Logo

बिहिवार, आश्विन १ गते २०८३

नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा


-ख्यामकान्त अर्याल 

हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक र पौराणिक महत्त्व छ । आखिर किन गरिन्छ नागको पूजा ?  नेपालका गाउँघरमा नाग थानको महत्त्व के छ ? र नाग पञ्चमीको दिन घरको मूल ढोकामा नागको तस्विर टाँस्ने सही विधि के हो ? के नाग साँच्चै देवता हुन् ? वा यो प्रकृति संरक्षणसँग जोडिएको हाम्रो पुरानो वैज्ञानिक संस्कृति हो ?

नाग पञ्चमी कहिले मनाइन्छ ?

        "धार्मिक मान्यता अनुसार नागलाई पानी र शक्तिको स्रोत मानिन्छ। वर्षा गराउने र खडेरीबाट बचाउने शक्ति नागसँग हुने विश्वास गरिन्छ । पौराणिक कथा अनुसार, जब पाण्डव वंशका राजा जनमेजयले आफ्ना पिता परीक्षितको बदला लिन संसारका सबै सर्पहरूलाई नष्ट गर्न 'सर्प सत्र यज्ञ' सुरु गरे, तब आस्तिक मुनिले उक्त यज्ञ रोकेर सर्पहरूको रक्षा गरेका थिए। त्यो दिन साउन शुक्ल पञ्चमी थियो, र सोही दिनदेखि नाग पूजाको परम्परा सुरु भएको मानिन्छ ।"

        "काठमाडौँ उपत्यकाको इतिहाससँग पनि नागको गहिरो सम्बन्ध छ । लोककथन अनुसार, पहिले काठमाडौँ एउटा ठूलो पोखरी थियो। जब यहाँको पानी बाहिर पठाइयो, तब नागहरू रिसाएर अनिकाल र खडेरी पर्यो। त्यसपछि अनिष्ट रोक्न नागहरूको पूजा गर्ने र उनीहरूलाई उपत्यकामै बस्ने स्थान दिने सहमति भयो । त्यसैले आज पनि टौदह, नागदह जस्ता स्थानहरूमा विशेष मेला लाग्छ।"

यो हिन्दु तथा बौद्ध लामा परम्परा समुदायका लागि महत्वपूर्ण पर्व हो । नेपालभर विशेष गरी पहाडी तथा ग्रामीण क्षेत्रमा यो पर्व अत्यन्त श्रद्धापूर्वक मनाइन्छ।

नाग पञ्चमीको पौराणिक कथा

१. जनमेजयको सर्पयज्ञ :-

        जनमेजयको सर्पयज्ञ (सर्पसत्र) – जनमेजयको सर्पयज्ञ महाभारतमा वर्णित एक प्रसिद्ध पौराणिक घटना हो । यो कथा मानव र नाग जातिबीचको द्वन्द्व, प्रतिशोध, क्षमा र मेलमिलापको सन्देश दिने महत्वपूर्ण प्रसंग मानिन्छ । राजा परीक्षित अर्जुनका छोरा अभिमन्युका पुत्र तथा पाण्डव वंशका राजा थिए । एक दिन शिकार खेल्दै जाँदा उनी अत्यधिक थाकेका र तिर्खाएका थिए । त्यस क्रममा उनी ऋषि शमिकको आश्रममा पुगे। ऋषि ध्यानमा मग्न भएकाले उनले कुनै उत्तर दिएनन् । आफूलाई बेवास्ता गरिएको ठानेर क्रोधित परीक्षितले मृत सर्प उठाई ऋषिको घाँटीमा राखिदिए । ऋषिका छोरा श्रृङ्गी ऋषिले यो घटना थाहा पाएपछि क्रोधमा राजा परीक्षितलाई श्राप दिए:"आजदेखि सातौँ दिनमा तक्षक नागले डसेर राजा परीक्षितको मृत्यु हुनेछ।" सातौँ दिनमा शक्तिशाली तक्षक नागले राजा परीक्षितलाई डसे, र उनको मृत्यु भयो । राजा परीक्षितका छोरा जनमेजय आफ्ना पिताको मृत्युबाट अत्यन्त दुःखी र क्रोधित भए । उनले सम्पूर्ण नाग जातिलाई नष्ट गर्ने उद्देश्यले विशाल सर्पयज्ञ (सर्पसत्र) आयोजना गरे । वैदिक मन्त्रहरूको प्रभावले संसारभरिका नागहरू आकाशबाट तानिँदै यज्ञको अग्निमा खस्न थाले । हजारौँ नाग अग्निमा भस्म भए । तक्षक नाग आफ्नो ज्यान बचाउन देवराज इन्द्रको शरणमा पुगे । इन्द्रले तक्षकलाई आफ्नो सिंहासनमा स्थान दिए । तर यज्ञ गर्ने ब्राह्मणहरूले मन्त्र उच्चारण गर्दा इन्द्रसहित तक्षक पनि यज्ञकुण्डतर्फ तानिन थाले । स्थिति अत्यन्त भयावह बन्न पुग्यो । त्यस समयमा महान् विद्वान ऋषि आस्तिक यज्ञस्थलमा पुगे । आस्तिकका पिता ऋषि जरत्कारु र माता नागकन्या जरत्कारु भएकाले उनी मानव र नाग दुवै वंशसँग सम्बन्धित थिए । उनले राजा जनमेजयसँग विनम्रतापूर्वक भने: "महाराज, प्रतिशोधले कहिल्यै शान्ति ल्याउँदैन । निर्दोष नागहरूको विनाश उचित होइन । कृपया यो यज्ञ रोक्नुहोस् । "राजा जनमेजय आस्तिकको ज्ञान, विनम्रता र धर्मयुक्त वचनबाट प्रभावित भए । उनले तत्काल सर्पयज्ञ रोक्ने आदेश दिए । यसरी तक्षक नागसहित बाँकी नागहरूको जीवन बच्यो ।

    जनमेजयको सर्पयज्ञले हामीलाई धेरै महत्वपूर्ण शिक्षा दिन्छ:

  • प्रतिशोधभन्दा क्षमा श्रेष्ठ हुन्छ ।
  • क्रोधले विनाश निम्त्याउँछ, विवेकले समाधान दिन्छ ।
  • निर्दोषलाई दण्ड दिनु अधर्म हो ।
  • संवाद र मेलमिलापले द्वन्द्वको अन्त्य गर्न सक्छ ।
  • प्रकृति र सबै जीवप्रति सम्मान आवश्यक छ ।

धार्मिक परम्पराअनुसार, ऋषि आस्तिकले सर्पयज्ञ रोकेको दिन श्रावण शुक्ल पञ्चमी परेको मानिन्छ । त्यसैको स्मरणमा नागदेवताको पूजा गर्ने परम्परा विकसित भएको विश्वास गरिन्छ । 

प्राचीन समयमा कालिय नामक एक अत्यन्त विषालु र शक्तिशाली नाग थियो । उसको मूल बसोबास रमणक द्वीपमा थियो । तर गरुडसँगको वैरका कारण कालिय त्यहाँबाट भागेर यमुना नदीको एउटा गहिरो दह (कालियदह) मा आएर बस्न थाल्यो । गरुडले एक ऋषिको श्रापका कारण त्यस स्थानमा प्रवेश गर्न नसक्ने भएकाले कालियले त्यही स्थानलाई सुरक्षित ठानेको थियो । कालियको विष यति शक्तिशाली थियो कि— यमुना नदीको पानी विषालु भयो, नदी किनारका रूखहरू सुक्न थाले, चराचुरुङ्गी नदीमाथि उड्दा पनि विषका कारण मर्न थाले । गाईवस्तु र अन्य जनावरहरूले पानी पिएपछि ज्यान गुमाउन थाले । यसले सम्पूर्ण वृन्दावनका बासिन्दा चिन्तित भए । 

एक दिन ग्वालबालहरूसँग खेल्दै गर्दा श्रीकृष्ण कालियदह नजिक पुगे । उहाँले देख्नुभयो कि नदीको पानी विषले दूषित भएको छ र जनजीवन संकटमा परेको छ । त्यसपछि श्रीकृष्णले सबैको हितका लागि कालिय नागलाई नियन्त्रण गर्ने निर्णय गर्नुभयो । कालिय नागसँगको सामना श्रीकृष्ण एक विशाल कदम्बको रूखमा चढ्नुभयो र त्यहाँबाट यमुना नदीमा हाम फाल्नुभयो । पानीमा ठूलो हलचल भयो । यो देखेर कालिय नाग अत्यन्त क्रोधित भयो । उसले श्रीकृष्णलाई आफ्ना विशाल फण र कुण्डलीले बेर्‍यो । किनारमा रहेका ग्वालबाल, नन्दबाबा, यशोदा र सम्पूर्ण वृन्दावनवासी अत्यन्त भयभीत भए । कृष्णले सहजै कालियको बन्धनबाट आफूलाई मुक्त गर्नुभयो । त्यसपछि उहाँ कालिय नागका अनेकौँ फणमाथि चढ्नुभयो र दिव्य नृत्य गर्न थाल्नुभयो । हरेक पाइलासँगै कालियको अहंकार र शक्ति कमजोर हुँदै गयो । अन्ततः कालियले आफ्नो पराजय स्वीकार गर्‍यो । कालिय नागका पत्नीहरू (नागपत्नीहरू) श्रीकृष्णको चरणमा आई प्रार्थना गर्न थाले । उनीहरूले भने— "हे प्रभु! हाम्रो पतिले अज्ञानवश अपराध गरेको हो । कृपया उहाँलाई क्षमा गर्नुहोस्।" श्रीकृष्ण दयालु हुनुहुन्थ्यो । उहाँले कालियलाई मार्नुभएन । श्रीकृष्णले कालियलाई भन्नुभयो— "यो स्थान छोडेर आफ्नो पुरानो निवास रमणक द्वीपमा फर्क । अबदेखि कसैलाई दुःख नदेऊ ।" श्रीकृष्णका चरणचिह्न कालियको फणमा अंकित भएपछि गरुडले पनि उसलाई आक्रमण नगर्ने विश्वास गरिन्छ । त्यसपछि कालिय आफ्नो परिवारसहित यमुना छोडेर गयो । यमुना नदी फेरि शुद्ध र स्वच्छ बन्यो । यस कथाले हामीलाई महत्वपूर्ण सन्देश दिन्छ—

  • अहंकारको अन्त्य निश्चित हुन्छ ।
  • दुष्टतालाई नियन्त्रण गर्न साहस आवश्यक हुन्छ ।
  • साँचो शक्ति विनाशमा होइन, संरक्षणमा हुन्छ ।
  • क्षमा र करुणा महान् गुण हुन् ।
  • प्रकृति र जलस्रोतको संरक्षण सबैको दायित्व हो ।

    नाग पञ्चमीमा श्रीकृष्ण र कालिय नागको कथा विशेष रूपमा स्मरण गरिन्छ । यसले नागप्रति अन्धविश्वास वा डर मात्र होइन, प्रकृतिसँग सन्तुलित सहअस्तित्व, जलस्रोतको संरक्षण र सबै जीवप्रति सम्मान गर्नुपर्ने सन्देश दिन्छ । श्रीकृष्ण र कालिय नागको कथा केवल एक चमत्कारिक पौराणिक घटना मात्र होइन, यो साहस, करुणा, क्षमा, प्रकृति संरक्षण र अहंकारमाथि धर्मको विजयको अमूल्य सन्देश बोकेको प्रेरणादायी कथा हो । त्यसैले यो प्रसंग नाग पञ्चमीको महत्व बुझ्न पनि विशेष रूपमा स्मरण गरिन्छ ।

३. भगवान शिव र नाग

    हिन्दु धर्ममा भगवान शिवलाई देवाधिदेव महादेव भनिन्छ । उहाँको स्वरूपमा जटाबाट बगिरहेको गंगा, शिरमा अर्धचन्द्र, शरीरमा भस्म र घाँटीमा बेरिएको नाग विशेष आकर्षणको विषय हो । तर प्रश्न उठ्छ— भगवान शिवले नागलाई किन धारण गर्नुभयो ? यसको धार्मिक र आध्यात्मिक अर्थ के हो ? धर्मग्रन्थहरूमा भगवान शिवको घाँटीमा वासुकी नाग रहेको उल्लेख पाइन्छ । वासुकी नागलाई नागराज अर्थात् नागहरूको राजा मानिन्छ । समुद्र मन्थनका समयमा पनि वासुकी नागलाई नै मन्थनको डोरीका रूपमा प्रयोग गरिएको वर्णन पाइन्छ ।

शिवले नाग धारण गर्नुको पौराणिक कथा:- समुद्र मन्थनका क्रममा हलाहल विष निस्कियो। त्यो विषले सम्पूर्ण सृष्टि नष्ट हुने अवस्था आयो । देवता र दानव दुवैले भगवान शिवसँग सहायता मागे । संसारको रक्षा गर्न भगवान शिवले हलाहल विष पिउनुभयो । देवी पार्वतीले विष घाँटीभन्दा तल जान नदिन घाँटी थामिदिनुभयो । त्यसैले शिवको घाँटी नीलो भयो र उहाँ नीलकण्ठ भनेर प्रसिद्ध हुनुभयो । कथाअनुसार वासुकी नाग पनि शिवसँगै रहँदै विषको प्रभावलाई सहन सक्ने शक्ति र निर्भयताको प्रतीक बने । भगवान शिवको घाँटीमा नाग हुनुको गहिरो आध्यात्मिक सन्देश छ ।

   १. भयमाथि विजय :- सर्पलाई मानिसले सामान्यतया डरको प्रतीक मान्छन् । तर भगवान शिवले त्यही सर्पलाई आफ्नो आभूषण बनाउनुभयो । यसले सिकाउँछ— जसले आफ्नो डरलाई जित्छ, उसले जीवनमा सफलता प्राप्त गर्छ ।

   २. इन्द्रिय र इच्छामाथि नियन्त्रण :- नागलाई शक्तिशाली प्रवृत्ति र इच्छाको प्रतीक पनि मानिन्छ । शिवले नागलाई नियन्त्रणमा राखेको अर्थ— आफ्ना इच्छा, क्रोध, लोभ र अहंकारलाई नियन्त्रण गर्न सक्नुपर्छ ।

   ३. मृत्युमाथि विजय :- सर्पलाई काल वा मृत्युको प्रतीक पनि मानिन्छ । भगवान शिवलाई महाकाल भनिन्छ । यसले सन्देश दिन्छ— सत्य, योग र आत्मज्ञान प्राप्त गर्ने व्यक्तिले मृत्युको भयलाई पनि जित्न सक्छ ।

   ४. प्रकृतिसँग सहअस्तित्व :- भगवान शिव केवल मानवका देवता होइन, सम्पूर्ण जीवजन्तुका संरक्षक मानिन्छन् । उहाँको परिवारमा— नन्दी, नाग, सिंह, मुसा, मयूर जस्ता विभिन्न जीवहरू छन् । यसले सबै जीवप्रति सम्मान र सहअस्तित्वको भावना प्रकट गर्छ ।

       नाग पञ्चमीका दिन भगवान शिवको विशेष पूजा गरिन्छ । किनभने शिव र नागको सम्बन्ध अत्यन्त घनिष्ठ मानिन्छ । यस दिन भक्तजनले शिवलिङ्गमा जल, दूध, बेलपत्र चढाएर नागदेवताको पनि पूजा गर्छन् र परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्छन् । भगवान शिव र नागको सम्बन्धले हामीलाई सिकाउँछ—

  • डरमाथि विजय हासिल गरौँ।
  • क्रोध र अहंकारलाई नियन्त्रण गरौँ।
  • सबै जीवप्रति दया र सम्मान राखौँ।
  • प्रकृति र वातावरणको संरक्षण गरौँ।
  • संयम, धैर्य र आत्मज्ञानलाई जीवनको आधार बनाऔँ।

                भगवान शिवको घाँटीमा रहेको नाग केवल एउटा अलंकार होइन। यो निर्भयता, आत्मसंयम, आध्यात्मिक शक्ति, प्रकृतिप्रतिको सम्मान र जीवनमा सन्तुलनको गहिरो प्रतीक हो । यसैले नाग पञ्चमीका अवसरमा नागदेवताको पूजा गर्दा भगवान शिवको स्मरण पनि गरिन्छ। यस पर्वले हामीलाई सबै जीवसँग प्रेम, सहअस्तित्व र प्रकृति संरक्षणको सन्देश दिन्छ ।

गाउँघरमा नागथानको पूजा

"हाम्रो नेपाली गाउँघरमा नाग पञ्चमीको रौनक छुट्टै हुन्छ । गाउँका हरेक टोल वा खेतको कुनामा एउटा 'नागथान' हुन्छ । विशेषगरी जमिनमुनि बस्ने नागदेवता रिसाएमा कृषि कार्यमा बाधा पुग्ने र परिवारमा बिरामी हुने जनविश्वास छ । खेतबारी खन्दा वा खनजोत गर्दा अन्जानमा सर्पहरू मरेका भए सो पापबाट मुक्ति पाउन र हलो जोत्ने गोरु तथा किसानको रक्षाका लागि नागराजसँग क्षमा मागिन्छ ।"

गाउँघरमा नागथानमा पूजा गर्ने तरिका

नेपालका धेरै गाउँमा नागथान वा नागदेवताको स्थान हुन्छ । 

पूजा गर्ने सामग्री
केराको पात (पिठोको नाग राख्ने) टपरी, दूबो, अक्षता, चामलको पिठो र कोईलाको धुलो (नागको आकृति बनाउन) फूल, धूप, दीप, दूध, दही, चन्दन, सिन्दुर, कुश,  फलफूल, प्रसाद (खिर, रोटी), मास(नागको आँखा बनाउन), तिल
पूजा विधि
१। बिहान स्नान गरी सफा वस्त्र लगाउने।
२। नागथान सफा गर्ने।
३।  दियो, कलश, गणेश स्थापना गर्ने,
४. केराको पात ओछ्याउने, पिठोको नाग,  आकृति बनाई राख्ने (दुबोको जिब्रो, कुशको पुच्छर, मासको आँखा, कोईलाको धुलो र सिन्दुर शरिरमा लगाईदिने, तिल, जौ छर्कने),लावा, कपास, धूप दीप बाल्ने ।
४। दूबो, फूल, अक्षता अर्पण गर्ने।
५। दूध वा जल प्रतीकात्मक रूपमा चढाउने ।
६। नागदेवताको मन्त्र जप गर्ने ।
७। परिवारको सुख, शान्ति, वर्षा र समृद्धिको कामना गर्ने ।

"अब जानौँ, नाग पञ्चमीको दिन घरमा नागको तस्विर टाँस्ने सही र शास्त्रसम्मत तरिका के हो। यसका लागि तपाईँले यो क्रमबद्ध विधि अपनाउन सक्नुहुन्छ:"

१. सामग्रीको तयारी:पूजा सुरु गर्नु अघि

    पहिले हातैले चित्र बनाइन्थ्यो। अहिले छापिएको नागको चित्र पनि प्रयोग गरिन्छ । (जसमा अष्टनागको नाम हुन्छ), गाईको गोबर, दुबो, कपासको बत्ती (लाभा), अक्षता, चन्दन, र काँचो दूध एउटा थालीमा तयार पार्नुहोस् । धर्मग्रन्थमा आठ प्रमुख नागको उल्लेख पाइन्छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिक, कर्कोटक, शंख यी सबैलाई नाग पञ्चमीमा स्मरण गरिन्छ ।

२. ढोका र चित्रको तयारी : सफा गर्ने र गोबर लगाउने

   घरको मूल ढोकाको माथिल्लो भागलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसपछि नागको चित्रको चारै कुनामा थोरै गाईको गोबर लगाउनुहोस्। गोबरले चित्रलाई ढोकामा टाँस्न गम (Glue) को काम पनि गर्छ र यो अत्यन्तै पवित्र मानिन्छ ।

३. नाग टाँस्ने:मूल ढोकाको माथि

   गाईको गोबर लगाइएको नागको चित्रलाई घरको मूल ढोकाको ठ्याक्कै माथि (बाहिरपट्टिबाट) सीधा पारेर टाँस्नुहोस् ।

४. पूजा र मन्त्र उच्चारण:अन्तिम चरण.

        टाँसिएको नागको चित्रमा दुबो, अक्षता र चन्दन चढाउनुहोस्। कपासको बत्ती बालेर आरती गर्नुहोस् र काँचो दूध वा खीरको भोग लगाउनुहोस्। पूजा गर्दा यो पौराणिक मन्त्र उच्चारण गर्नु शुभ मानिन्छ :

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च।

सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारका:

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः।

कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः॥

    "यसरी घरको मूल ढोकामा नाग टाँस्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवहरूको डर हुँदैन र चट्याङ, अग्निभय तथा खराब ऊर्जाबाट घर सुरक्षित रहन्छ भन्ने धार्मिक विश्वास छ।" विश्वास गरिन्छ—

  • चट्याङबाट रक्षा हुन्छ।
  • आगलागीबाट बचिन्छ, Hjfnfd'lv cfpFb}g, af9L cfpFb}g ।
  • विषालु जीवजन्तु घरभित्र पस्दैनन्।
  • रोगव्याधि टाढा रहन्छ।
  • घरमा सुखशान्ति आउँछ, ;x cfpF5, l;l4 a9\5 ।

नागको धार्मिक महत्व

हिन्दु धर्ममा नागलाई केवल सर्पको रूपमा मात्र हेरिँदैन।

नागलाई मानिन्छ—

  • वर्षाका देवताको सहयोगी
  • जल स्रोतका रक्षक
  • भूमिको संरक्षक
  • धनसम्पत्तिका संरक्षक
  • भगवान विष्णुको शेषनाग
  • भगवान शिवको गहनाको रूपमा

यसैले नागलाई दिव्य शक्तिको प्रतीक मानिन्छ।

नेपालमा नाग पूजा किन गरिन्छ?

        नेपालमा धेरै पानीका मुहान, इनार, पोखरी तथा धारा नागसँग सम्बन्धित मानिन्छन् । विश्वास गरिन्छ— जहाँ नागको वास हुन्छ, त्यहाँ पानी कहिल्यै सुक्दैन । यसैले नागलाई जल संरक्षणका देवताको रूपमा पूजा गरिन्छ । वैज्ञानिक दृष्टिकोण नागहरू वातावरणीय सन्तुलनका लागि अत्यन्त आवश्यक जीव हुन् । उनीहरूले—

  • मुसाको संख्या नियन्त्रण गर्छन् ।
  • खेतबारी जोगाउँछन् ।
  • खाद्य शृङ्खला सन्तुलित राख्छन् ।
  • जैविक विविधता संरक्षणमा योगदान दिन्छन् ।

त्यसैले नागको संरक्षण गर्नु प्रकृति संरक्षण पनि हो ।

नाग पञ्चमीका सामाजिक सन्देश

  • प्रकृतिको सम्मान गरौँ ।
  • पानीका स्रोत संरक्षण गरौँ ।
  • वन्यजन्तुको रक्षा गरौँ ।
  • सबै जीवसँग सहअस्तित्वमा बाँचौँ ।
  • वातावरणलाई सन्तुलित राखौँ ।

 नाग पञ्चमी केवल धार्मिक पर्व मात्र होइन । यो प्रकृति, पानी, जैविक विविधता र मानव सभ्यताबीचको गहिरो सम्बन्धको प्रतीक हो । हाम्रो संस्कृति जोगाउनु भनेको हाम्रो पहिचान जोगाउनु पनि हो । "सम्पूर्णमा नाग पञ्चमीको हार्दिक मङ्गलमय शुभकामना! धन्यवाद, जय नाग देवता!"

माथिको लेख khyam aryal academy youtube च्यानलमा सुन्न सकिन्छ 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३