मैले दाइ भन्ने गरेको मान्छेले मेरो यो हाल बनाउँछ भन्ने सोचेकी थिइनः पवित्रा कार्की

मैले दाइ भन्ने गरेको मान्छेले मेरो यो हाल बनाउँछ भन्ने सोचेकी थिइनः पवित्रा कार्की


मैले दाइ भन्ने गरेको मान्छेले मेरो यो हाल बनाउँछ भन्ने सोचेकी थिइनः पवित्रा कार्की
  • सीमा त्रिताल

भत्भत् पोलिरहेको घाउलाई छोपेर साउने झरीसँगै साउने मेहेन्दी लगाएर कीर्तिपुर अस्पतालको बर्न वार्डको ३ नम्बरमा उनी काहालीलाग्दो घटना सम्झिएर भक्कानिँदै बर्खे झरीको भेलसरि उनका आँसु गर्जिन थाल्छन्। उनी भन्छिन्, ‘दिदी, पानी, हिलो छ्याप्ने त अधिकार हुन्न कसैलाई भने मलाई त एसिड छ्यापिएको छ।’ भावुक हुँदै उनी थप्छिन्, ‘एसिडको बदला एसिड नै हुनपर्छ अब कानुनमा!’ त्यो व्यक्तिले पनि अनुभूत गर्नुपर्छ कति पीडा हुन्छ भन्ने उनको घिडघिडो रहेको छ।

जोकोहीले पनि अनुभूत् गर्न सक्छ, एक युवतीमाथिको एसिड प्रहारले उनको जिन्दगी र त्यसको आभा, सपना र रहरहरू कसरी बिलाएर जान्छन्।

एसिडको जलनले पोलिरहेको पीडा र सुईले घोचेको त्यो पीडासँगै अनिदो रहेका ती राता आँखा र बैचेनीले गर्दा हालखबर बुझ्न, सोध्न र आउने साथीभाई देख्दा उनका आँखाबाट साउने झरी झैँ आँसु बर्साल्दै अस्पतालको शैय्यामा पल्टिरहेकी छन्।

उच्च शिक्षा हासिल गरिसकेकी पवित्रा कार्की होटल हायातमा एकाउटेन्टका रूपमा काम गर्दै आइरहेकी थिइन। कोरोना महामारीका कारण लकडाउनले बन्द भएको थियो उनको अफिस। सोही समय मिलाएर दिदीको कोठामा बस्न एक महिनाका लागि गएकी थिइन् पवित्रा। त्यही समयमा छ्यापिदियो एसिड भन्दै भक्कानिन्छिन् पवित्रा।

पवित्रा निकै नै डराइरहेकी छन्। एसिड प्रहारले उनको दाँया गाला नराम्रोसँग पोलिएको छ। घाँटी, नाक र हातमा पनि छिटा परेको देखिन्छ। त्यसदिन मास्क लगाएकोले बाँयापट्टि एसिड पर्नबाट जोगिएको उनी बताउँछिन्।

अस्पतालको बेडमा भक्कानिदै उनी भन्छिन्, ‘अनुहारमा एसिड परेपछि आफू कराउँदै दौडिँदै बाथरुम पुगेर अनुहार पखाले र चिच्याउँदै पुनः घरबाहिर निस्किए।’

पवित्रामाथि भएको कहालीलाग्दो घट्नाको इतिवृत्तिः

२०७७ साल साउन महिना बिहीबारका दिन साझँ सात बजेतिर काठमाडौँको सितापाइलास्थित आफ्नो कोठादेखि नजिक रहेको सेल्सबेरीमा दही चिउरा किन्न गएकी थिइन उनी । किनमेल गरेर फर्कदै गर्दा चिनेजानेको एक व्यक्ति मोहमद आलमले बाइकमा पुर्याइदिन्छु भनेर लिडेढिपी गर्दा नकार्नै सकिनन् उनले। आलमले उनलाई बाफल चोकसम्म छोडिदिए। त्यहाँबाट उनी आफ्नो कोठातर्फ लागिन्। कोठा पुग्नै लाग्दा बाटोमा एकजना अपरिचित पर्खालतर्फ फर्केर उभिइरहेको थियो। बाटोमा अरू कोही थिएनन्। त्यही मान्छेले नै एसिड छ्याप्यो । पीडाले भाउन्न भएर घरभित्र पसी बाहिर आउँदा वरिपरिका सबै मान्छेहरू जम्मा भइसकेका थिए।

त्यसपछि छिमेकमा रहेका दाइहरूले एम्बुलेन्स बोलाएर त्यहीँ नजिकको मनमोहन अस्पतालमा भर्ना गरिदिए। त्यो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर अस्पतालमा ल्याइएको हो ।
यता पवित्रालाई एसिड छ्यापेको खबरले ओखलढुङ्गाको गाउँमा रहेकी आमा बिहोस् छिन।

आलमले फोन गरिरहन्थ्यो पवित्रालाई। तर, आफू काममा बिजी भइरहने हुनाले फोन नउठाउने गरेको उनी बताउछिन्। पवित्रा भन्छिन, ‘त्यस्को त म जत्रै छोराछोरी छन्। त्यसलाइ म दाइ भन्थे ।’ पवित्रा पुनः भक्कानिदै भन्छिन्, त्यो मान्छेले यस्तो हालत बनाइदिन्छ भन्ने मैले सपनामा पनि सोचेकी थिइन।’

आलमले धेरैपटक फोन गरिराख्दा ब्लक लिस्ट्मा राखिदिएको र पछिपनि अरू नम्बरबाट फोन गरिराख्ने गरेको पवित्रा बताउँछिन्।

त्यसपछि लामो सास फेर्दै सुरू गर्छिन् बेलीबिस्तार। मलाई औधि मन पर्छ मेहेन्दी चुरा लगाएर साउनमा व्रत बस्न। साउनमा व्रत बसे राम्रो वर मिल्छ रे त्यही भएर मैले पनि लगाइदिएको मेहेन्दी। उनको यस्तो कुरा सुनेर नजिकै बसेकी दिदीका आँखाभरि आँसु टिलपिल हुन्छन्। दाजु सहन नसकेर बाहिर निस्किन्छन्।

त्यस्तै २०७६ सालमा एसिड प्रहार कै सिकार भएकी मुस्कान खातुन पवित्रालाई सम्झाउन बुझाउन घरिघरि आइरहन्छिन् अस्पतालमा। खातुन उनीसँग कुराकानी गर्दै भन्छिन्, ‘हामीले लजाउन, ढकाउन, डर मान्न हँुदैन। हामीले जति हाम्रो मनोबल बढाउछौँ त्यति नै हाम्रा अपराधीहरू कमजोर बन्दै जान्छन्।’

खातुन निराश हुँदै फेरि बोल्छिन्। हामीले हाम्रो जस्तो जिन्दगी पाएका छौँ त्यसमै खुसी बन्नुपर्छ।

सरकारले एसिड प्रहार गर्नेहरूका लागि कडा भन्दा कडा सजाय हुने नियम कानुन बनाउनुपर्छ । हाम्रा अपराधीहरूलाई कडा कारबाही गरे अबका दिनमा हामीजस्तै हाम्रा दिदीबहिनीहरू एसिडको सिकार बन्न नपर्ने खातुनको विचार छ।

त्यस्तै २०७६ मा काठमाडौँको कालोपुलस्थित बस्दै आएकी जेनी खड्का पनि आफ्नै पति विष्णु भुजेलद्वारा एसिड प्रहार भएको थियो। उनको गाला, घाँटी र हात जलेको छ। जेनीलाई सल्लाह गर्न भनी बोलाएर एसिड प्रहार भएको थियो।

यसअघि २०७२ साल फागुनमा काठमाडौँको झोछेमा ट्युसन पढ्न गएका दुई किशोरी सीमा बस्नेत र संगीता मगरमाथि पनि एसिड प्रहार भएको थियो।

प्लास्टिक सर्जन डा. शंकर राईका अनुसार पवित्राको ३ प्रतिशत छाला जलेको बताएका छन। बिस्तारै निको हुँदै जान्छ, पवित्रालाई लिएर अब आत्तिनु पर्ने नरहेको उनी बताउँछन्।


भतभत् पोलिरहेको शारीरिक पीडासँगै मानसिक पीडाले झनै पोलिरहेकी पवित्रा यतिखेर अस्पतालको शैय्यामा बसेर कहिले यो शारीरिक पीडाबाट मुक्त भएर घर फर्किन पाउला भन्दै दिन गनेर बसिरहेकी छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ