कामदार अभाव हुँदा सडक कालोपत्रको काम रोकियो

कामदार अभाव हुँदा सडक कालोपत्रको काम रोकियो


कामदार अभाव हुँदा सडक कालोपत्रको काम रोकियो

पर्वत । कोरोना भाइरसको असरका कारण जिल्लाका सडकमा कालोपत्र गर्ने काम रोकिएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी जिल्लामा ४३ वटा सडक कालोपत्रको चरणमा छन्। लकडाउन शुरू भएसँगै भारतीय कामदार घर फर्किएपछि सडकको काम रोकिएको सम्बन्धित आयोजनाले जनाएको छ। 

गत चैत ११ गतदेखि भएको लामो लकडाउनका कारण भारत तथा तराईबाट आएका सबै कामदार घर फर्किएपछि कालोपत्र गर्ने काम ठप्प बनेको निर्माण व्यवासायीहरुको भनाइ छ। गत आर्थिक वर्षभित्रै सक्ने गरी सम्झौता भएका आठ वटा सडक कालोपत्र हुन नपाएर रोकिएका छन्। तीमध्ये पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएका चिसापानी–हुवास (१० किलोमिटर), कुश्मा–दुर्लुङ (पाँच किलोमिटर), सिल्मी–कार्कीनेटा (साढे पाँच किलोमिटर) सडकको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको थियो। 

व्यवसायीले यी सबै सडक कालोपत्र गर्न तयारी अवस्थामा राखेका थिए। स्थिति सहज भएको भए सबैजसो सडक ठेक्का सम्झौता भन्दा झण्डै दुई महिनाअगावै सकिने व्यवसायीहरुको भनाइ छ। “लकडाउन नभएको भए सबै काम जेठभित्रै सकिन्थ्यो”, कुश्माको मुख्य सडक कालोपत्रको जिम्मा लिएका व्यवसायी दीपक श्रेष्ठले भने, “उतिबेला तयारी अवस्थामा राखेका धेरैजसो सामान कामै नलाग्ने भए। अब कामदार ल्याउन पनि मुस्किल छ।” 

जिल्लाका सबै स्थानीय तहसम्म पुग्ने सडक कालोपत्र गर्न अघिल्लो वर्षदेखि संघ, प्रदेश र स्थानीय तहले करोडौं रुपैयाँ बजेट विनियोजन गरेका थिए। पूर्वाधार विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कालोपत्रको चरणमा मात्रै ४३ वटा सडक छन्। ती सडकका लागि संघ, प्रदेश र स्थानीय सरकारको करीब एक अर्ब ५० करोडभन्दा बढी बजेट छ। यो बजेट अघिल्लो र यो वर्ष निर्माणाधीन सडकमा पूर्वाधार विकास कार्यालयबाट खर्च भइरहेको छ।

पूर्वाधार विकास कार्यालय पर्वतका सूचना अधिकारी गौरवदास बैरागीले अरु सबै काम तीब्र रुपमै भए पनि कालोपत्र मात्रै रोकिएको बताए। “कालोपत्र गर्न भारतवाटै मान्छे ल्याउनुपर्छ”, उनले भने, “अहिले त्यसैले रोकिनुपर्यो।”

“कालोपत्रेको काम नेपाली मजदूरहरूले गर्दैनन्”, उनले भने, “सीप भएका भारतीय कामदार नहुँदा काम रोकिएको हो।” सबै काम सकिएका सडक कालोपत्र गर्न नपाउँदा वर्षाको बाढीले धेरै क्षति पुगेको उनको भनाइ छ। कोरोना सङ्क्रमण जोखिम बढिरहेको भए पनि सुरक्षित तवरले मजदूर ल्याएर काम गर्न अवरोध नगरेको कार्यालयले जनाएको छ। 

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पनि कालोपत्रको लागि तयारी अवस्थामा छ। लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालका अनुसार कामदार अभाव हुँदा आयोजनाको काम अलपत्र बनेको छ। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ