काँचो मासु र काँचो पात दुवैको मादकता एउटै छ । दुवैको स्वरूप र गन्तव्य पनि एकै । काँचो मासु पोलिरहेकाहरू पनि आत्मशान्तिको कुरा गर्छन् । काँचो पात उठाइ रहेकाहरूको पनि सोही बखान छ– आत्म सुख, आत्म शान्ति ।
पशुपतिको सन्ध्याकालिन माहोल निकै अनौठो छ । जलिरहेको आगोको लप्का र उठिरहेको गाँजाको धुवाँको नृत्य क्रमशः वाग्मतीको पानीमा बग्दा छन्, तैरिदा छन्, र फेरि बगिरहँदा छन् ।
शिवरात्रिको पूर्वसन्ध्या, साधु–सन्त र बाबाहरूको चहलपहलले भरिभराउ–ए–सजिसजाउ छ । हाइटेक बाबा, जटाधारी बाबा, खरानी बाबादेखि नांगा बाबाहरूले पशुपति परिसर ‘बाबामय प्लस गाँजामय’ बनेको छ ।
शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत–तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला बोकेका यी बाबाहरू देखिरहँदा भगवान शिवको झल्को त आउँछ नै साथै रातभर धुनी तापेर अनौठा हर्कत र आमचकारी गाली फलाकिरहेका यी बाबहरूलाई देख्दा भगवान शिवको अस्तित्वमाथि नै शंका समेत उब्जिन पुग्छ ।
कतै देखिन्छ– मुढा बालेर ब्लान्केटभित्र पोकाको पोका गाँजाहरू खोतलिरहिएको छ । कतै देखिन्छ, तीनै मुढामाथि ताओ बसाएर हरियो साग ओइरिएको छ । अलि माथि रोटी बेल्दै गरेका बाबाहरू देखिन्छन् । नजिकै शिव भजनसँगै जीवन र दर्शनको बारेमा धाराप्रवाह प्रवचन सुरु भएको छ । बाबाहरूलाई छाडेर अन्यत्र नजर डुलाउने फुर्सदसम्म छैन मलाई । जटा खोलेर आमचकारी गाली गरिरहेका बाबाहरूको गुनासो छ– ‘ये सरकार बाबा लोगौं के सम्मान में कुछ नहीँ कर सकी । अगले साल बाबा इधर नहीँ आइगें ।’ कुनै कलेजको ड्रेसमै रहेको युवक असजिलो हिन्दी बोल्दै सुनाउँछ( ‘सरकारले आप लोगो कि साथ अच्छा नही किया क्या ?’ उत्तर पछिको प्रश्न ।
‘हम लोग तो दो–चार दिनके मेहमान हैं । हमे खाने बस्ने तक सुविधा नही हैं । मेहमानो के साथ ऐसी सुलुक ? हम अगले साल सें नहि आएगें ।’ लगत्तै उनी पशुपतिसँग माफी माग्दै जय शम्भो भन्न भ्याउछन् । म देख्छु उनको रिसले राता भएका आँखाहरूले पुनश्चः अर्को मुस्लो गाँजा निल्यो ।
एकातर्फ भजन भनिरहेछ हर..हर ..हर महादेव ।
अर्कोतर्फ भक्तजनहरू काँचो मासु र काँचो पातको प्रत्येक मुस्लो धुवाँ निल्दै भनिरहेछन् – ‘पशुपतिनाथकी जय ।’
आधकल्चो जलाएर फ्यालिएको मानव मांश–ए–हाड खोतलिरहेको भोका कुकुरहरू यी सब माहोल देखि पर..पर दुर दुर दगुरहेछन् । उनीहरू यो जान्दैनन् कि आज हजारौं भक्तजनहरू भोका बसेका छन्, जाग्राम रहेनेछन् । उनीहरूलाई यी सब कुरासँग कुनै सरोकार नै छैन । मध्यरातको समयमा भगवान शिव मनुष्यको सबैभन्दा बढी निकट आइपुग्नेछन् र फागुन कृष्ण चतुर्दशीको रात्रि अर्थात आज आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रूपमा प्रकट हुनेछन् ।
यी कुकुरहरू बस् आफ्नो भोक निवारणमा लागेका छन् । भगवान आउन कि भक्त ! उनीहरूलाई हेरिरहँदा यस्तो लाग्छ– आजकै दिन भएको मानिने समुन्द्र मन्थनको समय भगवान शिवले कालकुट विष पिएर गल्ती गरे । उनले यो ब्रम्हाण्ड÷मानव जातिलाई बेकारमा बचाइदिए । दिनहुँको मानव खेदाइ र कुटाइबाट वाक्क–ए–दिक्क भएका यी जन्तु मानव जातिलाई लगातार गाली गर्दै तिनै मानव मांस–ए–हाड चपाउनुको बाध्यतासँग अघाइसकेका छन् ।
उता भजनले गति समातेको छ– सन्ध्याकालीन आरतीमा सयौं भक्तजनहरू मदहोस छन् । भगवान शिवको जय–जयकार र प्रशंसाको श्लोकमा उफ्रि–उफ्री ताण्डव नाचिरहेकाहरूको खुट्टा भत्र्याक्क भत्र्याक्क–फत्र्याक्क फत्र्याक्क गरिरहेका छन् । भजनमण्डलीले यस माहोललाई निकै ओजिलो–ए–तेजिलो बनाइरहेका छन् ।
यता मोटासाइकलबाट झरेका जोडी पैतलाहरू बाँदरले मच्चाएको ताण्डवसँगै तितरबितर भएका छन् । भइरहेका छन् । जस्ताको छाना बजाउँदै च्या चु र चि च्या गर्दै उफ्रिरहेका बादँर खेदिरहेका बच्चाहरू दगुर्दादगुर्दै भनिरहेका छन्– शिव मान्दैनन् ! मान्दै मान्दैनन् शिव.. मान्दैनन्...
अलि कान थाप्छु, उनीहरू के भनिरहेका छन्–
“कसरी मनाउ शिवलाई ? शिव मान्दै मान्दैनन्......शिव मान्दै मान्दैनन् ।
फूलको माला शिव ल्याउँदै ल्याउँदैनन्......सर्पको माला मैले कहाँबाट ल्याउँ ? शिव मान्दै मान्दैनन्.....शिव मान्दै मान्दैनन् । कसरी मनाउ भोलेलाई भोले मान्दै मान्दैनन् ।
धोती र कुर्ता शिव ल्याउँदै ल्याउँदैनन्, बाघको छाला मैले कहाँ बाट ल्याउँ ? शिव मान्दै मान्दैनन्..... शिव मान्दै मान्दैनन् । कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् ।
टीका र चन्दन शिव ल्याउँदै ल्याउँदैनन्, खरानी भष्म मैले कहाँ बाट ल्याउँ ? शिव मान्दै मान्दैनन् । कसरी मनाउ भोलेलाई ? भोले मान्दै मान्दैनन् ।
बाँसको लौरो शिव टोक्दै टोक्दैनन्, त्रिशुल डमरु मैले कहाँ बाट ल्याउँ ? शिव मान्दै मान्दैनन..... । कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् ।
जुत्ता र चप्पल शिव ल्याउँदै ल्याउँदैनन्, काठको खराउ मैले कहाँबाट ल्याउँ ? शिव मान्दै मान्दैनन्....
कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् ।
चुरोटखैनी शिव खाँदै खादैनन् गाँजा र धतुरो मैले कहाँ बाट ल्याउँ ? शिव मान्दै मान्दैनन्......
कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् ।
उनीहरू गाइरहेका छन्, म अर्कै मनस्थितिको दास हुन् पुग्छु । सन् १९६० को दशकमा ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा सेवन गर्ने पश्चिमा ‘हिप्पी’हरू आउन थालेपछि यहाँ दुई दर्जनभन्दा बढी गाँजा र चरेस केन्द्र खुलेका इतिहासले मेरो मस्तिष्कमा प्रवेश पाउँछ ।
नेपालमा हिप्पी संस्कृति बढिरहँदा सन् १९६१ मार्च (२०१७ साल चैत) मा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नाकोटिक ड्रग्स १९६१’ पारित गर्यो । जसले गाँजालाई पनि अफिम सरहको कडा खालको लागूऔषध मान्दै प्रतिबन्ध लगायो ।
तर नेपाल अझ पनि उक्त सन्धिको पक्षधर बनिसकेको थिएन् । विभिन्न विदेशी लेखक, संगीतकार, कलाकार एवम् नागरिकहरूले गाँजा सेवन गर्न यतै बस्न थालेपछि अमेरिकाले गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दियो । फलतः वि.स. २०३३ मा लागूऔषध नियन्त्रण ऐन जारी गरेर ‘गाँजाको खेती, उत्पादन, खरिद–बिक्री, निकासी, पैठारी, सञ्चय र सेवन गर्न’ प्रतिबन्ध लगायो ।
नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिने अमेरिका, क्यानडा लगायतका पश्चिमा मुलुकहरूमा नै अहिले गाँजा प्रतिबन्ध हटेको अवस्था छ । यहीबीच नेपालमा पनि गाँजा खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ । लागूऔषध विरुद्धका अभियन्ता राजीव काफ्ले, नेकपा सांसद विरोध खतिवडालगायतले नेपाल अब प्रतिबन्धमा अल्झिरहनुपर्ने कुनै बाध्यता नरहेको बताइरहेका छन् ।
म्यारिजुयना टुरिजम, हिप्पी टुरिस्ट, मेडिकल डोज अफ् गाँजाका बारेमा विभिन्न समयमा आफ्नै साथीसर्कलमा गरिएको समकालीन छलफल लगायतका कुराहरूमा घोत्लिरहँदा एक्कासी हल्ला मच्चिन्छ । एउटा कुद्छ । अर्को हाम्फ्याल्छ । ती दुवैलाई उछिन्दै अर्को दौडिन्छ । छानामा बाँदर र भुइँमा यी बच्चाहरु दुवै उसैगरि चिच्याइरहेछन् । जसरी अलि पर..भजन सुन्दै बाबा चिच्याइरहेछन् – ‘बाबा भोले कि जय । जय जय...’
शिवाय..शिवाय..अर्को एक जोगी !
नमो शिवाय.... अर्को जोगी।
पडुडुफुप.......कुनै मोटरसाइकल ।
यही बीचमा कसैले मोटरसाइकलको हर्न बजाएर मेरो दिमागमा दखल पुर्याउँछ । ऊ आफ्नो पार्वतीलाई बाइकमा चढाएर कुलेलाम ठोक्छ । म एकाएक अतीतका गोरेटाहरू आफ्नो पैताला मुनि भेट्न पुग्छु । ती गोरेटाहरूबाट पैताला हटाएर वर्तमान आइपुग्न मलाई समय लाग्छ । जब आइपुग्छु, मुटु आसपासको ठाउँ दुखिरहेको भान हुन्छ ।
मन चिसो भयो, त्यतिबेला । हो, दुख्यो, बागमती बगरको इतिहास जत्तिकै ।
वाग्मतीको बगरतिर फ्याल हानें । पारिपट्टि चितामा दाउरा भाँती पड्किरहेछ– हड्डीको आवाज । पल्लो चितामा भर्खरै जलिभ्यायाएको मानव शरीरको खरानी पखालीने कामले निरन्तरता पाएको छ । सेलाइनसकेको चितामा खनाइएको पानी धुवाँ बनेर उडिरहेछ । हुँदो हो, अघिको काँचो हाड जल्न नपाएकले भर्खरै जल्दै छ र हुनसक्छ केही समयपश्चात एउटा अर्को कुकुर आउनेछ र हड्डीको टुक्रालाई आफ्नो दाँतबीच च्याप्नेछ । यो दृश्य हेरिरहँदा हातको चिया जम्न पुग्छ मेरो । नजिकै रहेको ‘फोहोर मलाई’लाई त्यो चिया कप पिउन अह्राएर म पशुपतिको परिसरदेखि बाहिरिने सुरसार गर्छु ।
हठात एउटी सानी बच्ची मसँग ठोक्किन आइपुग्छे । उसको दुवै हातले बडो जोडसँग एउटा रित्तो बटुको समातेका छन् । “आमाको यी याँ (उ हातले रुद्रघन्टीमुनि संकेत गर्छे) घाउ छ । मेरो आमाले खान सक्दैन । पाँच रुपैयाँ देऊ न दाइ ।”
“पाँच रूप्पेले के खुवाउँछौं आमालाई ?”
उसँग उत्तर छैन । नाम शान्ता बताइन् । “बाबा छैन, आमा भोक लाग्लाग्यो मात्रै भन्छ ।” म उसलाई १० रुपियाँ दिएर बाहिर निस्कन मात्रै लाग्छु, कसैले सुनाउँछ–माथि झगडा पर्यो रे । केही केटाहरूले बाबालाई कुटे अरे !’
मलाई खासै चासो दिन मन लाग्दैन । फेरि अर्को कोही बोल्छ– ‘नागा बाबाले एउटी फुच्चीलाई आफू भएतिर तानेछ, केटाहरूले त्यै निहुँमा भाकुरेछन् ।’
यस्तै यस्तै बेला हजुरआमाको श्लोकहरूले बखान गर्ने भगवानसँग मलाई ठोक्किन मन लाग्छ, आँखा जुधाउन मन लाग्छ । यस्तै यस्तै बेला म आफ्नो टाउकोमा एक जोडी पैताला उम्रिएको पाउँछु ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ