चौरजहारी । रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिव नेतृत्वमा समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराएका हुन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा गृहमन्त्री थापाले उक्त घटनाबारे भने,`गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्टिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यलयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानवीन समिति गठन गरिएको छ ।´
गृहमन्त्रीले जाजरकोटका १९ जनाको समुह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछ पछि प्रहरीले छाडेको उनले जानकारी गराए ।