Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

नेविसंघले चुनाव भाँड्न सक्छः अनेरास्ववियू

नेविसंघले चुनाव भाँड्न सक्छः अनेरास्ववियू

  • 3.8K
    SHARES

  • माघ १६, २०७६ । विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनले देशभरिकै क्याम्पसहरूको माहोल तातिरहेको बेला विद्यार्थी सङ्गठनहरूकै अर्कमण्यताका कारण चुनाव हुनेनहुनेबारे फेरि पनि आशङ्का पैदा भइरहेको छ । स्ववियु यस्तो थलो हो; जहाँबाट प्रमुख राजनीतिक दलरूले होनहार कार्यकर्ता र नेता पाइरहेको इतिहास छ । मिनि संसदका रूपमा समेत हेरिने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले देशभर नै राजनीतिक तरङ्ग ल्याउने गर्छ । देशका विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा हुने निर्वाचनको तथ्याङ्कलाई आधार मानेर राजनीतिक पार्टीको हैसियतलाई समेत पनि मूल्याङ्कन गरिने हुँदा पनि स्ववियु चुनावले विशेष अर्थ राख्दछ । तर यति धेरै महत्व बोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई स्थगित गरेर बेलाबखतमा घाँटी थिच्ने काम पनि विद्यार्थी सङ्गठनहरूबाटै भइरहेकोे आरोपसमेत लाग्ने गरेको छ । निरङ्कुश राजतन्त्रात्मक शासन प्रणाली भएको समयमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गर्दथ्यो । पञ्चायत कालमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले तथा विद्यार्थी राजनीतिले छलाङ नै मारेको भन्न सकिन्छ । तत्कालीन समयमा हरेक दुई–दुई वर्षमा हुनुपर्ने निर्वाचन २०४०÷४१ सालमा वर्षैपिच्छेसमेत भएको इतिहास छ । राजनीतिक परिर्वतनका कारण ०४७ सालमा नभएको स्ववियु निर्वाचन देश बहुदलीय व्यवस्थामा प्रवेश गरेसँगै लामो समयसम्म सम्पन्न हुन सकेन । यसको मुख्य कारण विद्यार्थी सङ्गठनले आफ्ना मूल मुद्दालाई लात मारी राजनीतिक मुद्दामा ध्यान केन्द्रित गर्दै गुण्डागर्दी, अनुशासनहीनता, अराजकता तथा अनियमितताजस्ता कुरामा सङ्गठन र कार्यकर्तालाई लिप्त बनाई राख्नु रहेको बताइन्छ । एक समय राजनीतिक आन्दोलनमा प्रमुख भुमिका खेलेका विद्यार्थी संगठनहरू आन्तरिक किचलो, झै–झगडा, गुन्डागर्दीमा आफ्नो सम्पूर्ण समय व्यतीत गरेकाले उनीहरूको पक्षमा अनुकुल चुनावी वातावरण नबन्ने हुँदा चुनाव नै गराउन चाहँदैनन् भन्ने आम विद्यार्थी तथा सरोकारवालाहरूको बुझाइ रहेको पाइन्छ । जसको कारण अहिलेपनि चुनाव हुने कुरामा आशंका छ र विद्यार्थी संगठनहरू तथा सरोकारवाला विश्वविद्यालय समेतले यी आशंकाहरूको चिरफार गर्न सकिरहेका छैनन् । केही विद्यार्थी संगठनहरू यस्ता पनि छन् विभिन्न गुट तथा उपगुट बनाएर आफैँमा आरोप प्रत्यारोपणमा उत्रिने र स्ववियु निर्वाचनलाई प्रभावित पारी चुनाव नगराउने नियतबाट पनि विद्यार्थी संगठनहरू मुक्त हुन सकेका छैनन् । आन्तरिक मामिलालाई समाधान गर्न नसक्ने विद्यार्थी संगठनका कारणले समेत स्ववियु निर्वाचन प्रभावित हुने गरेको पाइन्छ । यसको प्रभाव समग्र विद्यार्थीको एजेण्डामा पर्ने निश्चित छ । आम विद्यार्थीहरू ठूला भनिएकै विद्यार्थी सङ्गठनका कारण नै चुनाव नहुने कुरामा ढुक्कजस्तै छन् । उनीहरू स्ववियु चुनाव गराइ स्ववियुलाई चुस्तदुरुस्त राख्न चाहन्छन् तर विगतका इतिहासले उनीहरूलाई घचघच्याइ रहन्छ र दिमागमा त्यही स्क्रिप्ट दोहोरिन्छः जिन्दावाद मुर्दावाद, कुटपिट, काटाकाट, मारामार क्याम्पस आगजनी र तोडफोड र परिणाम चुनाव स्थगित । फागुन १४ गते हुने भनेको स्ववियु निर्वाचन हुने नहुनेमा अझसम्म पनि शङ्का गर्न सकिने ठाउँहरू छन् । यस विषयमा कामना न्यूजकर्मी उज्ज्वल कडरियाले नेकपा सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय नेता तथा केही विद्यार्थी नेतासँगको कुराकानीमा आधारित रहेर एक रिपोर्ट तयार पारेका छन् । रन्जित तामाङ; पूर्वअध्यक्ष, अखिल क्रान्तिकारी स्ववियु निर्वाचन हुन्छ या हुँदैन ? स्ववियु निर्वाचन त्रिविको कार्यतालिका अनुसार नै शतप्रतिसत हुन्छ भन्न सकिन्छ । त्रिविले सम्बन्धित सबै पक्षसंग छलफल गरिसकेको छ । नेविसंघ पनि संस्थागत रूपमै निर्वाचनमा जाने छलफल त्रिविसँग गरेको जानकारी हामीलाई प्राप्त भएको छ । त्यसकारण चुनाव जसरी पनि हुन्छ स्ववियु निर्वाचन नगर्नु पर्ने अब कुनै कारण छैन । विगतलाई नियाल्दा नेविसंघकै कारण चुनाव रोकिएको देखिन्छ नि ? फेरि घटना नदोहोरिएला र ? दुई–दुई वर्षमा हुनपर्ने निर्वाचन यसअघि रोकिएको कुरा सत्य हो । जसको कारण नेविसंघ केन्द्रीय कमिटी र अन्य कमिटी विहिन थियो । यसकारण उसले चुनावमा भाग लिएन । हामी पनि देशकै दोस्रो ठूलो विद्यार्थी सङ्गठन चुनावमा भाग नलिने भएपछि हुनुपर्छ भनेर जोड दिएनौँ । अहिले नेविसंघ संकटमुक्त भैसकेकाले हामी सबै विद्यार्थी सङ्गठन चुनावमा जान्छौँ र निर्धारित समयमै चुनाव हुन्छ । सबै विद्यार्थी सङ्गठन आ–आफ्नो चुनावी एजेण्डा र विचार लिएर चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्छौं । सुनिता बराल; पूर्व–उपाध्यक्ष, अनेरास्ववियु पटक–पटक स्ववियु निर्वाचन स्थगित भएको इतिहास जीवितै छ । तपाईं यसपटक चुनाव हुनेमा ढुक्क हुनुहुन्छ ? लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । ३ वर्ष अघि पनि चुनाव हुने सबै क्याम्पसमा हामीले चुनाव गर्न सकेनौँ । अहिले हामी सबै क्याम्पसमा चुनाव गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । चुनाव हुन्छ कि हँुदैन भन्ने भन्दा पनि कसरी सौहार्दपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउने भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ । तर वातावरण त अन्यौलमय छ नि हैन ? नेविसंघको आन्तरिक किचलो (केन्द्रीय कमिटीमा) र विगतमा केही क्याम्पसमा मात्रै आंशिक चुनाव भएका कारण विद्यार्थीहरूमा आशंका उत्पन्न हुनु स्वाभाविकै हो । मलाई लाग्छ; नेविसंघले पनि आफ्नो केन्द्रीय कमिटी बनाई चुनावी माहोल तयार गर्छ र हामी पनि दुई ठूला विद्यार्थी सङ्गठन एक गराई कमिटीलाई व्यवस्थित र बलियो बनाउन लागिसकेका छौँ । त्यसैले अझ बढी उत्साहित हुँदै स्ववियु निर्वाचनमा होमिन्छौँ । अनेरास्ववियुको पनि त कमिटीहरूले पुर्णता पाएका रहेनछ त ? यसले चुनावलाई प्रभाव पार्दैन र ? हाम्रो आन्तरिक साङ्गठनिक जीवन व्यवस्थित गर्ने कुराले स्ववियु निर्वाचनमा कुनै सम्बन्ध राख्दैन । यो कारणले चुनाव हुने नहुने भन्ने प्रश्न नै हुँदैन । कमिटी भनेको हाम्रो आन्तरिक कुरा हुन् र स्ववियु निर्वाचन भनेको समग्र राजनीतिक कार्यदिशाको कार्यक्रम हो । त्यस कारण साङ्गठनिक संरचनाहरूको कारण चुनावलाई कुनै कोणबाट पनि असर गर्दैन । तपाईं आफ्नै सङ्गठनको बलियो कमिटी बनाउन सक्नुभएको छैन तर चुनाव हुन्छ भन्नुहुन्छ त ? सङ्गठनको आन्तरिक जीवनमा कमिटीहरू भङ्ग गर्ने, नयाँ निमार्ण गर्ने, थपघट गर्ने, पुर्णता पाउने लगायतका अन्य कुराहरू सङ्गठनभित्रका आन्तरिक र नियमित कुरा हुन्; यी भइरहन्छन् । यसले चुनाव हुने नहुने कुरामा कुनै तुक राख्दैन । भनेपछि चुनाव हुन्छ । त्रिविले चुनाव गराउन पत्रचार गरिसकेको छ । अब चुनाव गराउनुपर्छ । संगठनहरूको सर्वदलीय बैैठक बस्छ । सबैको सहमतिमा कार्यतालिका ल्याएर चुनावी प्रक्रियामा हामी प्रवेश गछौँ । सुदेश पराजुली; पूर्वसचिव, अनेरास्ववियु स्ववियु निर्वाचन हुन्छ त ? स्ववियु निर्वाचन गर्ने उपयुक्त समय अहिले नै हो । हाम्रो सङ्गठनको पहिलो एकता बैठकबाट नै देशभरका आङ्गिक, सामुदायिक र निजी क्याम्पसमा स्ववियु निवार्चन गराउनै पर्छ भन्ने आह्वान गरेका छौँ । ०६२÷०६३ सालको जनआन्दोलन पश्चात विद्यार्थीहरूले उत्साह, उमंग तथा जोश, जाँगरका साथ चुनावमा सहभागी हुन पाएका छैनौं । अब जोश, जाँगर, उमंग र उत्साहपूर्ण तरिकाले चुनावमा लाग्नु पर्छ र चुनाव सम्पन्न गराउनु पर्छ । यसले हाम्रो शौक्षिक, राजनीतिक तथा सामुदयिक रक्षाका एजेण्डालाई क्याम्पस क्याम्पसमा स्थापित गराउँछ र विद्यार्थी आन्दोलन र उपलब्धि माथि जनस्तरमा उठेका गलत दृष्टिकोणलाई चिरफार गर्ने मौका पनि मिल्छ । यसले विद्यार्थीमा महत्वपूर्ण सन्देश लैजान्छ । यो निर्वाचन आवश्यक छ, गर्नुपर्छ । चुनाव हुने कुरामा विश्वस्त हुनु हुन्छ ? त्रिविले जुन अग्रसरता देखाएर चुनावी कार्यक्रम प्रकाशित गरेको छ । यसले चुनाव हुने कुरालाई फेरि ब्युँताएको छ । हाम्रो प्रमुख प्रतिपक्षी संगठन नेविसंघको कार्यसमिति नबनीसकेकाले हामी नेविसंघलाई पनि चुनावमा लैजानुपर्छ भनेर लागिरहेका छौँ । त्रिविले सबै विद्यार्थी सगठनहरूलाई चुनावी मैदानमा सहभागीता जनाउने वातावरण निमार्ण गर्नुपर्छ । चुनाव निःसन्देह गर्नुपर्छ । तपाईंले नेविसंघको कारण चुनाव हुँदैन भन्न खोज्नु भाको हो ? त्यस्तो पनि होइन । नेविसंघ आफूलाई लोकतन्त्रको मसिहा ठान्दछ । त्यसैले नेविसंघले चुनावबाट हात निकाल्दैन भन्ने हाम्रो ठम्याई हो । पछिल्लो निर्वाचन पनि नेविसंघको कारणले नै भाँडियो यसकारण हामीले पनि संयमता अपनाएका छौँ । त्रिविले पनि सौहार्दपूर्ण वातावरण बनाई चुनावमा भाग लिन चाहने संगठनलाई सहभागी गराउनुपर्छ । र राजनैतिक दलहरूले पनि आफ्नो विगंलाई चुनावी माहोलमा होमिने वातावरण तयार गरिदिनु पर्छ । नेविसंघले पनि के बुझ्नु जरुरी छ भने चुनाव भाँडियो भने नेविसंघले आफूलाई ठान्दै आएको लोकतान्त्रिक मसिहाको ट्याग पनि गुम्न सक्छ । त्यसैले नेविसंघ चुनाव भाड्छजस्तो मलाई लाग्दैन । अन्ततः निर्वाचनमा नेविसंघ भाग लिन सक्छ । अन्तमाः यो स्ववियु निर्वाचन गर्ने सुनौलो मौका हो । यसमा सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्छ । जसरी राजनीतिक परिवर्तनको आन्दोलनमा विद्यार्थी संगठनले खेलेको भुमिका हेर्दा सामुदायिक सुरक्षा र शौक्षिक क्षेत्रका मुद्दालाई पनि विद्यार्थी सङ्गठनले लिड गर्न सक्छन है भन्ने सन्देश दिन पनि यो निवार्चन गराउनु पर्छ सबैलाई सहभागीता जनाउन आह्वान समेत गर्दछु । पवन कार्की; पूर्वसचिव, अखिल क्रान्तिकारी स्ववियु निर्वाचन हुन्छ कि हुँदैन ? स्ववियु निर्वाचनको हामीले सबै तयारी गरी चुनावको माहोलमा होमिइसकेका छौँ । जहाँसम्म नेविसंघको कुराले चुनाव नहोला कि भन्ने थियो । अहिले उहाँहरूको भागवण्डालगायत सबै कुरा मिलेर केन्द्रीय कमिटी आइसकेकाले अब चुनाव नहुने भन्ने प्रश्नै रहँदैन त्रिवि कार्यतालिकाका अनुसार चुनाव सम्पन्न गराउन हामी देशभरिकै क्याम्पसमा तयारी सकेका छौँ; चुनाव हुन्छ । त्रिविको कार्यतालिका आइसकेपछि पनि चुनाव नभएको इतिहास छ नि ? सम्पूर्ण विद्यार्थीहरूको साझा थलो स्ववियुको रक्षाको लागि चुनाव अपरिहार्य छ । विगतमा जस्तो अन्यौलपूर्ण र असहज स्थिति अहिले छैन । अरु विद्यार्थी सङ्गठनहरूसँग पनि हामीले छलफल गरिराखेका छौँ । अनेरास्ववियु कुनै पनि हालतमा यो निवार्चन गराउन लागिरहेको छ । यसकारण चुनाव निर्धारित समयमा नै सम्पन्न हुन्छ । नरेन्द्र न्यौपाने; क्याम्पस जिल्ला कमिटी काठमाडौँ, अनेरास्ववियु स्ववियु निर्वाचन हुन्छ ? निर्वाचन हुन्छ कि हुँदैन भन्नु भन्दा नि चुनाव गराउनु पर्छ । अनेरास्ववियु जस्तोसुकै कठिन परिस्थितिमा पनि चुनाव गराउन लागेको इतिहास बोल्छ र यो पटक पनि हामी तोकिएको समयमा चुनाव गराउनु पर्छ भनेर लागेका छौँ । स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको निजी पेवा होइन । यसको रक्षाका लागि अरु विद्यार्थी सङ्गठनहरू पनि लाग्नु पर्छ । विशेषतः नेविसंघ आफ्नो आन्तरिक किचलोको कारण चुनावबाट भाग्न सक्छ; चुनाव भाड्न सक्छ । यसमा हामी सचेत छौँ । हामी चुनावलाई कसरी व्यवस्थित, सुरक्षित तरिकाले सम्पन्न गराउन सकिन्छ भनेर लागि सकेको छौँ । कस्को सम्भावना कति ? माउ पार्टी नेकपा जस्तै पूर्ण रूपमा एकीकरण नभइसकेको अनेस्ववियुमा पनि माउ पार्टीकै जस्तै उम्मेदवार छान्ने प्रक्रियामा किचलो पैदा हुने प्रष्ट रूपमा देख्न सकिन्छ । उपत्यका लगायत देशको प्रमुख क्याम्पसमा पूर्व एमाले र पूर्व माओवादी समर्थित अनेरास्ववियुका नेताहरू आ–आफ्नो पक्षका लाई उम्मेदवार घोषणा गर्न लागिपरेका छन् । विगतमा जसले जुन क्याम्पस जितेको हो उसलाई सोही क्याम्पस दिने गरी उम्मेदवार छान्ने भद्र सहमति भएतापनि सहमति लागु नहुने देखिन्छ । अस्कल, पिके, विश्वभाषा लगायतका क्याम्पसमा अहिले नै यो समस्या देखिइसकेको छ । उपत्यकाका प्रमुख क्याम्पसहरू रत्न राज्यलक्ष्मी क्याम्पसमा पूर्व एमालेनिकट अनेरास्ववियुका तर्फबाट संगमप्रसाद देवकोटा अगाडि सरेका छन् भने त्रिचन्द्रबाट गोविन्द थपलिया, मिन भवन एनसिसिबाट केशरी रेग्मी, प्रकाश रावल, टिका धमला, नेपाल ल क्याम्पसबाट विशेष शर्मा सुवेदी, शङ्करदेवबाट आशिष तिम्बु, पिएन क्याम्पसबाट सन्तोष न्यौपाने, महेन्द्रमोरङ्ग विराटनगरबाट अभिमन्यु यादव, पशुपति बहुमुखी क्याम्पसबाट एल के राई, कोटेश्वर बहुमुखीबाट विक्रम पोख्रेलले स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा आफ्नो उम्मेदवारी दिने तयार गरेका छन् । त्यसैगरि पूर्व माओवादी समर्थित अनेरास्ववियुबाट रत्न राज्यलक्ष्मी क्याम्पसमा देवेन्द्र शर्मा त्रिचन्द्रबाट महेन्द्र चन्द, एनसिसि मिनभवनबाट तुलसीराम न्यौपाने, समराज राई, नेपाल ल क्याम्पसबाट प्रतीक कार्की, विष्णु ढुङ्गेल, शंखरदेवबाट पारु चौलागाईं, मदन ढकाल, अस्कलबाट खेम सिंह, किशोर तिमल्सिना, पिएन क्याम्पस पोखराबाट वसन्त भट्टचन, शोभित पौडेल, महेन्द्रमोरङ्ग विराटनगरबाट जोसेफ घिमिरे, सानोठीमीबाट पार्वती शर्माले उम्मेदवारी दावी प्रस्तुत गरेका छन् ।

    • बिहिवार, माघ १६ २०७६०५:५०:२५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ