Logo

मंगलवार, भाद्र ९ गते २०८३

गृहमन्त्री सुधन गुरूङले जेनजी आन्दोलन पछि किनेका थिए ५० लाख बढीको सेयर

गृहमन्त्री सुधन गुरूङले जेनजी आन्दोलन पछि किनेका थिए ५० लाख बढीको सेयर


गृहमन्त्री  सुधन गुरूङले  जेनजी आन्दोलन पछि  किनेका थिए ५० लाख बढीको सेयर

७ वैशाख, काठमाडौं ।
सुधन गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनेको विवरण फेला परेको छ।
 गृहमन्त्री गुरूङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर किनेका छन्।

यसबाट जेनजी आन्दोलनको पाँच महिनापछि उनले दोस्रो बजारमा सेयर किन्न थालेको देखिन्छ। फागुन २१ को चुनाव सकेर गृहमन्त्री नियुक्त हुनुभन्दा पाँच दिनअघिसम्म उनी सेयर खरिदमा सक्रिय छन्।

त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा पक्राउ परेका दीपक भट्ट समूहको कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा पनि गृहमन्त्री गुरूङ ५० लाख रूपैयाँको संस्थापक सेयर लगानीकर्ता रहेको खुलेको छ।

आफ्नो स्वामित्वमा रहेका यी सेयरहरूका बारेमा गृहमन्त्री गुरूङले सम्पत्ति विवरणमा प्रस्ट खुलाएका छैनन्।
बालेन शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टी  प्रवेश गरेका सुधन फागुन २१ को निर्वाचनमा गोरखा-१ बाट विजयी भएका थिए। रास्वपाले करिब दुई-तिहाइ बहुमत ल्याएपछि चैत १३ गते प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार बनेको थियो। सुधन गुरूङले पनि गृहमन्त्रीका रूपमा त्यसै दिन शपथ लिएका थिए। गुरूङले दोस्रो बजारबाट १० पटकमा ५३ लाख रूपैयाँभन्दा बढीको सेयर किनेका छन्।

उनले पहिलो पटक २०८२ माघ १५ गते ७ लाख ९० हजार रूपैयाँको सेयर किनेको देखिन्छ। त्यसै दिन फेरि ७ लाख ८८ हजार रूपैयाँको सेयर किनेका थिए।त्यसपछि माघ २७ गते १६ लाख १७ हजार रूपैयाँको सेयर किनेको हामीलाई प्राप्त विवरणमा छ।
उनले चौथो पटक सेयर किनेको गृहमन्त्री हुनुभन्दा पाँच दिनअघि चैत ८ गते हो। त्यो एकै दिन उनले ७ वटा कारोबार गरेको देखिन्छ। उनले ९ लाख १५ हजार, १ लाख ५२ हजार ६१०, १ लाख ८३ हजार १२०, २२ हजार ९२०, ७६ हजार ४९५, ४५ हजार ९०० र ७ लाख ४२ हजार ५३५ रूपैयाँको सेयर खरिद गरेका थिए। उनले यी सबै सेयर कारोबार नासा सेक्युरिटिजु भन्ने ब्रोकर कम्पनीबाट गरेका छन्। 

नासा सेक्युरिटिजकै स्रोत अनुसार गुरूङले यो सबै सेयर एउटै कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडको किनेका हुन्। उनले यसअघि दोस्रो बजारमा कहिल्यै सेयर किनेका थिएनन्।

सुधन गुरूङले गृहमन्त्रीका रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्दा आफ्नो स्वामित्वमा रहेको सेयर विवरण पनि खुलाएका थिए। त्यसमध्ये होप होल्डिङ्स प्रालिमा ३० लाख रूपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन् भने लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्। त्यस्तै, एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्।
उनले पूर्ण विवरण खुलाएका यी तीनैवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्।
त्यसबाहेक धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर रहेको विवरण गुरूङले दिएका छन्। यो भनेको स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको मूल्य हो।
गृहमन्त्री गुरूङले धितोपत्र बजारमा कारोबार हुने यी कम्पनी कुन-कुन हुन् भनेर आफ्नो सम्पत्ति विवरणमा भनेका छैनन्।

उनले पूर्ण विवरण नखुलाएका सेयरमध्ये ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर दोस्रो बजारबाट किनेका हुन् भने बाँकी २ करोड २१ लाख २२ हजार ६२० रूपैयाँको सेयर प्राथमिक बजारबाट वा संस्थापक सेयर किनेका हुन्। कम्पनीले साधारण सेयर निष्कासन गर्दा किनेको सेयरलाई प्राथमिक बजारबाट किनेको भनिन्छ। सुधन गुरूङका हकमा भने प्राथमिक बजारभन्दा संस्थापक सेयरकै स्वामित्व बढी रहेको स्रोतको दाबी छ।
यति मात्र होइन, गृहमन्त्री गुरूङ सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा पक्राउ परेका दीपक भट्ट र शंकर समूहको लगानी रहेको कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा सेयर लगानीकर्ता रहेको खुलेको छ।
यी दुवैको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो इन्स्योरेन्समा २५-२५ लाख रूपैयाँ गरी ५० लाख रूपैयाँको सेयर रहेको विवरण हिमालखबरले केही समयअघि सार्वजनिक गरेको थियो। यसमध्ये स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरूङको २५ लाख रूपैयाँ बराबर सेयर रहेको विवरण दियो पोस्ट डटकम ले पनि  सार्वजनिक गरेको छ।

सुधन गुरूङ सञ्चालक रहेको "हामी नेपाली "संस्थासँग दीपक भट्ट र शंकर समूहको संलग्नता यसअघि नै सार्वजनिक भइसकेको छ।

गुरूङले नै दीपक भट्ट (इन्फिनिटी होल्डिङ्सका अध्यक्ष), सुलभ अग्रवाल (शंकर ग्रुपका उपाध्यक्ष), साहिल अग्रवाल (शंकर ग्रुपका प्रबन्ध निर्देशक) लगायतले हामी नेपाली संस्थामा सहयोग गरेको विवरण सार्वजनिक गरेका थिए।विगतमा विभिन्न व्यवसायमा संलग्न रहेको भए पनि पछिल्लो समय पूर्ण रूपमा समाजसेवामा लागेको बताउँदै आएका सुधनले यति ठूलो सेयर लगानी गर्न कहाँबाट पैसा ल्याए भन्ने प्रश्न छ। गुरूङ आफैले भने व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट सेयर किनेको विवरण दिएका छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक