Logo

बुधवार, भाद्र १० गते २०८३

पसिना र रगतले सिन्चिएको घर, आँशुले भिजेको ओछ्यान 

पसिना र रगतले सिन्चिएको घर, आँशुले भिजेको ओछ्यान 


पसिना र रगतले सिन्चिएको घर, आँशुले भिजेको ओछ्यान 

 

श्रीमती सरिताको हात समातेर, सानो छोरो विशाल र काखकी छोरी पूजालाई अङ्कमाल गर्दै रमेशले भनेका थिए, सरिता, दुई(चार वर्षको त कुरा हो नी। हाम्रा दिन पनि पक्कै फेरिएला। म मेहनत गर्छु, तिमी गाउँमै परिवार सम्हाल।त्यो दिन त्रिभुवन विमानस्थलमा श्रीमतीको आँखाबाट खसेको आँसु र छोराछोरीको टोलाएको अनुहार बोकेर रमेश मरुभूमिको देश कतार उडे।

दोलखाको एउटा सानो गाउँका रमेश जब २६ वर्षका पुगे तब पारिवारिक जिम्मेवारीले थिच्यो र उनको मनमा अनेकन कुराहरू खेल्न थाले।काँधमा भएको ऋणको भारी बिसाउने र परिवार सुखी बनाउने सपनाले सताउन थाल्यो।केवल घरमा बिहान-बेलुकी छाक टरोस्, बृद्व बुवा आमाको  औषधी नछुटोस् र साना छोराछोरीले मिठो खान र अलि राम्रो लगाउन पाऊन र साहु ऋण तिर्न सकियोस भन्नका लागि बिदेश जाने निर्णय गरेका थिए।

कतारको ४८ डिग्रीको प्रचण्ड गर्मी, फलामजस्तै तातिएको बालुवामा १२/१२ घण्टा खट्नु रमेशको दैनिकी बन्यो। दिनभरिको कडा परिश्रमपछि फर्किने ठाउँ हुन्थ्यो उहि एउटै साँघुरो कोठा, जहाँ उनीजस्तै ८/१० जना विदेशी दाजुभाइ तल्लै तला भएको खटमा खाँदिन्थ्ये।
कोठामा न पर्याप्त हावा हुन्थ्यो, न शान्ति। कसैको घुराई, कसैको बिरामी परेर कराएको आवाज, त कसैको सुटुक्क रोएको सुस्केरा। रमेश आफ्ना थाकेका हात-गोडा सुमसुम्याउँदै माथिल्लो खटमा तेर्सिन्थे।
नेपालमा टेलिफोन गर्दा रमेश सधैँ मुस्कुराउँदै भन्थे, म यहाँ धेरै आराममा छु सरिता,तिमीहरू चिन्ता नगर।
तर फोन राखेपछि उनी कोल्टे फेरिरहन्थे। आँखैअगाडि नेपालको आफ्नो बर्षातमा जताततै पानि छिर्ने घर सम्झन्थे।हामिलाई त भने जस्तो केहि पुगेन तर मेरो परिवारलाई त कम्तीमा एउटा पक्की घर चाहिन्छ, उनीहरू त शान्ति संग सुत्न पाऊन,यही एउटा सोच मनमा खेलाउदै निदाउन खोज्दाखोज्दै कतिबेला बिहान ड्युटि जाने समय हुन्थ्यो पत्तै हुँदैनथ्यो।

आफूले खाई/नखाई, पेट काटेर, बिरामी पर्दा पनि औषधी नखाइ/नखाई ,साथिभाई संग सर सापटि गरि गरि नेपाल पैसा पठाइरहे। वर्षौँको रगत र पसिना सिँचेर अन्ततः गाँउ तल बजारको छेउमा एउटा सुन्दर र मजबुत पक्की घर बन्यो। गाउँलेले भने रमेशले त साह्रै प्रगति गर्‍यो। यहि बिचमा छोराले ब्याच्लर सकायो छोरिले +२।

समय कसैको लागि रोकिँदैन। हेर्दाहेर्दै परदेशमा २२वर्ष बित्यो। बाक्लो कपाल झरेर टाक्ले भयो, केहि बाँकि कपाल पनि फुलेर सेतै भयो। नियमितको भारि बोकाईले ढाड दुख्ने रोग लाग्यो, हातका छाला फुटेर कडा भए, र निरन्तरको अनिद्राले आँखाका खाडल गहिरा भए। उनको उमेर, जोस, र बैँस सबै कतारको मरुभूमिमा सुकिसकेको थियो, शरिरले काम गर्न नसकेपछि उनले सदाका लागि नेपाल फर्किने निर्णय गरे।

घर आइपुग्दा उनीसँग न त पहिलेको जस्तो बल थियो, न जोस/जाँगर, न त बचत नै। जे जति कमाएका थिए, सबै घर बनाउन, छोराछोरी पढाउन र परिवार पाल्नैमा सकिएको थियो।उनले बनाएको नयाँ पक्की घर टल्किरहेको थियो। तर त्यो घरमा रमेशको स्वागतमा कुनै रौनकता थिएन।
दूधे छोरो विशाल अब २४ वर्षको वयस्क युवक भइसकेको थियो, नजिकैको खानेपानी अफिसमा कम्युटर अपरेटरको काम गर्थ्यो।छोरी पूजाको विवाह भइसकेको थियो। छोराको लागि रमेश एउटा अपरिचित बाउ जस्तै थिए, जसले केवल महिना/महिनामा पैसा पठाउने गर्थ्यो।
सुरुका केही दिन त हालखबर सोधपुछमै बित्यो। तर बिस्तारै घरमा बुवा रमेशको उपस्थिति बोझ बन्न थाल्यो।
एक दिन बिहान छोरा विशालले आमासँग झर्किँदै भनेको कुराले रमेशको मुटु छियाछिया भयो। सबै साथिभाई अस्ट्रेलिया, अमेरिका पुगे। उनिहरूको बुवाले सबै ब्यवस्था गरिदिए। हाम्रो बुवाले भने मेरो लागि केहि गर्न सक्नु भएन।दिनभरि घरमै खोक्दै बस्नुहुन्छ। न कुनै कामधन्दा छ, न पैसा कमाउने बाटो। अहिले त उहाँको औषधी-पानी गर्दागर्दै मेरो आफ्नै खर्च पुग्दैन।
रमेशको छातीमा कसैले तातो भालाले रोपेजस्तो भयो।
श्रीमती सरिता पनि अब पहिलेकी जस्ती रहिनन।उनी पनि श्रीमान्‌को निद्रा नपर्ने बानी र बिरामी शरीर देखेर गनगन गर्न थालेकि थिईन। जसको शान्ति र निद्राका लागि रमेशले आफ्नो सिङ्गो बैँस अनिँदो बिताएका थिए, आज त्यही घरका मानिसहरूका लागि उनी बिझाउने कसिङ्गर बन्दै गएका थिए।

एक साँझ, रमेश आफूले बनाएको त्यही पक्की घरको बार्दलीमा बसेर आफ्ना लाचार हातहरू हेर्दै थिए।जुन घरको जग हाल्न उनले आफ्नो तन्नेरी उमेर कतारको मरुभूमिमा गाडेका थिए, आज त्यही घरमा उनी आफ्नै परिवारका लागि पराई जस्तै भएका थिए। पैसा हुँदा प्यारो बुवाु र प्यारो श्रीमान् हुने मान्छे, आज रित्तो हात फर्किँदा केवल एउटा घरको अतिरिक्त बोझ मात्र बनेका थिए।
सोच्दा सोच्दै आँखाबाट खसेका दुई थोपा आँसु सोही पक्की घरको ढलानमा खसेर बिलाए।न त उनीसँग अब फेरि परदेश जाने बैँस बाँकी थियो, न त घरमै सम्मानका साथ बाँच्ने आधार। अभाव, उपेक्षा र मनको गहिरो चोट बोक्दाबोक्दै केही बर्षपछि रमेशले त्यही पक्की घरको एउटा कुनामा सधैँका लागि आँखा चिम्लिए।जसले जीवनभर अरूलाई निदाउनका लागि आफ्नो निद्रा बेच्यो, अन्ततः उनी सधैँका लागि निदाए।कसैको माया, सद्भाव नपाई, केवल एउटा मौन अभावभित्र।

(यो कथाका पात्र र ठाँउ काल्पनिक हुन।यो कथा केवल रमेशको मात्र होइन, वैदेशिक रोजगारीमा गएर आफ्नो सम्पूर्ण जीवन र सपना परिवारका नाममा सुम्पिने ति हजारौं नेपाली दाजुभाइहरूको भोग्नु परेको साझा कथा हो।)

पाण्डव खनाल

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी