Logo

बिहिवार, भाद्र ४ गते २०८३

आस्थाको धरोहर साल्पा पोखरी

आस्थाको धरोहर साल्पा पोखरी


आस्थाको धरोहर साल्पा पोखरी


 म नास्तिक हुँ भन्ने मानिसले पनि आफूलाई आपत्विपत् आइपर्दा आफ्नो धार्मिक सम्प्रदायले मान्दै आएको धर्म अनुसारका भगवान्, ईश्वर, देवीदेउता, माङ, गड, अल्लाः, याहवेह, वाहेगुरु, अकालपुरख आदिलाई सम्झने र पुकार्ने गर्छन् । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा र खोटाङ, खासमा खोटाङ र सङ्खुवासभा जिल्लाको सीमा साल्पा पोखरीसम्म छैन । खोटाङको सीमाले साल्पा पोखरीलाई छुँदैन, कुलू–पोङ्खो (साल्पा भन्ज्याङ-डाँडा) लाई मात्रै छुन्छ भने सङ्खुवासभाले सिलिछो (सिलिछु-सिचिचोङ) चुलीलाई मात्र छुन्छ । साल्पा पोखरीलाई नेपालका हिन्दु, किराँत, बौद्ध र प्राकृतिक धर्म मान्नेहरूको सङ्गमस्थलका रूपमा लिइन्छ । साल्पा पोखरीको धार्मिक महìव, त्यस पोखरीमा लाग्ने मेला र सो पोखरीलाई पवित्रस्थल मानेर पूजाआजा गर्न जाने तीर्थयात्रीमा विश्वास, मूल्यमान्यता र आस्था छ । साल्पा पोखरीमा वैशाखे पुर्णे, ऋषितर्पणी मङ्सिर पुर्णेमा मेला लाग्ने गर्छ । मेलामा भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, धनकुटा, तेह्रथुम, उदयपुर, रामेछाप, दोलखा जिल्लालगायत मधेशका केही जिल्लाका तीर्थयात्री पनि मेला भर्न आउने गरेका भेटिन्छन् ।  

पछिल्लो पटक २०७८ सालमा भएको बाह्रौँ राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार नेपालमा १४२ जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहको बसोबास छ । जनगणनामा उल्लेख भएका १० धार्मिक समूहमध्ये हिन्दु, किराँत, बौद्ध एवं प्रकृति पूजकको साझा आस्था अनि धरोहरको केन्द्रका रूपमा रहेको छ, ‘साल्पा पोखरी’ । साल्पा पोखरी नेपालको पूर्वी पहाडी जिल्ला सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा र खोटाङको सीमामा छ । साल्पा पोखरीको अधिकांश भाग भोजपुरको तत्कालीन दोभाने गाविस–८ ले ओगटेको छ । केही भाग सोलुखुम्बुको गुङ्तेल ९गुदेल० ले छोएको छ । खोटाङले साल्पा पोखरीभन्दा केही तल र सङ्खुवासभाले केही माथि मात्रै सीमाका रूपमा छोएको छ भने साल्पा पोखरीको पानीको निकास गुङ्तेल (गुदेल) भएर झर्छ ।  

यो पोखरी केवल पानी जमेको सामान्य दह, ताल, तलैया, पोखरीको रूप मात्रै नभएर किराँत महाजातिभित्रका कुलुङलगायत अन्य केही जातिको उत्पत्ति कथा एवं इतिहाससँग साइनो जोडिएको छ । किरात तथा हिन्दु लोककथामा पनि साल्पा पोखरी जोडिएर आएको देखिन्छ । यो भूक्षेत्रलाई ऐतिहासिक कालदेखि ‘महाकुलुङ भूक्षेत्र’ ‘महाकुलुङ भूमि’ अङ्ग्रेजी भाषामा (ग्रेटर कुलुङ) का रूपमा चिनिन्छ । साल्पा पोखरी रहेको भूक्षेत्रलाई ‘महाकुलुङ भूक्षेत्र’ भन्नु र त्यसरी चिनिनुको प्रमुख कारणमा ऐतिहासिक कालदेखि सो भूक्षेत्रका प्रथम मानवका रूपमा कुलुङ जातिको बसोबास रहनुलाई मानिन्छ । हालको महाकुलुङ गाउँपालिका सोलुखुम्बु जिल्ला, साल्पा सिलिचो गाउँपालिका भोजपुर जिल्ला अनि सिलोचोङ गाउँपालिका सङ्खुवासभा जिल्लाको अधिकांश भूभागमा कुलुङ जातिकै बसोबास छ । अझ हालको महाकुलुङ गाउँपालिका क्षेत्रभित्र लगभग ९० प्रतिशतदेखि ९२ प्रतिशत कुलुङ जातिको एकल बसोबास छ । 

साल्पा पोखरी ३,४५० मिटर हाराहारीको उचाइमा रहेको छ । साल्पा पोखरीसम्म जानलाई अहिले भोजपुर र खोटाङ हुँदै गरिने मुन्धुम (कुलुङ जातिले मुन्धुमलाई रिदुम भन्छन्) पदमार्ग भएर जान सकिन्छ । अर्को बाटो सङ्खुवासभाको तुम्लिङटारसम्म हवाईजहाजबाट यात्रा गरेर तुम्लिङटार, कात्तिकेघाट, गोथेबजार, साल्पाफेदी, जौबारी, चित्रे, कुलू पोङ्खो (साल्पा डाँडा) हुँदै पनि जान सकिन्छ । सोलुखुम्बुको सल्लेरी, सोत्तो (सोताङ), बुङ, छेस्खाम, गुङ्तेल (गुदेल), सनम, त्यू, कुलू पोङ्खो (साल्पाडाँडा) हुँदै पनि यात्रा गर्न सकिन्छ । सङ्खुवासभाको माथिल्लो भेगको बाला, सिसुवा, केन्पाडाँडाको बाटो भएर साल्पा पोखरीको दर्शन गर्न सङ्खुवासभाको माथिल्लो भेगका तीर्थयात्री आउने गर्छन् ।

विश्वका प्रायः सबै मानिसको आफ्ना मूल्यमान्यता अनुसारका भगवान्, ईश्वर, देवी, देउता, माङ, गड, अल्लाः, याहवेह, वाहेगुरु, अकालपुरख आदिलाई सर्वोच्च रूप मानेका हुन्छन् । हुन त ती भगवान्, ईश्वर, देवी, देउता, माङ, गड, अल्लाः, याहवेह, वाहेगुरु, अकालपुरख आदिलाई किन मान्न–पुज्न थालियो त ? भन्ने सम्बन्धमा सबै धार्मिक समूहका आआफ्नै प्रकारका लोकविश्वास, लोककथा, लोकमान्यता र किंवदन्ती रहेको छ । 

साल्पा पोखरीलाई पवित्रस्थलका रूपमा मान्न अथवा पुज्न थाल्नुमा दुईरतीन प्रकारका लोकविश्वास, लोककथा, लोकमान्यता र किंवदन्ती छन् । कुनै बेला साल्पा र वराह नाम गरिएका दुई जना किराँती चेली थिए । ती दुई दिदीबहिनीको नाम सालपा र वराह रहेको थियो । उनीहरू त्यो बेला गङ्गा मैदानआसपासमा बस्थे । रहँदा बस्दा कलियुग लाग्यो । कलियुग लागेपछि समय पनि खराब हुँदै गयो । त्यसैले ती दिदीबहिनीले गङ्गा मैदान छाडेर पवित्रस्थलको खोजी गर्दै हिमालयतर्फ लागे । सोही क्रममा दिदी (साल्पा) अघिअघि, बहिनी (वराह) पछिपछि आउँदै थिए । बहिनी ९वराह० ले दिदी साल्पालाई पछिपछि पच्छ्याउँदै आउने क्रममा बहिनी (वराह) अहिले खोटाङमा पर्ने वराहपोखरीछेउ आइपुग्दा नपुग्दै कलियुगले छोएर बिरामी भइछिन् । बहिनी वराहलाई बिरामीले च्यापेपछि त्यही बितिन् । बहिनी बितेपछि दिदी साल्पा अझ माथितिर लागिन् । दिदी त्यसरी अझ माथि आउने क्रममा हालको साल्पा पोखरी आई पुगेर त्यही बसिन् । ती किराँती चेली यहाँ बसेपछि साल्पा पोखरीको नाम ‘साल्पा’ रहन गयो । खासमा ‘साल्पा पोखरीको बनावट अलि लाम्चो आकार परेर पूर्वबाट फैलिएर पश्चिमतर्फ साँघुरो हुँदै तेर्सो आकारमा रहेको छ । त्यस्तो आकारको भूबनोटलाई कुलङ भाषामा ‘स–सल्पा’ भन्ने गरिन्छ । हाल साल्पा पोखरी भन्ने नाम जुन छ, त्यो नाम कुलङ भाषाको नाम ‘स–सल्पा’ बाट अपभ्रंश भएर ‘साल्पा’ रहन गएको हो ।  

सुरुमा साल्पा पोखरीमा दुई पटक मात्रै मेला लाग्ने गथ्र्यो । वैशाखे पूर्णिमा अर्थात् उभौलीमा ,अनि मङ्सिरपूर्णिमा अर्थात् उँधौलीमा ।  पछि वर्षमा तीन पटक मेला लगाउन थालियो । वर्षमा तीन पटक मेला लगाउन थालेपछि वैशाखे पूर्णिमा (उभौली) को मेलामा भोजपुरका तीर्थालु, ऋषितर्पणी (भदौ) मा लाग्ने मेलामा र सोलुखुम्बुका तीर्थालु र मङ्सिरपूिर्णमा (उँधौली) मा लाग्ने मेलामा खोटाङका तीर्थालु अलि बढी आउने गर्छन् । तीन वटै मेलाको व्यवस्थापन ऊ बेलाका तालुकदार÷जिम्मावाल अर्थात् ‘राई ’१ प्रथा कायम रहँदासम्म भोजपुर जिल्लाको तत्कालीन दोभानेगाउँ पञ्चायतका तालुकदार अर्थात् जिम्मावाल ‘राई’ १ मछिन्द्रबहादुर कुलुङले गर्ने गर्नुहुन्थ्यो । 

यो मेला भर्न जाने तीर्थयात्रीले गाउने प्रसिद्ध लोकगीत ‘सये राजा सये सये, सये रानी सये सये’ हो । सो लोकगीतको केही हरफ तल उल्लेख गरिएको छ–  

यो साल कोक्रोमा काँक्रो राखी 

सन्तान माग्यौँ आघौँ साल भाकी 

सये राजा सये सये सये रानी सये सये । 

अर्को साल आउँदा छोराछोरी लिएर आउँछौँ 

साली–पा माईको सेवामा छौँ 

सये राजा सये सये सये रानी सये सये ।

 

उठान हैन, बैठानदेखि

वर मागी ल्याउनु गाईथानदेखि

सये राजा सये सये सये रानी सये सये ।

 

सानो नानी कोकरीमा

नुहाइ जाऔँ है पोखरीमा 

सये राजा सये सये सये रानी सये सये । 

हर बहर गोरु दहायी (दाएर) आउनु 

साल्पा माइको ‘मोरछी’ फूल लिएर जानू 

सये राजा सये सये सये रानी सये सये ।

‘मोरोछी’ ३१-३२ सय मिटर उचाइमा पाइने एक सुगन्धित फूल हो । जसको नाम नेपाली भाषामा तोलेन्दो रहेको छ । यो फूलको प्रयोग गर्दा ९बोक्दा० त्यस व्यक्तिलाई सर्पले टोक्दैन भन्ने विश्वास कुलुङ जातिमा छ । 

साल्पा पोखरीबारे तीर्थालुमा आफ्नै खाले जनविश्वास एवं आस्था छ । जस्तो कि जायजन्म नभएका निःसन्तान जोडी साल्पा पोखरीको दर्शन गर्न गएमा र त्यस्ता जोडीले दर्शन गर्ने चोखो नितो भई पोखरीमा नुहाएर सन्तानको बर मागेमा सन्तान पाउने विश्वास छ । त्यस्ता निःसन्तान जोडीले साल्पा पोखरीमा दर्शन गर्न जाने र भाकल गर्ने क्रममा काँक्रोलाई बच्चाको प्रतीक मानेर खाली कोक्रोमा हालेर लगिन्छ । काँक्रोलाई बच्चाको प्रतीक मानेर त्यसरी खाली कोक्रोमा हालेर साल्पा पोखरी लगेपछि साँच्चै बच्चा हुने आमजनविश्वास छ । साल्पामा मागेर जन्मेको बच्चालाई समय समयमा साल्पा पोखरीमा दर्शन गराउन लानुपर्ने आममान्यता छ । बोली नआएका बालबच्चालाई साल्पा पोखरीमा लगेर दर्शन गराए, साल्पा पोखरीको तीन पटक परिक्रमा गराए, त्यस्ता बालबच्चाको बोली फुट्ने, बोल्न सक्ने एवं साल्पा पोखरीमा जोकोहीले चोखो मनले मागेमा जे मागे पनि पुग्ने  विश्वास छ । राम्रो जीवनसाथी, धन, दौलथ, विवेक, ज्ञान, विद्या मागेमा पाइन्छ भन्ने छ । साल्पा पोखरीमा नुहाएपछि आफूले जानाजान अथवा अन्जानमा गरेका सबै पाप पखालिने र नराम्रा कामको दोषबाट मुक्त हुने जनविश्वास पनि छ ।

साल्पा पोखरीबारे डाक्टर हर्क गुरुङले विषय विविध नामक आफ्नो किताबमा रहेको सङ्ग्रहको खण्ड ‘क’ को अरुण भएर झर्दा शीर्षकको लेखमा लेख्नुभएको छ, “सगरमाथा आधार शिविरबाट एक साताको बाटो हिँडेपछि म अरुण नदीदेखि १५ किलोमिटर पश्चिम पर्ने फेदीगाउँ आइपुगेँ । मेरो बाटो शेर्पागाउँ र त्यसपछि राई बसोबास गरेका इनखु र होङ्गुखोला वरिपरिका पहाड भएर आउँथ्यो । फेदीमा म वैशाखपूर्णिमाका बेला आइपुगेको हुनाले त्यहाँ राईका साथै बाहुन र क्षेत्रीको पनि विशाल भिड थियो । तिनीहरू पवित्र साल्पा पोखरीको लामो उकालो चढ्ने तरखर गरिरहेका थिए । मैले ८ मेको दिनरात फेदीमा धामी र फेदङ्माका भाका, त्यहाँका चालचलन र तीर्थालुले गाएका अनेक गीत जेजति देखेँ त्यो पहाडी वातावरणमा रहेका हिन्दु खस र जनजाति किराँत संस्कृतिको एउटा सङ्गम थियो ।” 

केही व्यक्ति साल्पा पोखरीलाई किराँती समुदायको मात्रै आस्थाको केन्द्र रो भन्ने गर्छन् । त्यसरी नै प्रचार गर्छन् । डाक्टर हर्क गुरुङले साल्पा फेदीमा एक रात बास बसेर आफैँले अनुभव गरी देखेर लेख्नुभएकाले साल्पा पोखरीलाई नेपालका हिन्दु, किराँत, बौद्ध अनि प्राकृतिक धर्म मान्नेहरूको सङ्गमस्थल मान्नु पर्छ । 

  

 

निनाम लोवात्ती

author

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक