कृषि प्रणाली अनुरूप गाईगोठका स्थायी संरचना तयार गरी गाई फार्म सञ्चालनमा ल्यायौँ । शिक्षण पेसामा कार्यरत हुँदाहुँदै कृषि व्यवसायमा लाग्दा केही समय समाजका मानिस मुखामुख गर्थे,’ उनी भन्छन्, ‘केही काम नपाएर गोबर सोहोर्न थाल्यो समेत भनेका थिए ।’

लिखु तामाकोसी गाउँपालिका– ६ खिम्ती रामेछाप स्थायी घर भएका कडरियाले माध्यमिक तहबाट आफ्नो अध्यापन पेसा सुरु गरेका थिए । घरको आर्थिक अवस्था कम्जोर हुँदाहुँदै पनि उनले सिन्धुली बहुमुखी क्याम्पसबाट स्नातकोत्तरको अध्ययन पूरा गरे ।

२.jpg

तामाकोसी जनजागृति माविलाई उच्चमावि बनाउन आफूले गरेका पहल सम्झँदै उनी भन्छन्, ‘शैक्षिक जगत राम्रो भएपछि मात्र समाज परिवर्तन हुन्छ, शैक्षिक जगतको परिवर्तनबाट मात्रै समाजलाई उज्यालो प्रदान गर्न सकिन्छ ।’

६ वटा भैसीबाट सुरु गरिएको यो फार्मलाई बजारको समस्याले सताएको थियोे । दुई तीन लिटर दूध बोकेर तीन चार किलोमिटर टाढा रहेको हिमाल पावर लिमिटेडमा कार्यरत कर्मचारीको ढोका ढकढक्याउन कडरिया आफै पुग्ने गर्थे । डिग्री गरेको शिक्षक भएता पनि आफ्नो व्यवसायलाई सानो सम्झनु हुँदैन । ‘घृणा गर्नु हुँदैन भनेर म दूध बेच्न एचपीएलसम्म जान्थेँ,’ कडरिया भन्छन् ।

१.jpg

उनी शिक्षणमा पनि उत्तिकै रमाउँछन् र बस्तुभाऊको स्याहारमा पनि । त्यसैले त उनलाई काममा दिक्दार लाग्दैन र जीवन पनि रमाइलो पाराले बिताइरहेका छन् ।

‘बजार खोज्न लागिपर्दाको अनुभव उनी सुनाउँछन् । यसको पर्वाह नगरी हामीले निरन्तरता दियौँ । बेरोजगार युवाहरूलाई कन्भिन्स गर्दै गयौँ,’ उनी भन्छन् । त्यसैको प्रतिफलको रूपमा गाउँका युवाहरूले तीन देखि पाँचवटा गाई पालेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उनको बेलुकी पखको प्रायः समय बिताउने थलो गाईफार्म हो । बिहान दस बजेदेखि चार बजेसम्म विद्यार्थीसँग ज्ञान आदनप्रदान गर्ने काममा उनी व्यस्त हुन्छन् । बिहान चार बजेबाट बेलुका नौ बजेसम्म उनी फार्ममै गाईमातासँग खेलिरहेका हुन्छन् ।

अहिले गाउँमा उनलाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आएकोे छ । गाउँको शिक्षकले कृषि व्यवसाय अँगालेको देखेर गाउँका युवा प्रभावित भई यो व्यवसाय गर्न थालेको र केहीले गर्ने मनस्थिति बनाएका छन् ।

‘हामीले सञ्चालन गरेको फार्मबाट यस व्यवसायप्रति युवाहरूको आकर्षण बढेको देख्दा फार्मको घाटा नाफा केही प्रवाह नगरी सञ्चालनमा ल्याएका हौँ,’ फार्म सम्झदै उनी भन्छ्न्, ‘हामी खुसी छौँ ।’

८.jpg
आफ्ना योजनाहरू सुनाउँदै कृषक–शिक्षक अर्थात् शिक्षक–कृषक कडरिया भन्छन्, ‘गाईफार्मबाट मल्टिप्रपोजको व्यवसाय सञ्चालन गर्न सकिन्छ । फार्मबाट उत्पादित मलमुत्र अर्गानिक खेतीमा प्रयोग गर्ने लक्ष्य छ । यसबाट गाउँमा युवाहरूलाई कृषि व्यवसायमा लाग्न थप प्रेरणा मिल्न सक्छ ।’

हुन पनि हो, गाईको गहुँतदेखि दुधसम्म– बाछोदेखि गोबरसम्म काम लाग्छ । खासमा खेती किसानीमा नास हुने भन्ने कुरा नै केही हुँदैन । जहाँ मानव मलमूत्रलाई फोहोर मानिन्छ– त्यहीँ पशुको मलमूत्रले मल बनेर हामीलाई फल दिइरहेको हुन्छ ।

दैनिक असी लिटर दूध उत्पादन गर्दै आएको फार्ममा बाह्रवटा दूध दिने गाई, तीनवटा वाली भएका कोरोलि गाई र अठार वटा बाच्छाबाच्छी छन् । गाई व्यवसाय दानामुखी नभएर पोषणयुक्त घाँसपातलाई प्रयोगमा ल्याउन सके दूध उत्पादन बढाउन र आर्थिक रूपमा समेत सहज वातावरण बन्ने उनको धारणा छ ।

बिग्रेको आर्थिक अवस्थालाई सुधार ल्याउने काम शैक्षिक जगतले उनको जीवनमा गरे तापनि अरुको निर्देशनमामा काम गर्नु पर्दा स्वतन्त्र रूपमा काम गर्ने नसक्ने बताउँछन् । करिब अठ्ठाईस वर्षदेखि शिक्षण पेसामा कार्यरत उनी सेवानिवृत्त भएपश्चात आफ्नो सम्पूर्ण समय गाईको सेवामा बिताउने योजना बनाएका छन् । उनी भन्छन्, ‘तिनीहरूसँग आत्मियता साटासाट गरी तिनका प्रेममा रमाउँदाको आत्मासन्तुष्टिको क्षण बाआमाको काखमा पाउने खुसी पछाडिको पहिलो हो । प्रेम र मायाको भण्डार भनेकै पशुप्राणी हुन् । यिनीहरूको दर्शनबाट यी कुरा पाइन्छ ।’

६.jpg

जसरी बुढाबुढी भए पनि बाबुआमाको माया बूढो हुँदैन झन् रसिलो हुन्छ त्यसै गरी गाईबस्तुको गोबर घिनलाग्दो मात्रै हुँदैन मलिलो पनि हुन्छ भन्ने उनको बुझाइ रहेको छ ।

कृषिलाई आधुनिकीकरण गर्ने गरी अनुदानका कार्यक्रम आएका छन् । बेरोजगारको संख्या न्यूनीकरण गर्न यस्ता अनुदानका कार्यक्रम प्रभावकारी हुन सक्छन् । उत्पादनमुखी काम गर्ने कृषक वा व्यवसायी पहिचान गरी अनुदानको प्रयोग गर्न सके अनुदान फलदायी हुन सक्ने उनी बताउँछन् । नाम मात्र बेचेर अनुदानको गलत प्रयोग गर्नेको संख्यामा वृद्धि हुने होकि भन्ने उनमा चिन्ता छ ।

२०६३ सालमा कृषि तथा पशुपक्षी मन्त्री छविलाल विश्वकर्माद्वारा उद्घाटित जनहित दूग्ध उत्पादक सहकारी संस्थालाई सञ्चालनमा ल्याउन खिम्तीका आदरणीय व्यक्ति मुकुन्दप्रसाद कडरियाले गरेको पहल सम्झिँदै उनी भन्छन्, ‘अनुदानको सही प्रयोग वास्तविक फर्म र कृषकलाई उपलब्ध गराउन सके बेरोजगारको समस्या रहँदैन, वैदेशिक रोजगारमा गएर सन्तान गुमाउनुको पीडा र उतै चरम यातनाले नेपाली युवा प्रताडित हुनुपर्ने खबर सुन्नुपर्दैन ।’

७.jpg

व्यक्तिगत खिचातानी र आपसी वैमनस्यता त्यागी उत्पादनमुखी व्यवसायमा लागेका युवा जनशक्तिको परिचालन गर्न सक्यो भने स्थानीय सरकारबाटै स्थानीय तहमै धेरै व्यवसाय सञ्चालनमा ल्याउन सकिने उनी बताउँछन् । राज्यले कृषिमा गरेको लगानी ठूलो मात्रामा फ्रिज भइहेको दुखद कुरा सम्झँदै उनी भन्छन्, ‘अनुदानका कार्यक्रम समय हुँदै ल्याउनुपर्छ । असार मसान्तमा बजेट फ्रिज हुन्छ, तीन चार महिना पहिले अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउन सूचना जारी गरिन्छ । समय अभावका कारण काम नसकिँदै समय गुज्रिन्छ । कतिले त सूचना आएको सूचना नै पाउँदैनन् ।’

असली व्यवसायी पहिचान गर्न नसक्दा देखावटी फर्म सञ्चालन गरी अनुदानको दुरुपयोग गर्ने र व्यवसायलाई धरापमा पार्ने काम हुँदै आएको छ । यो राष्ट्रघात हो । राज्यको पैसा पचाउने नियति हो । अशिक्षित र सामाजिक सञ्जालमा पहुँच नहुनेहरूले अनुदानको प्रयोग गर्न पाइरहेका छैनन् । उनी भन्छन्, ‘सबैको पहुँचमा पुग्ने गरी बजेट ल्याउँदा राज्यको लगानीले सफलता प्राप्त गर्न सक्छ ।’

97992438_248066342963928_5054491670561685504_n.jpg

सिँचाइको पर्याप्त व्यवस्था भएको र नभएका धेरै जग्गाजमिन बाँझो भई उत्पादनविहीन भएर बसेका छन् । सिँचाइको व्यवस्था नभएका स्थानमा लिफ्ट सिँचाइ प्रणाली अपनाएर भए पनि उत्पादन गर्न सकिन्छ । ती जमिनलाई उत्पादन योग्य जमिनमा परिणत गर्न सकियो भने विदेशबाट सम्पूर्ण युवा आए पनि नेपालमा बेरोजगारीको समस्या नरहने उनको तर्क छ ।

मेरो कपाल यही माटोमा फुलाउँछु भन्ने प्रभाव युवाहरूलाई पर्ने गरी कृषिलाई आधुनिकीकरण गर्दै सामूहिक कृषि खेती, अर्गानिक खेती, दूधजन्य व्यवसाय सञ्चालनमा ल्याउँदा विदेशबाट आउने युवा पनि आफ्नै माटो रसिलो बनाउन लागि पर्ने उनी बताउँछन् । पसिनाको कमाइ जति स्वादिलो अरू केही नहुने रहेछ भन्ने उनले बुझिसकेका छन् ।

कामना न्यूज

  • आइतवार, जेठ ११ २०७७०१:५२:३४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ