Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपा विवादः देश लुट्ने र शासनसत्तामा बसेर संवैधानिक पदहरू बाँडफाँड गर्ने दाउ

नेकपा विवादः देश लुट्ने र शासनसत्तामा बसेर संवैधानिक पदहरू बाँडफाँड गर्ने दाउ


नेकपा विवादः देश लुट्ने र शासनसत्तामा बसेर संवैधानिक पदहरू बाँडफाँड गर्ने दाउ
  • हरिचरण साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद सत्ता र पदका बाँडफाँडका लागि मात्रै हो। यिनीहरुको विवाद कुनै नीति वा सिद्धान्तको लागि होइन। केपी शर्मा ओली र पुप्ष कमल दाहाल 'प्रचण्ड'ले जसरी झण्डै दुई तिहाइको बहुमत पाए, त्यो अनमेल विवाह भएको जस्तो हो। ओली शरणम् गएको प्रचण्डले केही गर्न सक्दैन भन्ने लाग्छ । प्रचण्डले केपी ओलीको राजीनामा गराउन सक्दैनन्।

माधव नेपाल त एउटा नाटककार हुन्, पहिलेदेखिका भ्रष्टाचारी हुन्। यिनीहरुको एकल जातीय शासन जुन स्थापित भएको छ, त्यसमा प्रचण्ड पनि सहपाठी भएको हुनाले यिनीहरुको पदीय लोलुप्ता मात्रै हो। संवैधानिक पदहरुको बाँडफाँडको कुरा मात्रै नमिलेको हो। ठूलठूला भ्रष्टाचारहरु भइरहेका छन्, त्यसमा मैले खान पाइन भन्ने यिनीहरुको भित्री आवेग मात्रै निस्केको हो। प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पहिला पनि प्रधानमन्त्री भइसकेका छन्, यिनीहरुले देखेका छन् कि यसरी लुट्न सकिन्छ। अहिले लुट्ने कुरामा एक्लै ओली गुटले मात्रै लुटिरहेकोले यिनीहरुलाई छटपटी भइरहेको छ। त्यसले गर्दा मात्रै नेकपाभित्र यस्तो विवाद देखिएको हो।

नेकपाले चाह्यो भने केन्द्रीय कमिटीको निर्णय गरी ओलीलाई पार्टी अध्यक्षबाट फिर्ता बोलाउने अधिकार हुन्छ। तर, महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष पदबाट हटाउन सक्छ भने संसदीय दलबाट निर्णय गरेर संसदबाट प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सकिन्छ।

नेपालमा अहिलेसम्म विभिन्न शासन व्यवस्थाहरु परिवर्तन हुँदै आएको इतिहास त हामीसँग छँदैछ नि। त्यत्रो जनताको शहादत प्राप्त भएर, हामीले बहुदलीय व्यवस्थाका लागि त्यति लडाइ गरेका हौं। २०३६ सालमा जब पञ्चेहरुले बहुदलीय आन्दोलनमा प्रहार गर्दै थिए त्यतिबेला हामी आन्दोलनमा थियौँ। त्यसकारणले सत्ताधारी दलले गल्ती गर्दै गए भने शासन व्यवस्था परिवर्तन हुँदैन भन्न सकिन्न। तर, जनतालाई सन्तुष्ट गर्न गाह्रो छ। विश्वमा लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाभन्दा कुन चाहिँ राम्रो व्यवस्था हुन सक्छ त? त्यसकारणले अहिलेको शासन व्यवस्था परिवर्तन हुने सम्भावना छैन।

नेपाली जनता दलले त्यसको सम्भावना देख्दैन। कसैले चीनको सी जिनपिङ नीति, एकल पार्टी नीति ल्याउँछु अथवा पहिलेको जस्तो राजतन्त्र ल्याउँछु भनेर सोच्नु गल्ती हुनेछ। जनतामा यति सचेतना छ कि लोकतान्त्रिक गणतान्त्रिक शासन उपभोग गर्न पाउनुपर्छ। त्यसकारणले व्यक्ति परिवर्तन हुन्छ, पार्टी परिर्वन हुन्छ। अर्को नयाँ शक्ति उभार भएर आउनसक्छ तर यो लोकतान्त्रिक गणतान्त्रिकमाथि कुनै किसिमको संकट छैन। यदि कसैले दुष्प्रयास गर्छ भने असफल हुन्छ।

ओलीले पहिला पनि भनेकै छन् कि बैलगाडामा चढेर गणतन्त्रसम्म पुग्न सकिन्छ र त्यसरी भन्ने व्यक्तिहरु अहिले परिवर्तित भएर आएका छन्, गणतन्त्रलाई स्वीकार गरेका छन्। जनताद्वारा जनताकै सरकार बनेको छ। अब गल्ती गर्छन् भने जनताले हेरिरहेका छन्, परिवर्तन गर्छन्। अब दुई वर्ष बाँकी छ चुनावको लागि। अहिले कोरोना महामारीको बेलामा जनता छटपटाइरहेका छन्, सरकारले कोरोना रोकथामका लागि राम्रोसँग व्यवस्थापन गर्न सकिरहेको छैन। सरकारले कोरोना महामारी रोकथाम तथा राहतमा ध्यान दिनुपर्ने हो। तर, सरकारले आफ्नो अकर्मण्यता लुकाउनका लागि राजीनामा जस्ता कुराहरु उठाइरहेका छन्।

कोरोना महामारीबाट जनताको ध्यान भड्काउनका लागि केपी ओलीले नक्सा प्रकरण ल्याएर नेपाल र भारतको सम्बन्ध बिग्रिँदै गएको छ। यो विषयमा भारतले छिटो वार्ता गर्नुपर्दथ्यो। हाम्रो यस्तो सुमधुर सम्बन्धलाई किन बिगार्ने भनेर पनि भारतले वार्ता गर्नु पर्दथ्यो। अर्को कुरा यो दुई तिहाइको सरकार ढाल्नेतिर जानुभन्दा स्थिरताका लागि विधिसम्मत तरिकाले देशको संविधानलाई पालना गर्नुपर्छ। सरकार परिवर्तनका लागि चुनाव नजिकिँदै गएको छ।

ओलीको चालाखीपूर्ण अभिव्यक्तिहरुले आफ्नो र पार्टीको पक्षमा जनमत जुटाउने खोक्रो राष्ट्रवाद मात्रै हो । यो कुरा उहाँ माहिर हुनुहुन्छ। त्यतिखेर संविधानमा सबै अधिकार समेटिनुपर्छ भनेर म पनि वकालत गरिरहेको थिएँ, ५४ बुँदे संशोधन प्रस्ताव राखेको थिएँ। म मधेशको मान्छे भएपनि हिमाल, पहाड, तराई, मेचीदेखि महाकालीसम्म सबै नेपाली हौं भनेर सामाजिक न्यायका लागि जुन लडाइ लडिरहेको बखतमा केपी ओलीको खोक्रो राष्ट्रवादी अभिव्यक्तिले मात्र नेकपाको आज यो बहुमत आएको छ। उनले कुनै कम्युनिष्ट वा विचार सिद्धान्तको मत पाएका होइनन्।

भारतविरोधी मानसिकता विकास गर्न सकिन्छ, यो देशमा भनेर नै त्यस्ता अभिव्यक्ति दिन केपी ओली माहिर छन्। केपी ओली पार्टी र जनताका बीच पनि अलोकप्रिय हुँदै गएको बेला फेरि एउटा नयाँ अभिव्यक्ति दिनुभयो कि भगवान रामको जन्मभूमि पर्साको ठोरीमा छ, नेपालमै राम जन्मेको भन्ने अभिव्यक्तिहरु दिएका छन्। भारतले पनि विवादित भूमिबारे वार्ता गर्नुपर्छ। तर, ओलीले भारतका विरुद्धमा विभिन्न अभिव्यक्तिहरु दिएर वार्ताको वातावरण बिगारिरहेका छन्।

ओलीले भारतविरोधी अभिव्यक्तिहरु दिएर फेरि पनि सोझासाझा जनताको मत आफूतिर तान्न खोज्नुभएको हो । ओलीको चलाखीपूर्ण अभिव्यक्तिका कारणले भारतसँग वार्ताको कुरा अगाडि बढिरहेको छैन। भारतलाई जसरी पनि चिढाइराख्ने, वार्ताको वातावरण नबनोस् र आफ्नो सत्ता टिकिरहोस् भन्ने मनसाय मात्रै ओलीको रहेको छ। हामी कम्युनिष्ट हौँ, धेरै राष्ट्रवादी हौँ भन्ने खालका कुराहरु बोलेर आफ्नो भोट बैँक बनाएका हुन्। ओलीको सैद्धान्तिक र वैचारिक दृष्टिकोणबाट भोट ल्याउने कुरा छैन।

प्रचण्डको एउटा पुरानो भिडियो सार्वजनिक भएको छ। यिनीहरु भारतमा बसेर नेपालमा जसरी माओवादीको क्रान्ति अगाडि बढाएका थिए, जनताका हितमा पनि केही कामहरु भइरहेका थिए तर बढी अहितमा हुन गयो। जब प्रचण्डले सैद्धान्तिक दृष्टिकोण छोडे, नयाँ नेपाल निर्माण गर्ने कुरा छोडेपछि पतन भएर ओली शरणम् गएको हुनाले भारतसँग लागेर सत्तालाई ढाल्छ, मेरो कुर्सी फाल्दैछ भन्ने शंका गर्नु ओलीको स्वाभाविक कुरा होला। किनभने यिनका पनि कुर्सी कुनै बेला भारतले बसालिदिएको होला। त्यसकारणले ओलीले भाषा बुझेका छन्, जनतामाथि विश्वास छैन।

जनताले दिएको मतादेशबाट बनेको सरकारलाई कसले ढाल्न सक्छ? आफ्नो जनता, पार्टी, देश र संसदलाई प्रधानमन्त्री ओलीले त आफैले समाल्नुपर्छ नि। आफूले सबैलाई सम्हालेर राखून्जेल मेरो नेतृत्व क्षमता हुन्छ नि। सहमतिमा राख्न सक्दैन भने तुरुन्त राजीनामा गर्नुपर्छ। त्यो खालका कुराहरु गर्नुपर्ने हिम्मत हुनुपर्ने हो। तर त्यो सिस्टममा न त यिनका पार्टीका विद्रोहीहरु हिँडिरहेका छन् न प्रधानमन्त्रीको पक्ष हिंडेका छन्। अहिले कोरोनाको बखतमा जनतालाई भुल्याउने, देश लुट्ने र शासनसत्तामा बसेर संवैधानिक पदहरु बाँडफाँड गर्ने दाउमा मात्रै छन्, नेकपाका नेताहरु। अर्कण्य कार्यहरुतिर लागेर भ्रष्टाचारी गरेर फेरि अर्को चुनावमा जनतालाई मुर्ख बनाउने काममा लागेका छन्। पैसाकै बलमा चुनाव जित्न सकिन्छ भन्ने हिसावले अहिले क्रियाकलाप गरिरहेका छन्। तर जनताले यी कुराहरु थाहा पाइसकेका छन्। समस्त राष्ट्रको विकास कसरी हुनसक्छ भनेर एउटा नयाँ पार्टी, नयाँ विचार, नयाँ नेतृत्व छान्नु पर्ने कुरामा जनताले विचार गर्नुपर्ने हो।

कसैले राजीनामा माग्यो भने दिइहाल्नुपर्ने काम गर्नु हुँदैन। त्यसको प्रक्रिया छ। संसद बोलाउने, अविश्वासको मत प्रस्ताव दर्ता गराउनुपर्यो तिनीहरुले। त्यो गर्न सक्नुपर्यो नि त। प्रधानमन्त्री गलती गर्छन् भने छोड्नु भनेको यिनीहरु पनि भित्रभित्रै मिलेका छन्। जनतालाई ठग्ने, ढाँट्ने, लुटिरहने कुरामा यिनीहरु सबैको मिलिभगत हुनसक्छ।

गत निर्वाचनमा हामीले प्रदेश र संघीय निर्वाचनमा सफलता हासिल गर्न सकेनौँ। तर, स्थानीय तहमा हामीले केही ठाउँमा जितेका छौँ। निश्चितरुपमा हामीले प्रदेश र संघीय संसदको निर्वाचनमा असफल भयौं, यसको एउटा मात्रै कारण छ, जुन कारण फेरि पनि दोहोरिन सक्छ। वैचारिक र सैद्धान्तिक संघर्षमा लागेका हामी गरिब जनताको उत्थानका लागि, देशको विकासका लागि, न्यायका लागि हामी लडिरहेका छौँ। अन्याय र अत्याचार गर्नेहरुको धनको लोभमा जनता फस्छन्, त्यसकारण हामी प्रदेश र संघीय निर्वाचनमा जित्न सकेनौँ।

यिनीहरुले चुनावका बेला कुखुरा, माछा, दारु र नोट दिए, त्यहींअनुसार जनताले पनि भोट दिए। त्यसकारणले अहिले तिनीहरु शासनसत्तामा छन् र जनतामाथि उत्पीडन लाद्दै आएका छन्। तर, हामी नेपाली जनता दल संसदमा छैन भन्दैमा देशमै छैन भन्ने कुरा नगरौँ। हामीले दैनिकरुपमा देश र जनताको पक्षमा उठाउँदै आएका छौँ। (साह नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हुन्) (मधेश दर्पण फिचर सेवा)

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक