काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित भएको छ । गत मङ्सिर २१ गते बसेको बैठक अध्यक्षद्वयका प्रतिवेदनहरु अध्ययन तथा नेताहरुबीच सहमति समेत जुटाउने उद्देश्यले मङ्सिर २८ गतेसम्मका लागि स्थगित भएकोमा २८ गतेको बैठक पार्टी विवादबारे प्रङ्गमै प्रवेश गर्न पाएन ।
२८ गतेको बैठक पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै पुस १ गतेसम्मलाई स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार लामासँग जोडिएका विषय र शोक प्रस्तावबाहेक अन्य विषय बैठकमा प्रवेश नै नभएको जानकारी दिए ।
‘नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा सानै उमेरदेखि नै कमानसिंह लामाको योगदानलाई स्मरण गर्दै आइतबारको स्थायी समिति बैठकमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरियो र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्यो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले बालुवाटारमा सञ्चारकर्मीलाई जानकारी दिए ।
विगत एक साताको अवधिमा नेकपाभित्रको सङ्कट समाधान गर्न नेताहरुबीच विभिन्न किसिमका प्रयास भए पनि ती प्रयास सार्थक हुन सकेका थिएनन् । यद्यपि एक साताको बीचमा लामो समय बोलचालन नै नगरेका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद र छलफलसम्म गर्ने अवस्थामा पुगेका छन् । यहीबीचमा नेता लामाको निधनले नेताहरुलाई २८ गतेको बैठकमा पार्टी विवादको विषय थप केही समय पछि धकेल्ने बहाना बनेको छ । जसले गर्दा उनीहरुले थप दुई दिन अरू छलफल र संवाद गर्ने पाउने छन् ।
योसँगै अबको दुई दिनमा नेकपा विवाद समाधान उन्मुख बन्ला नै भन्ने कुनै निश्चित भने भइसकेको छैन । किनभने विगत ६ महिनादेखिको विवाद दुई दिनमै मिलाउने जादुको प्रयोग नेताहरुले गर्लान् भन्नेमा सो पार्टीका नेताहरु नै विश्वस्त छैनन् । विवाद मिलाउन खासगरी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले गत भदौ २६ को स्थायी समितिको निर्णयलाई टेकेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारेको छ । तर भदौ २६ को निर्णय असफल भइसकेको कार्यकारी अध्यक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बुझाइ छ । यो बुझाइका कारण प्रचण्ड नेपाल पक्ष भदौ २६ मा फर्कन सहमत हुने सङ्केत देखिएको छैन ।
‘अब भदौ २६ मा फर्कन सम्भव नै छैन । किनभने त्यो असफल भइसकेको सूत्र हो । त्यसको उल्लङ्घन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गरिसक्नुभएको छ’, स्थायी समिति सदस्य बेदुराम भुसालको भनाइ छ । तर भुसाल नेताहरुले चाहने हो भने नेकपा विवाद २ दिन होइन २ घण्टामा नै समाधान हुन सक्ने पनि बताउँछन् ।