कतिपटक पुलिसमा लडे, कति आर्मीमा भिडे ।
कहिले हाइट नपुग्ने, कहिले दौडिन हम्मेहम्मे पर्ने । कहिले के, कहिले के । पाकाले भनेझैँ टुप्पी कसेर जोतिएर लोकसेवा लडे; कतै पनि केही पार लाग्न सकेन । साँच्चिकै सबैतिर लडिरहे अनि लडिरहे । लडेका बल्ढ्याङ र गुल्टुङ नै गनेर साध्य भएन । आखिरमा जिन्दगीले डोर्याउने बाटो अर्कै रहेछ । किन पो उनले चाहेको तिर कुलो लाग्थ्यो र ? जताजता लेखान्तको सजिलो–ओरालो, त्यतै बगिदियो जिन्दगी रूपी पानी । ‘जेठो छोरो कान्छो नानी, साइँलो माइलो आनाकानी ।’ यो उखान गलत साबित भएको छ, साइँलीलाई फकाइफुल्याइ सम्झाउने माइलोलाई ।
बाआमाको माइलो छोरो भएर पनि साँच्चिकै आनाकानी भएन उनीमाथि । पढ्नमा तीक्ष्ण उनी बाआमा, दाजुभाइ, दिदीबहिनी सबैको प्यारो भएर डोटीको दुर्गम पहाडी गाउँ ‘घाँगल’मा हुर्किए । साथीभाइहरूसँग नाच्ने रमाउन कुरामा सधैँ अग्रसर उनले खेल्दाखेल्दै चरा मार्न हानेको ढुंगोले साथीको खप्पर फुटेपछि साथीको आमाको गाली खाए । त्यसपछि जिन्दगीमा उनले कहिल्यै चरातिर ढुंगा ताकेनन् । अन्जान भएपनि बचपनको सबैभन्दा तितो अनुभूति यही हो उनको । लेखनको कुरा त गौण रहीदियो एसएलसी होस् या आइए बीए; पढ्नुभन्दा अरू कुनै सपना नै थिएन उनको । एसएलसी पास गरेर सिलगडी गएर पढेस् भन्ने बाआमाको चाहनालाई उनको मनको महाप्रबन्धकले अरू गर्नै सकेन । काठमाडौँ नै गएर पढ्ने कुरामा ढिपी कसेर योजना सफल पारिछाडे उनले ।
काठमाडौँ आएपछि साथीको डेरामा बसेर नयाँ बसपार्कको पोखरा गेस्ट हाउसमा भाँडा मोल्ने काम गर्न थाले; महिनाको पन्ध्र सय तलबमा । के–के न होला पन्ध्र सयले भन्ने अपेक्षा थियो । तर, जब तलब हात पर्यो । ‘इलि न मिलि’ भयो त्यो पन्ध्र सय । जे होस् जागिर छ, अब पढ्न त पर्यो भन्ने सोचले सरस्वती क्याम्पसमा भर्ना भए । बचपनमा छँदा नाचगानमा सबैभन्दा अब्बल बच्चो उनी थिए । तर, कलेजयात्रामा नाचगानले खासै छुने मौकै पाएन । एसएलसी पास डोटेली पट्ठोको उमेरअनुसार भन्ने हो भने त जिम्मेवारीको भारीको वजन उनको हिम्मत काँधभन्दा अलि धेरै थियो । तर, हिम्मतले हिँडिरहे ।
आइए पास गरेर बीए पढ्न त्रिचन्द्र पुगे । आफ्नो जिन्दगीको प्रमोसन आफैँले गरे । नयाँ कलेज त भयो नै कामको पनि नयाँ व्यवस्था गरी रेस्टुरेन्टमा काम गर्न थाले । दिउँसो दुई बजे देखि राति दस–एघार बजेसम्म काममा रहनुपथ्र्यो ।
तलब पनि अब तीन हजार भएको थियो । त्यसैले रेस्टुरेन्टको कामले मनलाई एक किसिमको आनन्द दिएको थियो । उही काम र वातावरण आफ्नो चाहना मनस्थितिसँग मिलीखेली पढ्दै काम गर्दै । यसै गरी बित्यो जिन्दगीको एउटा ब्याचलरको ब्याचलर सपना र ब्याचलर्स स्ट्डी ।
त्यसपछि भने उनको मनले अलि फरक परिवेशको खोज गर्यो । त्यसैले उनी रेस्टुरेन्टको जागिर छोडेर एनजिओको जागिरे भएर लगभग एक वर्ष गाउँ डुलेर फरक कामले रिफ्रेस भए । उनलाई महसुस भयो, ‘म त रेस्टुरेन्टको लागि नै ठिक रहेछु ।’ आगन्तुक ग्राहकहरूसँग प्रत्यक्ष संगत, खानपानको पकाई । मुख र पेटको भोक आत्मादेखि महसुस हुनेगरि स्वादले मार्न सक्नु पक्कै चानचुने काम होइन । तर, उनी त त्यसमै अभ्यस्त भइसकेका थिए, लत लागिसकेको थियो । फर्केर पुन रेस्टुरेन्ट व्यवसायकै ‘हरि’मा लगेर आफूलाई चढाए ।
त्यतिन्जेलको यात्रा, अनुभवले यसपटक भने मजाले नै रिफ्रेस भएछन् । फर्केर केही महिना काम गर्नैबित्तिकै आफ्नै व्यवसाय गर्ने हिम्मत जुर्यो । वातावरण पनि मिल्यो र सुरू भयो आराधना क्याफे बागबजारमा । कर्मले जहाँ लग्ने हो, त्यही हिँडाउछ र पुर्याउनु पर्ने ठाउँमा पुर्याउछ भन्ने दैवी नियम लागू भएको हो उनको जीवनमा । नत्र वचपनमा कहिलेकाहीँ गाउने ठिटो जवानीमा लेखक के गरी पो हुन्थ्यो र ?
आराधना क्याफे संगीत, साहित्य, सिनेमा, राजनीति देखि डननीति सम्मका मान्छेहरू आउन थाले । अन्यत्र काम मात्र गर्दाको र मालिक भएर काम गर्दाको आत्मविश्वास र आगन्तुकहरूको व्यवहार आकाश पाताल फरक लाग्यो उनलाई । झन रमाउन थाले आफ्नो काममा । आउने जाने मान्छे को हुन्, के गर्छन् भन्ने भेउ पाउन थालेपछि रस बस्न थाल्यो गीत लेखनको । लेख्दै थन्काउँदै गर्थे । सबैलाई विचार गरिरहने र सुनिरहने अनि ठाउँमा टुच्च मात्र बोल्ने बानी पक्कै सबैलाई मन पर्छ । उनी त्यही धेरै सुनेर टुच्च बोल्ने मान्छे हुन् ।
संगीतकार, गीतकारहरूको अखडै जस्तो हुँदै गयो आराधना क्याफे । कालीप्रसाद बाँस्कोटा, हेमन्त राना, कल्याण सिंह, सुशान्त गौतम लगायत गीत संगीत उद्योगका व्यक्तिहरूसँग आउँदाआउँदै आफैँ सामिप्यता बढ्यो उनको । तयार भएका देखि गर्नुपर्ने गीतका थिम शब्द शैली सबै शेयर हुन थाले ।
यस्तैमा एकदिन कालीप्रसाद बाँस्कोटाले थिम सुनाएर काम गर्न उत्प्रेरित गरे र काली र हर्क साउँदको मेलले जन्मियो ‘साइँली’ जसलाई रिकेश गुरुङले रंगरोगन गरे । गीत हेमन्त रानाले गाए र उनीहरूको साइँली बनिदियो, परदेशबाट फर्केर चालिस कटेसी रमाउनेहरूको । यसपछि उनलाई चिन्ने सबै अचम्ममा परे । कसैले कहिल्यै नदेखेको लेखक, जो देखिएको थियो अचानक । उनमा लेखनको तामा बढेर बाँस हुँदै थियो । लेख्दै नलेख्ने थिएनन् उनी । बस्, सुनाउँदैनन् थिए हतपत ।
त्यही भएर एकैपटक सफलता को रुख झाँगिएको देखे सबैले । लेखे पनि सुनाए पनि नेपालको गीत संगीतको माहोल भनेको आफूले नै लगानी गर्नुपर्ने, कि त कथित भाइरल, महाभाइरल, सुपरहिट कहलिएको हुनुपर्ने घोषित अघोषित सर्त रहन्छन् । धाएर सुनाउँदै हिँड्ने न त उनीसँग समय थियो, न त चाहना नै । उनले दिमागले गीत लेख्न कहिल्यै खोजेनन् ।
मनले परिवेश सोचेर मनैले गरेको यात्रा र अवलोकनले प्रकृति र परिवेश अनि संस्कार र डाँडाकाँडालाई नै टपक्क टिपेर गीतमा राख्ने प्रयास गरे र सफल पनि भए । उनका गीतको विशेषता नै यिनै हुन् । आफू त्यही हो भन्छन् उनी ।
साइँली पछाडि हेमन्त रानाको लागि सुशान्त गौतमसँगको सहकार्यबाट ‘नाच माया’ बन्यो । जुन पछि साइँलीका लागि गयो । चलचित्र डमरुको डण्डीबियो, तितेपाती–तितेपाती झ्याप–झ्याप काली बाँस्कोटा र उनको सहकार्यबाट बन्यो ।
कर्लीकर्ली कपाल चलचित्र क्याप्टेनको लागि अहिलेसम्म सबैभन्दा बढी पुनर्लेखन गरेको गीत भनेर सम्झन्छन् उनी । जसको स्क्रिप्टको परिवर्तनका कारण पन्ध्र पटकसम्म पुनर्लेखन गरे ।
कबड्डी–कबड्डी तीनको दुबो फुल्यो, सेन्टी भाइरस अनि प्रेम गीत तीनसम्म आइपुग्दा हात्ती ढुंगा पनि धेरैपटक रिराइट गर्नुपरेको छ । राम्रोको लागि उत्साहित र कदर गर्नेसँग काम गर्नु रमाइलो र खुसी नै लाग्छ उनलाई । यतिन्जेल आइपुग्दा उनले लेखन र व्यवसाय दुबैमा आफ्नो उदाहरणको झण्डा गाडेका छन् । अब व्यवसाय र गीत लेखन उनको लत भइसकेका छन् । उनलाई मनको भाव मान्छेसँग पोख्न भन्दा कपि, किबोर्ड र मोबाइलको नोट्प्याडसँग पोख्न आनन्द लाग्छ । व्यवसायको फैलावट पनि संगीतजस्तै बनाउन मन छ उनलाई ।
जसरी कलाले व्यापार र व्यापारले कलालाई जोडेर खुसी हर्क साउदले बनाएका छन्, त्यसैगरि टिकिरहन चाहने उनको प्रार्थना छ । केही गर्नलाई पहिले आफ्नो छनौट र आवश्यकताले डोर्याएको बाटोमा बुद्धिमतापूर्वक हिँड्नुपर्ने विचार उनको छ ।
जिन्दगी वा व्यापार, सुख वा दुःख, सफलता वा असफलता आदि जेसुकैको पनि ग्राफ सिधा नहुने र त्यसलाई स्वीकारेर अगाडि बढ्न पर्ने उनको आफ्नो बुझाइबाट जिन्दगीलाई महसुस गर्ने र अरूलाई दिने सुझाव छन् ।
अवार्ड नपाउनुपर्ने गीत हो त साइँली भनी जिस्काउँदा उनी भन्छन्, ‘कलाकार भएर सिर्जना गर्न दौडधुप गर्ने हो, सिर्जना गरेर, दौडधुप गरेर, प्रयास गरेर, अवार्ड पाउन मन लागेन ।’ लेखकको सहकार्य संगीत, गायन, संयोजन हुँदै अन्त्यमा कि त एल्बम, कि त सिनेमामा पुगेर उक्त गीतको भिजुअलाइजेशनमा पुग्छ ।
कथा र पात्रमा चाहिँ धेरै मेकरहरूले खासै मिहेनते गर्दैनन् । अनि, आफूले गरेको चाहिँ सामान्यले नै अत्यधिक एक्साइटेड हुने गर्छन् । गीतमा चाहिँ सीमित समय, अनिश्चित पारिश्रमिकमा असिमित तनाब दिने परिपाटी रहेको छ, जुन फिटिक्कै मन पर्दैन उनलाई ।
काम राम्रो हुन टिमका सबैले यथास्थानबाट उस्तै मिहेनत गर्नुपर्ने र सबैको मिहेनतको उचित मूल्य र मोटिभेसन र कदर हुनुपर्ने उनको धारणा छ । गीतमा चाहिँ कल्पना भन्दा माथिको चाहिने अनि मेकरहरूले लगेर ती शब्दको दृश्य सामाग्री चाहिँ पतिंगर जस्तो बनाउने कुराले लेखन कसैलाई दिनको लागि मोटिभेट नगर्ने उनको विचार छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ