सरकारको नेतृत्व गरिरहेका बालेन शाहमा देखिएको प्रवृत्ति अर्को गम्भीर चिन्ताको विषय हो, जहाँ उनी अर्को कुनै ग्रहबाट आएको 'एलियन' जस्तो जनतासँग घुलमिल नहुने, प्रश्न सुन्नै नसक्ने र सधैँ अन्तर्मुखी एवं रहस्यमय बन्ने ध्याउन्नमा देखिन्छन्।
अपार जनमतको न्यानो काख पाएको सरकार गठनको चार महिना नपुग्दै प्रश्नहरूको यति ठूलो चक्रव्यूहमा फस्नु सफलताको सङ्केत किमार्थ होइन, बरु असफलताको पूर्वघोषणा हो। चरम बेथिति, भ्रष्टाचार र कुशासनको फोहोर सोहोर्न जनताले 'आरी घोप्टे झरी'जस्तै मत बर्साएका थिए। तर विडम्बना, यति विशाल र न्यानो जनमत पाएको सरकार आज कुहिरोको काग झैँ विचलित र दिशाहीन बन्दैछ। सुशासन-सुशासन भनेर आएको सरकारको गतिविधि हेर्दा चाँडै नै स्खलित हुन उद्वेलित देखिन्छ। लोकतन्त्रमा सरकारहरू आउँछन् र जान्छन्, जसमा आलोचना र प्रशंसा स्वाभाविक प्रक्रिया हुन्। तर वर्तमान सत्ताधारीहरूले बुझ्नुपर्छ कि यहाँ कसैको पनि शतप्रतिशत अन्धसमर्थन वा सतप्रतिशत बिरोध हुँदैन भनेर। मुद्दा हेरेर सरकारको प्रशंसा गर्नु र गल्तीमा औँला ठड्याउनु प्रतिपक्ष र सचेत नागरिकको धर्म हो।
इतिहास साक्षी छ, नेपालमा बहुमतका सरकारहरू कहिल्यै विपक्षीले ढालेका होइनन्, बरु आफ्नै आन्तरिक अहङ्कार र खिचातानीको भारले भत्किएका हुन्। नयाँ भनिने राष्ट्रिय स्वतन्त्र पार्टी ले यो सत्य बेलैमा बुझ्न जरुरी छ किनकि यो सरकार असफल हुनु भनेको एउटा पार्टी मात्र असफल हुनु होइन, बरु जनताले व्यवस्थामाथि नै भरोसा गुमाएर लोकतन्त्रलाई नै धरापमा धकेल्नु हो। सरकारको नेतृत्व गरिरहेका बालेन शाहमा देखिएको प्रवृत्ति अर्को गम्भीर चिन्ताको विषय हो, जहाँ उनी अर्को कुनै ग्रहबाट आएको 'एलियन' जस्तो जनतासँग घुलमिल नहुने, प्रश्न सुन्नै नसक्ने र सधैँ अन्तर्मुखी एवं रहस्यमय बन्ने ध्याउन्नमा देखिन्छन्।
सामान्य गरिखाने गरिबलाई टार्गेटमा राखेर धरपकड गर्ने।जनताको पिर मर्कामा मलम लगाउनु भन्दा चर्तिकला प्रदर्शनमा जोड दिने।यो प्रवृत्तिको सस्तो स्टन्टले सामाजिक सञ्जालमा क्षणिक वाहवाही त देला, तर वास्तविक राजनीतिमा यसको अवसान निश्चित छ किनकि यस्तो रहस्यमयी स्वभाव सिनेमाको पर्दामा मात्र सुहाउँछ, जनताको ढोकाढोकामा गरिने जीवन्त राजनीतिमा होइन। अहिले देशका आर्थिक र सामाजिक सूचकाङ्कहरू सुधार्नुपर्ने बेला सरकार तिनलाई झन् ओरालो लगाउँदै रमिते बनेको छ र जनताको ओठमा हाँसो छर्नुपर्नेमा उल्टो चरम निराशाको कालो बादल मडारिरहेको छ। नयाँ हुन् वा पुराना, नेताहरूका घरमा किलोका किलो सुन जम्मा हुनु, तर सिङ्गो देश भने सुनसान हुन,जस्तो लज्जास्पद कुरा अरू केही हुन सक्दैन।
इतिहासको एउटा बलियो पाना पल्टाएर हेर्ने हो भने, मैले श्रम गरेको देश दक्षिण कोरिया सन् १९९७ मा आर्थिक संकटको चक्रव्यूहमा फसेर टाट पल्टिने अवस्थामा पुग्यो, तब त्यहाँका साधारण जनताले देखाएको अभूतपूर्व देशभक्तिले विश्वलाई स्तब्ध बनाएको थियो। सरकारको एउटै आह्वानमा करिब ३५ लाख कोरियाली नागरिकहरूले आफ्ना नवजात शिशुका सुनका औँठी र विवाहका गहना स्वतःस्फूर्त रूपमा बुझाएर संकलन गरेको करिब ३०० टनभन्दा बढी सुनले देशको विदेशी ऋण मात्र तिरेन, संसारकै अगाडि कोरियाली स्वाभिमानको बलियो स्तम्भ खडा गरिदियो, जसको जग त्यही निष्कलंक, विश्वसनीय नेतृत्व र नागरिक ऐक्यबद्धता थियो। तर, ठ्याक्कै यसको उल्टो नियति आज नेपालले भोगिरहेको छ, सरकार आँफै सुनखानिमा पुरिएको छ।जहाँ संकटमा पर्दा जनताले रगत, पसिना र आँसु बगाए, भूकम्प र महामारीमा एकअर्काको सहारा बने र नयाँ शक्तिलाई संसद्को चाबी सुम्पिए, तर बदलामा नेपालिले के पाउदैछन? केवल आश्वासनका थुप्रा र दिशाहीनता मात्र पाए।
आज संसद् र सडक दुई फ्याक भएको छ, जहाँ एक थरी ३५ वर्षमा के गरिस भन्दै ढोङ पिटिरहेका छन,जसलाई ३५ वर्षअघिको नेपालको अँध्यारो र छटपटी के थियो भन्ने पत्तै छैन, किनकि यदि ३५ वर्षअघिकै अवस्था ठिक थियो भने जनताले आफ्नो अमूल्य ज्यान किन बलिदान दिनुपर्थ्यो र? अर्को थरी तेरो बहुमतको सरकार छ, के हेरेर बसेको छस्? भन्दै कराउँदै छन्, तर विडम्बना, युट्युबर जस्तो क्यामरा बोकेर सस्तो प्रचारमा हिँड्ने यि संसदहरू संग न त कुनै स्पष्ट भिजन,दृष्टिकोण छ, न त कुनै परिपक्व अनुभव नै। आजको सरकार जूनको उज्यालोमा आफ्नै छाया पछ्याउँदै गन्तव्यहीन यात्रामा निस्किएको फिरन्ते बटुवा जस्तै बनेको छ, जसको न त तत्काल के गर्ने भन्ने कुनै ठोस योजना छ, न त नेपाललाई कति वर्षमा कुन स्तरमा पुर्याउने भन्ने कार्यान्वयनको ल्याकत नै केबल कुरा र दाबीका थुप्राहरूका बीच देश रसातलतिर भासिँदै छ र यो अकर्मण्यता एवं केटाकेटीपनको मूल्य अन्ततः नेपाली जनताले चुकाउनुपर्ने अवस्था सृजना भएको छ। यो सुनखानिले डुबेको सरकारको चेत बेलैमा खुलोस।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।