मन आन्तरिक इन्द्रिय हो । जो ज्ञानेन्द्रियहरूबाट प्राप्त सूचनाका आधारमा प्रभावित हुन्छ । भावना, चाहना, स्वभाव, अनुभव, आवश्यकताको अनुभूति, विश्वास, संवेगात्मक अवस्थाको सयुक्त रूप मन हो । मन कच्चा पदार्थजस्तो हुन्छ । जसलाई प्रशोधनको आवश्यकता हुन्छ । तसर्थ मन राम्रो पनि हुन्छ र नराम्रो पनि हुन सक्छ ।
समाजमा रहेर पनि असामाजिक तरिकाले जीवनयापन भइरहेको बेला संसारनै कोरोनाको त्रासले ग्रसित छ। कोरोना यसरी फैलिएको छ कि नियन्त्रणका हर कसरतहरूलाई हम्मेहम्मे परिरहेको छ। रोग नियन्त्रकै लागि सरकारले लकडाउन जस्तो जटिल कदम चाल्न बाध्य भएको छ । तमाम जनजीवनले पनि सरकारको सो कदमलाई आत्मसाथ गरेका छन् ।
मानिसका हरेक पक्षहरू सामाजिक, सांस्कृतिक, आर्थिक, मनोवैज्ञानिक तथा मनोसामाजिक हरेक पक्षहरू प्रभावित भएका छन् ।
एकातिर आधारभूत आवश्यकताका आधारमा व्यक्तिका आफ्ना प्रारम्भिक चाहना हुन्छन् । उसका भावना, धारणा, निजी बुझाइ हुन्छन् । अर्कोतिर सामाजिक शैक्षिक संघ संस्थाहरूमा, समुदायमा औपचारिक, अनौपचारिक नियम प्रचलनहरू हुन्छन् । व्यक्ति र समाजबीचको यो दुई पक्षीय तथा बहुपक्षीय सम्बन्ध सामाजिक सम्बन्ध हो । सामाजिकीकरणको आधार पनि यही हो ।
मानिसहरू घरमै बस्न बाध्य छन्, नोकरी स्थगित छन् । वैदेशिक रोजगारमा रहरेकाहरूको अवस्था अस्तव्यस्त छ । व्यापार व्यवसाय ठप्प भएका कारण आर्थिक संकटले झेलिरहेको छ ।
ठूलो पुँजी लगानी गरी सञ्चालन गरिएका उद्योग कलकारखानाहरूमा खिया लाग्न सुरु भइसके ।विद्यालयहरू बन्द छन् । व्यापार व्यवसाय रोजगार ठप्प रहेकै कारण गृहणीलाई झन घरायसी काम व्यवहारमा दवाव बढेको छ ।
कोही घर परिवारबाट टाढा छन् भने कोही परिवारसँगै रहेर पनि सामाजिक रूपमा टाढा भएका छन् । अनेकौँ योजनाहरू तुहिएका एकलकाटे मानौँ पिंजडाको चरीको जस्तो अवस्था हामी सबैको छ ।
दीर्घ रोगीहरूको उपचारमा समस्या, दैनिक रूपमा सेवन गर्नुपर्ने औषधि व्यवस्थापनमा कठिनाई भएको छ । नियमित रूपमा परीक्षणका लागि अस्पतालसम्म पुग्नका लागि असुविधा तथा यी यावत कुराहरूले मानिसमा भित्रभित्रै मनोसामाजिक असरहरू पैदा हुन थालेका छन् ।
पर्यटन वर्ष २०२० लक्ष्य बनाएर गरिएका तयारी तथा लगानीहरू अत्यन्तै अशोभनीय रूपले प्रभावित बनेका छन् । यी पक्षहरूले गर्दा पनि मानिसहरूमा मनोरोग देखा पर्ने र आत्महत्या जस्तो अप्राकृतिक निर्णय लिन बाध्य हुने गरेको पाइन्छ ।
लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य रूपमा बढ्दै गएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती दुई हप्तामा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन् ।
हालै मात्र एउटा तथ्यांकले लेपालमा करिब ८७५ जनाले आत्महत्या गरेको देखाएको छ। जुन गत वर्ष भन्दा २०५ ले बढी हो ।
प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्या गरेको देखिन्छ । र यो दर अझै बढ्न सक्ने कुरामा दुई मत छैन । सो को व्यवस्थापन के हो भन्ने कुरा विचार गर्नु जरुरी छ ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेराइकाअनुसार कोरोनाको प्रकोप मानसिक रूपमा कति दर्दनाक हुन्छ, अहिले भन्न गाह्रो छ । तर, यसअघिका कुनै पनि महामारीभन्दा कोरोनाले दीर्घकालसम्म आघात पार्ने अनुमान उनको छ ।
यसबाट नेपालजस्तो अविकसित मुलुक नपिरोलिने कुरै भएन । लकडाउन जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै जान्छ । कोरोनाको संकट सकिएपछि पनि समस्या रोकिन्न, त्यसैले अहिलेबाट तयारी गर्नुपर्छ ।
आर्थिक मन्दीबाट ग्रसितहरूका लागि राहतको व्यवस्था गरी विभिन्न माध्यमहरूद्वारा मनोसामाजिक परामर्श सम्बन्धी हेल्प लाइनको प्रबन्ध गरे आत्महत्या गर्ने बाटोलाई अवश्य न्यूनीकरण गर्न सकिन्छ ।
अमेरिकाको न्युयोर्कमा कोभिड–१९ नियन्त्रण नहुँदै मानसिक परामर्श थालनी भएको छ । त्यहाँका गभर्नर एन्ड्री क्युमोले ६ हजार कर्मचारी नियुक्ति गरेका छन् । उनीहरू मनोवैज्ञानिक उपचारका लागि चौबीसै घण्टा निःशुल्क खटिरहेका छन् । अन्य देशले पनि मानसिक समस्या सामना गर्न गृहकार्य गर्दैछन् भने नेपालमा पनि यसलाई प्राथामिकतामा राख्नुपर्ने देखिन्छ ।
प्रहरी स्रोतका अनुसार लकडाउनका सुरुवाती दिनमा जबर्जस्ती करणीका घटनामा कमी आएको थियो भने लगभग डेढ महिनापछि भने दोब्बर भएको थियो। लकडाउन सुरु भएयता जेठ १० गतेसम्मको ६१ दिनमा मात्रै २ सय १४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरी स्रोतका अनुसार लकडाउनले प्रहरी कार्यालयसम्म नपुग्ने र घर वा समुदायभित्रै घटना लुकाउने सम्भावना बढी भएकाले यस्तो संख्या अझै उच्च हुन सक्छ ।
भवितव्यमा र सवारी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या भने लकडाउनकै कारण उल्लेख्य रूपमा कमी आएको छ । सामान्य अवस्थामा औसत दिनमा ११ जनाले भवितव्यमा परी ज्यान गुमाउँथे । लकडाउनमा दिनमा आठ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्यांकअनुसार चैत ११ देखि जेठ १० गतेसम्म भवितव्यमा परी ४ सय ५८ जनाले अर्थात् दिनमा औसत २ जनाभन्दा कमले ज्यान गुमाएका छन् । सामान्य अवस्थामा सवारी दुर्घटनामा परी दिनमा ६ जनाले ज्यान गुमाउँथे ।
हाम्रो देशमा शारीरिक रोगीलाई हरेक प्रकारका उपचारका विधिहरु उपलब्ध रहेका छन् भने मानसिक रोगीको वर्गीकरण र व्यवस्थापनमा खासै ठूलो गृहकार्य भएको छैन । शारीरिक भन्दा मानसिक रोगले अत्यन्तै भयाभह स्थिति निम्त्याउन सक्छ । शारीरिक अस्वस्थताले प्रायस् व्यक्तिगत रूपमा असुविधा ल्याउँछ भने मानसिक रोगले सिंगो परिवार र समाजमा नै कोलाहल अवस्था निम्त्याउन सक्छ ।
शारीरिक अस्वस्थताले दीर्घकालिन असरहरू अत्पन्न गराउँछ भने मानसिक रोगले आपतकालिन निर्णय लिई आत्महत्या गर्ने बाटो रोज्न अग्रसर गराउँछ ।
त्यसकारण आत्महत्या कम गर्नका लागि मानसिक रोग न्यूनीकरण गर्नु अत्यन्तै जरुरी हुन्छ ।
मनोसामाजिक परामर्शकर्ताहरू परिचालन गरी मनोसामाजिक परामर्श प्रदान गर्न सक्यो भने यसलाई अवश्य न्यूनीकरण गर्न सकिन्छ ।
व्यक्तिको मन(मष्तिस्क र भौतिक, सामाजिक वातावरण बीचको सम्बन्ध राम्रो भएन भने बालक वा व्यक्तिको सामाजिकीकरणमा नकारात्मक प्रभाव पर्छ र सामाजिक समस्या उत्पन्न हुन्छ ।
मनोसामाजिक समस्याको कारणको खोजी गर्नु मनोसामाजिक विमर्श हो । रोगको पहिचान नभएसम्म उपचार सम्भव नभए जस्तै मनोसामाजिक समस्याको पहिचान बिना परामर्शको चरणमा प्रवेश गर्न सकिँदैन । समस्यामा परेको व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्दै सकारात्मक धारणा निर्माणमा मद्दत गर्ने, समस्या जटिल हुन नदिन सजग बनाउने, निराश हुनबाट बचाउने, निर्णय गर्न सहज पारिदिने, उ भित्रका क्षमताहरूलाई प्रशंसा गर्दै परिचालन गर्ने, आत्मविश्वास वढाउँदै परिस्थितिसँग समायोजित हुन सक्ने र सामना गर्न सक्ने बनाउनु नै परामर्श सेवा हो ।
परामर्श सेवा अत्यन्तै मनोवैज्ञानिक काम हो र तत्सम्बन्धी सीप भएको विज्ञबाट मात्र सम्भव हुन्छ । परामर्श लिन चाहनेलाई मात्र प्रदान गरिने सेवा हो । व्यक्तिको इच्छा विपरीत परामर्श सफल हुन सक्दैन ।
परामर्श दिने मानिस समाजमा विश्वास प्राप्त मानिस, नैतिक गुणहरू राम्रो छ भन्ने मानिएको व्यक्तित्व हुनु पर्दछ । सबै खालको परामर्शमा गोपनियताको सुनिश्चितता हुनुपर्दछ । आवश्यकताअनुसार चुनौती दिने, परिवर्तनको लागि उत्साह दिने, थुप्रै उदाहरणहरू प्रस्तुत गर्ने, मार्गनिर्देशन गर्ने र आवश्यक परे हपार्ने क्षमता पनि परामर्शदातासँग हुनु आवश्यक छ । सामूहिक परामर्श सेवा सञ्चालन गर्दा व्यक्तिगत भिन्नतालाई ध्यान दिने, परामर्शको अन्त्यमा द्विपक्षीय मूल्यांकन गर्ने र गोप्यताका साथ अभिलेख राख्ने, परामर्श लिनेलाई पनि गोप्यताको महत्वमा ध्यान दिने सल्लाह दिने खालको हुनुपर्दछ ।
हाल अति आवश्यक रपमा यथाशीघ्र एकातर्फ सामाजिक सञ्जाल साथै आम सञ्चारका माध्यमहरूको प्रयोग गरी मनोसामाजिक परामर्शका कार्यक्रमहरूलाई अगाडि बढाउन जरुरी छ भने अर्को तर्फ प्रत्येक क्वारेण्टाइन स्थलहरूमा मनोसामाजिक परामर्शकर्तालाई परिचालन गरि दैनिक रूपमा मनोसामाजिक परामर्श प्रदान गर्नुपर्ने आवश्यकता रहेको छ ।
अस्थायी समस्याको स्थायी समाधानको रूपमा आत्महत्या जस्तो क्रुर कदम रोज्नु अत्यन्तै गलत कार्य हो यसलाई हरेक सरोकारवाला पक्षहरूले निरुत्साहित पार्नु जरुरी हुन्छ ।
सरस्वती भण्डारी
लेखक त्रिविबाट मानवशास्त्र विषयमा स्नाकोत्तर हुन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ