धनुषा । नेपालमा कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन थपिइरहेका छन् । कोरोना भाइरसका संक्रमित थपिएसँगै धनुषाको मिथिला नगरपालिका– ९ का ४७ वर्षीय कपिलदेव ठाकुरको काम पनि थपिन्छ।
किनभने उनी एम्बुलेन्स चालक हुन्। २५ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी जनकपुरधामको एम्बुलेन्स चलाइरहेका छन्। एम्बुलेन्स चलाउन थालेपछिका २५ वर्षमा जब–जब संकट आयो तब–तब उनी दौडिए। कहिले रोगी बोकेर, कहिले दैवी प्रकोपका पीडित बोकेर । फेरि कहिले आगलागी, दुर्घटनाजस्ता घटनाका पीडितलाई गाडीमा हालेर अस्पताल हुँइकिए।
यसबीचमा उनी कोरोना महामारीका बिरामी बोक्ने काममा फसेका छन् । फसेका यस अर्थमा कि, प्रायः उनलाई अपराधीको नजरले हेर्ने मानिसको नजरमा पर्ने गर्दछन् ।
आफूले बिरामी बोकेर आफैँ डराउनुपर्ने यस्तो अवस्था उनले पहिला कहिल्यै भोगेका थिएनन्।
‘दिनहुँ म कोरोनाका बिरामी बोकेर हिँड्छु। जो रोगी छ त्यसैसँग डराउनु पर्ने,’ उनले भने, ‘आफू उसँग डरायो अरू आफैँसँग डराउँछन्।’
कोरोना भाइरसले नेपालको तराई प्रदेशलाई गाँजेपछि उनको परिवारसँग पनि दूरी बढेको छ। ‘तीन छोराछोरी छन्। श्रीमती र अति मिल्ने साथीभाइसँग पनि टाढा बस्नुपरेको छ,’ उनले भने।
धनुषामा पहिलो कोरोना संक्रमित मिथिला नगरपालिकामै भेटिएका थिए। वडा नम्बर १० मा त्यतिबेला दिल्लीबाट आएकी एकजना महिलामा कोरोना पुष्टि भएको भयो । ती संक्रमितलाई अस्पताल लिन जान रेडक्रसका सभापतिले कपिलदेवलाई अह्राए। उनले घरमा श्रीमतीलाई फोन गरे।
‘म कोरोना संक्रमित ल्याउन जाँदैछु,’ उनले यत्ति भनेका थिए श्रीमती रून थालिन्।
उनकी श्रीमतीले नजाऊ भनेर हत्ते हालिन्। तर बिरामी बोक्नु त उनको कामै थियो। उनले एम्बुलेन्सलेको स्टेरिङ समाए। ३० किलोमिटरको बाटोमा गुडिरहँदा उनलाई लगभग ३० चोटिभन्दा बढी श्रीमतीको फोन आयो।
‘त्यो दिन त आफू युद्ध लड्न जाँदैछु जस्तै लाग्यो,’ उनले भने।
आफ्नो श्रीमानलाई कोरोना लाग्छ भनेर डराएकी श्रीमती अहिले भने सामान्य भएकी छन्।
‘सुरूमा कोरोना संक्रमित ल्याउन जाँदैछु भन्दा तपाईं किन जानु पर्यो, अरूलाई पठाए हुन्छ भन्ने गर्थिन्,’ कपिलदेवले भने, ‘विस्तारै उनको डर जिज्ञासामा परिणत हुँदै गएको छ, अब उनका प्रश्न फेरिएका छन्क- कति जनालाई अस्पताल पुर्याउनु भयो,आज कहाँ-कहाँ जानुभएको थियो र ?’
यस्तो संकटको बेलामा डटेर काम गर्न उनलाई मानिसहरूको प्रशंसाले उत्साह दिन्छ रे। त्यसमाथि उनलाई त सिडिओ, डिएसपी, चिकित्सकहरूले पनि वाहवाही गर्छन्।
कोरोना संक्रमितलाई पुर्याउन वा लिन जाँदा सिडिओसाब आफैँ कैयौँपटक फोन गरेर ठिक छौ, तिमी त बहादुरीको काम गर्दैछौ नभनेर स्याबासी दिन्छन् । हस्पिटलमा डाक्टर साबले अरूका लागि उदाहरण बन्दैछौ भन्छन् । उनीहरूको सम्मान र माया देखेर कपिलदेवलाई काम गर्न झन् बढी मन लाग्छ। खुसी लाग्छ ।
तर जब साथीभाइ भेट्छन् उनलाई अलि गाह्रो हुन्छ। एक त उनीहरूको नजिक जान पाउँदैनन्। अर्को साथीभाइले जिस्काउँछन्– ऊ कोरोनावाला आयो। फोन गरेर पनि त्यही भन्छन्।
‘साथीभाइको भने अर्कै छ। ‘कहिलेकाहीँ त फोन गरेरै के छ कोरोनावाला भनेर जिस्काउँछन्, उनीहरूले यसो भन्दा साँच्चै आफू परिवार र साथीभाइका लागि संकट बनिरहेको त छैन् भन्ने पनि लाग्छ,’ उनले भने।
अहिले उनको दैनिकी व्यस्तताका बीच बितिरहेको छ । प्रायः दैनिक लगभग १२ देखि १६ घन्टासम्म काम गर्दै आएका छन्।
‘धनुषाको नगराइन, सबैलासहित ४/५ ठाउँको क्वारेन्टाइनमा संक्रमितहरू भेटिएका थिए, त्यो दिन गर्मी पनि असाध्यै थियो, पिपिई, मास्क, ग्लोब्स, बमबुट लगाएको थिएँ। शरीरमा हावा पस्ने कुरै भएन, पसिना चुहिएर बमबुटमा पानी भरिएछ,’ मुस्काउँदै कपिलदेवले भने, ‘पछि गमबुट निकालेर खुट्टा स्यानिटाइजरले सफा गरेँ र फेरि हिँडेँ ।’
एक दिन तुलसीयाहीबाट कोरोनाका संक्रमित लिएर जलेश्वर अस्पताल पुगेका उनी दिनभरि पानीका लागि छटपटाए, कसैले उनलाई पानी दिएनन्।
त्यस दिन जनकपुरको अस्पतालमा ठाउँ नभएर संक्रमित लिएर जलेश्वर अस्पताल पुगेका थिए। बिहान ७ बजे नै घरबाट निस्कँदा उनले पानीको बोतल ल्याउन बिर्सेछन्। बाटोमै किन्छु भन्ने सोचेका थिए। संक्रमित छोड्न अस्पताल जाँदा बाटोमा एउटा किराना पसल खुलेको देखे। एम्बुलेन्सबाट ओर्लेर पसलेसँग पानीको बोतल मागे।
‘एकैछिन पख्नुस् आउँदै छु’ भनेर निस्केका पसले १०/१५ मिनेटसम्म आएनन्। कपिल खिन्न हुँदै हिँडे।
‘बडो आश्चर्य लाग्यो म त झन् सबैलाई बचाउने काममा खटिएको छु। मान्छेले मलाई नै घृणा गर्दैछन् म अपराधी त होइन्, मलाई थाहा छ मैले आफ्नो परिवार र समाजलाई सुरक्षित राख्नु छ। तर उनीहरू किन नबुझेका होलान् ? भन्ने लागिरह्यो,’ उनले भने।
कपिललाई अब न त कोरोनाका संक्रमितसँग डर लाग्छ न त उनले परिवारलाई डर र त्रासमा बाँच्न दिएका छन्।
कपिलदेवले हाँस्दै भने, ‘किन डराउनु आफू सुरक्षित भइयो भने कोरोना सर्ने कुरै आएन, मैले त जाँच पनि गराएँ खोइ केही देखिएन मान्छे किन त्रासमा बाँचिरहेका छन् ?’
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ